छोरी पनि ‘लोकल पार्टनर’ बन्ने भएपछि अमूल भित्र्याउन राष्ट्रपति भण्डारीको सक्रियता

भण्डारी राष्ट्रपति भएपछि पहिलो पटक २०७४ साल बैसाख ४ गते औपचारिक भारत भ्रमण गएका बेला अमूलका अध्यक्षसँग संवाद गरेर अमूललाई नेपाल ल्याउने वातावरण बनाउन पहल गर्ने वचन दिएकी थिइन् । त्यही बेला अमूलले छोरीलाई सेयर दिने वचन दिएको थियो ।

भारतीय बजारमा एकछत्र राज गरेको अमूललाई नेपाल भित्र्याउन राष्ट्रपति विद्यादेवी भण्डारी पनि सक्रिय भएको पाइएको छ । अमूलले उनकी छोरीलाई लोकल पार्टनर बनाउने वचन दिएपछि भण्डारीको सक्रियता बढेको हो ।

भण्डारी राष्ट्रपति भएपछि पहिलो पटक २०७४ साल बैसाख ४ गते औपचारिक भारत भ्रमण गएका बेला अमूलका अध्यक्षसँग संवाद गरेर अमूललाई नेपाल ल्याउने वातावरण बनाउन पहल गर्ने वचन दिएकी थिइन् । त्यही बेला अमूलले छोरीलाई सेयर दिने वचन दिएको थियो ।

भण्डारीले भारतको गुजरातमा भएको अमूलको मुख्य कार्यालयको अवलोकन गर्दै नेपाल आउन अमूललाई सहजीकरण गर्ने वचन दिएपछि उनीहरुको सक्रियता बढेको हो ।

एक वर्ष अघिसम्म अमूलले नेपाललाई ‘टार्गेट’ गरेको थिएन । राष्ट्रपति भण्डारीले नेपालमा आउन सहजीकरण गर्ने ‘ग्रीन सिग्नल’ दिएपछि अमूलले नेपालतर्फ हात फैलाएको हो ।

अमूलको उद्योग भ्रमण गर्ने बित्तिकै नेपालमा आउन उनले प्रस्ताव गरेको स्रोतले बताएको छ । ‘राष्ट्रपतिको पहिलो भारत भ्रमणका बेला अमूललाई नेपाल ल्याउन सहयोगको वचन दिनुभएको हो,’ स्रोतले क्यापिटल नेपालसँग भन्यो, ‘त्यही योजना अनुरुप अमूलले नेपालमा पाइला राख्न थालेको हो ।’

एकातिर राष्ट्रपति भण्डारीकी छोरी र अर्कातिर काङ्ग्रेसका प्रभावशाली नेता शशाङ्क कोइराला लोकल पार्टनर हुने भएपछि पनि अमूलको प्रवेश झन् सजिलो भएको हो ।  नेपालको कानुन अनुसार प्रत्येक्ष वैदेशिक लगानी (एफडीआई) नेपाल ल्याउँदा ५१ प्रतिशत सेयर लोकल पार्टनर र ४९ प्रतिशत विदेशीको हुनुपर्ने व्यवस्था छ । सोही अनुरुप भण्डारीकी छोरी र कोइरालाको ५१ प्रतिशत र बाँकी सेयर अमूलको रहने गरी संरचना समेत तयार भइसकेको स्रोतको दाबी छ ।

अमूलले नेपालमा व्यावसायिक रुपमा पालिएका फार्मलाई ध्वस्त पार्दै भारतीय किसानले उत्पादन गरेको दूध नेपाल ल्याएर विक्री गर्ने योजना अनुरुप नेपाल प्रवेश गर्दै छ । यदि नेपालमा अमूलको प्रवेश भयो भने, नेपालका कृषकको लगानी जोखिममा पर्ने उद्योगी/व्यवसायीहरु बताउँछन् । ‘सरकारले यो क्षेत्रमा लगानी गरेको खर्बौ रुपैयाँ जोखिममा पर्छ,’ एक उद्योगीले भने, ‘अमूललाई नेपाल प्रवेश दिनुहुँदैन ।’

राष्ट्रपतिको ग्रीन सिग्नल र शशाङ्क कोइरालाको दरिलो साथ पाएपछि अमूलका बहालवाला अध्यक्ष धेरै पटक उच्च तहमा भेटघाट गरेर गइसकेका छन् । सुरुमा अमूलका अध्यक्षले नेपाली उद्योगलाई प्रयोग गरेर आफ्नो ब्रान्डमा सामान उत्पादन गर्ने सोच समेत बनाएका थिए । तर, स्वदेशी उद्योगीले लगानी साझेदार हुन मात्रै इच्छा देखाएपछि अमूलको त्यो योजना असफल भएको थियो । त्यसपछि अमूल आफैले नेपालमा नयाँ फ्याक्ट्री लगाउने सोच बनाएको हो । अहिले अमूलले नवलपरासीमा उद्योग स्थापना गर्ने भएको छ ।