हिमालपारि बिजुली, जनतामा छायाे खुसी

२ अर्ब ५० करोड रुपैयाँ लागतमा निर्माण भएको उक्त आयोजनाबाट हिउँदमा ११ हजार ७ सय ६८ मेगावाट घण्टा र वर्षात्मा ५७ हजार ९ सय ९५ मेगावाट घण्टा विद्युत् उत्पादन हुन्छ । वार्षिक ६९ हजार ७ सय ६३ मेगावाट घण्टा विद्युत् उत्पादन हुने यो आयोजना मुस्ताङको पहिलो उत्पादनमूलक उद्योग पनि हो । नेपाल विद्युत् प्राधिकरणको विद्युत् खपत तथ्याङ्क (प्रतिव्यक्ति १ सय २८ किलोवाट घण्टा)लाई आधार मान्दा यो बिजुलीले कम्तीमा १ लाख १० हजार परिवारलाई वर्षभर विद्युत् उपभोग गर्न पुग्छ ।

हिमालपारिको जिल्ला मुस्ताङमा पहिलो पटक जलविद्युत् आयोजना सञ्चालनमा आएको छ । माउन्ट कैलाश हाइड्रोपावर कम्पनीले मुस्ताङको थसाङ गाउँपालिकामा थापाखोला जलविद्युत् आयोजना निर्माण गरेको हो । आयोजनाबाट हालै मात्र व्यावसायिक उत्पादन सुरु भएको कम्पनीका कार्यकारी अध्यक्ष भरत खड्काले जानकारी दिए ।

१३ दशमलव ६ मेगावाट जडित क्षमताको उक्त आयोजनाले निर्माण सुरु भएको करीब ५ वर्षमा व्यावसायिक उत्पादन सुरु गरेको हो । २ अर्ब ५० करोड रुपैयाँ लागतमा निर्माण भएको उक्त आयोजनाबाट हिउँदमा ११ हजार ७ सय ६८ मेगावाट घण्टा र वर्षात्मा ५७ हजार ९ सय ९५ मेगावाट घण्टा विद्युत् उत्पादन हुन्छ । वार्षिक ६९ हजार ७ सय ६३ मेगावाट घण्टा विद्युत् उत्पादन हुने यो आयोजना मुस्ताङको पहिलो उत्पादनमूलक उद्योग पनि हो । नेपाल विद्युत् प्राधिकरणको विद्युत् खपत तथ्याङ्क (प्रतिव्यक्ति १ सय २८ किलोवाट घण्टा)लाई आधार मान्दा यो बिजुलीले कम्तीमा १ लाख १० हजार परिवारलाई वर्षभर विद्युत् उपभोग गर्न पुग्छ ।

भूकम्पका कारण पूर्वनिर्धारित समयभन्दा करिब एक वर्ष ढिला गरी निर्माण सकिएको अध्यक्ष खड्काले जानकारी दिए । निर्माण क्रममै आयोजनाको क्षमता बढाइएकाले पनि आयोजना निर्माण अवधि लम्बिएको कम्पनीले बताएको छ । ‘ढिलै भए पनि अब उत्पादन सुरु भएको छ,’ उनले भने । सुरुमा ११ दशमलव २ मेगावाट क्षमतामा डिजाइन गरेको भए पनि बीचमा विद्युत् गृहलाई केही तल सारेर क्षमता बढाइएको थियो । यसरी डिजाइन परिवर्तन हुँदा सुरुङको निर्माणमा ढिलाइ भएको कम्पनीले बताएको छ ।

भूकम्पका कारण ढुवानीमा समस्या भएको र कामदार अभावको परिस्थिति सिर्जना भएकाले काममा ढिलाइ भएको खड्काले बताए । तर, नाकाबन्दीको कारण भने काम रोक्नु नपरेको कम्पनीका इन्जिनियरहरुले बताएका छन् । उनीहरुका अनुसार कोरला नाका हुँदै तिब्बतबाट पेट्रोलियम पदार्थको ढुवानी गरेर निरन्तर काम अघि बढाइएको थियो । तर, यसरी चीनबाट इन्धन ढुवानी गर्दा महँगो परेकाले लागत भने बढ्न गएको उनीहरुले बताए ।

हाइअल्टिच्युड प्रोजेक्ट

थापाखोला नेपालको सबैभन्दा बढी उचाइ (अल्टिच्युड)मा बनेको जलविद्युत् परियोजना हो । यो परियोजनाको बाँध समुद्री सतहदेखि ३ हजार १० मिटरको उचाइमा छ । उच्च पर्वतीय क्षेत्र (हाई–हिमालय रेन्ज)मा आयोजना निर्माण गरिएको आयोजनाका साइड इन्चार्ज सुदीप खड्काले जानकारी दिए । यो आयोजना नेपालका जलविद्युत् परियोजनाहरुमध्ये ‘हाई हेड प्रोजेक्ट’ पनि हो । टर्बाइनमा पानी पठाउने पाइपको मुख र विद्युत् गृहबीचको दूरी (ठाडो उचाइ)लाई प्राविधिक भाषामा ‘हेड’ भनिन्छ । उक्त परियोजनामा ३ सय ८८ मिटर माथिबाट पानी खसाइएको छ । जलविद्युत् आयोजनामा ‘हेड’ बढी हुँदा अर्थात् धेरै उचाइबाट पानी खसाल्दा थोरै पानीले पनि बढी विद्युत् उत्पादन हुन्छ । ‘जलविद्युत् आयोजनाका लागि कि त धेरै पानी चाहिन्छ, कि बढी उचाइ आवश्यक पर्छ,’ परियोजनाका इन्जिनियर दिवाकर आचार्य भन्छन्, ‘योचाहिँ पानी कम, उचाइ बढी भएको आयोजना हो ।’

स्थानीयलाई सेयर

कम्पनीले मुस्ताङका आयोजनाप्रभावित स्थानीयलाई कम्पनीमा लगानी गर्न सेयर दिने भएको छ । ‘हामी छिट्टै स्थानीयलाई सेयर दिने तयारी गरिरहेका छौं,’ खड्काले भने । कम्पनीले कुल पुँजीको १० प्रतिशतसम्म सेयर स्थानीयलाई दिन सक्ने बताएको छ । यसबाट पर्यटन र स्याउखेतीमा निर्भर मुस्ताङको अर्थतन्त्रमा स्थानीयको अर्थोपार्जनका लागि नयाँ क्षेत्र तयार हुनेछ । मुस्ताङमै अन्य आयोजना पनि निर्माण क्रममा रहेकाले ती आयोजनाबाट पनि सेयर पाउने सम्भावना रहन सक्ने स्थानीय बताउँछन् । मुस्ताङमा हाल साढे २ मेगावाटको तान्छहरा जलविद्युत् आयोजना र ४ सय मेगावाटको कालिगण्डकी कोवान जलविद्युत् आयोजनाले निर्माण अनुमति पाइसकेका छन् ।

स्थानीय विकास र अर्थतन्त्रमा सहयोगी

जलविद्युत् आयोजनाको निर्माणले मुस्ताङको विकास र स्थानीय अर्थतन्त्रमा सहयोगी भूमिका खेल्ने खड्काले बताए । ‘मुस्ताङबासीले अब चाहेजति बिजुली बाल्न पाउनेछन्,’ उनले भने, ‘पर्यटन तथा शीत भण्डारजस्ता अन्य आर्थिक क्रियाकलापमा विद्युत्को प्रयोगबाट मूल्य अभिवृद्धि गर्न सघाउ पुग्नेछ ।’ त्यसबाहेक आयोजना निर्माण हुँदा स्थानीय स्तरमा बजारीकरण बढ्ने, स्थानीयले रोजगारी पाउने, सेयरमा भएको लगानीले कम्पनीको नियमित प्रतिफलमा हिस्सेदारी पाउनेजस्ता विविध आर्थिक लाभ स्थानीयले प्राप्त गर्नेछन् । आयोजनाले सिँचाइ र विद्युतीकरणजस्ता स्थानीय पूर्वाधार निर्माणमा पनि सहयोग गरिरहेको अध्यक्ष खड्काले जानकारी दिए ।
त्यसबाहेक आयोजनाले वार्षिक आम्दानीबाट राज्यलाई रोयल्टी बुझाउनुपर्छ । त्यसरी सरकारी खातामा जम्मा हुने विद्युत् रोयल्टीको केही हिस्सा सोही जिल्लाको विकासका लागि छुट्ट्याउनुपर्ने कानुनी प्रावधान छ । यसले मुस्ताङका स्थानीय निकायको वित्तीय स्रोत बढ्न जाने छ । स्थानीय निकायले त्यसरी प्राप्त हुने लाखौं रुपैयाँलाई बर्सेनि विकास निर्माणमा खर्च गर्न सक्नेछ । पूर्वाधार निर्माणमा मुस्ताङ अहिले पनि पछाडि नै छ । यही वर्ष मात्रै मुस्ताङमा पहिलो पटक सडक कालोपत्रे गरिँदै छ । मुक्तिनाथदेखि कागबेनीसम्म कालोपत्रे गर्ने काम सुरु भएको छ । चीनसँगको दुईपक्षीय व्यापारका लागि कोरला नाकाबाट म्याग्दीको बेनी जोड्ने कालीगण्डकी करिडोरको निर्माण तीव्र गतिमा भइरहेको छ । गत भदौमा मात्रै मुस्ताङ सदरमुकाम जोमसोममा वायु ऊर्जा प्लान्टको उद्घाटन भएको छ । यसरी पूर्वाधार निर्माणको क्रमले भर्खरै तदारुकता लिँदै गर्दा जलविद्युत् आयोजनाको निर्माणले मुस्ताङको अर्थतन्त्रमा विकासका नयाँ सम्भावनाहरुको ढोका खोलेको स्थानीय सामाजिक अगुवाहरुले बताएका छन् ।