बायोमेट्रिकका ४७ जना पक्राउ, अध्यक्ष कैलाश खड्का फरार

बायोमेट्रिक प्रणालीमार्फत मलेसिया जाने कामदारलाई ठगी गरेको आरोपमा आइतवार प्रहरीले ३९ वटा मेडिकलमा छापा हानेर ४७ जनालाई पक्राउ गरेको छ ।

मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाले सरकारले तोकेभन्दा बढि शुल्क लिएर सिन्डिकेट शैलीमा कामदारलाई निरन्तर ठगी गरेको भन्दै छापा हानेर फाइल, ल्यापटप तथा सफ्टवयर सिष्टमसमेत जफत गरेको छ ।

अपराध अनुसन्धान विभागका प्रमुख डिआईजी धिरु बस्नेतको नेतृत्वमा परिचालित प्रहरीले बायोमेट्रिक लागू गरेका ३९ वटा स्वास्थ्य परीक्षण गर्ने संस्था, भीएलएन, वान स्टेप सेन्टर, जीएसजीमा छापा हानेको हो ।

३९ वटा स्वास्थ्य परिक्षण गर्ने संस्थाबाट सञ्चालक, प्रबन्धक, कर्मचारीसमेत पक्राउ परेका छन् । प्रहरीले भीएलएनका सञ्चालकलाई पक्राउ गरेको छ । बायोमेट्रिक प्रणाली भित्राएर लागू गराउने स्वास्थ्य व्यवसायी महासंघका अध्यक्ष तथा स्वास्थ्य व्यवसायीलाई कैलास खड्का भने फरार रहेका छन् । प्रहरीले जीएसजीका सञ्चालक गोविन्द थपलियालाई पक्राउ गरेर छाडेको छ ।

एउटै शैलीका काम गर्ने कसैलाई पक्राउ गरेको त कसैलाई सोधपुुछ मात्र गरेर छाडेको भन्दै बैदेशिक रोजगार व्यवसायीले जीएसजीमाथी पनि छानविन हुनुपर्ने जनाएका छन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले बिहिबार पत्रकार सम्मेलन गरेर भीएलएन, बायोमेट्रिक, जीएसजीप्रणाली खारेजको घोषणा गरेसँगै प्रहरीले आइतवार धरपकड सुरु गरेको हो ।
श्रम मन्त्रालयले बायोमेट्रिक, भीएलएन, जीएसजीलगायतलाई छानबिन गरि कारबाही गर्न गृह मन्त्रालयलाई शुक्रबार नै पत्राचार गरेको थियो ।

पक्राउ परेकालाई ठगी मुद्धा चलाउने प्रहरीले जनाएको छ ।