‘भीएलएन खुल्छ,’ मलेसियन दूतावास, निर्णय नमाने कामदार नपठाउने – नेपाल सरकार

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले भीएलएन, बायोमेट्रिक, जीएसजीप्रणाली खारेजको घोषणा गरेसँगै प्रहरीले बायोमेट्रिक र भीएलएनका सञ्चालकलाई पक्राउ गरेपछि नेपालस्थित मलेसियन दुतावासले प्रेस विज्ञप्तीमार्फत वान स्टप सेन्टर र भीएलएन बन्द नहुने घोषणा गरेको छ ।

दुतावासले विज्ञप्तीमार्फत अनुसन्धानका लागि एकसाता इमिग्रेसन सेक्युरिटी सिष्टम (आइएससी) बन्द गर्ने भएपनि पर्यटक तथा सोसल भिषाका लागि वान स्टप सेन्टर र भीएलएन बन्द नगर्न निर्देशन दिइएको जनाएको छ ।

प्रहरीले बायोमेट्रिक प्रणालीमार्फत मलेसिया जाने कामदारलाई ठगी गरेको आरोपमा आइतवार प्रहरीले ३९ वटा मेडिकलमा छापा हानेर ४७ जना र भीएलएनका सञ्चालक राम श्रेष्ठलाई पक्राउ गरेको थियो ।

नेपाल सरकारले गरेको निर्णयमा सहयोग गर्नका लागि श्रममन्त्री गोकर्ण विष्टले मलेसियन दुतावासलाई आग्रह गरेका छन् । ‘हामीले हाम्रो निर्णय परराष्ट्रमार्फत मलेसिया सरकारलाई पठाएका छौं, हामी मलेसिया सरकारको जवाफ कुरेका छौं,’ उनले भने । गैरकानुनी काम गरेकालाई सरकारले कारवाही गर्न सक्छ, नेपाल सरकारको निर्णयलाई मान्दिन भन्न आधार नभएको उनले बताए ।
मलेसियामा नेपाल सरकारले श्रम सम्झौता गरेर कामदार पठाउन खोजिरहेकाले मलेसियाले नेपाल सरकारको निर्णय नमाने मलेसियामा कामदार पठाउन पनि बन्द गर्न सकिने बताए । ‘हामी श्रम सम्झौता गरेर कामदारको हकहितलाई सुरक्षित गरेर कामदार पठाउन खोजिरहेका छौं,’ उनले भने ।

श्रम मन्त्रीले बिहिबार पत्रकार सम्मेलन गरेर बायोमेट्रिक, माइग्राम्स, भीएलएन, आइएसजीलगायतलाई खारेज भएको घोषणा गरेका थिए । उनले शुक्रबार मलेसिया दूतावासका हेड अफ मिसन अहमद फादिल स्माइलाई मन्त्रालयमा बोलाएर नेपाल सरकारको निर्णयलाई सहयोग गर्ने र कामदारलाई आर्थिक भार पार्न संस्था बन्द गर्नका लागि आग्रह गरेका थिए ।

पक्राउ परेका ४० जनालाई ६ दिन म्याद थप
मलेसियाजाने कामदारसँग अवैधानिक रुपमा रकम ठगी गरेको अभियोगमा आइतवार पक्राउ गरेका विभिन्न स्वास्थ्य संस्था र भीएलएनका सञ्चालकविरुद्ध प्रहरीले जिल्ला अदालतमा ठगी मुद्धामा म्याद थप गरि अनुसन्धान शुरु गरेको छ । प्रहरीले सोमबार ४० जनालाई अदालतमा उपस्थित गराएर ६ दिनको म्याद थप गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी मोहनकुमार थापाले जानकारी दिए ।