तामाकोशीको सेयर निष्कासन आयोजनाकै कारण ढिलाइ

दोलखाको गौरीशङ्कर गाउँपालिका १ लामाबगरमा निर्माण भइरहेको ४ सय ५६ मेगावाटको तामाकोशी आयोजनाले दोलखाबासीका लागि १० प्रतिशत सेयर छुट्याएको छ । आयोजना निर्माणको अन्तिम चरणमा पुग्न लाग्दा समेत स्थानीयलाई सेयर जारी नगरेको भन्दै चौतर्फी विरोध भएको थियो ।

माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको सेयर निष्कासन आयोजनाकै कारण ढिलाइ भएको पाइएको छ । सेयर जारीका लागि स्वीकृति लिन धितोपत्र बोर्डमा फाइल नै पेस नगरी आयोजनाले स्थानीयहरुलाई सेयर जारीको पटक पटक मिति तोक्ने गरेको पाइएको हो ।

दोलखाको गौरीशङ्कर गाउँपालिका १ लामाबगरमा निर्माण भइरहेको ४ सय ५६ मेगावाटको तामाकोशी आयोजनाले दोलखाबासीका लागि १० प्रतिशत सेयर छुट्याएको छ । आयोजना निर्माणको अन्तिम चरणमा पुग्न लाग्दा समेत स्थानीयलाई सेयर जारी नगरेको भन्दै चौतर्फी विरोध भएको थियो । त्यही विरोधलाई साम्य पार्न आयोजनाले सेयर जारीको मिति पटक पटक सार्दै आएको छ ।

धितोपत्र बोर्डले सेयर जारीका लागि स्वीकृति नदिएकै कारण सेयर जारी गर्न नसकिएको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाका प्रवक्ता डाक्टर गणेश न्यौपानेले जानकारी दिए । ‘हामीले जनतालाई झुक्याएका छैनौं,’ आयोजनाका प्रवक्ता न्यौपानेले भने, ‘स्वीकृति पाउने बित्तिकै जारी गर्छौं ।’ सेयर जारीका लागि आवश्यक फाइल धितोपत्र बोर्डमा पेस भइसकेको बताउँदै बर्खाअघि सम्भव नभएको बताए ।

नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरिले तामाकोशी आयोजनाको सेयर जारीको फाइल सोमबार मात्र आइपुगेको बताए । ‘फाइल हिजो (सोमबार) मात्र आएको छ, हामी अध्ययन गर्छौं,’ कार्यकारी निर्देशक गिरिले भने, ‘१ महिनाभित्र स्वीकृति पाउन सक्छन् ।’ तामाकोशी आयोजनाको सेयर खुल्ने भन्दै दोलखाका अधिकांश बैङ्कहरुले गाउँ गाउँमा गएर डिम्याट खाता खोलेका थिए । चैत्र मसान्तभित्र सेयर जारी हुने हल्लाकै कारण दोलखाका धेरै स्थानीयहरुले बैङ्क खातासमेत खोलिसकेका छन् ।

दोलखाबासीहरुले मात्र १ अर्ब ५ करोड ९० लाख रुपैयाँ बराबरको सेयर लिन पाउने छन् । नेपाल विद्युत् प्राधिकरणको ४१ प्रतिशत, नेपाल टेलिकमको ६, नागरिक लगानी कोष तथा राष्ट्रिय बिमा संस्थानको २ – २ प्रतिशत, कर्मचारी सञ्चयकोषको १७.२८, सर्वसाधारणको १५, कर्मचारी सञ्चय कोषका कर्मचारीको २.८८, कम्पनी र प्राधिकरणका कर्मचारीको ३.८४ प्रतिशत सेयर हुनेछ । तीमध्ये कर्मचारी सञ्चय कोषको सेयर जारी भइसकेको छ ।

२०७१ सालमा तत्कालीन जिल्ला विकास समितिले गरेको सर्वेक्षणअनुसार दोलखाको जनसङ्ख्या २ लाख ८२ हजार १ सय २५ छ । त्यसमध्ये अति प्रभावित ‘क’ वर्गमा ४ हजार ४ सय ३२, प्रभावित ‘ख’ वर्गमा ८१ हजार ९ सय ९९ र जिल्लाको बाँकी क्षेत्रको जनसङ्ख्या १ लाख ९५ हजार ६ सय ९४ छ ।