सधैं विवाद, सधैं चर्चा

डेढ दशकमा चर्चित नवधनाढ्यका रुपमा उदाएका सुमार्गीले दूरसञ्चार कम्पनी, सिमेन्ट उद्योग, पानी प्लान्ट, सञ्चारलगायतका क्षेत्रमा लगानी गरेका छन् । काठमाडौंका प्राइम लोकेसनहरुमा भौतिक सम्पत्ति रहेको सुमार्गीको चितवन र हेटौंडामा पनि पर्याप्त भौतिक सम्पत्ति छ ।

‘म अहिले चर्चाको शिखरमा रहेको व्यवसायी हुँ,’ उनले दाबी गरे, ‘मैले जति वैदेशिक लगानी अरु कसैले नेपाल भित्राउन सकेको छैन ।’ यी दुवै दाबी गर्ने व्यवसायी हुन्, अजेयराज सुमार्गी । सुमार्गी गु्रपका प्रमुख यिनले अहिले ‘बहुव्यवसाय’ सम्हालिरहेका छन् । उद्योग, सञ्चार, बैङ्क–बीमा तथा शिक्षा यिनका मुख्य व्यवसाय हुन् । अजेयका बाबुले नै आफ्नो थर ‘पराजुली’ लेख्न छाडेर ‘सुमार्गी’ लेख्न सुरु गरेका थिए । ‘पिताजीले अँगालेको सुमार्गी लेख्ने परम्पराले मेरो परिवारलाई कहिल्यै गलत मार्गमा लाग्न दिँदैन,’ उनी भन्छन्, ‘म व्यवसाय गर्दा धैर्य, मेहनत, सत्यकर्म र लगनशीलतालाई अँगाल्छु, त्यसैले सफल पनि छु ।’
पन्ध्रै वर्षमा पिता गुमाएका सुमार्गीलाई व्यवसायमा सोचविचारै नगरी हामफाल्नुपर्ने बाध्यता आइलाग्यो । उनका पिताले हेटौँडामा यातायातका साथै चुनढुङ्गा र काष्ठ उद्योग सञ्चालन गरिरहेका थिए । काठमा कलात्मक बुट्टा भरेर बेलायतसम्म निर्यात गर्ने काम आफ्ना पिताले नै सुरु गरेको उनको भनाइ छ । ‘पिताजीको देहान्तपछि उहाँले सम्हाल्दै आएको काम मेरो काँधमा आइप¥यो,’ उनी भन्छन्, ‘उहाँ त मलाई अक्सफोर्ड युनिभर्सिटीमा पढाउन चाहनुहुन्थ्यो ।’

आफूले अक्सफोर्डमा पढ्न नपाए पनि आफ्ना सन्तानलाई भने सुमार्गीले सोही विश्वविद्यालयमा पढ्न पठाए । अहिले उनका छोरा अभिमत अक्सफोर्डमा व्यवस्थापन विषयमा स्नातकोत्तर पढाइ पूरा गरेर नेपाल फर्किसकेका छन् । ‘अब मेरो व्यवसाय संसारकै उत्तम विश्वविद्यालयमा पढेको छोराले सम्हाल्दै जानेछ,’ उनी भन्छन् । अभिमत व्यवसायी सुमार्गी परिवारको तेस्रो पुस्ता हो ।

पिताजीको विरासतमा प्राप्त व्यवसायमा मात्र अडेर सुमार्गीलाई चित्त कहाँ बुझ्थ्यो र ! उनले धेरैखाले व्यवसायमा आफ्ना हात फैलाउँदै लगे । उनलाई सबैभन्दा मन परेको व्यवसाय सञ्चार उद्यम हो । सोही मन पराइकै कारण उनले मेरो मोबाइल (हालको एनसेल)मा हात हाले । यही कम्पनीमार्फत् उनले वैदेशिक लगानी नेपाल भित्राउन सफल पनि भए । पछि उनले उक्त कम्पनीमा रहेको आफ्नो सेयर फिर्ता लिए पनि पुनः हेलो नेपाल नामको मोबाइल कम्पनी आरम्भ गरे । हेलो नेपाललाई राष्ट्रव्यापी बनाउने उनको सोच थियो । सोही सोचअनुरुप उनले काम पनि थालेका थिए, तर सरकारको गलत नीतिका कारण उक्त मोबाइल सीमित क्षेत्रमा मात्र खुम्चन पुगेको उनी बताउँछन् । सन् २०१२ बाट हेलो नेपालको विस्तारित लाइसेन्स लिने योजना अहिले २०१८ हुँदा पनि नपाएको उनको गुनासो छ ।

सञ्चारपछि उनले महत्व दिएको अर्को व्यवसाय हो, जलविद्युत् कम्पनी सञ्चालन । जलविद्युत्मा चुनौतीका साथै सम्भावना पनि रहेको उनको बुझाइ छ । बिजुलीमा आत्मनिर्भर हुन सक्दामात्र अन्य उद्योग सञ्चालन सहज हुने उनले बुझेका छन् । ‘मलाई मानिसका अत्यावश्यक आवश्यकता पूर्ति गर्ने किसिमका व्यवसाय गर्न मन पर्छ । टेलिकमले मलाई त्यस कुराको बोध गराएको छ,’ उनी भन्छन्, ‘त्यसपछि जलविद्युत्का क्षेत्रमा काम गर्न मन पर्छ । यसले नेपाली नागरिकलाई उज्यालोमा बस्न सहयोग गर्छ । यसबाट आत्मसन्तुष्टि पनि हुन्छ । व्यवसाय गरेपछि आम्दानी त भई नै हाल्छ ।’ व्यवसाय गरेर पनि कोही आम्दानी गर्न सक्दैनन् भने त्यो उसको असफलता हो भन्ने उनको ठहर छ ।

अनुत्पादक क्षेत्र जसले रोजगारी सिर्जना गर्दैन, त्यस्तो व्यवसायमा उनको ध्यान कहिल्यै जाँदैन । पछिल्लो समय घरजग्गाको मूल्य आकासिनु वा अनियन्त्रित रहनुमा उनी राज्य संयन्त्र अस्थिर हुनुलाई दोष दिन्छन् । जब राज्यव्यवस्था स्थिर र सुशासन कायम हुन्छ, तब घरजग्गाको मूल्य सामान्य अवस्थामा आउने उनको भनाइ छ । सुमार्गीका विभिन्न व्यवसायमा १२ सयभन्दा बढीले रोजगारी पाएका छन् । यसमा आफूलाई सन्तुष्टि मिलेको र आगामी दिनमा थप रोजगारी सिर्जना हुने क्षेत्रमा लगानी गर्ने सोच रहेको उनी बताउँछन् ।

माओवादी द्वन्द्वकालमा धेरैजसो मानिस गाउँ छाडेर सहर पसे । गाउँमा ठूलो परिमाणको जग्गा बेचेर काठमाडौैंलगायत सहरमा दुईचार धुर, दुईचार आना, रोपनी जति हुन्छ किनेर बसे । त्यसैले काठमाडौंजस्ता सहरमा मानिसको चहलपहल बढ्यो । हेटौंडा, चितवनलगायत ठाउँमा पहाडी क्षेत्रबाट बसोवास गर्नेहरु बढे । २०१८ सालमै हेटौंडामा योजनाअनुसार बस्ती विकास गरिएकाले त्यसले जनघनत्व अहिलेसम्म थेगिरहेको उनी बताउँछन् ।

अहिले एकमना सरकार आएकाले सरकारले विशेषगरी उद्योग क्षेत्रको विकासका लागि काम गरिदिनुपर्ने उनको भनाइ छ । कुनै उद्योग खोल्नुप¥यो भने त्यहाँ धेरै झन्झट बेहोर्नुपर्ने अवस्था छ । अनुमति लिनकै लागि नगरपालिका, उद्योग विभाग आदिमा धाउनुपर्नाले लगानीकर्ता बिच्किने अवस्था रहेको उनी बताउँछन् । यसमा सरकारले एकद्वार प्रणाली लागू गरिदिने हो भने त्यसले उद्योगी व्यवसायीलाई ठूलो राहत मिल्ने उनको भनाइ छ । कर्मचारीतन्त्रमा मानिसकता परिवर्तन नहुनाले लगानीकर्ताले धेरै कष्ट बेहोर्नुपरेको उनको गुनासो छ । विधि वा नियमले यो काम गर्न दिन्छ/दिँदैन भन्नेतर्फ सरकारले सोच्नुपर्ने उनको तर्क छ ।

उनले सुर्खेतको गुटुमा नेपालकै ठूलो सिमेन्ट उद्योग सञ्चालन गर्न चाहेको पनि तीन–चार वर्ष भइसकेको छ । लुम्बिनी र काठमाडौँमा पाँचतारे होटल खोल्न पनि उनी अग्रसर भएका छन् । यी काम हुन सक्दा पाँच हजारभन्दा बढीले रोजगारी पाउने उनको भनाइ छ । ‘बाहिरबाट फन्ड लिएर आयो, त्यो पैसा विनाकारण रोकिदिने काम भएको छ,’ उनी भन्छन्, ‘पैसा किन रोकियो भन्नेबारे राज्यको कुनै पनि निकाय जिम्मेवार देखिँदैनन् । यस्तो अवस्थामा कसरी प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) आउला ?’ नेपालमा अन्तर्राष्ट्रिय लगानी ल्याउन निकै गाह्रो परेको उनको भनाइ छ । आएको र आउन सक्ने लगानीलाई निरुत्साहित गर्ने वातावरण हुनु मुलुककै निम्ति दुर्भाग्यपूर्ण रहेको उनी बताउँछन् । यसमा राजनीतिक नेतृत्व गम्भीर हुनुपर्ने उनको बुझाइ छ । ‘चीनको उदाहरण लिन सकिन्छ । चीनले अन्तर्राष्ट्रिय लगानीका निम्ति बाटो खोलिदियो । त्यसपछि अमेरिका, युरोपलगायत मुलुकबाट ठूलो लगानी त्यहाँ भित्रियो,’ उनी भन्छन्, ‘हामीले पनि अन्तर्राष्ट्रिय लगानी खोल्न त खोल्यौं, तर व्यावहारिक रुपमा हामी अझै काँचै छौँ ।’

लामो समय मुलुकमा राजनीतिक सङ्क्रमण रहेका कारण उद्योग–व्यवसाय सञ्चालनको उपयुक्त वातावरण बनेन । कुनै पनि उद्योग व्यवसाय सञ्चालनका लागि केही काममा समस्या हुँदा मन्त्री वा सचिवलाई कन्भिन्स गराएर काम बन्ने भयो भन्ने अवस्था आउँदानआउँदै सरकार ढल्ने र नयाँ सरकार बन्ने अवस्थाले गाह्रो परेको उनको भनाइ छ । अब देशमा स्थिर सरकार बनेकाले उनी आशावादी भएका छन् । यसले पक्कै पनि सुशासन एवम् लगानीमैत्री वातावरण सिर्जना गर्न महङ्खवपूर्ण भूमिका निर्वाह गर्ने उनको विश्वास छ ।

‘अहिलेको सरकारले अन्तर्राष्ट्रिय लगानी भिœयाउन विशेष पहल गर्नैपर्छ । मलाई लाग्छ, प्रधानमन्त्रीले यो कुरा बुझ्नुभएको छ,’ उनी भन्छन्, ‘एनसेलजस्ता अन्तर्राष्ट्रिय लगानीकर्ताले यहाँबाट जसरी अबैध रुपमा लगानी लगिरहेका छन् भन्ने आरोप छ, त्यो बेकारको कुरा हो । किनभने, राज्यले यसमा नियमनकारी भूमिका निर्वाह गर्नुपर्छ । केके कुरा लैजान पाउनुपर्छ, केकस्तो हो प्रावधान हो भन्ने कुरा स्पष्ट किसिमले भनिदिनुप¥यो । त्यसमा कडाइ गर्नुप¥यो । होइन भने लग्यो मात्र भन्नु भनेको राज्यका माथिल्लो निकायमा बस्नेहरुको कमजोरी हो ।’

सुमार्गीले ‘थाहा’ अभियन्ता रुपचन्द्र विष्टसँग लामै सङ्गत गर्ने मौका पाए । आफूलाई सधैँ भुइँमान्छेको पक्षमा उभ्याउने विष्टको दर्शन अहिले पनि सान्दर्भिक मानिन्छ । आफू थाहा अभियन्ता विष्टको जीवनबाट प्रभावित रहेको बताउन पाउँदा उनी गर्वको अनुभूति गर्छन् । तर, विष्टको र आफ्नो जीवनशैली मेल भने नखाने बताउन पनि उनी चुक्दैनन् । ‘जबजब दुःख र सङ्घर्षका कुरा आउँछन्, मलाई विभिन्न समूहबाट विभिन्न किसिमका प्रहार हुन्छन् तब म विष्टको जीवन र आदर्शलाई एकपटक स्मरण गर्छु,’ सुमार्गी भन्छन्, ‘म सादगी जीवनतर्फ आफूलाई केन्द्रित गर्न खोज्छु । आफूलाई भित्रैबाट बलियो बनाउन थाहा दर्शन र बाबुको पालादेखि सुरु भएको ‘सुमार्गी’ उपनामलाई पनि राम्ररी सम्झन्छु अनि कर्मपथमा लम्कन्छु ।’

उनलाई कहिलेकाहीँ त लाग्छ, एकचोटि फाल हानौं मुलुकमा फैलिएको धमिलो पानीमा र बनाइदिऊँ सफा । आफूभित्र जत्रोसुकै जिम्मेवारी, जत्रोसुकै चुनौतीको समाधान र जस्तोसुकै काम पनि सम्पन्न गर्न सक्ने क्षमता रहेको उनको दाबी छ । व्यवसायमा घाटा हुँदैमा बीचमै छाड्न नहुने उनको उनको दृष्टिकोण छ ।

सुमार्गीलाई अध्यात्म र भगवान्मा ठूलो विश्वास छ । उनले पशुपति तथा मुलुकका अन्य विभिन्न स्थानका धार्मिक क्षेत्रको विकासमा सहयोग गर्दै आएका छन् । यही कारण पनि नेपालमा सबै कुरा पर्याप्त रहेको उनी बताउँछन् । आँखा खोल्नेबित्तिक्कै बिहानको वातावरण अनौठो देखिन्छ । विभिन्न हिमशृङ्खला देखिन्छन् । केही छिनमै हिमाल, पहाड र तराईको यात्रा गर्न सकिने देश नेपाल मात्रै रहेकोमा उनी गर्व गर्छन् ।

‘हामीले वैदेशिक लगानी भित्र्याउनैपर्छ । त्यसका लागि पहिला उपयुक्त नीति बनाउनुपर्छ । वैदेशिक लगानीले लगागी मात्र ल्याउँदैन, त्यसले दक्ष जनशक्ति ल्याउँछ, उपयुक्त व्यवस्था ल्याउँछ, देशमा पनि ठूलो रोजगारी दिन्छ,’ उनी भन्छन्, ‘त्यसैले वैदेशिक लगानी ल्याउने ढोका पनि खोलौं र लैजाने ढोका पनि बन्द नगरिदिऊँ । नीतिगत तहमा हामी प्रस्ट भयौं भने कसैले पनि औंला ठड्याउने मौका पाउँदैन ।’

नेपालमा खानी उद्योगको प्रशस्त सम्भावना छ । बजारका लागि भारतलगायत मुलुक नजिकै छन् । जनशक्तिका लागि पनि यहाँ समस्या छैन । तिनको उपयोग गरी प्रशस्त उत्पादन दिन सके रोजगारीलगायत क्षेत्रमा ठूलो कायापलट गर्न सकिने उनको भनाइ छ । उद्योग–व्यवसायमा बन्द–हड्तालजस्ता अवरोधका कार्यक्रम गरेर समस्या निम्त्याउन नहुनेमा उनी दृढ छन् । यस्तो अवस्थाको अन्त्य गर्न कर्मचारीलाई पनि सेयर दिएर काममा लगाउँदा राम्रो हुने र तिनमा पनि अपनत्वको भावना विकास हुने हुनाले यो उपाय लाभदायी हुने उनी बताउँछन् । ‘नेपालमा उद्योगमा लगानी गर्नेको सङ्ख्या कम छ । व्यावसायिक घराना पनि कम छन् । यहाँ विश्वासको कमी छ जस्तो लाग्छ,’ उनी भन्छन् ।

नेपालबाट वैदेशिक रोजगारीको क्षेत्रमा गाएकाबाट ठूलो रेमिट्यान्स भित्रिने गरेको छ । तर, त्यो पैसा घरको तला थप्ने, महँगो टेलिभिजन किन्ने, घुमफिर गर्ने आदिमा सकिने गरेको छ । त्यो पैसालाई च्यानलाइज गरेर काम गर्न सक्ने हो भने कोही नेपाली गरिब हुनुनपने उनी बताउँछन् । नेपालको पासपोर्ट बोकेर समृद्ध मुलुकको नागरिक हुँ भन्ने प्रभाव विश्वभर फैलाउन चाहने आफू एउटा व्यक्ति भएको उनको जिकिर छ । अमेरिकाको भिसा लाग्यो भने काठमाडौंमा खसी काटेर खाने सोचलाई उनी कहिल्यै प्राथमिकता दिँदैनन् ।

मिडिया उद्योग पनि एउटा व्यवसाय भएकाले सधैँ निष्ठा र तथ्यमा आधारित हुनुपर्ने उनको भनाइ छ । ‘मिडिया वकिल होइन । यो त समाजको ऐना हो । वस्तु जेजस्तो छ, त्यस्तै रुपमा त्यसलाई देखाइदिनुपर्छ,’ उनी भन्छन्, ‘म राजनीतिक व्यक्ति होइन । व्यवसायी हुँ । मलाई राजनीति गर्नु छैन । तर, मिडियाका कारण म समस्यामा पर्नु हुन्न । किनभने मैले कुनै गाउँमा गएर व्यवसाय गर्न चाहेँ भने त्यहाँका मानिसले स्वागत गर्ने किसिमको वातावरण बन्नुपर्छ, न कि विरोध । यसमा मिडियाको ठूलो भूमिका हुन्छ ।’

उनलाई अन्तिम प्रश्न सोधियो– तपाईं किन बेलाबखत विवादमा पर्नुहुन्छ ?

‘राष्ट्रमा लगानीको वातावरण बनाउन नचाहने, वैदेशिक लगानीलाई निरुत्साहित गर्ने र व्यक्तिगत रिसइबी साध्ने तङ्खवले मलाई विवादमा पारेका हुन्,’ उनी स्पष्ट पार्छन्, ‘मैले कहिल्यै गलत काम गरेर पैसा कमाएको छैन, म आफ्नो अन्तिम नाम सुमार्गीलाई अनुसरण गरेरै हिँडिरहेको छु । म कहिल्यै झुटो बोल्दिनँ ।’

विवादका घेराहरु

देशका स्थापित ठूला घरानाले लगानीका बारेमा सोचिरहेका बेला २०७० पुसमा पत्रकार सम्मेलनमार्फत अजेयराज सुमार्गीले २३ अर्ब ५० करोड थप लगानी गर्ने घोषणा गरे । एकैपटक थप लगानी भन्दै सुमार्गीले घोषणा गरेको रकमले कर्पाेरेट जगत्मा भित्रभित्रै सनसनी मच्चायो । यस्तो घोषणा गर्नुअघि नै सुमार्गी विवाद र चर्चाको केन्द्रमा थिए नै । गत वर्ष भने मिडियामा उनका बारेमा सिलसिलाबद्ध समाचारदेखि उनी अदातल पुगेका विषयले झनै विवाद र चर्चामा राख्यो ।

विवादमा उनी किन आउँछन् ? उनको आफ्नै तर्क र दाबी छ ।

तर, उनलाई विवादले पछ्याएको मुख्य विषय माओवादी मूलधारको पार्टीमा आइसकेपछि पार्टी अध्यक्ष पुष्पकमल दाहालसँग जोडेर उनको नाम आई नै रहनुलाई मानिन्छ । छोटो समयमा धनीको सूचीमा देखिएका सुमार्गीको हातमा अथाह सम्पत्ति कसरी भयो भन्ने शङ्कालाई तब बल पुग्यो, जब उनको आफन्त र उनकै नाममा स्रोत नखुलेको पैसा खातामा आउन थाल्यो । २०७० मा उनले लगानीका बारेमा घोषणा गर्नुअघि नै राष्ट्र बैङ्कको वित्तीय इकाइले २०६८ मा नै उनको र उनको आफन्तको खातामा विदेशबाट आएको पैसाका विषयमा छानबिन गरिरहेको थियो । छानबिनको दायरा सम्पत्ति शुद्धीकरण विभागसम्म पुग्यो । त्यही छानबिनको प्रक्रियामा राष्ट्र बैङ्कले विदेशबाट आउन लागेको ८ अर्ब ७० करोड रुपैयाँको थप रकम रोकिदियो ।

एक दशकमै सुमार्गीको सम्पत्तिको मूल्याङ्कनले उनलाई सधैं विवाद र उनले दाबी गरेजस्तै चर्चामा ल्याइरह्यो । राष्ट्र बैङ्क, सम्पत्ति शुद्धीकरण विभाग, मिडिया र अदालतमा पुग्दासम्म उनलाई विवादले छोडेको छैन । सर्वोच्च अदालतले सुमार्गीको नेपाल राष्ट्र बैङ्कले रोक्का गरेर राखेको करिब रु. दुई अर्ब २५ करोड लिन गत माघमा बाटो खोलिदिएको थियो । न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले बैङ्कले रकम रोक्का गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेपछि बैङ्कबाट रकम लिन उनलाई बाटो खुल्यो र विवाद पनि सेलाउँदै गएको जस्तो देखिएको छ । तर यो साम्य भने भइसकेको छैन ।

सुमार्गीले पटकपटक साइप्रसी कम्पनी एयरवेल तथा ब्रिटिस भर्जिन आइल्यान्डको कम्पनी जोधरबाट नेपालमा पैसा ल्याइरहेका थिए । यी दुई कम्पनीबाट सुमार्गीको नेपाल इन्भेस्टमेन्ट बैङ्क तथा नबिल बैङ्कमा रहेको दुई अर्बभन्दा बढी पैसा आएपछि दुई बैङ्कले नेपाल राष्ट्र बैङ्कलाई जानकारी दिएका थिए । राष्ट्र बैङ्कले अनुसन्धान गर्दै पैसा रोकेको थियो ।

डेढ दशकमा चर्चित नवधनाढ्यका रुपमा उदाएका सुमार्गीले दूरसञ्चार कम्पनी, सिमेन्ट उद्योग, पानी प्लान्ट, सञ्चारलगायतका क्षेत्रमा लगानी गरेका छन् । काठमाडौंका प्राइम लोकेसनहरुमा भौतिक सम्पत्ति रहेको सुमार्गीको चितवन र हेटौंडामा पनि पर्याप्त भौतिक सम्पत्ति रहेको छ ।

२०६८ मा उनका आफन्त शिशु अर्यालको खातामा ६ करोड ५५ लाख आएपछि त्यो रकम सुमार्गीको भन्ने आधारमा अनुसन्धान सुरु भएपछि त्यसले उनलाई विवादमा तानिरहेको थियो । स्रोत नखुलेको र विदेशबाट आफैंले रकम पठाएर आफंैले लिएको भन्ने आरोप उनलाई लागिरह्यो । यसको स्वतन्त्र पुष्टि नभए पनि उनी आफैंले समेत यसलाई होइन भनेर अर्काे दाबी गर्न सकेका छैनन् ।

सुमार्गीले पत्रकार सम्मेलनमा २०२९ सालदेखि चुन उद्योग, कलात्मक काठ उद्योग सञ्चालन गरिराखिएकोमा २०६० वैशाखदेखि दूरसञ्चार, खनिज, मिनरल, पूर्वाधार विकास, जलविद्युत, सञ्चार, शिक्षालगायतको क्षेत्रमा लगानी गरिरहेको बताएका थिए । सुमार्गीका पिता माधवराज पराजुलीले २०२९ सालमा मकवानपुरको भैंसेमा चुन उद्योग खोलेर व्यवसाय थालेका थिए । त्यसको पाँच वर्षपछि पराजुली परिवारको काठ उद्योग थपिएको थियो । २०५५ मा एभरेस्ट मिनरल प्रालि स्थापना गरेका पराजुलीले मुक्तिश्री समूहमार्फत दर्जनभन्दा बढी व्यवसायमा लगानी गरेका छन् । नेपाल स्याटेलाइट टेलिकम, मुक्तिश्री टेलिकम, हिमालयाज स्प्रिङ वाटर, नेपाल इन्फ्रा, दुर्गा कोल्ड स्टोरेज, इन्को प्यानल इन्डस्ट्रिज, हेटौंडा एजुकेसन फाउन्डेसन, नेसनल कलेजमा उनको लगानी छ भने महालक्ष्मी विकास बैङ्क तथा धादिङ आँखुखोला जलविद्युत्मा उनको साझेदारी छ ।