बलियो नेताको खोजी

वाम गठबन्धनमा सबैभन्दा बलियो नेताका रुपमा केपी शर्मा ओली उदाएका छन् । एमालेका अध्यक्षसमेत रहेका उनी देशको प्रमुख कार्यकारी अर्थात् प्रधानमन्त्री बनेका छन् । हिजो लामो समय शासनसत्ताको बागडोर हातमा लिएर पनि जनहितको काम गर्ने सवालमा उदास बन्दै आएको पुरानो दल नेपाली काङ्ग्रेसलाई जनताले पाखा लगाइदिएका छन् ।

पछिल्लो समय विश्व राजनीतिमा बलिया नेताको खोजी हुन थालेका देखिन्छ । ती नेताले अङ्गीकार गरेका राजनीतिक सिद्धान्तभन्दा पनि तिनको बलशाली अभिव्यक्तिलाई मतदाताले पत्याउन थालेको देखिएको छ । त्यस्ता अभिव्यक्ति कतिपय अवस्थामा ‘राष्ट्रवाद’ लेपित हुन पुगेको छन् भने कहिले ती सम्बद्ध देशको समृद्धिसँग जोडिएको पाइन्छ । दुई छिमेकी राष्ट्रमा हालै भएका विभिन्न तहका निर्वाचनमा यस्ता दृश्य राम्रैसँग देखिएका छन् । चीनमा त दुई कार्यकाल पूरा गरिसकेका सी जिन फिङलाई आजीवन राष्ट्रपति हुने बाटो नै खुलेको छ । यसको कारण चीनलाई बलियो अर्थतन्त्रयुक्त मुलुक बनाउने उनका महत्वाकाङ्क्षी योजनाहरु नै हुन् । ती योजनालाई चिनियाँ जनताले सहर्ष स्वागत गरेका छन् र बलिया नेता फिङप्रति तिनको अपार विश्वास पनि छ ।

संसारभरका शासकमा फिङ हुने मनोकाङ्क्षा अवश्य हुन्छ । तर फिङले जसरी देशलाई समृद्ध बनाउने योजना, दृष्टिकोण, लगनशीलता र त्याग भने कमैमा हुन्छ । भारतमा कुनै बेला निकै कमजोर दलका रुपमा रहेको भारतीय जनता पार्टी (भाजपा) यतिखेर जनमत जित्न सफल बन्दै गएको छ । भाजपाले जब नरेन्द्र मोदीलाई प्रधानमन्त्रीका रुपमा अघि सा¥यो तबदेखि नै यो दल लोकप्रिय हुँदै गएको देखिन्छ । उता, रुसमा पनि भ्लादिमिर पुटिन पुनः राष्ट्रपति पदमा अत्यधिक मतले निर्वाचित भएका छन् । झन्डै दुई दशकदेखि शासनसत्तामा रहेका पुटिनको अलोकतान्त्रिक आचरणबारे टिप्पणी हुँदै नभएको भने होइन । विश्वशक्ति अमेरिकामा पनि डोनाल्ड ट्रम्प बलशाली नेताका रुपमा उदाउन पुगेका छन् । पुटिन वा ट्रम्प अथवा मोदी, फिङको लोकतन्त्रप्रतिको निष्ठा, तिनको लोकप्रियता–अलोकप्रियताबारे यहाँ चर्चा गरिनु आवश्यक छैन ।

अब लागौँ आफ्नै देशको राजनीतिक समीकरण र त्यसले उत्पन्न गरेका तरङ्गहरुतिर । मुलुकले नयाँ संविधान पाएपछि स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभाका निर्वाचन सम्पन्न भइसकेर विजयी जनप्रतिनिधिले पदभार ग्रहण गरिसकेका छन् । यी निर्वाचनहरुको सफलतापूर्ण अवतरणले नयाँ संविधान कार्यान्वयनको चरणमा प्रवेश गरेको स्पष्ट हुन्छ । नेपाली जनताले वामपन्थी शक्ति मिलेर अघि बढेमा देश समुन्नत हुने विश्वास गर्दै वाम गठबन्धन (नेकपा एमाले र माओवादी) लाई निर्वाचनमा दुईतिहाइको हाराहारीमा मत दिएका हुन् । र, वाम गठबन्धनमा सबैभन्दा बलियो नेताका रुपमा केपी शर्मा ओली उदाएका छन् ।

एमालेका अध्यक्षसमेत रहेका उनी देशको प्रमुख कार्यकारी अर्थात् प्रधानमन्त्री बनेका छन् । हिजो लामो समय शासनसत्ताको बागडोर हातमा लिएर पनि जनहितको काम गर्ने सवालमा उदास बन्दै आएको पुरानो दल नेपाली काङ्ग्रेसलाई जनताले पाखा लगाइदिएका छन् । यतिबेला उक्त दल लोकप्रिय मतमा आफू अगाडि रहेको गणितीय हिसाब निकाल्दै आत्मरतिमा रमाइरहेको छ । नेपालको राजनीतिक इतिहासमा निर्वाचनका माध्यमबाट अहिलेको जस्तो बलियो सरकार विरलै बनेको देखिन्छ । एक पटक निर्वाचन जित्नु, सरकार बनाउनु, आफ्नो दलका नेतालाई मन्त्री बनाउनु, लाभका पदमा पु¥याउनु कुनै ठूलो कुरा होइन । ठूलो कुरा भनेको प्राप्त जनमतको सम्मान कसरी गर्न सकिन्छ भनेर विजयी नेताले सोच्नु र निरन्तर त्यसलाई कायम राख्न सक्नु हो ।

वर्तमान सरकारसँग जनमतको सम्मान गर्ने दुईओटा महङ्खवपूर्ण बाटा छन् । पहिलो, देशका संवैधानिक संस्थाहरु मजबुत बनाउनु । संवैधानिक निकायमा चरम राजनीतिक दबाब हुनाले यिनले जनविश्वास गुमाउँदै आएका छन्, यी कमजोर साबित हुँदै आएका छन् । यिनलाई मजबुत पार्न सक्दा विधिको शासन स्थापित गर्न तथा दण्डहीनता रोक्न मद्दत पुग्छ । र, दोस्रो भनेको जनताको आकाङ्क्षा पूरा गर्न सरकार अहोरात्र खट्नु । साथै, लामो समयदेखि केन्द्रीकृत शासन गर्न पोख्त सरकारले अब सङ्घीयताको मर्मअनुरुप विकेन्द्रीकृत शासन व्यवस्थालाई बलियो पार्नु जरुरी छ । यत्ति काम गर्न सक्दा जनता खुसी हुनेछन् ।

उल्लिखित सवालमा सरकार खरो ढङ्गमा उत्रन सक्दा मुलुकमा समृद्धिको मार्ग सहज बन्न सक्छ । विधिको शासन र दण्डहीनताको अन्त्यले कर्मचारी संयन्त्र अनुशासित तथा सदाचारी बन्न पुग्छन् भने निजीक्षेत्रमा जिम्मेवारीबोध बढ्न थाल्छ । जनहित तथा समृद्धि अब चुनावी नारामा सीमित रहनुहुन्न । यस्ता खोक्रा आश्वासनले एक पटक निर्वाचन जिताउन सक्ला, तर त्यसपछिका समय सम्बद्ध दलका निम्ति कष्टकर हुन जान्छ । वाम गठबन्धनलाई अहिले प्राप्त जनमत अन्तिम अवसरमा रुपान्तरित नहोस् ।