असमान सम्पत्ति : अराजकतालाई निम्तो

गत आर्थिक वर्षमा नेपालको व्यापार घाटा ९ सय १७ अर्ब रूपैयाँ पुग्यो । यस्तो घाटाको आकार चालू आवमा पनि बढ्ने सङ्केत अहिले नै देखिएको छ । उता, अकर्मण्य कर्मचारीका कारण चालू आवको ७ महिना बितिसक्दा पनि पुँजीगत खर्च २० प्रतिशत छुन सकेको छैन ।

अन्तर्राष्ट्रिय संस्था अक्सफामले गत वर्ष सार्वजनिक गरेको सर्भेक्षणले संसारमा व्याप्त असमानताको एउटा कहालीलाग्दो दृश्य प्रस्तुत गरेको छ । सर्भेको दृश्यमा अहिले पनि कुनै सुधार आएको छैन । उक्त सर्भेले भनेको छ– संसारको सम्पत्तिको ८२ प्रतिशत हिस्सा एक प्रतिशत महाजनको मुठ्ठीमा छ । झन्डै पौने ४ अर्ब मानिसको सम्पत्तिमा कुनै सुधार आएको छैन । यसको अर्थ दुनियाँभरमा सम्पत्तिको वितरणमा चरम असमानता छ । गरिब झन् गरिब हुँदै छन् भने धनी अकुत सम्पत्ति सिरानीमा राखेर मस्त सुतिरहेका छन् । हरेक गरिब मुलुकका भूगोलभित्र ‘सम्भावना’ लुकेर रहेको हुन्छ । तर, त्यो सम्भावनामा छिमेकी वा अलि परको धनी देशले नै ‘लुट’ गरिरहेको हुन्छ । गरिब छिमेकीलाई कसरी धनी वा समृद्ध पार्न सकिएला भनी चिन्ता लिने देश यो संसारमा अब पाउन कठिन छ ।

सानो तर अपार सम्भावना भएर पनि गरिब नै रहन बाध्य नेपालको अवस्था पनि उस्तै छ, जस्तो संसारका गरिब मुलुकहरुको छ । अझै पनि नेपालमा कुल गरिबीको सङ्ख्या २१.६ प्रतिशत छ । प्रदेश ७ का आधा जनता (४७.११) गरिबीको रेखामुनि बाँच्न बाध्य छन् । उता, प्रदेश २ पनि गरिबीको रेखामुनि रहेका जनताको अवस्थामा अपेक्षित सुधार आउन सकेको छैन । प्रदेश ७ प्राकृतिक रुपमा सम्पन्न भएर पनि त्यहाँका कतिपय जनतालाई दुई छाक टार्न किन धौधौ परिरहेको छ ? उत्तर सहज छ, कमजोर कनेक्टिभिटी । त्यहाँ उत्पादन हुने कतिपय कृषिजन्य वस्तु बजार नपाएर त्यसै कुहिएर जाने गरेका छन् भने अमूल्य जडिबुटी खेर गइरहेका छन् । सेतो सुन मानिएको जलविद्युत् पनि उसै खेर गइरहेको छ । पर्यटनका माध्यमबाट त्यहाँका बासिन्दालाई समृद्ध पार्न सक्ने तथ्य सबैलाई थाहा छ । तर त्यसका निम्ति आवश्यक पूर्वाधारमा लगानी गर्नेबारे न त सरकार, न त निजीक्षेत्र नै अग्रसर हुन सकिरहेको छ ।

गत आर्थिक वर्षमा नेपालको व्यापार घाटा ९ सय १७ अर्ब रूपैयाँ पुग्यो । यस्तो घाटाको आकार चालू आवमा पनि बढ्ने सङ्केत अहिले नै देखिएको छ । उता, अकर्मण्य कर्मचारीका कारण चालू आवको ७ महिना बितिसक्दा पनि पुँजीगत खर्च २० प्रतिशत छुन सकेको छैन । यसको मुख्य कारण कर्मचारीमा व्याप्त ‘कामचोर’ प्रवृत्ति, चुलिँदो परनिर्भरता, लगानीकर्ताहरु उत्पादनमूलक कामलाई त्याग्दै ‘टे«डिङ’तर्फ आकर्षित हुनुलाई मान्न सकिन्छ । विप्रेषणका माध्यमबाट प्राप्त पैसा विशेषगरी विलासिताका वस्तु आयातमा खर्च हुनाले पनि व्यापार घाटा चुलिन पुगेको छ ।

कुल जनसङ्ख्याको ६१ प्रतिशत कृषिमा आश्रित छ । तर कृषि क्रमशः निर्वाहमुखी हुँदै गएको छ । किसानलाई प्रोत्साहन गर्ने कार्यक्रम सरकारले ल्याउनै सकेको छैन । यसले कृषिलाई पेसा बन्नबाट रोकेको छ । उच्च सम्भावना भएको यो क्षेत्रको कुल गार्हस्थ्य उत्पादनमा २७ प्रतिशत मात्रै योगदान छ । समाजले कृषिलाई कहिल्यै सम्मानित आँखाले हेर्न जानेन । यही कारण पनि युवा पाखुरी कृषिमा आश्रित बन्न सकेन र वैदेशिक रोजगारी रोज्न बाध्य बन्यो ।

धनीहरुको सम्पत्ति दिन दुगुना, रात चौगुना हुनुको असर मुलुकको समग्र अर्थतन्त्रमा पर्न गएको छ । ती मान्छेहरुसँग भएको सम्पत्तिको ठूलो हिस्सा अनुत्पादक क्षेत्रमा पुग्छ । यसले रोजगारी सिर्जनामा कुनै योगदान दिँदैन न त मुलुकको अर्थतन्त्रको सुधारमै । यसरी संसारभरि प्रवाह भएको अथाह सम्पत्तिले गरिबलाई होइन, तिनै मुठ्ठीभर धनीलाई फाइदा हुन्छ । अनियन्त्रित ढङ्गमा प्रवाह हुन पुगेको पुँजीले उत्पादन र रोजगारीमा सकारात्मक योगदान गर्न नसक्दा गरिब तथा विपन्न वर्ग बढी मर्कामा पर्छन् । यही कारण पनि संसारभरि नै विद्रोह उत्पन्न हुने गर्छ । सम्पत्तिको असमान वितरणले अराजकतालाई निम्तो दिन्छ । यही अराजकता मौलाउँदै हिंस्रक स्थिति उत्पन्न हुन सक्ने अवस्था आउन सक्छ ।