शुल्क उठाउँछ क्यान, गर्दैन कुनै काम

ल्यान्डिङ सेवाशुल्कबापत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १० हजार किलोग्रामसम्मको जहाजलाई प्रतिहजार किलोग्रामको एक डलर २५ सेन्ट लिन्छ । त्यसैगरी १० हजार किलोग्रामभन्दा बढी २५ हजार किलोग्रामसम्म पहिलो १० हजार किलोग्रामको १२ डलर २५ सेन्ट र त्यसपछिको प्रत्येक हजार किलोग्रामको दुई डलर २५ सेन्ट शुल्क लिने गरेको क्यानका प्रवक्ता वीरेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले हवाई इन्धन बिक्री सेवाशुल्कबाट मात्रै आगामी पाँच वर्षमा ९ अर्ब रुपैयाँभन्दा बढी रकम उठाउनेछ । तीन वर्षयता सेवाशुल्क उठाउन थालेको क्यानले अहिलेसम्म ५ अर्ब रुपैयाँभन्दा धेरै रकम उठाइसकेको छ ।

क्यानको तथ्याङ्कअनुसार गत आर्थिक वर्षमा मात्र क्यानले सेवाशुल्कबाट १ अर्ब ६० करोड रुपैयाँ उठाएको छ । क्यानले यही दरमा सेवा शुल्क उठाए अबका दुई वर्षमा ४ अर्ब रुपैयाँ उठाउने निश्चित छ । पाँच वर्षसम्मका लागि मात्र उठाउने पाउने यो शुल्कबाट रिमोट पार्किङ, रनवे मर्मत र जग्गा अधिग्रहणका लागि हुने खर्च व्यवस्थापन गर्ने क्यानले बताएको थियो । त्यसैले यतिका रकम उठिसक्दा स्वाभाविक रुपमा प्रश्न जन्मन्छ – के क्यानले भनेका यी काम भएका छन् त ?

तर, अहिलेसम्म क्यानले भनेजस्तो खासै प्रगति हुन सकेको छैन । न क्यानले रिमोट पार्किङ बनाएको छ न त रन वे मर्मत हुन सकेको छ । जग्गा अधिग्रहण पनि उपलब्धिमूलक रुपमा हुन सकेको छैन ।

त्यसो त, क्यानले उठाउने हवाई इन्धन बिक्री सेवाशुल्क मात्र होइन, उसले सञ्चार तथा उड्डयन सहायक सेवाशुल्क, माल सामान (कार्गो) प्रबन्ध सेवाशुल्क, गृहआश्रय (हाउजिङ) सेवाशुल्क, ग्राउन्ड ह्यान्डलिङ शुल्क, पार्किङ शुल्क, ल्यान्डिङलगायत शीर्षकमा आधा दर्जनभन्दा बढी शुल्क उठाउँदै आएको छ ।

विमानस्थलको स्तरोन्नति, पूर्वाधार विकास, यात्रुलाई सुविधा प्रदान गर्ने खालका विभिन्न संरचना बनाउन यस्तो प्रकारको सेवाशुल्क उठाइन्छ । तर, यसरी उठाइएको शुल्कलाई सही प्रयोग गरिएको छैन । यस्तो शुल्क नाफा देखाउन र कार्यालय सञ्चालन गर्न मात्र प्रयोग गर्ने गरिएको छ ।

क्यानले विमानस्थलको स्तरोन्नति गर्न भन्दै वार्षिक अर्बौं रुपैयाँ उठाउने र उठेको रकम लक्षित कार्यक्रममा खर्च नहुँदा पूर्वाधारको बिजोग त छँदै छ, बर्सेनि हवाई यात्रुमाथि आर्थिक भार थोपरिँदै छ । ‘क्यानले आन्तरिक तथा बाह्य एयरलाइन्सबाट विभिन्न सेवाशुल्क उठाउने गर्छ,’ एक एयरलाइन्स व्यवसायीले भने, ‘व्यवसायीले क्यानलाई तिरेको सम्पूर्ण खर्च टिकटमा समावेश गर्ने गरेकाले यात्रुलाई टिकट खरिदमा महँगो परेको हो ।’

‘क्यानले जति शुल्क लिन्छ, त्यो सबै रकम जोडेर टिकटको दर निर्धारण हुन्छ,’ ती व्यवसायीले क्यापिटलसँग भने, ‘यदि क्यानले सेवाशुल्कको दर घटाउने हो भने टिकटको मूल्य स्वतः घटछ ।’

क्यानले ल्यान्डिङ सेवाशुल्कबापत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १० हजार किलोग्रामसम्मको जहाजलाई प्रतिहजार किलोग्रामको एक डलर २५ सेन्ट लिन्छ । त्यसैगरी १० हजार किलोग्रामभन्दा बढी २५ हजार किलोग्रामसम्म पहिलो १० हजार किलोग्रामको १२ डलर २५ सेन्ट र त्यसपछिको प्रत्येक हजार किलोग्रामको दुई डलर २५ सेन्ट शुल्क लिने गरेको क्यानका प्रवक्ता वीरेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार क्यानले एक लाख किलोग्रामभन्दा बढी तौल भएको जहाजले पहिलो एक लाख किलोग्रामको चार सय ७५ डलर र त्यसपछिको प्रत्येक हजार किलोग्रामको ८ डलर ५५ सेन्ट लिने गरेको छ । त्यसैगरी, आन्तरिक उडानका विमानस्थलमा १० हजार किलोग्रामदेखि ५० हजार किलोग्रामभन्दा बढी जतिसुकै तौल भएकालाई विभिन्न शुल्क निर्धारण गरेको छ । र, सोहीअनुसार शुल्क उठाउँदै आएको छ । क्यानले प्रतिहजार किलोग्राम ५५ रुपैयाँ र ५० हजार किलोग्रामभन्दा बढी तौलको जहाज भए प्रत्येक एक हजार किलोग्रामको २ सय २० रुपैयाँ शुल्क लिँदै आएको श्रेष्ठ बताउँछन् ।

व्यवसायीका अनुसार ह्याङ्गरको प्रतिस्क्वायर मिटर १ सय ५० रुपैयाँ लिँदै आएको छ । यो एकदमै महँगो भएको व्यवसायीहरुको गुनासो छ । त्यसैगरी, एयरपोर्टभित्र कार्यालय सञ्चालन गर्नुप¥यो भने प्रतिवर्गमिटर एक हजार रुपैयाँ पर्ने गरेको छ । यस्ता विभिन्न कुराले गर्दा हवाई यात्रा अत्यन्तै महँगो भएको व्यवसायीको गुनासो हुन्छ ।

क्यान त्रिभुवन अन्तर्राष्ट्रियसहित देशभरका विमानस्थलको प्रमुख सञ्चालक निकाय हो । क्यानले त्रिभुवन विमानस्थलबाट विदेश जाने प्रत्येक यात्रुसँग सेवाशुल्कबापत १ हजार १ सय ३० रुपैयाँ तथा आन्तरिक गन्तव्य जानेसँग २ सय रुपैयाँ लिने गरेको छ । अन्य आन्तरिक विमानस्थलमा पनि सेवाशुल्क लिने गरिन्छ । यस्तो शुल्क हवाई टिकटमै जोडिएको हुन्छ, जसका कारण आन्तरिकतर्फ तथा विदेश जाने यात्रुमाथि आर्थिक भार परेको व्यवसायी बताउँछन् ।

व्यवसायीका अनुसार क्यानले लिने शुल्कमा ५० प्रतिशत मात्र कटौती हुने हो भने पनि यात्रुलाई धेरै फाइदा हुन्छ । टिकट दर महँगो हुनुमा हवाई इन्धनको भूमिका महङ्खवपूर्ण हुन्छ । त्यसपछि बिमा र अन्त्यमा क्यानले लिने शुल्क छ ।
हवाई इन्धन विदेशबाट आउने भएकाले महँगोमा बिक्री गर्नुको विकल्प छैन । तर, क्यानले लिने शुल्कमा केही प्रतिशत मात्रै घटाउने हो भने, अहिलेको भाडादरमा २० प्रतिशत सस्तो हुने एयरलाइन्स अपरेटर्स एसोसिएसन नेपालले जानकारी दिएको छ । नेपालको ‘एयरफेयर’ महँगो हुनुमा क्यानले लिने सेवाशुल्क मुख्य रहेको एसोसिएसनका अध्यक्ष मनोज कार्कीले जानकारी दिए । ‘क्यानले हामीसँग उठाएको रकमले पूर्वाधार विकास गरेको भए राम्रै हुन्थ्यो,’ उनले भने, ‘हामीसँग धेरै रकम लिने अनि उठेको रकम बैङ्कमा जम्मा गरेर राख्ने ?’
क्यानको आम्दानीको मुख्य स्रोत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हो । क्यानले यो विमानस्थलबाट मात्रै गत आर्थिक वर्षमा ६ अर्ब ३८ करोड २४ लाख ४ हजार ९ सय ३४ रुपैयाँ आम्दानी गरेको छ ।

नेपालमा दर्जनभन्दा बढी आन्तरिक वायुसेवा तथा ३० भन्दा बढी अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले उडान गरिरहेका छन् । यहाँ जहाजलाई ’ग्राउन्ड ह्यान्डलिङ’, ल्यान्डिङ, पार्किङ, नेभिगेसनलगायतबाट शुल्क तथा विमानस्थल विकास शुल्क र यात्रु सेवाशुल्क उठाउने गरिन्छ । त्यसबाहेक क्यानअन्तर्गत हाल २८ ओटा विमानस्थलमा नियमित हवाई सेवा सञ्चालन भइरहेका छन् ।
एकातिर पूर्वाधार विकासको नाममा विभिन्न सेवाशुल्क उठाउने अर्कोतिर विभिन्न शुल्कबाट उठेको रकम थुपारिरहने काम भइरहेको छ । हाल क्यानसँग १५ अर्ब रुपैयाँ थुप्रिएर बसेको छ ।

क्यानसँग भएको रकम खर्च गर्नु त परै जाओस्, अझ विभिन्न विमानस्थल निर्माण गर्न भन्दै सरकार र दातृनिकायसँग ऋण पनि लिइरहेको छ । पछिल्लो तथ्याङ्कअनुसार आगामी पाँच वर्षभित्र क्यानको ऋण सवा खर्बभन्दा बढी पुग्ने निश्चित छ । जसअनुसार पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका लागि २३ अर्ब, भैरहवा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थललाई १० अर्ब रुपैयाँ, त्रिभुवन विमानस्थललाई पहिलो चरणमा १० अर्ब रुपैयाँ, प्रस्तावित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थललाई १ खर्ब २१ अर्ब (प्रक्षेपण)बराबर ऋण रहनेछन् ।
क्यानका प्रवक्ता श्रेष्ठले भने प्राधिकरणले स्तरोन्नतिको कार्य गरिरहेको दाबी गरे ।

विभिन्न विमानस्थलमा विगतको तुलनामा सेवासुविधामा विस्तार भएको भन्दै उनले क्यानले विकासका आवश्यक खर्च नगरेको भन्ने आरोप निराधार भएको बताए । श्रेष्ठले भने, ‘आजका १० वर्ष अघिको तुलनामा हेर्नुस् त, विमानस्थलको अवस्थामा कस्तो सुधार छ ? कैयन् स्थानमा कालोपत्रे छ, सुधार हुँदै छ, एकैपटक कहाँ हुन्छ त ? नेपालमा बसेर विदेशको विमानस्थलसँग तुलना गर्न पनि भएन ।’
‘यदि सेवाशुल्क नउठाउने हो भने विमानस्थलको हालत कस्तो होला ?,’ उनले प्रश्न गरे । सरकारले विमानस्थलको मर्मत खर्च गर्न रकम उपलब्ध गराउँदैन । ‘सेवाशुल्कबाट आएको रकमले त्यहाँको मर्मत गर्ने हो,’ उनले भने ।

क्यानले एरोनोटिकल नन एरोनाटिकल गरी दुई तरिकाबाट शुल्क उठाउँदै आएको छ । एरोनोटिकलअन्तर्गत ल्यान्डिङ, पार्किङ, यात्रु सेवाशुल्क, नेभिगेसन र विमानस्थलले पार्किङको समयावधि बढाएबापत लिने रकम पर्छ । नन एरोनाटिकलअन्तर्गत भने क्यानले विभिन्न विमानस्थलबाट टर्मिनल भवनमा लगाएको भाडाका साथै होर्डिङ बोर्ड राखेर विज्ञापन गरेबापतको आय र चलचित्र सुटिङका लागि दिँदा लिने दस्तुर आदि पर्छ । क्यानले विमानको ल्यान्डिङ, पार्किङका साथै विमानस्थल क्षेत्रमा बनाइएका भवनहरुलाई भाडा लगाएरसमेत आम्दानी गर्दै आएको छ ।

शुल्कबापत उठेको रकम क्यानको खातामै थन्कियो

क्यानले विभिन्न नाममा उठाएको रकम क्यानको खातामै थन्किएर बसेको छ । एकातिर विमानस्थलको हालत दिन प्रतिदिन नाजुक बन्दै गएको अवस्था छ भने अर्कोतिर मर्मतसम्भारको जिम्मा पाएको निकाय खातामा पैसा जम्मा गरेको बसेको छ । गर्नुपर्ने सामान्य सुधारसमेत नगरी क्यानले १५ अर्ब रुपैयाँ खातामा जम्मा गरेर राखेको व्यवसायीहरुको गुनासो हुन्छ । त्यहाँबाट आएको ब्याज खाएर बस्नेबाहेक कुनै काम हुन नसकेको गुनासो सम्बन्धित सरकारी अधिकारी नै गर्छन् ।