धरहरा वरिपरिका संरचना धमाधम भत्काइँदै (फोटो फिचर)

धरहरा वरिपरि रहेका संरचनाले धरहराको सौन्दर्यमा असर परेको भन्दै तिनलाई भत्काउन लागिएको हो । अहिले यहाँ नयाँ संरचना निर्माणमा समेत रोक लगाइएको छ ।

काठमाडौं महानगरपालिकाले धरहरा वरिपरिका संरचनालाई हटाउने क्रमलाई तीव्रता दिएको छ । नगरपालिकाले धरहरा वरिपरिका होटल, टहरा र पसल धमाधम भत्काइरहेको छ ।

केही हप्ताअघि प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा आफंै बनाउने उद्घोष गरेसगैं महानगरपालिकाले धरहरा वरिपरिका छाप्रा, होटल, तथा अन्य व्यवसाय गर्दै बसेका पसलहरु भत्काउँदै गएको हो ।

सरकारले महानगरलाई वरिपरिका संरचना हटाउन सूचना जारी गरेको थियो । नेपाल सरकारको नीति तथा कार्यक्रम र बजेटमा धरहराको निर्माण तीन वर्षभित्र पूरा गर्ने घोषणा गरिएको छ । उक्त संरचना हटाउन अहिले १० देखि १५ जना कामदार खटिइरहेका छन् ।

यसअघि प्रधानमन्त्री भएका बेला ओलीले ‘मेरो धरहरा म बनाउँछु’ अभियान चलाएर आफ्नो एक महिनाको तलबसमेत कोषमा जम्मा गरेका थिए । धरहरा पुनर्निर्माण कोषमा करिब ९ करोड रुपैयाँसमेत सङ्कलन भएको थियो ।

२०७३ पुस २९ गतेको मन्त्रिपरिषद् बैठकले धरहरा पुनर्निर्माण जिम्मेवारी नेपाल टेलिकमलाई दिएको थियो । तर धरहराको डिजाइनका विषयमा कुरा नमिल्दा टेलिकम पछि हटेको थियो ।

धरहरा वरिपरि रहेका संरचनाले धरहराको सौन्दर्यमा असर परेको भन्दै तिनलाई भत्काउन लागिएको हो । अहिले यहाँ नयाँ संरचना निर्माणमा समेत रोक लगाइएको छ ।