पखेटा फिजाउँदै पोल्ट्री क्षेत्र

तथ्याङ्क विभागको सर्वेक्षण मात्रै होइन्, पोल्ट्री व्यवसायी महासङ्घको अध्ययनले पनि पोल्ट्री क्षेत्र फैलिँदै गएको देखाएको छ । पोल्ट्री व्यवसायी महासङ्घका प्रथम उपाध्यक्ष नारायणहरि खत्रीका अनुसार यो क्षेत्रमा ७५ अर्ब रुपैयाँ लगानी भइसकेको छ । ‘१० वर्षको अवधिमा पोल्ट्री क्षेत्रमा झण्डै ५० अर्ब रुपैयाँ लगानी थपिएको हो,’ उनले क्यापिटलसँग भने, ‘दाना उद्योगमा त विदेशी लगानी समेत आइसकेको छ ।’

केन्द्रीय तथ्याङ्क विभागले २०६८ सालमा सार्वजनिक गरेको ‘कृषि गणना २०६८’मा पोल्ट्री क्षेत्रले नेपालमा ठूलो फ्डको मारेको देखाएको छ । १० वर्षको अवधिका पोल्ट्री क्षेत्र झण्डै ५० प्रतिशतले बढेको छ भने, कुखुराको सङ्ख्या ४९ प्रतिशतले बढेको विवरण सार्वजनिक गरिएको थियो ।

विभागको तथ्याङ्कबाट पनि के प्रस्ट हुन्छ भने, पोल्ट्री क्षेत्रमा किसानको ठूलो सहभागिता रहेको छ । सानो लगानीमै स्वरोजगार बन्न सकिने र छोटो समयमै पैसा आर्जन हुने भएकाले कृषकहरु यतातिर आकर्षित भएको केन्द्रीय तथ्याङ्क विभागका महानिर्देशक सुमन अर्यालले बताए । ‘किसानको मुख्य आम्दानीको स्रोत पोल्ट्री क्षेत्र हो,’ उनले भने ।

कृषकको मुख्य आम्दानीको स्रोत मानिएको पोल्ट्री क्षेत्र कृषि गणना २०६८ देखि ६ वर्ष अर्थात २०७४ सम्म आइपुग्दा झनै उकालो चढेको छ । विदेशबाट फर्केर आउने युवा तथा युवती हुन्, वा गाउँमै बस्ने मानिस, उनीहरुको पहिलो रोजाइ कुखुरा फार्म खोल्ने हुन्छ । र अहिलेसम्म त्यही हुँदै आएको छ । विभागबाट अध्ययनमा खटिएका कर्मचारीले कुखुरा फार्म मालिकसँग बुझ्दा ‘उनीहरु विदेशमा सीप सिकेर नेपालमा आएर व्यवसाय सुरु गरेको बताएका थिए’ ।

तथ्याङ्क विभागको सर्वेक्षण मात्रै होइन्, पोल्ट्री व्यवसायी महासङ्घको अध्ययनले पनि पोल्ट्री क्षेत्र फैलिँदै गएको देखाएको छ । पोल्ट्री व्यवसायी महासङ्घका प्रथम उपाध्यक्ष नारायणहरि खत्रीका अनुसार यो क्षेत्रमा ७५ अर्ब रुपैयाँ लगानी भइसकेको छ ।
‘१० वर्षको अवधिमा पोल्ट्री क्षेत्रमा झण्डै ५० अर्ब रुपैयाँ लगानी थपिएको हो,’ उनले क्यापिटल नेपालसँग भने, ‘दाना उद्योगमा त विदेशी लगानी समेत आइसकेको छ ।’

महासङ्घका अनुसार हाल देशभर ९० ओटा दाना उद्योग रहेका छन् । ती उद्योगमा २० अर्ब रुपैयाँ लगानी भएको छ । त्यसैगरी, कोल्ड स्टोरमा ५ अर्ब रुपैयाँ लगानी भएको छ । हाल नेपालमा ५ ओटा मात्रै ठूला कोल्ड स्टोर (५० करोड रुपैयाँ भन्दा बढी लगानी भएका) रहेका छन् । तर, सानो लगानीमा स्थापना भएका कोल्ड स्टोरको तथ्याङ्क महासङ्घले राखेको छैन ।

खत्रीका अनुसार व्यावसायिक कुखुरा फार्ममा २५ अर्ब रुपैयाँ लगानी भएको छ । नेपालभर ३० हजारको हाराहारीमा कुखुरा फार्म रहेका छन् । त्यसैगरी, २ सय ओटा ह्याचरीमा २५ अर्ब रुपैयाँ लगानी भएको महासङ्घले जनाएको छ ।

रोजगारी वृद्धि गरी देशको आर्थिक वृद्धिदर उकास्ने पोल्ट्री क्षेत्रले योगदान गर्न सक्ने उद्योगीहरुले बताएका छन् । हाल यो क्षेत्रले एक लाख ५० हजार भन्दा बढीलाई प्रत्येक्ष रुपमा रोजगारी दिएका छन्, भने अप्रत्येक्ष रुपमा २ लाख भन्दा बढीलाई रोजगारी दिएको महासङ्घका अध्यक्ष गुणचन्द्र विष्टले जानकारी दिए ।

अण्डा उत्पादक सङ्घका अध्यक्ष शिवराम केसीले अण्डामा नेपाल आत्मनिर्भर भएको बताए । हाल दैनिक २१ लाख गोटा अण्डा उत्पादन भइरहेको छ । तर, बजारमा २० लाख गोडा अण्डाको मात्रै माग रहेको छ । अहिले उत्पादन भन्दा माग कम भएकाले व्यवसायीहरु नोक्सान ब्यहोरिरहेको बताएका छन् । विगत तीन वर्षदेखि कुखुराको मासु तथा अण्डामा नेपाल आत्मनिर्भर भए पनि सरकारले आत्मनिर्भर भएको घोषणा गर्न नसकेको केसीले बताए ।