हिमालभन्दा अग्ला हिमालय

अनुभवका खानी राणाको अहिलेको दैनिकी पनि ‘एक्टिभ’ छ । बिहान उठ्छन् । व्यायाम गर्छन् । त्यसपछि पत्रपत्रिका र पुस्तक पढ्छन् । त्यति मात्र होइन, कुनै कार्यक्रमको निमन्त्रणा आए सहभागिताका लागि मिलेसम्म पुग्छन् पनि ।

हामीले हिमालयशमशेर राणालाई भेट्न समय माग्यौं । तर उनले दुई दिनसम्म बोर्ड मिटिङ रहेकाले आफू व्यस्त रहेको र शुक्रबार आउन समय दिए । सोहीअनुसार जेठ अन्तिम शुक्रबार दिउँसो उनको निवास थापाथली पुग्यौं ।

भेटपछि पहिलो प्रश्न ग¥यौं हामीले— ९० वर्षको उमेरमा पनि हजुरको व्यस्तता किन ?

पहिला मुस्कुराए । त्यसपछि पावरवाला सेतो चस्मा मिलाए र भने, ‘मलाई आवश्यक ठानेर बोलाउनेहरुकहाँ गएर सल्लाह दिने गरेको छु । सल्लाह, सुझाव र निर्देशन दिन कहिल्यैं ‘टायर्ड’ महसुस गर्नुहुन्न भन्ने मेरो मान्यता छ ।’

हामीले थाहा पायौं, हिमालयन बैङ्कको बोर्ड बैठकमा उनी सहभागी भएका रहेछन्, जुन बैङ्क उनी आफैंले स्थापना गरेका थिए ।

हिमालयशमशेरको परिचय यतिमै सीमित हुँदैन । उनी नेपालको पहिलो अर्थसचिव, मात्र होइन, राष्ट्र बैङ्कका प्रथम गभर्नर पनि हुन् । यी विशेषण सँधै उनीसँग जोडिन्छन् । २४ वर्ष यूएनअन्तर्गत रहेर नेपालबाहिर बसेका राणा नेपालको राजनीति र अर्थतन्त्रसँग सधैं निकट रहे ।

हामीले उनीसँग पहिलो अर्थसचिव र गभर्नर बन्दाका क्षणबारे जानकारी माग्यौं ।

उनी मुस्कानसहित नै प्रस्तुत भए, ‘म चार वर्षभन्दा बढी समय अर्थसचिव र त्यति नै समय गभर्नर बनें । अर्थसचिवबाट हटेपछि गभर्नर बन्दाको समय अर्थसचिव नै बनिरहँु जस्तो लागेको थियो । म गभर्नरको महङ्खव थाहा पाएर भएको होइन । तर गभर्नरको ग्ल्यालमरस पछि बढ्दै गयो ।’

राणाले भने जस्तै उनलाई त्यो बेला गभर्नरको महङ्खव थाहै थिएन । अर्थसचिव भएर नीतिगत सुधारमा लागेका राणाले त्यो बेलाका राजनीतिक शीर्ष नेतालाई अर्थमन्त्रीका रुपमा पाएका थिए । अर्थसचिव भएकै बेला वित्तीय ज्ञान अझ बढाउन उनी अध्ययनका लागि अमेरिका र क्यानडा गए । एक वर्षपछि फर्किंदा अर्थसचिवमा तत्कालीन सरकारले अर्कै व्यक्ति नियुक्त गरिसकेको थियो ।

‘अर्थसचिव हुँदा नै म अध्ययनका लागि एक वर्ष बाहिर गएँ, आउँदा मेरो ठाउँमा अर्कैलाई ल्याइएको थियो,’ राणाले विगत सम्झिए, ‘एक वर्ष ग्याप हुँदा अर्काे व्यक्ति आउनु स्वाभाविकै थियो । तर मलाई भने अर्थसचिवमै राखिदिए हुन्थ्यो भन्नेउ लागेको थियो । तर त्यसो भएन ।”

नेपाल आएपछि राणा जगेडामा परे ।

देशमा राणाशासन हटेर प्रजातन्त्र आएको पाँच वर्ष पुगेको थियो । नयाँ राजनीतिक व्यवस्थाको जग बस्दै थियो । देशमा नयाँ लहर र उमङ्ग छाएको थियो । हिमाल, पहाड र तराईलाई एउटै मालामा उन्ने राजा महेन्द्रले उद्घोष गरेर अगाडि बढिसकेका थिए ।

देशमा दुई किसिमका मुद्रा चल्थे । पहाड र हिमालमा नेपाली मुद्रा चले पनि तराईमा भारतीय मुद्रा मात्र चल्थ्यो । एउटै देशमा दुई मुद्रा चलेपछि राजा महेन्द्रलाई राष्ट्र बैङ्क खोल्ने, बैङ्क स्थापना गर्ने र वित्तीय अवस्थामा सुधार ल्याउने हुटहुटी चल्यो । राजा महेन्द्रले नै बनाएको राष्ट्र बैङ्कको अवधारणामा हिमालयशमशेर राणालाई गभर्नरको प्रस्ताव आयो ।

‘तराईमा नेपाली मुद्रा नचल्ने र सरकारी टेन्डरदेखि राजस्वसम्म भारतीय मुद्रा नै चल्ने अवस्था थियो,’ उनले भने, ‘एउटै मुद्रा चलाउने र वित्तीय अवस्थामा नयाँ सुधार ल्याउने उद्देश्यले राजा महेन्द्रले राष्ट्र बैङ्कको अवधारणा ल्याउनुभएको हो ।’

विदेशबाट आएको पुगनपुग दुई महिना हुुँदै थियो । राजा महेन्द्रले दरबारका मान्छे पठाएर राष्ट्र बैङ्कको अवधारणा सुनाए । उनीहरुमार्फत बैङ्कमा ‘तपार्इं गभर्नर हुनुप¥यो’ भनेर प्रस्तावसमेत गरे । त्यसपछि राणा गभर्नर भएँ ।

गभर्नर भएपछि नोटमा हस्ताक्षर गरेको महिमा पनि उनलाई थाहै भएन ।

नोटमा हस्ताक्षर त गरे । तर त्यो बेला पनि उनमा कुनै उत्साह देखिएन । ‘पछि त्यसको महङ्खव बढी रहेछ भन्ने बुझें । आफ्नै हस्ताक्षरको नोट अहिले मसँग छैन,’ उनले आफूले नोट खोजिरहेको बताए, ‘२४ वर्ष बाहिर बस्दा सङ्कलन गर्नै पाइनँ । अहिले खोजिरहेको छु, भेटेको छैन । नोटको सुरुको अङ्कमा राजा महेन्द्रले हस्ताक्षर गरेर मलाई दिनुभएको थियो । त्यो पनि अहिले भेटेको छैन ।’

राणा गभर्नर भएपछि तराई क्षेत्रमा पनि नेपाली नोट प्रचलनमा आयो । नेपाल र भारुको सटही दर व्यवस्थित भयो । राणालाई महेन्द्रले गभर्नर बनाए । उनले नै हटाए पनि । २०१७ सालमा महेन्द्रले कू गरेपछि नेपालका सबै प्रमुख पदबाट सबैलाई हटाए । त्यसैको मेसोमा राणा पनि परे ।

‘महेन्द्र सरकारले राख्नु पनि भयो, हटाउनु पनि भयो,’ उनले भने, ‘दलहरुलाई प्रतिबन्ध गरेर निर्दलीय गराउने महेन्द्रको योजना रहेछ । सबैलाई हटाउँदा म पनि हटें ।’

गभर्नरबाट हटाउँदा साह्रै दुःख लाग्यो । मुटुमा ज्वालामुखी नै गएको थियो उनको । निद्रा परेन । राजपरिवगारसँग राणा परिवारको पारिवारिक नाता पनि थियो । त्यसैले ‘मैले के बिराएँ ? किन हटाइबक्स्यो’ भनेर उनले निवेदनसमेत दिए ।

राणा भए पनि मध्यमवर्गीय थियो उनको परिवार । हिमालयका तीन सन्तान छन् ।

अर्थसचिवबाट गभर्नर भएका त्यो पद पनि हटेपछि उनलाई साह्रै समस्या भयो । उनले राजालाई दिएको निवेदनको जवाफ पनि आएन । उनी अन्योलमै थिए । ‘दरबारबाट मलाई भेटछु भन्ने हुकुम भएको छ भन्ने खबर त आएको थियो,’ उनी विगतमा फर्किए, ‘तर तीन महिनासम्म भेट भएन । यसबीचमा मैले यूएनमा जागिरका लागि अप्लाई गरिसकेको थिएँ ।’

फुर्सदिलो भएपछि यूएनबाट राणालाई बोलावट भयो । तर त्यही बेला दरबारबाट पनि भेट्न बोलाएको खबर आयो । उनी दोधारमा परे । तर त्यति बेला उनी दरबार गएनन् । यूएनतिर सोझिए । ‘म यूएन जाने बेलामा दरबारबाट खबर आयो । तर उता गइनँ । म यूएन गएँ,’ उनले भने, ‘खासमा दरबारलाई कुर्नुपर्छ भन्ने भावमा त्यहाँबाट सन्देश आएको थियो ।’

यूएनको प्रमुख भएर राणाले बर्मा, इन्डोनेसिया, अफगानिस्तान, श्रीलङ्कालगायत देशमा काम गरे । न्युयोर्क बसे । उनी जहाँजहाँ जान्थे, सन्तानलाई पनि उतै लैजान्थे । उतै पढाउँथे । संसारका विभिन्न मुलुकका ज्ञान बटुलेका उनका छोरा अशोक राणा अहिले हिमालयन बैङ्कका प्रमुख कार्यकारी अधिकृत छन् । जेठी छोरी प्रतिमाको बैङ्कर पृथ्वीबहादुर पाँडेसँग विवाह भयो । कान्छी छोरी सङ्गीताको भने सूर्यबहादुर थापाका छोरा सुनिल थापासँग विवाह भयो ।

राजा त्रिभुवन र महेन्द्रसँग नजिका रहेका राणा उनीहरुसँग उठबसमै हुन्थे । ‘म त्रिभुवनसँग बसेर धेरै वाइन खाएको छु । महेन्द्र सरकारसँग पनि पिउनकै लागि पनि बसियो । तर गभर्नरबाट हटेपछि टाढा भइयो,’ उनी भन्छन् ।

२००७ देखि २०१२ सालमा नौनौ महिनामा सरकार फेरिरहँदा राणाले विभिन्न अर्थमन्त्रीसँग काम गरे । अरु मन्त्रालयका धेरै सचिव फेरिँदा पनि उनी अर्थसचिवमै बसिरहे । ‘म अर्थसचिव भएपछि इनकम ट्याक्स डिपार्टमेन्ट, एक्साइज ड््युटी डिमार्टमेन्ट खडा गरें,’ उनले भने, ‘म अर्थसचिव हुँदा सुवर्णशमशेर राणा, मातृकाप्रसाद कोइराला, टङ्कप्रसाद आचार्य, गुञ्जमान सिंह र केआई सिंह अर्थमन्त्री भएर आए । तर सबैसँग मिलेर काम गरें, उनीहरुको मन जितें ।’

नेपालको पहिलो बजेट निर्माण बनाउनमा पनि राणा लागे । त्यसपछिको पहिलो चार वर्षको बजेट पनि उनले नै बनाए । ‘पहिलो बजेट तीन करोडको थियो, बजेटको अभ्यास भएपछि बनाइएकाले त्यसले धेरै कुरा सम्बोधन गरेको थियो,’ उनी सम्झिन्छन् ।

अर्थसचिव र गभर्नरसमेत भइसकेकाले होला, राणा २०४७ सालमा बैङ्क खोल्न कस्सिए । त्यसका लागि टिम बन्यो । नाम पनि राखियो— हिमालयन ।
‘आफ्नै जस्तो नाम राखेर हिमालयन बैङ्क खोल्नुभयो होइन ?’ हामीले अर्काे प्रश्न ग¥यौं । सायद उनले यस्तो प्रश्न खोजेका थिएनन् ।

हाम्रो प्रश्न सकिन नपाउँदै उनी आर्मचियरबाट अलि अघि बढे । र भने, ‘खासमा ठ्याक्कै मेरै नामलाई बैङ्कको नाम बनाउन लागिएको थियो । साथी र हाम्रो टिमले मेरै नामबाट बैङ्क सञ्चालन गर्न दबाब दिएका थिए । मैले कुनै पनि हालतमा पनि मानिनँ । अन्ततः हिमालयन भएको हो । यो नामले मलाई होइन, देशलाई चिनाउँछ भनेपछि हिमालयन नै राखियो ।’

राणाले देशमा भएका धेरै राजनीतिक परिवर्तन देखे । तर जेजस्तो परिवर्तन साक्षात्कार गरे पनि राणाले देशमा जहिल्यै सुशासनको अभाव खड्किएकै पाए । ‘हरेक व्यवस्था देशका लागि राम्रो हुन्छ भनेर आउने हो,’ उनले भने, ‘तर अहिलेसम्म व्यवस्था बदलियो, देश बदलिएन । राजाले पनि राम्रै गर्न खोजेका हुन् । दलले पनि राम्रै गर्न खोजे जस्तो लाग्छ । तर देश बनिरहेको छैन । सुशासन नभएकाले यस्तो भएको हो ।’

उनका दृष्टिमा दीर्घकालका लागि प्रजातन्त्र सबैभन्दा उपयुक्त व्यवस्था हो । छोटो समयका लागि अन्य व्यवस्था राम्रो देखिए पनि दीर्घकालका लागि प्रजातान्त्रिक व्यवस्था हुने उनको दाबी छ । यसले देश तथा जनताको हित गर्छ । उनलाई नलागेको भने होइन— अन्य व्यवस्थाको तुलनामा प्रजातन्त्र एकदमै ‘स्लो’ हुन्छ ।

हिमालयनशमशेर रोलक्रमवाला राणा हुन् । प्रधानमन्त्री हुनेवाला रोलक्रममा भएकालाई रोलक्रमवाला राणा भनिन्थ्यो । ‘राणाशासन अन्त्य हुँदा हामी ३९ जना रोलक्रमवाला थियौं । प्रधानमन्त्रीमा मेरो पालो आउँथ्यो—आउँदैनथ्यो, अर्कै कुरा हो । मलाई पदको लोभ थिएन । काम गर्ने लोभचाहिँ थियो,’ उनले भने ।

अनुभवका खानी राणाको अहिलेको दैनिकी पनि ‘एक्टिभ’ छ । बिहान उठ्छन् । व्यायाम गर्छन् । त्यसपछि पत्रपत्रिका र पुस्तक पढ्छन् । त्यति मात्र होइन, कुनै कार्यक्रमको निमन्त्रणा आए सहभागिताका लागि मिलेसम्म पुग्छन् पनि ।

गोकर्ण गल्फ कोर्सका सिनियर खेलाडी राणा अझै पनि त्यहाँ पुगेर होलमा बल खसाल्न रूचाउँछन् ।

तर अहिले तीन महिना ग्याप भएको छ गल्फ खेल्न । यो तीन महिनाकै बीचमा उनले ९० वर्ष पूरा गरे । ‘अब केही दिनमा फेरि गल्फकोर्समा पुगेर बलका लागि होलमा निसाना लगाउन छ,’ उनले आफ्नो हुटहुटी सुनाए, ‘त्यो बेला थाहा हुन्छ, ९० बर्से मेरो स्टामिना कस्तो छ भन्ने ।’