दाना उद्योगमा भित्रियो ३ अर्ब रुपैयाँ विदेशी लगानी

शतप्रतिशत चिनियाँ स्वामित्व रहेको न्यू होप नामक कम्पनीमा एक अर्ब रुपैयाँ भन्दा बढी लगानी भएको देखिएको छ । उच्च प्रविधि तथा गुणस्तरीय उत्पादन गर्नकै लागि नेपालमा वैदेशिक लगानी ल्याइएको संचालकको भनाइ छ ।

दाना उद्योगमा भारत र चीनले ३ अर्ब रुपैयाँ लगानी नेपाल भित्र्याएका छन् । प्यालेट दाना उत्पादन गर्ने उद्देश्यसहित भारत र चीन पोल्ट्री क्षेत्रमा आकर्षित भएका हुन् । पोल्ट्री व्यवसायी महासङ्घका अध्यक्ष गुणचन्द्र विष्टले सञ्चालन गरेको दाना उद्योगमा भारतीय लगानी रहेको छ भने, सुरज वैद्यले लगानी गरेको दाना उद्योगमा चिनियाँ लगानी छ । त्यसैगरी, सतप्रतिशत चिनियाँ लगानीमा नयाँ एउटा उद्योग पनि सञ्चालनमा आएको छ ।

सुरज वैद्यले सञ्चालनमा ल्याएको दाना उद्योगमा एक अर्ब रुपैयाँ चिनियाँ लगानी भित्रिएको हो । त्यसैगरी, विष्टले लगानी गरेको दाना उद्योगमा १ अर्ब रुपैयाँ भारतीय लगानी आएको दाना उद्योगीहरुले बताएका छन् ।

शतप्रतिशत चिनियाँ स्वामित्व रहेको न्यू होप नामक कम्पनीमा एक अर्ब रुपैयाँ भन्दा बढी लगानी भएको देखिएको छ । उच्च प्रविधि तथा गुणस्तरीय उत्पादन गर्नकै लागि नेपालमा वैदेशिक लगानी ल्याइएको महासङ्घका अध्यक्ष विष्टले जानकारी दिए ।

विदेशी लगानीमा स्थापना भएका उद्योगले अन्तराष्ट्रिय प्रविधिलाई नेपाल भित्र्याउने र सोही अनुसार उत्पादन गर्ने गरेको उनको भनाइ छ । ‘सुरुमा हामीले भारतीय लगानी ल्याएको हो,’ उनले भने, ‘पछि सुरज जी ले पनि नयाँ दाना उद्योग सञ्चालनमा ल्याउनु भयो र अहिले चिनियाँ कम्पनी आफैले नयाँ उद्योग खोलेको छ ।’

दाना उद्योग सङ्घका निवर्तमान अध्यक्ष तिलचन्द्र भट्टराइले नेपालमा प्यालेट दाना उद्योग खोल्नेको सङ्ख्या बढेको बताए । ‘हाल ३५ ओटा प्यालेट दाना उद्योग छन्,’ उनले भने, तीन ओटा भरखरै थपिएको छ ।’ अहिले दैनिक तीन हजार टन प्यालेट दाना उत्पादन भइरहेको उनको भनाइ छ ।

व्यवसायीका अनुसार चिनियाँ लगानीमा खेलेको न्यू होप कम्पनीको अन्य देशमा पनि ठुल्ठूला उद्योग स्थापना गरेको छ । बहुराष्ट्रिय कम्पनीको पहिचान बनाइसकेको कम्पनीले नेपालमा पनि उत्पादन सुरु गरेको हो । पछिल्लो समय बर्डफ्लुका कारण दाना उद्योग धराशयी बन्दै गए पनि त्यो नियन्त्रणमा आएपछि दाना उद्योग फस्टाएको हो । सानो लगानीमा समेत कुखुरा व्यवसाय सञ्चालन गर्न सकिने र बजार पनि सुनिश्चित भएकाले यसतर्फ मानिस आकर्षित भएको दाना व्यवसायीको भनाइ छ ।

दाना व्यवसायीका अनुसार नेपालमा दाना बनाउने कच्चा पदार्थ उत्पादन नहुँदा कम गुणस्तरका सामग्रीसमेत भित्रिने गरेको बताउँछन् । ‘स्वदेशमै दानाको कच्चा पदार्थ निर्माण गर्न सके गुणस्तरमा कुनै सम्झौता हुँदैनथ्यो,’ भट्टराईले भने, ‘तर, भारतबाट आयात गर्दा जस्तोसुकै कच्चा पदार्थ आयात हुने गरेको छ,।’

सरकारले मकै, भटमास खेतीलाई मिसनकै रुपमा सञ्चालन गरे पनि नारामामात्रै सीमित भएको व्यवसायीको भनाइ छ । नेपाललाई मकै तथा भटमासमा आत्मर्निभर बनाउने कृषि विकास मन्त्रालयले बताएको छ । तर, त्यसका लागि कुनै काम हुन नसकेको व्यवसायीको भनाइ छ ।

संघको तथ्याङ्कअनुसार हाल नेपालमा साना ठूला गरी एक सय दुई दाना उद्योग छन् । त्यसमध्ये ३५ ओटाले प्यालेट दाना उत्पादन गर्छन् । एउटा उद्योगले दैनिक ३ हजार टन दाना उत्पादन गर्दै आएको भट्टराईले जानकारी दिए ।