फोहोरले दुर्गन्धित बन्दै काठमाडौं

लामो सयमदेखि काठमाडौं महानगरसहित ललितपुर र भक्तपुरका मुख्य चोकमा फोहोर थुप्रिएपनि त्यसको व्यवस्थापनप्रति काठमाडौं महानगरपालिका मुकदर्शक बनेको छ ।

झन्डै तीन सातादेखि फोहोर उठन् नसक्दा उपत्यका दुर्गन्धित बन्दै गएको छ । महानगरपालिका कार्यालयले फोहोर व्यवस्थापनमा ध्यान नदिँदा काठमाडौं सहरका मुख्य चोक चोकमा फोहोर थुप्रिएको हो । लामो सयमदेखि काठमाडौं महानगरसहित ललितपुर र भक्तपुरका मुख्य चोकमा फोहोर थुप्रिएपनि त्यसको व्यवस्थापनप्रति काठमाडौं महानगरपालिका मुकदर्शक बनेको छ ।

झन्डै १५ वर्ष अघिदेखि काठमाडौं उपत्यकाको फोहोर फालिँदै आएको नुवाकोट सिसडोलमा अहिले ‘फोहोरको पहाड’ बनेको र पानी परेका बेला गाडी जान नसकेको भन्दै अहिले फोहोर उठ्न नसकेको काठमाडौं महानगरपालिकाका सहसचिव राजेश्वर ज्ञवालीले जानकारी दिए । अहिले सिसडोलमा फोहोर फाल्न सक्ने अवस्था नरहेको र त्यसको विकल्पमा बन्चरेडाँडामा फोहोर व्यवस्थापन गर्न फोहोरमैला स्रोत परिचालन केन्द्रले काम गरिरहेको उनले बताए । ‘बर्खाको समय भएकाले उपत्यकाको डम्पिङ साइड सिसडोलसम्म फोहोरको गाडी जान सक्दैनन् । फोहोर तल तल झर्ने र बाटो हिलो हुँदा गाडी चिप्लिने गर्छन्,’ उनले भने, ‘त्यसैले फोहोर उठ्न नसकेको हो ।’

उनले फोहोर व्यवस्थापनमा काठमाडौं महानगरपालिको मात्रै दोष नरहेको भन्दै सरकार र अन्य निकायहरुको पनि सहयोग चाहिने बताए । ‘काठमाडौं महानगरपालिकाको मात्रै यसमा दोष छैन,’ उनले भने, ‘सङ्घीय सरकार र अन्य निकायले पनि व्यवस्थापनमा सहयोग गर्नुपर्छ ।’

अहिले फोहोर व्यवस्थापनमा देखिएको समस्या जायज रहेको भन्दै सरकारले सन् २०११ मा एमओयू सम्झौता गरेपनि अझैसम्म कार्यान्वयन नगर्दा अन्य विकल्प खोज्न नसकेको ललितपुर महानगरपालिकाका उपमेयर गीता सत्यालले बताइन् । उनले एयर रुटभन्दा बाहिर फोहोर व्यवस्थापन गर्न नसकेको स्वीकार्दै समस्या हल नहुँदासम्म महानगरबासीलाई आफ्नो फोहोर आफै व्यवस्थापन गर्न सचेतनात्मक कार्यक्रम लागू गरेको बताइन् ।

‘अहिले सिसडोलमा फोहोर फाल्ने ठाउँ छैन । समस्या छ, नभएको होइन,’ उनले भनिन् ‘त्यसका लागि सरकारले सन् २०११ मा एमओयू गरेपनि अझै कार्यान्वयन गरेको छैन । जसका कारण एयर रुटभन्दा बाहिर गएर फोहोर व्यवस्थापन गर्न सक्ने क्षेत्राधिकार हामीसँग छैन ।’ लगानी बोर्डका प्रमुख कार्यकारी निर्देशक महाप्रसाद अधिकारीसमक्ष एमओयू कार्यान्वयन गर्ने या खारेज गरेर सङ्घीय सरकारले आँफै गर्ने विषयमा स्पष्ट जवाफ मागेको उनले बताइन् ।

नुवाकोटको सिसडोलको विकल्पमा बन्चरेडाडाँमा १७ सय रोपनी जग्गा अधिग्रहण गरी ल्यान्डफिल्ड साइट निर्माणको काम भइरहेको छ । अहिले काठमाडांै उपत्यकाभित्र दैनिक दुईदेखि तीन सय कन्टेनर फोहोर उत्पादन हुने गरेको हो ।