जब घरेलु उत्पादन ब्रान्ड बन्यो…

अहिले बजारमा शेर्पाका खुम्बुकोल्च र हिमालयन रेड दुई ब्रान्ड उपलब्ध छन् । क्यानमा उपलब्ध यिनको मूल्य क्रमशः २ सय ६५ र २ सय ७० छ ।

बजारमा अहिले अन्तर्राष्ट्रिय ब्रान्डका बियरबीच तीव्र प्रतिस्पर्धा छ । तर, एउटा घरेलु ब्रान्ड जससँग प्रतिस्पर्धामा कुनै ब्रान्ड छैन । त्यो हो— शेर्पा (बु्रअरी) बियर ।

शेर्पा आफैंमा नेपालबाट अन्तर्राष्ट्रिय रुपमा फैलिँदै गएको ब्रान्ड हो । हिमाली जिल्लामा बस्ने समुदायको साहस, इमानदारी र मिहिनेतले यो थरलाई अन्तर्राष्ट्रियस्तरमा ब्रान्डकै रुपमा लिन थालिएको छ । नेपालसँग साइनो हुने र हिमालबारे जानकारी लिनेलाई शेर्पाको अझ बढी महङ्खव थाहा हुन्छ । त्यही हिमाली जिल्लाको लुक्लाबाट सुरु भएको शेर्पा (बु्रअरी) बियर शिखरतर्फ चढ्दै गएको छ ।

लुक्लामा होटल व्यवसाय गरिरहेका फुर्वा ग्याल्जेन शेर्पा आफ्नो होटलमा आउने विदेशी पर्यटकलाई विदेशी ब्रान्डका बियर र हार्ड ड्रिङ्क्स बिक्री गर्थे । नेपाल आएका त्यो पनि हिमालको काखमा पुगेका पर्यटकले नेपाली स्वाद खोज्दै अर्डर गर्दा उनले पर्यटकलाई के दिने भन्नेमै अन्योल हुन्थ्यो । नेपालमै उत्पादित हार्ड ड्रिङ्क्स र बियर सर्भ गर्दा विदेशी त्यति सन्तुष्ट नभएको उनले महसुस गरे ।

‘बियरका बारेमा पर्यटकको गुनासो रहिरहन्थ्यो, हार्ड ड्रिङ्क्स उनीहरुले पहिला नै चाखेजस्तै स्वाद भयो भन्थे, त्यसपछि घरमै बियर बनाउने योजना फु¥यो,’ शेर्पा बियरको जन्मकथा सुनाउँदै फुर्वाले भने, ‘मेरो होटलमा ९९ प्रतिशत ग्राहक विदेशी आउँथे, होटलमा उपलब्ध बियर र हार्ड ड्रिङ्क्स बिक्री गर्दा उनीहरु सन्तुष्ट थिएनन्, त्यसपछि मैले अध्ययन गर्न थालेँ, आखिर किन उनीहरु सन्तुष्ट हुन सकेका छैनन् ?’

पर्यटकहरुसँग बियरको स्वादको कुरा गरेपछि विभिन्न अनलाइनमा बियरको उत्पादन, स्वाद र बनाउने विधिबारे अध्ययन गरेपछि धेरैले परम्परागत रुपमा बनाएको बियर मन पराउने थाहा भयो र घरमै वियर बनाउन थाले उनले ।

फुर्वाका दाजु लाक्पा अमेरिका छन्, अमेरिकामा शेर्पा हाउस सञ्चालन गरेर बसेका दाजुलाई उनले घरमा बियर बनाउने उपायबारे सोधे । दाजुले अमेरिकाबाट नै केही कच्चापदार्थ पठाइदिए । त्यही कच्चापदार्थ प्रयोग गरेर उनले केही लिटर बियर बनाए ।
आफूले बनाएको बियर उनले आफ्ना होटलमा रहेका विदेशी पाहुनालाई पहिलो पटक परीक्षणका लागि सर्भ गरे । उनीहरुलाई स्वाद मन प¥यो । होटलमा बस्ने दिनसम्म एउटै व्यक्तिले १० देखि २० ओटा बियर होल्ड गर्ने र पछिलाई पनि बुक गरेर खान थाले । त्यसपछि फुर्वालाई लाग्यो, पहिलो मिहिनेत सफल भयो ।

‘मैले विभिन्न अनलाइन, युट्युब आदिमा हेरेर बियर बनाउने कला सिकेको हुँ,’ फुर्वा भन्छन्, ‘दाजु अमेरिका हुनुहुन्छ, मैले यता बियर बनाउने योजना बनाएपछि उहाँले पनि अध्ययन गर्दै आवश्यक कच्चापदार्थ पठाउनुभयो, यसरी घरमै बियर उत्पादन भयो ।’

‘हामीले अमेरिकामा शेर्पा हाउस खोलेका छौं । शेर्पा हाम्रो समुदायको पहिचान हो, हिमाली क्षेत्रबाट जन्मेको बियर भएकाले यसको घरेलु ब्रान्ड शेर्पा नै भयो,’ बियरको ब्रान्डका विषयमा उनले थपे ।

फुर्वाले एक वर्ष यसरी नै बियर बनाए । सन् २०१२ देखि उनले २०१४ सम्म घरेलु रुपमै बियर बनाएर घरकै पाहुनालाई मात्र सर्भ गरे । त्यो बेला बियर उत्पादनको लाइसेन्स बन्द थियो । सन् २०१३ मा बियर उत्पादनका लागि लाइसेन्स खुला भयो, उनले लाइसेन्स लिए । २०१४ मा चितवनमा उद्योग निर्माण गरे । र सन् २०१५ को अन्त्यतिर उत्पादन गरेर बजारमा पठाउन थाले ।
‘फ्याक्ट्री खोल्ने योजना बनाएसँगै दाइले पनि अमेरिकामै यसबारे थप अध्ययन गर्नुभयो, मेसिन, कच्चापदार्थका बारेमा उहाँले नै आइडिया दिएपछि उत्पादन गरेर बजारमा पठाउन सकियो,’ उनले भने ।

जसरी पहिलो पटक घरमै उत्पादन गरेर घरका पाहुनालाई सर्भ गर्दा उनमा कस्तो प्रतिक्रिया आउला भनेर कुतूहल थियो, त्यस्तै कुतूहल उद्योगमा बनाएर बजारमा पठाउँदा भयो उनलाई । बजारमा गएपछि प्रतिक्रिया आउन थाल्यो, ‘युनिक स्वाद ।’ त्यसपछि उनी झनै फुरुङ्ग भए । र बजार बढाउने योजना बुने ।

नेपालमा क्राफ्ट बियरको कल्चर बढ्दै गएको छ । यही कल्चरमा हुर्कंदै गएको छ शेर्पा बियर । क्राफ्ट बियरबारे यसका पारखीलाई जानकारी छ । अमेरिकालगायत मुलुकमा क्राफ्ट बियरको कल्चर विकसित हुँदै गएको छ । ‘यो सङ्क्षेपमा भन्नुपर्दा ‘लोअर द क्वान्टिटी, हाइयर द क्वालिटी हो,’ फुर्वाले भने, ‘कसैको पनि संसर्गमा नरहेको परम्परागत रुपमै बनाइएको बियर नै क्राफ्ट बियर हो ।’ यसको टेस्टमा पनि फरक पाइन्छ । यही भएकाले नै शेर्पा बु्रअरीका बियरको माग बढ्न थालेको उनी बताउँछन् ।
शेर्पा बियर नेपालमा अन्तर्राष्ट्रिय ब्रान्डको तुलनामा केही महँगो छ । तर यसको गुणस्तर एवम् स्वादका कारण मूल्य केही बढी पर्न गएको फुर्वाको भनाइ छ ।

‘बियरको दुई ओटा फ्यामिली हुन्छन्— एल फ्यामिली र लार्गर फ्यामिली । लार्गर फ्यामिलीमा सबै भेराइटीको एउटै स्वाद हुन्छ । एल फ्यामिलीमा भने थाउजेन्ड भेराइटिज विथ थाउजेन्ट अफ फ्लेबर हुन्छ । हामीले नेपालमा उत्पादन गर्ने बियरमा उच्च गुणस्तरीय कच्चापदार्थ प्रयोग हुन्छ,’ उनले भने, ‘अन्य कम्पनीले सस्तोका लागि चामल, चिनी आदि प्रयोग गरेको पाइन्छ । तर हामी बार्ली (जौ) प्रयोग गर्छाैं । यसबाट केही महँगो पर्न गएको हो ।’

शेर्पा बु्रअरीले जर्मनीबाट कच्चापदार्थ ल्याउँछ । नेपाल, भारतलगायत मुलुकमा जौ प्रशोधन गर्ने मेसिन नभएकाले जर्मनीको भर पर्नुपरेको फुर्वा बताउँछन् । ‘नेपालको जौ पनि बियर उत्पादनका लागि उपयुक्त त छ,’ उनले भने, ‘तर त्यति मात्र भएर यहाँ पुग्दैन, जौ प्रशोधन गर्न ठूलो मेसिन आवश्यक हुन्छ, जुन नेपालमा छैन ।’

नेपालमा फलेको जौ उच्च गुणस्तरीय छ । अन्य उत्पादन पनि उत्तिकै प्रभावकारी हुन सक्छन् । तर तिनलाई गुणस्तरीय बनाउन उच्चस्तरीय प्रशोधन आवश्यक हुन्छ । नेपालको जौलाई प्रशोधन गरेर राम्रो बनाउने हो भने नेपालका ब्रुअरीले सबै खपत गरिदिने फुर्वाले बताए ।

अहिले शेर्पा ब्रुअरीले दैनिक १ हजार केस बियर उत्पादन गर्दै आएको छ । ‘यो ८ हजार लिटर हुन्छ । नेपालमा जति पनि अरु बियर छन्, कम्तीमा एउटा ब्रुअरीले तीन–चार ओटा ब्रान्ड उत्पादन गरेका छन्,’ फुर्वाले भने, ‘यसरी पनि नेपालमा १५–२० ओटा ब्रान्ड प्रयोगमा रहेको पुष्टि हुन्छ । तर शेर्पा ब्रान्डले कुनै पनि ब्रान्डसँग प्रतिस्पर्धा गर्नुपरेको छैन । हाम्रो बिजनेस र मार्केट ट्रम पनि फरक छ । यसको क्वालिटी पनि उत्कृष्ट छ । त्यसैले पनि प्रतिस्पर्धा देखिँदैन ।’

कुनै पनि नेपाली कन्जुमरले हाई क्वालिटीको बियर खान पाएर उनीहरु खुसी भएको बेलामा आफूलाई गौरवानुभूति हुने उनले बताए । ‘अहिले पनि यस्तै महसुस भइरहेको छ,’ उनले भने, ‘हाम्रो उत्पादन अहिले सीमित छ । तर बजारमा माग बढी छ, ठूलो भोल्युमको बिजनेस आवश्यक छ, त्यसका लागि योजना बन्दै छ ।’

नेपालमा बीसौं वर्षदेखि एकै किसिमको बियर चल्यो । शेर्पा बियर बजारमा गएपछि यसको स्वादको प्रतिक्रियाले यसको माग बढ्यो । तर यो बियर जहाँतहीँ उपलब्ध छैन । ‘सबै ठाउँमा नपाउने विषयमा गुनासो छ, हुन त हामीले जहाँ पायो, त्यहीँ दिएका पनि थिएनौं,’ फुर्वा भन्छन्, ‘मौसममा परिवर्तन आउनासाथ यो बियरलाई त्यही किसिमको व्यवस्थापन आवश्यक हुन्छ, त्यसैले हामीले सबैतिर नपठाएका हौैं ।’

शेर्पा ब्रुअरीसँग फ्याक्ट्रीमा रेफ्रिजेरेटर वेयर हाउस छ । फ्याक्ट्रीबाट डिस्ट्रिब्युटरसम्म आउँदा पनि रेफ्रिजेरेटर कन्टेनर आउँछ । तर समस्या कहाँनिर छ भने बजारमा रिटेलरकहाँ पु¥याउँदा भने केही समस्या छ कि भन्ने अवस्था छ । ‘त्यसैले जसले टेम्प्रेचर मेन्टेन गर्न सक्छ, उसलाई हामीले बियर दिने गरेका छौं,’ फुर्वाले भने, ‘यसको रियल टेम्प्रेचर ६ देखि १० डिग्री सेन्टिगे्रट हो । उक्त टेम्प्रेचरमा यसको वास्तविक टेस्ट आउँछ ।’

६ देखि १० डिग्री सेन्टिगे्रटको तापक्रम मिलाएर सेवन गर्ने हो भने यो बियरको टेस्ट अतुलनीय हुने फुर्वा बताउँछन् । ‘अल्कोहलको रियाक्सनका लागि मात्र खाने हो भने त त्यसमा भन्ने कुरा केही हुँदैन,’ उनले भने, ‘लाग्नका लागि मात्र खाने गर्नु राम्रो होइन र यो बियर त्यस्तो छैन ।’

यो बियर खानेहरु केही उच्चवर्गीय मानिस छन् । देशविदेशमा धेरै यात्रा गरेर सबैतिरका बियरको स्वाद लिएकाहरुले पनि यो बियरलाई मन पराउने गरेका छन् । यसको बजार बढ्दै गएको छ । सन् २०१५ को अन्त्यमा उत्पादन गर्ने बेलामा जुन बजार थियो, अहिले बढेर धेरै माथि पुगेको छ । क्राफ्ट बियरमा कम्पनीले एकै पटक चारओटा ब्रान्ड ल्याउन खोजेको थियो । चार ओटामध्ये सबै फरक कलर, फरक स्वादमा ल्याउने योजना भएपनि अहिले दुई ब्रान्डमा दुई फरक कलरमा उपलब्ध गराएको छ ।
अहिले बजारमा शेर्पाका खुम्बुकोल्च र हिमालयन रेड दुई ब्रान्ड उपलब्ध छन् । क्यानमा उपलब्ध यिनको मूल्य क्रमशः २ सय ६५ र २ सय ७० छ ।

मल्टिनेसनल कम्पनीका उत्पादनहरुको बीचमा आफ्नै ब्रान्ड स्थापित गरेर अगाडि बढेका फुर्वाले अब बु्रअरीमा नयाँ रणनीतिअनुसार अगाडि जाने बताउँछन् । ‘हामीले बढी मात्रामा मार्केटिङभन्दा पनि बियरको गुणस्तरमा बढी खर्च गरिरहेका छौं,’ उनी भन्छन्, ‘आफ्नो वस्तु राम्रो हुनुप¥यो, त्यो वर्ड अफ माउथका कारण पनि बिक्री हुन्छ ।’

होटल सञ्चालन गरिरहेका बेलामा छोटो समयमै गरेको निर्णयबाट फुर्वाले बियर फ्याक्ट्रीमा हात हालेका हुन् । ‘जुन बेलामा मैले यो बिजनेस सुरु गरेका थिइनँ,’ उनले भने, ‘त्यति बेलासम्म विदेश जान पाए हुन्थ्यो भन्ने लाग्थ्यो, तर अहिले त्यसबारेमा सोच्न पनि सक्दिनँ ।’