शिवमको आईपीओ मूल्यबारे धितोपत्र बोर्डसँग छलफल गर्छौं

हाल सञ्चालनमा आएको अनलाइन कारोबार पूर्ण रुपमा लागू भएको छैन । सायद अधिकांश लगानीकर्ताले अनलाइन प्रणालीबाट कारोबार सुरु गरेका पनि छैनन् । अझै म पनि यो प्रक्रियामा सहभागी भएको छैन । मैले पनि अहिलेसम्म ब्रोकरको माध्यमबाट कारोबार गरिरहेको छु । अहिले अनलाइन कारोबारको परीक्षण भइरहेकाले तत्कालै सोचे जस्तो सकारात्मक प्रभाव पर्दैन । त्यसैले अनलाइन कारोबार पूर्ण रुपमा लागू नभएसम्म बजार उकालो लाग्ने सम्भावना कम छ ।

अम्बिकाप्रसाद पौडेललाई सेयर बजारमा लगानी गर्ने लगानीकर्ता कमैले मात्रै नचिन्लान् । सेयर बजारमा लगानी गर्ने लगानीकर्ताकाबीच विभिन्न संस्था क्रियाशील भइरहेको बेला पौडेल नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष छन् । खासगरी हाथवे इन्भेस्टमेन्ट कम्पनीमार्फत खराब प्रदर्शन गरिरहेका वित्तीय संस्था र बिमा कम्पनीको व्यवस्थापन जिम्मेवारी लिने, थप लगानी गर्ने र ती संस्थालाई सहज तरिकाले सञ्चालन गर्ने अवस्थामा पु¥याउन पौडेल सक्रिय छन् । हाथवे इन्भेस्टमेन्टमा प्रबन्ध सञ्चालक रहेका पौडेल हाथवे फाइनान्समा अध्यक्ष छन् । स्थिर अवस्थामा रहेको पुँजीबजारको गति कस्तो होला भन्ने सबै लगानीकर्तामा कुतूहल छ । सेयर बजारको अवस्था र आगामी दिनमा आउन सक्ने उतारचढावमा केन्द्रित भएर क्यापिटल नेपालका संवाददाता निकेश खत्रीले पौडेलसँग गरेको कुराकानी

केही समययता सेयर बजार स्थिरजस्तो देखिन्छ । यो बढ्नुअघिको स्थिरता हो कि, घट्नुअघिको ?

अहिले बजारमा देखिएको स्थिरता बढ्नुअघिको वा घट्नुअघिको भनेर ठ्याक्कै भन्न सकिँदैन । पुँजीबजारमा कहिले उच्च बिन्दु र कहिले न्यून बिन्दु कायम हुन्छ । कसैले मिलाउन सक्दैन । सरसर्ती हेर्दा बजार उच्च बिन्दुबाट १ हजार १ सय ३५ अङ्कसम्म झरिसकेको छ । अहिले बजार १२ सय अङ्कको वरिपरि घुमिरहेको छ र त्यस अङ्कबाट तलमाथि गर्न गर्न कठिन भइरहेको छ । तर, मुलुकको आर्थिक सूचकाङ्कहरुमा आएको सुधार, पछिल्लो समय नेप्सेले चालेको सुधारका कदम र सरकारले अघि सारेका नीति तथा कार्यक्रमलाई हेर्दा बढ्नुअघिको स्थिरता हो कि जस्तो पनि देखिन्छ ।

यो स्थिरता बढ्नुअघिको हो भने बढ्नुपर्ने कारणहरु केके हुन् ?

चालू वर्ष सरकारले ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखेको छ । स्थिर सरकार छ । बैङ्क तथा वित्तीय संस्थाको ब्याजदर क्रमशः घट्दो क्रममा छ भने बैङ्क तथा वित्तीय संस्थालगायत सूचीकृत कम्पनीको प्रगति भइरहेको छ । नेप्सेले पनि अनलाइन कारोबारका लागि परीक्षणको काम गरिरहेको छ । त्यस आधारमा हेर्दा बजार बढ्न सक्छ भन्ने अनुमान लगाउन सकिन्छ ।

अनलाइन कारोबार सुरु भएपछि बजार बढ्नुका साथै कारोबार पनि बढ्छ भन्ने अनुमान धेरैको थियो । तर, यस अवधिको गतिविधिले त त्यस्तो देखाएन नि ?

हाल सञ्चालनमा आएको अनलाइन कारोबार पूर्ण रुपमा लागू भएको छैन । सायद अधिकांश लगानीकर्ताले अनलाइन प्रणालीबाट कारोबार सुरु गरेका पनि छैनन् । अझै म पनि यो प्रक्रियामा सहभागी भएको छैन । मैले पनि अहिलेसम्म ब्रोकरको माध्यमबाट कारोबार गरिरहेको छु । अहिले अनलाइन कारोबारको परीक्षण भइरहेकाले तत्कालै सोचे जस्तो सकारात्मक प्रभाव पर्दैन । त्यसैले अनलाइन कारोबार पूर्ण रुपमा लागू नभएसम्म बजार उकालो लाग्ने सम्भावना कम छ । अर्कोतिर लगानीकर्ताले अनलाइनको ‘क्लिक’ गरेको भरमा बजार बढिहाल्ने पनि होइन । यसअघि चिसो अवस्थामा रहेको पुँजीबजारलाई अनलाइन कारोबारले मनतातो बनाएको भने छ । यसप्रति लगानीकर्ताको चासो बढेको छ । त्यसैले पूर्ण रुपमा सञ्चालनमा आएपछि बजार पूरै तात्छ र लगानीकर्ताले अनलाइन कारोबार बुझेपछि र पूर्ण अनलाइनमा प्रवेश गरेपछि त्यसको सकारात्मक प्रभाव सेयर बजारमा अवश्य पर्छ ।

बजार धेरैले घट्दो ट्रेन्ड पूरा गरेको छैन भनेका छन् । यसअघि बजार ११ सय ७५ बाट २ सय ९१ अङ्क र त्यसबाट १८ सय ८१ अङ्क पुग्न ७ वर्षभन्दा बढी समय लागेको थियो । के बजारले त्यही ‘ट्रेन्ड’ समाउन खोजेको हो ?

वास्तवमा अघिल्लो ७ वर्षको चक्र हेर्दा बजार कता जान्छ भन्न सक्ने अवस्था छैन । त्यो बेलाको चक्र पनि उच्चबिन्दुबाट न्यून बिन्दुमा आउन करिब पौने ३ वर्ष लागेको थियो भने त्यस बेला १ वर्ष बजार स्थिरजस्तै बसेको थियो । त्यसकारण अहिले बजार करिबकरिब स्थिर देख्दा त्यो क्रम पछ्याएको हो कि जस्तो भान हुन्छ । तथापि, हिजो राजनीतिक सङ्क्रमण थियो, जताततै अन्योल थियो, सरकार स्थिर थिएन । प्रत्येक ९ महिनामा सरकार परिवर्तन हुन्थ्यो, बजारमा जुन किसिमको उत्साह हुनुपथ्र्यो, त्यो थिएन । तर, अहिले परिस्थिति फरक छ । सरकार स्थिर मात्र छैन सबै कुरा सकरात्मक देखिन्छ । त्यसकारण पुँजी बजारले शतप्रतिशत पहिलेकै चक्र पछ्याउँछ भन्ने छैन । स्थिति उही रह्यो भने, अवस्था उही रह्यो भने त्यो पहिलेको क्रम पछ्याउन सक्छ । तर, पहिले र अहिलेको अवस्था धेरै फरक भएकाले पहिलाकै जस्तो घट्ने सम्भावना नहुन पनि सक्छ । यद्यपि बजारबारे अनुमान मात्र गर्ने हो, ठोकुवा गर्न सकिँदैन ।

तर, बजार घट्दा छिटो नयाँ अङ्क प्राप्त गरेको र न्यून विन्दुबाट १८ सय ८१ पुग्दा बढी समय लिएको थियो । यसलाई आधार मानेर बजार अझै घट्छ भन्नेहरु पनि छन् नि ?

हिजो ११ सय ७५ बाट २ सय ९१ मा आउँदा वा २ सय ९१ बाट १८ सय ८ सय ७१ अङ्कमा पुगेको नेप्से सूचकलाई मात्र निरपेक्ष रुपमा हेर्न हुँदैन । त्यो बेला बजारको प्रतिसेयर आम्दानी नकरात्मक रुपमा झरेको थियो, तर अहिले बजारको सम्रगमा राम्रो अवस्थामा आइसक्यो । हिजो बजारको मनोविज्ञानको अवस्था र आजको अवस्थाले फरक पार्छ । हिजोको र आजको बाह्य तत्त्व र भित्री तत्त्वमा धेरै अन्तर भइरहेको छ । पुँजी बजारमा विगतका अन्य तत्त्व र अहिलेको तत्त्वले बिल्कुलै फरक पार्छ । हिजो बजार २ सय ९१ अङ्कमा आउँदा कति ओटा बैङ्क तथा वित्तीय संस्था मर्जर प्रक्रियामा परेका थिए ? कति ठाउँमा असर परेको थियो ? तर, अहिले बजार घटे पनि कम्पनी समस्यामा रहेको सुनिएको छैन । प्रत्येक सूचीकृत संस्थाको प्रगति बढिरहेको छ ।

सूचीकृत संस्थाहरुले गतवर्षको वासलात सार्वजनिक गर्न थालेका छन् । अधिकांशको प्रगति नै देखिन्छ । तर, बजारमा त्यसको प्रभाव नपर्नुको कारण के होला ?

यो सेयर बजारको चक्रको कुरा हो । अथवा चक्रीय हिसाबले बजार चल्ने कुरा हो । लगानीकर्ताको मनोवैज्ञानिक प्रभाव पनि हो । स्थिर सरकारले लिएको नीति, पछिल्लो समयमा आएको बजेट र मौद्रिक नीतिले लगानीकर्तामा नराम्रो प्रभाव पर्नुका साथै चक्रीय प्रभाव पनि भएकाले बजार अहिले स्थिर जस्तो देखिएको छ । यो चक्रीय प्रभाव पनि बिस्तारै घट्दै जाने सम्भावना रहन्छ । त्यसैले बजारले विस्तारै गति लिन्छ ।

बजारमा यस्तै स्थिरताको अवस्था रह्यो भने यो वर्ष पनि बजार १ हजार देखि १५ सयको अङ्कको बीचमा नेप्से नरहला भन्न सकिन्छ र ?

विगतको इतिहास हेरियो भने यो कुरामा सहमत हुन सकिन्छ । अहिले विविध कारणले लगानीकर्ताको मनोविज्ञान बिग्रिसकेकाले यो हुन सक्ने सम्भावना बढी छ । किनकि, बिग्रेको मनोविज्ञानमा एकैचोटि उचाइ लिन गाह्रो हुन्छ । सरकारले लिने अबको नीति सेयर बजारमैत्री आयो भने नेप्सेले त्योभन्दा बढी उचाइ प्राप्त गर्न पनि सक्छ र बजार माथि जान सक्छ । नत्र १ हजारदेखि १५ सयकै हाराहारीमा बजार नरहला भन्न सकिँदैन ।

लगानीकर्ताबीच धेरै संस्था छन् । यो राजनीतिक दलअनुसार हुन कि, ठूलासाना लगानीकर्ताका आधारमा हो ? यसको कारण के हो ?

होइन, यी संस्थाहरु विशुद्ध छन् । लगानीकर्ताका संस्था राजनीतिक दलका आधारमा होइनन् । हो, अहिले लगानीकर्ताबीच धेरै सङ्गठन देखिएका छन् । यो युवा लगानीकर्ताको रहरले गर्दा भएका हुन् । तर, सम्रगमा भन्दा एउटा विशुद्ध पुँजी बजारलाई हेर्नका लागि, पुँजीबजारको हितका लागि र विकासका लागि, लगानीकर्ताका हितका लागि खालिएका संस्था हुन् भन्ने लाग्छ । नेपाल इन्भेस्टर्स फोरम विशुद्ध लगानीकर्ताको हितका खाँतिर काम गर्ने संस्था हो । तर, अन्य संस्था कम्पनी रजिस्ट्रार कार्यालयमा कम्पनी दर्ता गरिएर खोलिएका संस्था हुन् । त्यसकारण म त्यस्ता संस्थालाई कम्पनी भन्छु । हेरौ उहाँहरुले कहिलेसम्म संस्था चलाइराख्नुहुन्छ । कम्पनी दर्ता गरेर खोलिएका संस्था पुँजीबजारको हितका लागि र विकासका लागि खोलिएका संस्था होइनन् ।

लगभग पुँजी वृद्धि अभियान सकियो । विगतको ट्रेन्डलाई हेर्दा पुँजी वृद्धि अभियान सकिएपछि बजार ओरालो नै लागेको देखिन्छ । त्यस आधारमा बजार अझै ओरालो लाग्छ भन्ने अनुमान गर्न कठिन होला र ?

पुँजी वृद्धि अभियान गत वर्ष नै सकियो । पुँजी वृद्धि गत वर्ष नै सकिएको र बैङ्क तथा वित्तीय संस्थाको एकल उद्देश्य नाफा वृद्धिमा भएकाले बजार उकालो लाग्छ भन्नेमा म आशावादी छु । साथै बजारको प्रतिसेयर आम्दानी विगतको वर्षभन्दा यो वर्ष र यो वर्षको तुलनामा आगामी वर्षमा बढ्ने भएकाले बजार अब घट्छ भन्ने मलाई लाग्दैन ।

नेपाली लगानीकर्ताको ध्यान नगद लाभांशमा भन्दा पनि बोनस सेयर र हकप्रद सेयरमा बढी देखिनुको कारण के होला ?

त्यो विगतदेखिको क्रम भए पनि अब विस्तारै सुधारको बाटोमा जान्छ । विगतमा लगानीकर्ता बोनस सेयर र हकप्रद सेयरमा लाभान्वित भएका थिए र नगद लाभांशलाई रुचाएका थिएनन् । एउटा अनुपातमा क्रमशः लाभांश वितरण गरिरहेको अवस्थामा अब सुधार गर्दै लैजानुपर्छ ।

बुटवल पावर कम्पनी, एनएमबी बैङ्क, नेपाल बैङ्कको एफपीओ सहज ढङ्गले बिक्री भएन । यो समय गलत भएर हो कि, सरकारी नीति गलत भएर?

यो स्पष्ट रुपमा सरकारी नीति गलत हो । यसमा सरकारले आफूलाई सुधार गर्नुपर्छ । जनताले तिर्नुपर्नेभन्दा बढी मूल्यमा सेयर स्वीकृति दिएका कारण एफपीओ बिक्री नभएको हो । किनकि लगानीकर्ता अहिले विवेकी भइसकेका छन् । बजारमा उक्त कम्पनी जस्तै अरु कम्पनीको सेयर मूल्य समान मूल्यमा वा अझ सस्तो मूल्यमा पाइएकाले लगानीकर्ताले एफपीओमा रुचि देखाएनन् । कहाँ कति सेयर हाल्नुपर्छ भन्ने निर्णय गर्ने क्षमता अहिले लगानीकर्तामा बनिसकेकाले कम्पनीको अवस्था हेरेर सेयरमा लगानी गर्न सक्ने क्षमता विकास भइसकेको छ ।

सरकारले १ अर्बभन्दा बढीको निजी कम्पनीको सेयर सर्वसाधारणका लागि ल्याउने बजेटमा उल्लेख छ । अहिले शिवम् सिमेन्टको सेयर मूल्य उच्च राख्यो भन्ने कुरा आइरहेको छ । यसले लगानीकर्ता ठगिने सम्भावना कत्तिको रहन्छ ?

हामीले पटकपटक वास्तविक क्षेत्रका कम्पनी बजारमा आउनुपर्छ भनेर माग राखिरँहदा सरकारले सम्बोधन गरेको छ । त्यसमा सरकारलाई धन्यवाद दिनुपर्छ । शिवम् सिमेन्टको सन्दर्भमा धितोपत्र बोर्डसँग हामी लगानीकर्ताहरु बसेर प्राथमिक निस्कासन (आईपीओ) बिक्री गर्दा तय भएको मूल्यबारे विचारविमर्श गर्छौं । वास्तविक क्षेत्रको कम्पनी आउनुपर्छ भनेका थियौं । तर, वास्तविक क्षेत्रको पहिलो कम्पनी बजारलाई प्रभाव पार्दै यति महँगो मूल्यमा किन आयो भन्ने कुरा बोर्डसँग समन्वय गरेर छिट्टै आधिकारिक धारणा फोरमले सार्वजनिक गर्र्छ । लगानीकर्ताले स्वविवेकमा लगानी गर्ने भए पनि सेयर जारी गरिसकेपछि कम्पनीको प्रदर्शनका आधारमा लगानीकर्तालाई कस्तो प्रभाव पर्छ भन्ने हेर्नुपर्छ ।

विगतमा सर्वसाधारणलाई सेयर जारी गरेका कैयौं कम्पनी अहिले बेखबर छन् । भोलि अरु कम्पनी पनि त्यस्तै नहोलान् भन्ने के भर ? यस्तो हुनबाट जोगाउन ककसले केके गर्नुपर्छ ?

यस्तो हुन सक्ने भएकाले नै हामीले लामो समयदेखि वास्तविक क्षेत्रलाई नियामक निकायले अनुगमन गरेर मात्र बजारमा आउन दिनुपर्छ भनिरहेका छौं । कति पुँजी भएका कम्पनी, रेटिङ कति पाएका कम्पनीलाई बजारमा आउन दिने भन्ने स्पस्ट धारणा नियामक निकायको आवश्यक पर्छ । सानासाना पुँजी भएका कम्पनीलाई बजारमा आउन दिनै हुँदैन । त्यो नियामक निकायले बुझनुपर्छ । र हामीले पनि कमजोर वित्तीय अवस्था भएका कम्पनीलाई बजारमा आउन दिन हुँदैन भन्ने धारणा राख्छौं । कम्पनीहरुलाई बेखबर हुनबाट जोगाउन सरकार, नियामक निकाय, लगानीकर्ताले र सङ्घसंस्थाले उक्त कम्पनीको जुनसुकै विषयमा जानकारी दिनुपर्छ ।