क्रिसमस र नयाँवर्ष स्वागत गर्न आतुर ठमेल

नेपाल भित्रिने विश्वका पर्यटकहरुको पहिलो गन्तव्य ठमेल । हरेक देशको संस्कृति बोकेको ठमेल । चाइनिज कर्नर होस् या रसियन बार अथवा रेष्टुराँ, पब वा होटल, सबैले कुनै न कुनै मुलुकको चिनारी झुण्ड्याएर बसेका छन् । संसार अटेको ठमेलले क्रिसमस र अँग्रेजी नयाँ वर्ष स्वागत गर्न आतुर छ ।

क्रिसमस र अङ्ग्रेजी नयाँ वर्ष नजिकिएसँगै ठमेलमा त्यसको चहलपहल बढेको छ । केहि महिना अघिदेखि ‘वाकिङ स्ट्रिट’ बनाइएको ठमेलको रौनक त्यसैपनि बढेको छ । ‘नो भेहिकल जोन’ भएपछि अझ उन्मादमा रहेको ठमेलमा यो पटकको क्रिसमस र नयाँ वर्षमा अधिक चहल–पहल हुने ठमेलका व्यवसायीहरुको अनुमान छ । नहोस् पनि कसरी ? पहिला सधैँ अस्तव्यस्त र अव्यस्थित लाग्ने ठमेल ३ महिनादेखि सवारीसाधनमुक्त भएको छ । अब ठमेलको मध्यभागमा धूलो, धूँवा कम भैसक्यो त्यसैमाथि प्रेसर हर्न पनि सुन्नुपर्दैन ।

घुमघाम गर्न नेपाल आएका पर्यटक फर्कने तयारी भएपनि ठमेलको रौनक देखेर कतिपयले क्रिसमस र नयाँ वर्ष यहीँ मनाउने योजना बुनिरहेका छन् । फिनल्याण्डबाट नेपाल घुम्न आएका ४२ वर्षीय लुकास कारीले ३ साताको नेपाल घुमघाम सकेर जाने योजना बनाएपनि ठमेल आएपछि आफ्नो योजना फेरिएका सुनाए । म्याग्दीको घोरेपानी हुँदै पोखराबाट सोमबारमात्र ठमेल आइपुगेका उनले क्रिसमसको रौनकले यतै बस्न मन लागेको बताए । ‘फिनल्याण्डमा सधैँ क्रिसमस र न्यु इयर मनाएको छु, पहिलो पटक आप्mनो देशबाहिर मनाउने योजनाले रोमाञ्चित भएको छु‘, उनले भने ।

ठमेलमा क्रिसमसमा सान्टा क्लज ठाउँ ठाउँमा सजिएर बसेका छन् । बिहीबार दिउँसो ठमेल पर्यटन विकास परिषद्ले पनि एक दर्जन युवाहरुलाई सान्टा क्लजको भेषमा ठमेल परिक्रमा गराएको थियो ।

परिषद्का अध्यक्ष समिर गुरुङले ठमेलमा क्रिसमस र अँग्रेजी नयाँ वर्ष मनाउन सम्पूर्ण तयारी पूरा भएको बताए । ‘सबै रेष्टुराँ तथा होटलले आफ्नो आफ्नो तयारी थालेका छन्, परिषद्ले पनि यो पटक सडकमा नै केहि कार्यक्रम गर्नका लागि तयारी गरेको छ,’ उनले भने ।

सडक खुल्ला भएपछि व्यापारीले सडकछेउमै पसल राख्न थालेका छन् । पर्यटकले विशेषगरी नेपालमै निर्मित हस्तकलाका सामग्री, मूर्ति एवम् रुद्राक्षका माला किनिरहेको देखिन्छ ।

नयाँ वर्ष एवम् क्रिसमस नजिकिएसँगै ठमेलमा आन्तरिक तथा वाह्य पर्यटकको भीड बढेको ठमेलमा कपडाको व्यापार गर्दै आएका सोनाम रोकाले जानकारी दिए । यहाँ सामान किनमेलसँगै घुमफिरका लागि आउनेको सङ्ख्या बढेको उनको भनाइ छ ।

नयाँ वर्षलाई लक्ष्य गरी व्यवसायीहरूले आफ्ना पसल तथा वरपरको बाटो सिँगारेका छन् । साथै सजावटको सामग्रीले वरपरको वातावरण नै मनमोहक बनाएका छन् । विभिन्न ध्वजा तथा मालाले सडकका पोल रङ्गिएका छन् । होटल, क्याफेहरु पनि झकिझकाउ देखिएका छन् ।

ठमेलभित्र रहेका होटलका ६ हजार कोठाहरुको अकुपेन्सी राम्रो रहेको व्यवसायीहरु बताउँछन् । भर्खर सुरु भएको तीनतारे फेयरफिल्ड मेरियटदेखि १० डलरमा कोठा पाइने होटलमा समेत पर्यटकको चहलपहल छ ।