गौतमविरुद्ध अख्तियारमा उजुरीका चाङ

गौतमले हिमालयन एयरलाई बिनाप्रतिस्पर्धा त्रिभूवन अन्तरराष्ट्रिय विमानस्थलको जग्गा उपलब्ध गराएको, पोखरा विमानस्थल बनाउन चाहिने ठाउँको जग्गा नलिएको र नचाहिने ठाउँको जग्गा लिएको, भैरहवास्थित गौतमबुद्ध विमानस्थल निर्माण गर्न चाहिने भन्दा झन्डै २४ अर्ब रुपैयाँभन्दा बढी मूल्य पर्ने जग्गा लिएको, हेली एयरलाई गैरकानुनी रुपमा पोखरालाई आधार क्षेत्र स्वीकृति दिएको विषयमा उजुरी परेको छ ।

नेपाल नागरिक उड्डयान प्राधिकरण (क्यान)का महानिर्देशक सञ्जीव गौतमविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरीका चाङ लागेका छन् । गौतमले पदीय दुरुपयोग गर्दै विभिन्न व्यवासयीलाई गैरकानुनी रुपमा सञ्चालन अनुमति दिने, जग्गा भाडामा लगाउने, निर्माणाधीन पोखरा क्षत्रीय अन्तराष्ट्रिय विमानस्थल तथा गौतमबुद्ध विमानस्थललाई चाहिने भन्दा बढी जग्गा खरीद गर्ने र अकुत सम्पत्तिमा अख्तियारमा उजुरीको चाङ लागेका हुन् ।

गौतमले अकुत सम्पति कमाएको उजुरी परेपछि अख्तियारले पटक–पटक बयानका लागि बोलाइसकेको छ । तीन पटक भन्दा बढी बयान दिन गएको गौतम आफैले स्वीकार गरेका छन् । त्यसैगरी, गौतमले हिमालयन एयरलाई विना प्रतिस्पर्धा त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलको जग्गा उपलब्ध गराएको, पोखरा विमानस्थल बनाउन चाहिने ठाउँको जग्गा नलिएको र चाहिने ठाउँको जग्गा लिएको, भैरहवास्थित गौतमबुद्ध विमानस्थल निर्माण गर्न चाहिने भन्दा झण्डै २४ अर्ब रुपैयाँ भन्दा बढी मूल्य पर्ने जग्गा लिएको, हेली एयरलाई गैर कानुनी रुपमा पोखरालाई आधार क्षेत्र स्वीकृति दिएको विषयमा उजुरी परेको छ ।

त्यसमध्ये अख्तियारले हिमालयन एयरलाईलाई विना प्रतिस्पर्धा किन जग्गा दिएको भनेर क्यानका महानिर्देशक गौतमलाई स्पष्टिकरण लिएको छ । अख्तियारले पत्र नै काटेर अबदेखि कानुनसम्वत गर्न निर्देशन दिएको थियो । तर, अख्तियारको निर्देशनलाई लत्याउँदै गौतमले सिनामङ्गको जग्गा वेद उप्रेती ट्रस्टलाई विना प्रतिस्पर्धा दिएको छ । त्यसैगरी गौतमले सिनामङ्गलकै अर्को सरकारी जग्गा काठमाडौं मेडिकल कलेज (केएमसी)लाई दिएका छन् । गौतमले सिनामङ्गलको प्राइम लोकेसनमा भएको जग्गा मनलाग्दी रुपमा दिएका हुन् । गौतमको छोरी सोही कलेजमा एमबीबीएस गर्दै छिन ।

गौतम विरुद्ध उजुरीको चाङ लागे पनि अख्तियारले उनीविरुद्ध केही गर्न नसकेको क्यान स्रोतले बताएको छ । ‘अन्य निकायमा हाकिमा वा उच्च कर्मचारी विरुद्ध यति उजुरी परेको भए, पटक पटक बयानका लागि जानुपर्ने अवस्था आउँथ्यो,’ क्यानका एक उच्च अधिकारीले भने, ‘तर, गौतमविरुद्ध यत्रो उजुरी पर्दा पनि केही चासो लिएको छैन ।’
मन्त्री, सचिव तथा नेतालाई खुसी पार्न माहिर मानिएका गौतमले अख्तियारलाई समेत रिजाएको स्रोतको दाबी छ । ‘उनले हरेक तह र तप्काका मानिसलाई खुसी बनाएका छन्,’ ती व्यक्तिले भने, ‘सबै उनीसँग खुसी भएपछि जति उजुरी परे पनि केही हुँदैन ।’

उजरी दर्ता गर्छ, कारबाही अघि बढाउँदैन अख्तियार

गौतम विरुद्धको उजुरी दर्ता गर्ने गरे पनि उनी विरुद्ध कारबाही भने अघि बढएको छैन । अहिलेसम्म गौतमविरुद्ध झण्डै आधा दर्जन उजुरी अख्तियारमा दर्ता भए पनि दुई ओटा मात्र अख्तियारले बयान लिएको पाइएको छ ।
अख्तियारले अकुत सम्पत्ति कमाएको उजुरी र हिमालयन एयरलाई विना टेन्डर एयरपोर्टमा जग्गा उपलब्ध गराएको विषयमा र पोखरालाई आधार क्षेत्र बनाएर अल्ट्रालाईटलाई उडान अनुमति दिएकोमा मात्रै कारबाही अघि बढाएको छ । अकुत सम्पत्तिको बारेमा अख्तियारले अहिले पनि गौतमलाई बयानका लागि बोलाइरहेको छ भने, हिमालयन एयरको बारेमा पत्र नै काटेर अब आइन्दा टेन्डरमार्फत जग्गा उपलब्ध गराउन निर्देशन दिएको थियो । तर, त्यसबाहेक अन्य कुनै पनि उजुरीलाई गम्भीरतापूर्वक नहेरहेको पाइएको छ ।

कुन समयमा के उजुरी

  • २०७४ भदौ १ गते पोखरा क्षत्रीय अन्तराष्ट्रिय विमानस्थलमा भएको भ्रष्टचार तथा नागरिक उड्डयान प्राधिकरणको पदपूर्ति, नियुक्ति तथा पदस्थापनामा भएको जालसाजी र अनियमितता छानबिन गर्ने
  • २०७३ साल जेठ ८ गते कानुन विपरीत हेली एयरलाई पोखरा आधार क्षेत्र बनाएर उडान अनुमति दिएको र त्यस उपर कारबाही गरिपाऊँ
    २०७३ साल कात्तिकमा गौतमवुद्ध विमानस्थल निर्माणका लागि भन्दै लागत लाभ विश्लेषण बिनै अनावश्यक रुपमा जग्गा खरीद गर्दा राज्यलाई २४ अर्ब रुपैयाँ नोक्सान भएको अख्तिायर दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।
  • विना प्रतिस्पर्धा जग्गा हिमालय एयरलायन्सलाई दिएपछि अख्तियारमा उजुरी परेको थियो । उजुरी नम्बर ४८२३ रहेको पत्रमा प्राधिकरणको महानिर्देशक संजीव गौतमले नियमविपरित जग्गा उपलब्ध गराएको र त्यसमा ठूलो आर्थिक चलखेल रहेको आरोपसमेत रहेको छ ।