महानिर्देशक गौतममाथि थाल्यो अख्तियारले छानबिन

मन्त्री, सचिव तथा नेतालाई खुसी पार्न माहिर मानिएका गौतमले अख्तियारलाई समेत रिजाएको स्रोतको दाबी छ । उनले हरेक तह र तप्काका मानिसलाई खुसी बनाएका छन् । सबै उनीसँग खुसी भएपछि जति उजुरी परे पनि केही हुँदैन ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक सञ्जीव गौतममाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्ने भएको छ । गौतमले पदीय दुरुपयोग गर्दै सरकारलाई अर्बौं रुपैयाँ नोक्सान पुर्याएको उजुरी पर्दा पनि अख्तियारले कुनै चासो नदिएको समाचार क्यापिटल नेपालमा प्रकाशित भएपछि उनीमाथि छानबिन थालिएको हो ।

‘अख्तियारमा पर्यटन हेर्ने शाखा छुट्टै भएको र उक्त शाखाले गौतममाथि परेको उजुरी माथिल्लो निकायसम्म नल्याएकाले हामीलाई केही थाहा नभएको हो,’ अख्तियारका सचिव राजन खनालले भने, ‘उनीविरुद्ध परेको सम्पूर्ण उजुरी आजै मगाएर उनीमाथि छानबिन थाल्छौं ।’
अख्तियारमा गौतमविरुद्ध झण्डै आधा दर्जन उजुरी परे पनि त्यसमाथि केही कारबाही भएको छैन । पोखरा, भैरहवा, त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा जग्गा भाडा लगाउनेदेखि अल्ट्रालाइटलाई आधार क्षेत्र दिनेसम्म घोटला भएको भन्दै अख्तियारमा उजुरी परेको हो । तर, अख्तियारले उक्त उजुरी उपर कुनै चासो दिएको थिएन ।

‘उनीमाथि परेको उजुरी सम्बन्धित आयुक्तसम्मको टेबलमा नआएकाले अख्तियारले थाहा नपाएको हो,’ खनालले भने, ‘आजै पर्यटन हेर्ने शाखाका सहसचिवसँग उनीविरुद्ध परेको उजुरीको फाइल मगाउँछु र अध्ययन गर्छौं ।’ गौतमले पदीय दुरुपयोग गर्दै विभिन्न व्यवासयीलाई गैरकानुनी रुपमा सञ्चालन अनुमति दिने, जग्गा भाडामा लगाउने, निर्माणाधीन पोखरा क्षत्रीय अन्तर्राष्ट्रिय विमानस्थल तथा गौतमबुद्ध विमानस्थललाई चाहिनेभन्दा बढी जग्गा खरिद गर्ने र अकुत सम्पत्तिमा अख्तियारमा उजुरीको चाङ लागेका हुन् ।

गौतमले अकुत सम्पत्ति कमाएको उजुरी परेपछि अख्तियारले पटक–पटक बयानका लागि बोलाइसकेको छ । तीन पटकभन्दा बढी बयान दिन गएको गौतम आफैले स्वीकार गरेका छन् । त्यसैगरी, गौतमले हिमालयन एयरलाई विनाप्रतिस्पर्धा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको जग्गा उपलब्ध गराएको, पोखरा विमानस्थल बनाउन चाहिने ठाउँको जग्गा नलिएको र चाहिने ठाउँको जग्गा लिएको, भैरहवास्थित गौतमबुद्ध विमानस्थल निर्माण गर्न चाहिनेभन्दा झण्डै २४ अर्ब रुपैयाँ बढी मूल्य पर्ने जग्गा लिएको, हेली एयरलाई गैरकानुनी रुपमा पोखरालाई आधार क्षेत्र स्वीकृति दिएको विषयमा उजुरी परेको छ ।

त्यसमध्ये अख्तियारले हिमालयन एयरलाईलाई विनाप्रतिस्पर्धा किन जग्गा दिएको भनेर क्यानका महानिर्देशक गौतमलाई स्पष्टीकरण लिएको छ । अख्तियारले पत्र नै काटेर अबदेखि कानुनसम्मत गर्न निर्देशन दिएको थियो । तर, अख्तियारको निर्देशनलाई लत्याउँदै गौतमले सिनामङ्गलको जग्गा वेद उप्रेती ट्रस्टलाई विनाप्रतिस्पर्धा दिएका थिए । त्यसैगरी गौतमले सिनामङ्गलकै अर्को सरकारी जग्गा काठमाडौं मेडिकल कलेज ९केएमसी०लाई दिएका छन् । गौतमले सिनामङ्गलको प्राइम लोकेसनमा भएको जग्गा मनलाग्दी रुपमा दिएका हुन् । गौतमकी छोरी सोही कलेजमा एमबीबीएस गर्दै छिन् ।

गौतमविरुद्ध उजुरीको चाङ लागे पनि अख्तियारले उनीविरुद्ध केही गर्न नसकेको क्यान स्रोतले बताएको छ । ‘अन्य निकायमा हाकिमा वा उच्च कर्मचारीविरुद्ध यति उजुरी परेको भए पटकपटक बयानका लागि जानुपर्ने अवस्था आउँथ्यो,’ क्यानका एक उच्च अधिकारीले भने, ‘तर, गौतमविरुद्ध यत्रो उजुरी पर्दा पनि केही चासो लिएको छैन ।’ मन्त्री, सचिव तथा नेतालाई खुसी पार्न माहिर मानिएका गौतमले अख्तियारलाई समेत रिजाएको स्रोतको दाबी छ । ‘उनले हरेक तह र तप्काका मानिसलाई खुसी बनाएका छन्,’ ती व्यक्तिले भने, ‘सबै उनीसँग खुसी भएपछि जति उजुरी परे पनि केही हुँदैन ।’