पर्यटनका ‘पायोनियर’

डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा सडक चौडा बनाउने अभियानमा पनि एम्बासडर होटल प¥यो । धेरैले सडक विस्तारको अवरोध र विरोध गरिरहँदा शाक्य आफैंले ‘च्यालेन्ज इज अपच्र्युनिटी’ भन्ने ठूलो फ्लेक्स टाँसेर होटल भत्काउन सुरु गरे । त्यो देखेर सबैले पीडामा पनि कति सकारात्मक भन्न थाले । भट्टराई पत्नी हिसिला यमीले पनि सकारात्मक काम र सोच भन्दै म्यासेज पठाइन् । अभावलाई अवसरका रुपमा छोपेपछि एम्बासडर होटल नयाँ रुपमा फर्कियो । होटलमा अमेरिकाबाट पढेर फर्किएका छोरा र छोरी पनि आबद्ध भइसकेका छन् । छोरा राहुलले इन्टेरियर अध्ययन गरेका थिए ।

डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा देशका विभिन्न भागमा सडक विस्तारले तीव्रता पायो । काठमाडौंमा त सडक विस्तारले एउटा छुट्टै अभियानकै रुप लियो । त्यही अभियानमा लैनचौरबाट लाजिम्पाट जाने चोकमा रहेको चल्तीको पर्यटकीय होटल एम्बासडर पनि भत्काउनुपर्ने भयो । सरकारले भत्काउन सूचना पनि दियो । होटल सञ्चालक योगेन्द्र शाक्यले सबैले देख्ने गरी होटलमा ‘च्यालेन्ज इज अपच्र्युनिटी’ भन्ने ठूलो फ्लेक्स टाँसे र भत्काउन सुरु गरे ।

आफ्नो करोडौं रुपैयाँको सम्पत्ति भत्कँदै थियो । होटलमा रहेका स्टाफलाई कसरी व्यवस्थापन गर्ने भन्ने योजना पनि भइसकेको थिएन । तर शाक्यले चुनौतीलाई नै अवसर ठाने । र होटल भत्काए । अनि नयाँ बनाए । पर्यटन क्षेत्रमा शाक्य नौलो नाम होइन । ‘भिजिट नेपाल २०११’को राष्ट्रिय संयोजक भएर नेपालमा पर्यटकको सङ्ख्या बढाउन उनले ठूलै भूमिका खेलेका छन् । नेपालमा पर्यटकको आगमन जुन बेला बढ्दै थियो, शाक्य र उनको परिवार पर्यटन क्षेत्र एवम् पर्यटकसँग नजिक भइसकेका थिए । यही इतिहासले उनलाई पर्यटनको ‘पायोनियर’ बनायो ।

नेपालमा हिप्पीहरुको आगमन बाक्लो थियो । काठमाडौंको झोंछे र ठमेल आसपासमा गाँजा, चरेसलगायत लागूपदार्थ सजिलै पाइन्थ्यो । यही सहजताले हिप्पीहरुले आफ्नो गन्तव्य बनाएका थिए, ठमेल र झोंछेलाई । उनीहरुको नेपाल आउने क्रम बढिरहेको थियो ।

‘नेपालको पर्यटन कसैले सुरु गर्छु भनेर सुरु भएको होइन, नेपाल आउने हिप्पीहरुका कारण यसको प्रचारप्रसार भएर सुरु भएको हो,’ शाक्य भन्छन्, ‘हिप्पी आएपछि एडभेन्चर टुरिस्ट आए, त्यसपछि नेपालको पर्यटनले नयाँ रुप लियो ।’

नेपालमा हिप्पी आउँदा झोंछे बनेको थियो । एभडेन्चर टुरिस्ट आउँदा ठमेल बन्यो । झोंछेमा निहुरिएर जानुपर्ने घरमा होटल थिए । ठमेलमा होटल बनिसकेका थिएनन् । शाक्यका बुबा वसन्तबहादुरले सन् १९६९/७० मा ठमेलमा राणाको एउटा घर लिएर काठमाडौं गेस्ट हाउस निर्माण गरे । राणाको अग्लो घरमा बनेका होटलमा ठूलाठूला कोठा हुने नै भए । यस्तो देखेपछि झोंछे आउने पर्यटक ठमेल आउन थाले । बिस्तारै अरु होटल खुल्न थाले । बिस्तारै ठमेलमा पर्यटकको चहलपहल बढ्न थाल्यो ।
कलेज पढ्दै गरेका शाक्य काठमाडौं गेस्ट हाउसको ‘रिसेप्सनिस्ट’ भए । अमृत साइन्स क्याम्पसमा अध्ययरत शाक्य इन्जिनियर बन्ने धुनमा थिए । तर, पारिवारिक वातावरण होटल र पर्यटनको बनिसकेको थियो । होटलमा शाक्यका काका कर्ण शाक्य, उनी र उनका बुबाको व्यवस्थापनले होटल चम्किँदै गयो पनि ।

त्यही समयको एकदिन छिमेकी र उनको परिवारबीच झगडा भयो । कसैले हानेको ढुङ्गाले उनलाई लाग्यो । उनी उपचारका लागि दिल्ली गए । इन्जिनियर पढ्नका लागि दिल्लीमै कलेज छानिसकेका शाक्य उपचारका लागि पनि दिल्ली नै जानुप¥यो । जुन अस्पतालमा उनी उपचाररत थिए, त्यहाँ अको एक व्यक्ति पनि उपचार गराउन आएका थिए । उनीसँग शाक्यको चिनचान भयो । चिनचानपछि ती व्यक्तिले घरको वातावरण होटलमय भइसकेपछि तिमी पनि होटल व्यवस्थापन अध्ययन गर, इन्जिनियर भएर किन काम गर्न जान्छौ भन्दै प्रश्न गरे । पछि उनैले छानेको कलेजमा शाक्यले होटल व्यवस्थापन पढ्ने निर्णय गरे ।
‘त्यही निर्णयले मलाई होटल व्यवस्थापन पढेर पर्यटनमा सक्रिय हुन सिकायो,’ शाक्य भन्छन्, ‘र मलाई मेरी जीवनसङ्गिनी पनि भेट गराइदियो ।’ दिल्लीमा पढ्दा सोही कलेजमा अध्ययनरत एक युवतीसँग उनी प्रेममा परे । फलस्वरुप एक्लै दिल्ली गएका शाक्य आउँदा विवाहको योजनासहित फर्के र काठमाडौंमै विवाह गरे ।

काठमाडौं गेस्ट हाउसमा शाक्यका काका कर्ण शाक्य, उनी र उनका बुबाको व्यवस्थापनले अघि बढ्दै गर्दा उनको श्रीमती पनि थपिइन्, जसले होटल व्यवस्थापन नै अध्ययन गरेकी थिइन् । त्यसपछि होटलको वातावरण पर्यटकका लागि चाहिने जस्तै बन्न थाल्यो ।

होटल चलाउनुअघि शाक्यका बुबा सुनचाँदी व्यवसायमा थिए । उनले होटल बनाउने घरलाई इन्टेरियर गरेका थिए । पुरानो कुरामा कलात्मक भर्ने काम उनैले घर । १३ ओटा रुमबाट सुरु भएको होटलको जगले अहिले कर्ण शाक्य र उनको परिवारले छुट्टै, योगेन्द्र शाक्य र परिवारले छुट्टै गरेर एक दर्जनभन्दा बढी होटल सञ्चालन गरेका छन् ।

सुनचाँदीको व्यवसायबाट उकालो यात्रामा लागेका वसन्तबहादुरले काठमाडौं गेस्ट हाउस सञ्चालन गर्नुअघि नै सन् १९६४ मा लाजिम्पाटमा बङ्गलो बनाएका थिए । ब्रिटिस एम्बेसीका कर्मचारीलाई भाडामा दिने उद्देश्यले बनाएको त्यो बङ्गलोमा सन् १९७८ मा होट एम्बासडर बन्यो । काठमाडौं गेस्ट हाउसपछि अर्काे होटल पनि थपियो । एम्बासडर ।

बुबाले दुःख गरेर कमाएको सम्पत्तिबाट जोडेको एम्बासडर होटल भने पटकपटक राज्यको निसानामा प¥यो । दुई पटक बेलायतकी महारानी एलिजावेथ नेपाल आएको बेला बग्गी नछिरेको कारण देखाउँदै एम्बासडर होटलको जग्गा सरकारले लियो । पछि डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा सडक चौडा बनाउने अभियानमा पनि एम्बासडर होटल प¥यो । धेरैले सडक विस्तारको अवरोध र विरोध गरिरहँदा शाक्य आफैंले ‘च्यालेन्ज इज अपच्र्युनिटी’ भन्ने ठूलो फ्लेक्स टाँसेर होटल भत्काउन सुरु गरे । त्यो देखेर सबैले पीडामा पनि कति सकारात्मक भन्न थाले । भट्टराई पत्नी हिसिला यमीले पनि सकारात्मक काम र सोच भन्दै म्यासेज पठाइन् ।

‘त्यो बेला सडक चौडा गराउन विरोध भइरहेको थियो । म आफैं कस्सिएर आफ्नै होटल भत्काएँ । हिसिला यमीले म्यासेज पठाउनुभयो । मैले पनि छातीमाथि ढुङ्गा राखी हास्नुप¥या छ भन्ने सन्देश पठाएँ,’ उनले भने ।

अभावलाई अवसरका रुपमा छोपेपछि एम्बासडर होटल नयाँ रुपमा फर्कियो । होटलमा अमेरिकाबाट पढेर फर्किएका छोरा र छोरी पनि आबद्ध भइसकेका छन् । छोरा राहुलले इन्टेरियर अध्ययन गरेका थिए । एम्बासडर होटलपछि नगरकोटमा होटल बन्दै थियो । शाक्यले राहुललाई होटलको इन्टेरियर गर्ने काम दिए ।

‘मैले काम त दिएँ । तर उसले आफ्नो तरिकाले इन्टेरियर गर्छु भन्यो,’ शाक्यले भने, ‘नदिऊँ फेरि फर्केर अमेरिका जाला भन्ने डर, दिऊँ मोडर्न सामान राखेर ठूलो खर्च निकाल्दै थियो ।’ त्यो बेला होटलको रुम सस्तो थियो, महँगो सामान राखेर रुमको रेट बढी लिँदा पर्यटक नबसेर घाटा जाने भन्ने चिन्ता पनि थियो । ‘अन्योलबीच मैले छोरालाई आफूखुसी गर्न दिएँ उनी भन्छन्, ‘अहिले उसको निर्णय नै सही भएको छ, पर्यटकको बसाइले उनीहरु सन्तुष्ट भएका छन्, पर्यटकका लागि उत्कृष्ट होटल पनि बनेको छ ।’
प्रायः मानिसको घरमा बाबु र छोराको अवधारणा मिल्दैन । यस्तोमा बाबु नै अघि सरेर छोरालाई सहयोग गर्नुपर्छ । ‘तर म छोरा नै राम्रो गर्छ भन्ने सोच राख्छु,’ उनले भने । शाक्यलाई होटल मात्र बनाउने भनेर चिनिँदैन, गन्तव्य बनाउने भनेर पनि चिनिन्छ । ठमेल, नगरकोटपछि उनी अब लुम्बनीलाई पर्यटकीय गन्तव्यका रुपमा अझ बढी प्रचार गर्ने उनको तयारी छ । ‘लुम्बिनीमा हामी ५÷६ जना मिलेर होटल, रेस्टुरेन्टलगायत खोल्ने योजनामा छौं, त्यसका लागि जग्गा पनि हेरिसक्यौं,’ उनले भने । पोखराको पुम्दीकोटमा पनि होटल बनाउने भनेर जग्गा लिइसकेको उनले बताए ।

शाक्यले एस होटल एन्ड रिसोर्ट गु्रप बनाएर होटल तथा रिसोर्ट खोल्दै आएका छन् । यस गु्रपअन्तर्गत क्लब हिमालय, मार्काेपोलो बिजनेस होटल, एम्बासडर छाउनी अपार्टमेन्ट होटल, ट्रेक ओ टेल र एम्बासडर होटल सञ्चालन भइरहेको छ ।
लोकेसन हन्टिङको विशेष खुबी भएका शाक्यले कुन क्षेत्रमा कस्तो होटल चल्छ भनेर योजना बनाउँदै आफ्ना छोरा र छोरीलाई सुनाउने गर्न थालेका छन् । केही वर्षपछि सम्पूर्ण व्यवस्थापन छोरा र छोरीले नै हेर्नुपर्छ भनेर उनी अहिलेदेखि नै आफ्ना अनुभव र विज्ञता आफूपछिको पुस्तालाई बाँडिरहेका छन् । उनले आफ्नो विज्ञता आफ्नो परिवारमा मात्र होइन, सरकारी र सामाजिक संस्थामा बसेर पनि बाँडिसकेका छन् ।

शाक्यले सन् २०११ को भिजिट नेपालको राष्ट्रिय संयोजक भएर काम गरिसकेका छन् । २५ वर्षको इतिहासमा नेपालमा वार्षिक ५ लाख पर्यटक कटेको थिएन । २०११ मा १० लाख पर्यटकको टार्गेट गरिएको थियो । ‘बन्द र हडतालको मौसम थियो, भिजिट नेपाल घोषणा भएर मलाई संयोजक बनाइएको थियो । तर केही योजना बनाएर काम गरें, त्यो बेला ८ लाख पर्यटक आए,’ उनले भने, ‘हामीले त्यो बेला युरोप र अमेरिकालाई फोकस गरेनौं, चीन र भारतलाई टार्गेट ग¥यौं, त्यही कारण तीन लाख पर्यटक बढे ।’
शाक्य संयोजक भएपछि चिनियाँ राजदूतसँग भेट भएको थियो । ‘त्यो बेला राजदूतले नेपाल सरकारलाई चीनका लागि एउटा आउटबाउन्ड पत्र पठाउन भनेका रहेछन् । तर सरकारले नपठाएको रहेछ,’ उनी भन्छन्, ‘हामीले पत्र पठायौं, त्यो पत्रले काम पनि ग¥यो ।’

अहिले पनि सरकारले ‘भिजिट नेपाल भनेर २०२०’ घोषणा गरेर २० लाख पर्यटक भिœयाउने उद्देश्य राखेको छ । तर सन् १९९८ र २०११ मै व्यक्त गरेका प्रतिबद्धता पूरा नगरिएको शाक्य बताउँछन् । ‘२० लाख पर्यटक भिœयाउन सम्भव छ । तर सरकारले युद्धस्तरमा पूर्वाधार बनाउनुपर्छ । र आफूले गरेका प्रतिबद्धता पनि पूरा गर्नुपर्छ,’ उनले भने ।