अनियमित विद्युतले  उपभोक्ता हैरान

दैनिक रुपमा हुने ‘लाइन ट्रिपिङ’ ले उद्योग/व्यवसाय गर्नेको त कुरै छाडौँ । दैनिक रुपमा विहान बेलुकामा विद्युत् जाने समस्याले सेवाग्राहीलाई धेरै सताएको छ ।

अचेल कुनै सेवाग्राहीलाई तपाइको घरमा विद्युत् जान्छ कि जाँदैन ? भनेर सोध्ने हो भने ७५ प्रतिशतको जवाफ यहि हुने गर्छ कि— घरी घरी विद्युत गइरहन्छ । सरकारले लोडसेडिङ अन्त्य गरेको बताइरहँदा पनि त्यस्को कार्यान्वयन कस्तो भइरहेको छ भनेर हेर्ने हो भने, विल्कुल विद्युत् नियमित छदै छैन। फलस्वरुप, आम सेवाग्राहीको दैनिकी क्रियाकलाप प्रभावित हुने गरेका छन् । नियमति विद्युत् नपाउँदा सेवाग्राही मारमा पर्ने गरेका हुन् ।

दैनिक रुपमा हुने ‘लाइन ट्रिपिङ’ ले उद्योग/व्यवसाय गर्नेको त कुरै छाडौँ । दैनिक रुपमा विहान बेलुकामा विद्युत् जाने समस्याले सेवाग्राहीलाई धेरै सताएको छ । नियमित विद्युत् वितरण गर्ने जिम्मा पाएको निकाय विद्युत् प्राधिकरणले यस विषयमा बेखवर जस्तै बनेको सेवाग्राहीको गुनासो छ । विद्युत् कति बेला जान्छ भन्ने कुनै ठेगान नै नभएको स्युचाटारकी सुनिता मानन्धरको तर्क छ । ‘कतिचोटी त खाना खसाल्यो पानी नउम्लदै विचमा लाइन गइहाल्छ’ उनले भनिन्, ‘धेरैचोटी यस्तै हुन्छ । कतिबेला आउने हो भन्ने कुनै ठेगान हुदैन ।’

उनीमात्रै होइन सोह्खुट्टेमा नेवारी खाजा घर सञ्चालन गर्दै आएकी कोपिला श्रेष्ठको पिडा पनि उस्तै छ । सुरु सुरुमा विजुली झ्याप्प नजाने गरेको भएपनि झन लोडसेडिङ अन्त्य भयो भनेयता दैनिक रुपमा विजुली वारम्वार गइरहने उनको गुनासो छ । विद्युत् नियमति नहुँदा आफुले पसल बन्द गर्नुपरेको व्यथा उनको छ । ‘पहिले त कम मात्रामा विजुली काटिन्थ्यो । गएपनि आइहाल्थ्यो । अहिले त लोडसेडिङ छैन भनेपनि झन बढि विद्युत् काटिन थालेको छ’ उनले भनिन् ‘फ्रिज, फ्यान चलाउन, खाना बनाउन र अन्य उपकरण चार्ज गर्न विजुली नहुँदा पसल बन्द गर्नुपरेको छ मैले ।’ उनले धेरै पटक विद्युत् प्राधिकरण र वितरण केन्द्रमा फोन गरेपनि फोन नै नउठाउने र फोन उठाइहाले पनि राम्रो व्यवहार नगर्ने गरेको तर्क गरिन् ।

सुचना नदिइएकन विद्युत् लाइन काट्ने गर्दा आफ्नौ दैनिक योजना र कामहरु ठप्प हुने गरेको सिनामङ्गल राजु उप्रेतीले बताए । ‘कुनै सुचना नै नगरि विद्युत् जान्छ’ उनले भने, ‘आफ्ना काम गरौँ भन्यो न विजुली हुन्छ र नेटको एक्सेस नै । दिनभरी गर्छु भनेका काम स्वाहा ।’

यता विद्युत् प्राधिकरणले कहिलेकाही हुने प्रणाली सुदृढीकरण गर्नुपर्दा र ब्रेक डाउन मेन्टिनेन्सका कारण केही क्षेत्रमा विद्युत् जाने गरेको स्वीकार गरेको छ । आकस्मिक रुपमा हुने प्राविधिक समस्याका कारणले विद्युत् समस्या आएपनि त्यस्को तत्काल कर्मचारी खटाएर विद्युत् नियमित गर्ने गरेको प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले जानकारी दिए । ‘प्रणाली सुदृढीकरण गर्नुपर्ने हुँदा पावर सप्लाइमा समस्या हुन्छ नै’ उनले भने, ‘आकस्मिक रुपमा प्राविधिक समस्याले विद्युत् आपूर्तिमा समस्या हुने गर्छ । त्यस्का लागि हामीहरुले ‘नो लाइट’ क्षेत्रका कर्मचारीलाई खटाएर मेन्टिनेन्स गरेका छौँ ।’ बत्ती नआउँदा प्राधिकरणले फोन नै उठाउँदैन, सुचना नै नगरी विद्युत काट्छ नी भन्ने ? प्रसंगमा उनले त्यस्का लागि सम्वन्धित वितरण केन्द्र र प्राधिकरणले यस विषयलाई गम्भिर रुपमा छलफल गरी समाधानको प्रयास गरिने बताए ।

उनले प्राधिकरण र वितरण केन्द्रको व्यवस्थापन चुस्त दुरुस्त र सुचनामैत्री बनाउन गम्भिर रहेको बताए ।