वासिद, जसले गाउँलाई ब्रान्ड बनाए

१४ वर्षअघि वेटरका रुपमा कतार छिरेका वासिदले नेपाल र कतारमा आफ्नो करिअर बनाउन ठूलै सङ्घर्ष गर्नुपर्यो । त्यही सङ्घर्षले उनलाई कतारमै व्यवसायी बनायो । सफलता पनि दिलायो । र, त्यही सफलताको कथालाई जनसमक्ष पुर्याउन उनलाई मिडियाले पछ्याउन थाले ।

नेपाली कामदारको प्रमुख श्रम गन्तव्य हो— कतार । यहाँ ५ लाखभन्दा बढी नेपाली कामदार छन् । सन् २००४ मा कामकै खोजीमा कतार पुगेका जनकपुरका अब्दुल वासिद पनि तीमध्येकै एक हुन् । कामदार भएर कतार गएका वासिदले १४ वर्षमा आफ्नो करिअरको परिचय मात्र फेरेनन्, उनी नेपाल र मध्यपूर्वका मिडियामा पनि छाउन थालेका छन् ।

पछिल्लो पटक कतारबाट नेपाल आउँदा मिडियाले उनलाई पछ्याइरहेका थिए । हामी काठमाडौंको शेर्पा मलको हेडलाइन्स रेस्टुरेन्टमा पुग्दा उनले एउटा टेलिभिजन कार्यक्रम र अर्काे एक अनलाइनलाई अन्तर्वार्ता दिएर बसेका थिए । १४ वर्षअघि वेटरका रुपमा कतार छिरेका वासिदले नेपाल र कतारमा आफ्नो करिअर बनाउन ठूलै सङ्घर्ष गर्नुपर्यो । त्यही सङ्घर्षले उनलाई कतारमै व्यवसायी बनायो । सफलता पनि दिलायो । र, त्यही सफलताको कथालाई जनसमक्ष पुर्याउन उनलाई मिडियाले पछ्याउन थाले ।

देशमा राजनीतिक परिवर्तन हुँदै थियो । देशका केही भूभागमा आन्दोलन भइरहेका थिए । मधेस पनि अशान्त थियो । क्याटरिङ व्यवसायमा बुबालाई सघाइरहेका वासिद नेपालमा सन्तुष्ट भएनन् । अनि कतार पुगे । वेटर भिसामा गएका वासिदलाई सम्झौताअनुसार काम मिलेन । कतार पुर्याउने एजेन्ट र म्यानपावरले ठग्यो । रेस्टुरेन्ट पुगेपछि सबै काम गर्नुप¥यो । उनलाई तत्काल फर्किन मन लागेको थियो । तर गाउँबाट आएपछि छिट्टै फर्किंदा पनि काम गर्न नसकेर फर्कियो भन्छन् भन्ने एकातिर थियो भने अर्काेतिर बुबाले ७० हजार रुपैयाँ ऋण खोजेर पठाएका थिए । त्यो पनि तिर्नु थियो । त्यसैले उनी एक वर्षपछि नेपाल फर्किए ।

एक वर्षपछि नेपाल फर्किंदा पनि नेपालमा आन्दोलन र विरोध भइरहेका थिए । मधेसमा आफ्नो हक अधिकारका लागि आन्दोलन झनै उग्र हुँदै थियो । मधेसका युवाहरु विस्थापित भइरहेका थिए । कामको खोजीमा बिदेसिनेहरुको सङ्ख्या बढेकै थियो । वासिदलाई नेपालमा आएर पनि के गर्ने कुनै योजना बनेन । अनि क्याटरिङ व्यवसायलाई उनले पूर्ण रुपमा बन्द गरे । पहिला भाइलाई कतार पठाए र पुनः उनी कतार पुगे । यस पटक कतार पुग्दा उनी फरक कम्पनीमा गएका थिए । त्यहाँ अलि लामो समय काम गरे । पहिलाको कतार बसाइ र पछिको कामले उनलाई अनुभव बढ्दै गयो । उनले त्यहाँ व्यवसायको सम्भाव्यता अध्ययन गरे । बजार अध्ययन गर्न थाले । र सानै भए पनि व्यवसाय गर्छु भन्ने उनलाई लाग्यो ।

कतार आप्रवासी कामदारले बनेको मुलुक हो । गर्मी पनि उधुमै हुने । त्यसैले गर्मीको व्यापार, निर्माण सामग्रीको व्यापारमा राम्रो हुने उनले देखे । र सुरु गरे त्यसैको व्यापार । तीन चार वर्षसम्म कतारकै बजारबाट सामान खरिद गरेर कम्पनीहरुमा बिक्री गर्न थाले । बिल्डिङ मेटेरियल र कामदारले लगाउने सुरक्षाका सामान विभिन्न कम्पनीमा पुर्याउन थाले । यो व्यवसायबाट राम्रो त भइरहेको थिएन । तर उनमा व्यवसायबारे झन् बढी अनुभव बढ्दै गयो । त्यसपछि त्यहीँ कुलर, इलेक्ट्रिक सामान बिक्री गर्न थाले । माग बढ्दै गयो । आफ्नो मिहिनेत, आफ्नै बजार प्रवद्र्धन तर ब्रान्ड अरुको थियो । त्यसपछि वासिदले आफ्ना भाइलाई आफ्नै कम्पनीमा ल्याउने र आपूmले पनि नयाँ ब्रान्डमा सामान उत्पादन गर्ने योजना बनाए । सन् २०११ मा अब्दुल हाफिज ट्रेडिङ एन्ड कन्ट्र्याक्टिङ कम्पनी स्थापना गरे । किङ कुल यूएस ब्रान्डमार्फत कुलर सिस्टम बिक्री गर्न थाले । पहिलो ब्रान्डको कुलर बजारमा आएपछि त्यसले बजार लिन थाल्यो । त्यसपछि एयर कन्डिसनलगायत इलेक्ट्रिक सामान ल्याउने योजना बनाए । ब्रान्डको नाम जु¥यो— बेलाको । सन् २०१५ देखि बेलाको यो ब्रान्डका विभिन्न सामान कतारी बजार छ्यापछ्याप्ती छन् । एक महिनादेखि यूकेमा समेत पुगेका छन् । आउट डोर कुलर, मिस्टिङ फ्यान, ड्रम फ्यान, वाल फ्यान, भ्यान्टिलेसन फ्यान, इन्ड्रसियल फ्यान, आउटडोर हिटरजस्ता सामानले कतारमा वासिदको व्यवसाय बढाउँदै लगेका छन् ।

वासिदको घर धनुषा जनकपुको बेला भन्ने गाउँमा हो । कतारमै दुई जना साथीबीच कुराकानी गर्दा अब्दुल वासिद कहाँको भनेर कुरा हुँदा एउटा साथीले जनकपुर बेलाको भनेपछि उनले त्यो नामलाई नै ब्रान्ड बनाए । ‘कतारमा काम र व्यवसायले मलाई धेरै कुरा सिकायो, म जनकपुरको बेलाबाट गएको थिएँ, दुई साथीले बेलाको अब्दुल वासिद भनेपछि त्यही नामलाई ब्रान्ड बनाउन मन लाग्यो । र त्यसैलाई अगाडि बढायौं,’ वासिदले भने ।

सुरुमा एजेन्टलाई पैसा तिरेर गएको ठगिएको महसुस भएको उनको भनाइ छ । एउटा काममा गएको अर्काे काम परेको र फर्किएर आएका थिए उनी । ‘पुनः सङ्घर्ष गरेपछि एउटा ब्रान्ड बनाउन सफल भयौं, सङ्घर्षका दिन साहै्र कठिन थिए,’ उनले भने ।

कम्पनी स्थापना भयो, लगानी सानो थियो ६ महिनासम्म आम्दानी थिएन । खर्च बढिरहेको थियो । स्टाफहरुलाई तलब दिन पनि गाह्रो भइरहेको थियो । त्यसपछि आफ्नै ठूला दाजुलाई बोलाउने र रणनीतिक रुपमा बजारमा जाने योजना वासिद दाजुभाइले बनाए । साउदी अरबमा रहेका आफ्ना ठूला दाजुलाई पनि कतार बोलाएपछि एयर कन्डिसनको व्यवसायमा रातदिन लागे । आफैंले आफ्नै ब्रान्डमा चीनबाट सामान मगाएर बिक्री गर्न थालेपछि यसले कतारमा बजार लिन थाल्यो । अहिले बेलाको ब्रान्ड यूके पुगेको छ । मध्यपूर्वका अरु देशमा पनि फैलिँदै छ ।

अब्दुल वासिद, अब्दुल हाफिज र अब्दुल कदिर वासिद तीन दाजुभाइले अहिले विभिन्न कामलाई बाँडेर ब्रान्डलाई फैलाउन लागिपरिरहेका छन् । आफैंले व्यवसाय गर्दा पनि सोरुम सञ्चालनमा ल्याउन सकेका थिएनन् वासिदले । त्यसैले एउटै घरमा आफूहरु माथि बस्ने र तल सामान बेच्ने गरेका थिए । कम्पनीको सामानको मार्केटिङ गर्दा कतारको ४०/५० डिग्री गर्मीमा हिँडेर नै पुग्ने गरेका थिए ।

बेलाको ब्रान्डको चर्चा त्यतिखेर चुलियो, जतिखेर कतारमा भएको प्रोजेक्ट कतार एक्जिबिसनमा यसको सहभागिता भयो । पहिलो पटक नेपाली व्यवसायीको ब्रान्ड सहभागिता भएको प्रदर्शनीबाट यसको चर्चा अझ बढ्यो । विश्वका प्रख्यात ब्रान्डहरुको बीचमा नेपाली व्यवसायीको ब्रान्ड प्रदर्शनीमा हुँदा विश्वका विभिन्न मुलुकबाट आएका कम्पनीका प्रतिनिधिले सोधखोज गरेर विभिन्न एप्रोचसमेत राख्न थाले ।

प्रदर्शनीमा बेला ब्रान्डको सहभागिता भएपछि विभिन्न अफर पनि आए । मिलेर काम गरौं भन्नेदेखि लिएर संयुक्त लगानीमा उत्पादन थाल्ने अफर पनि आएको वासिद बताउँछन् । ‘कतारको शेख, राजा तथा प्रधानमन्त्रीहरुको निवास र कार्यालयहरुमा पनि अहिले बेलाको ब्रान्डका उत्पादन पुगेका छन्,’ वासिदले भने, ‘१४ वर्षअघि जुँगाको रेखी बस्दै गर्दा म कतार पुगेको थिएँ । सुरुको काम र त्यसपछि आफैं व्यवसाय गर्नुपर्दा दुुवै समयमा धेरै नै दुःख गर्नुपर्यो । त्यही दुःखले अहिले मध्यपूर्वमा नेपालीको शिर ठाडो हुने गरी काम गरिरहेका छौं ।’

बेलोको ब्रान्डलाई विश्वभर पु¥याउने वासिदको सपना छ । ‘कतार र आसपासका मुलुकमा हाम्रा उत्पादन जान थालेका छन्, बेलायत पनि पुगिसकेका छन्,’ उनले भने । अझ ५/६ मुलुक पुग्यो भने बेला ब्रान्डलाई नेपाल भित्र्याउने योजना पनि वासिदको छ । ‘नेपालमै प्लान्ट राखेर उत्पादन गरी अन्तर्राष्ट्रिय रुपमा लैजाने सपना मैले देखेको छु,’ उनले भने ।

जे कुरा जहाँ हराएको छ, त्यहीँ गएर खोजियो भने भेटिने सम्भावना हुन्छ । कतारमा पुगेर आफ्नो करिअर अन्योलमा देखेका वासिद कतारमै पुगेर करिअरलाई नयाँ उचाइमा पुर्याइरहेका छन् ।