नेभर रिटायर्ड

व्यापार बढ्दै गएपछि गणेशभक्तले बाबुलाई सघाउन थाले । नेपाल आएर २००८ सालदेखि उनी प्रत्यक्ष व्यापारमा लागे । ‘मेरा बुबाले राणाशासनकै समय १९९० सालमा व्यापार सुरु गर्नुभएको थियो, मैले राणाशासन सकिएको एक वर्षपछि व्यापारमा हात हालेँ,’ उनले भने ।

८८ वर्षको वयलाई सामान्यतया सक्रिय उमेर मानिँदैन । बुढ्यौलीले छुने यो उमेरमा अधिकांश मान्छे घरमा बसेर जीवनका विगत सम्झन्छन् र खुुसी हुन्छन् या दुःखी हुन्छन् । परिवारका तेस्रो पुस्तासँग समय कटाउन लालायित हुन्छन् । तर, साखः गु्रपका अध्यक्ष गणेशभक्त साखःको दैनिकी एक्स्ट्रा छ । उनको आफ्नै तालिका छ । त्यसैले त नियमित अफिस पुगेर आफ्ना पुस्तालाई व्यापारको काउन्सिलिङ दिइरहन्छन् ।

काठमाडौं तीनकुनेको साखः ग्रुपको अफिसको दोस्रो तलामा पुग्दा गणेशभक्त केही फाइल पल्टाउँदै, केहीमा हस्ताक्षर गर्दै थिए । गु्रपअन्तर्गत रहेका दर्जन व्यापार र उद्योगमा उनको भूमिका अहिले परामर्शदाताका रुपमा छ । त्यही काम पनि उनी नियमित अफिस पुगेरै गर्छन् । व्यापार र उद्योगको आफ्नो अनुभव नयाँ पुस्ताका लागि अझ लाभदायक हुने देखेर उनले दोस्रो तलादेखि नै आफ्ना सन्ततिलाई सफलताका सूत्रहरु बाँडिरहेका छन् ।
‘तपाईं नियमित अफिस आउनुहुन्छ ?,’ हामीले पहिलो प्रश्न यही ग¥यौँ ।

‘हो, नियमित आउँछु । आई एम नेभर रिटायर्ड,’ जोसिलो पारामा उनले भने ।

अफिस नियमित आए पनि उनले व्यवसायमा प्रत्यक्ष हस्तक्षेप भने गर्दैनन् । ‘मैले अहिले बिजनेस डिल पनि गर्दिनँ र व्यवसाय पनि हेर्दिनँ, तर परामर्श र बैङ्कतिरको काम भने अझै हेरेको छु,’ उनले भने । घरमा बसिरहे पनि टेलिभिजन हेर्ने वा सामान्य काम गरेर बस्ने हो, त्योभन्दा अफिस आउँदा कोही न कोही नयाँ मान्छे भेटिन्छ, व्यवसायको अवस्था कस्तो छ भन्ने पनि थाहा हुने उनको बुझाइ छ । ‘लामो समय आफूले व्यापार र उद्योग सम्हालेको अनुभव आफ्ना सन्ततिलाई पनि काम लाग्ने भएकाले अफिस नियमित आउन मन लाग्छ,’ उनले भने ।

व्यवसायका सुरुवाती दिनमा उनलाई खासै समस्या भएन । गणेशभक्तका बाबु पनि व्यापारी भएकाले उनले व्यापारको नशा बुझिसकेका थिए । भक्तपुरका रैथाने गणेशभक्तका बाबुले भक्तपुरमा ठूलै व्यवसाय गरेर बसिरहेका थिए । भक्तपुरमा कृष्णभक्त रामभक्त साखःले कपडाको व्यापार चम्काइरहेका थिए । व्यापारको चमक बढ्दै गएपछि भक्तपुर, काठमाडौं र वीरगन्जमा समेत गोदाम राखेका थिए ।

भारतबाट सामान ल्याएर गणेशभक्तका बाबुले नेपालमा बेच्ने गर्थे । गणेशभक्त पनि बाबुसँगै सामान हाल्न मुम्बई जाने–आउने गर्न थालेका थिए । पढाइसँगै व्यापारमा सहयोग पु¥याइरहेका गणेशभक्तलाई कमर्स पढ्ने इच्छा थियो । त्यस बखत नेपालमा कमर्स पढाइ हुँदैनथ्यो । बाबुसँग सामान लिन मुम्बई गएको बेला पढ्नका लागि उनी उतै बसे ।

‘मलाई लाग्यो, व्यापारीको छोरा भएर जागिर खाने होइन, त्यसैले कमर्स पढ्ने इच्छा लाग्यो र मुम्बई बस्न थालेँ,’ उनले भने, ‘२००४ सालतिर मुम्बईतिर नै थिएँ । भक्तपुरको लाइफ अर्कै थियो, मुम्बईमा अर्कै । नेवारी संस्कृतिभित्र रहेको म एकैपटक मुम्बईको रमझममा पुगेको थिएँ । म त्यहाँ पनि अनुशासनमै बसेँ ।’

व्यापार बढ्दै गएपछि गणेशभक्तले बाबुलाई सघाउन थाले । नेपाल आएर २००८ सालदेखि उनी प्रत्यक्ष व्यापारमा लागे । ‘मेरा बुबाले राणाशासनकै समय १९९० सालमा व्यापार सुरु गर्नुभएको थियो, मैले राणाशासन सकिएको एक वर्षपछि व्यापारमा हात हालेँ,’ उनले भने ।

उनका बाबुले भारतबाट सामान ल्याएर नेपालमा बिक्री गर्थे । गणेशभक्तले भने ती सामानको व्यवस्थित बिक्री बढाउन थाले । भारतबाट सीधै सामान ल्याएर बिक्री गर्ने सीमित व्यापारीहरुमा साखः परिवार पनि पथ्र्याे । सरकारले २०१६ सालमा सीधा आयातका लागि लाइसेन्स खुला ग¥यो । लाइसेन्स सिस्टम भएपछि बाबुछोराले व्यापारलाई झन् फराकिलो बनाए ।

‘त्यो बेला लाइसेन्स खुला भएपछि जम्मा ७४ जनाले लाइसेन्स लिए, सीमित व्यक्तिले व्यापार गर्ने चलन थियो,’ उनी सम्झन्छन्, ‘अहिले हरेक कुराको लाइसेन्स लिन तँछाडमछाड छ, प्रतिस्पर्धा पनि अस्वस्थ छ ।’

व्यापारमा सक्रिय हुँदादेखि नै गणेशभक्त व्यवसायी र उद्योगीको संस्थामा आबद्ध भइसकेका थिए । २०१४ सालमा नेपाल चेम्बर अफ कमर्समा आबद्ध भएका साखः २०२२ मा नेपाल उद्योग वाणिज्य महासङ्घमा छिरे । उनी उद्योगीका तर्फबाट कार्यसमितिमा चुनाव लड्दै थिए, कसैले उनलाई उद्योग नभएको मान्छेले उद्योगीमा चुनाव लड्न थाल्यो भनेर सुनायो, त्यसैको झोकमा उनले फोनिकल उद्योग सुरु गरे ।

‘मैले पहिलो उद्योग इगोका कारण सुरु गरें,’ व्यापारबाट उद्योगमा आफ्नो सिफ्ट प्वाइन्ट सम्झँदै साखःले भने ।

इगोले सुरु भएको उनको उद्योग यात्रा विस्तार हुँदै गयो । २०३७ सालमा चाउचाउ र फर्मास्युटिकल्स उद्योग स्थापना भयो । त्यसपछि २०४१ सालमा नेपाल पेन्ट्स र साखः मेटल उद्योग । उद्योगको आकार बढ्दै गयो । उनका योजना र सपना पनि बढ्दै गए । साखः गु्रप अहिले स्टिल उत्पादनका लागि प्रसिद्ध छ । तर यो उद्योग सबैभन्दा पछि खोले गणेशभक्तले । २०५१ सालमा साखः स्टिल सुरु भयो । उद्योगबाट स्टिल उत्पादन गर्नै ४ वर्ष लाग्यो । गणेशभक्तको स्टिल उद्योगमा प्रवेश पनि बिनायोजनै थियो ।

‘स्टिल व्यवसायमा म स्टिल नै बनाउँछु भनेर आएको होइन,’ उनले भने, ‘एउटा अनौठो संयोग प¥यो मलाई, त्यसैले यसमा हात हालेँ ।’
वीरगन्जतिर जग्गा किन्ने भनेर उनी गएका थिए । जग्गा हेरे पनि, तर जग्गामा पुरानो मेसिन भएको डन्डी बनाउने उद्योग रहेछ । राम्रोसँग चल्न नसकेको स्टिल उद्योगसँगै उनले जग्गा किने । त्यसपछि छोरासँग कुरा गरेर काम थाले । त्यो बेला उनलाई धेरैले नराम्रोसँग फस्यो भनेछन् ।
‘त्यो बेलाका अर्थसचिवले पनि किन खरिद गरेको भनेर सोधेपछि बल्ल म झस्कँे,’ उनले भने, ‘एकछिन त लाग्यो, साँच्चै फसेछु कि !’
तर, गणेशभक्तलाई पहिलाको उद्योगको अनुभव थियो । र, अझ बढी अनुभव भएका पञ्चकन्याका मालिक उनका सम्धी थिए । त्यसैले उनी सम्धीकहाँ पुगे । सम्धीसँग उनले कुरा राखे, ‘मैले एउटा स्टिल उद्योग चलाउने विचार गरेको छु, के हुन्छ ?’ उनका सम्धीले स्टिल उद्योग चल्छ, तर पैसा धेरै लाग्छ भन्ने सुझाव दिए ।

‘हुन पनि हो, यो स्टिल उद्योगमा अहिलेसम्म पैसा लागिरहेको छ, पैसा जति भए पनि नपुग्ने उद्योग यही हो जस्तो लाग्छ,’ सम्धीको कुरा सम्झँदै उनले भने । स्टिल व्यवसाय गर्दा सुरुदेखि दुःख नै दुःख बेहोर्नुपरेको उनी बताउँछन् । ‘सरकारी क्षेत्रबाट कुनै सहयोग पाइएन । भएका र दिएका सुविधाहरु पनि खोस्दै लगियो,’ उनी भन्छन्, ‘मुस्किलको मुस्किल नै छ ।’ २०५४ सालबाट एकद्वार समितिबाट दिएको सुविधा पनि खोसियो । स्टिल उद्योगको समस्याका विषयमा उनले आफ्नो अनुभव सुनाउन पनि भ्याए ।

जीवनका अनेक परिभाषा दिन सक्छन् गणेशभक्त — जीवनमा धाइराख्नुपर्छ । सफलता प्राप्त हुँदै जान्छ । यो उनको आफ्नै सूत्र हो । ‘इच्छाशक्ति र मेहनतबिना त झन् केही पनि हात लाग्दैन,’ उनी भन्छन् । साखः गु्रपअन्तर्गत रहेका अधिकांश उद्योग र व्यापार उनकै पहलमा सुरु भएका हुन् । अहिले सबै उनका छोराहरुले हेर्छन् ।

‘मैले यति उद्योग खोलँे, तिमीहरुले खोलेको खोइ ?,’ उनी आफ्ना छोराहरुलाई भन्ने गर्छन्, ‘उद्योग भनेको उद्योगीका लागि मात्र होइन, यसले रोजगारी सिर्जना गर्छ, धेरै यसमा आश्रित हुन्छन् ।’ जति सम्भावना देखिन्छ, त्यसमा अध्ययन गरेर व्यापार बढाउने कुराको हुटहुटी उनीभित्र अझै छ । त्यसैले छोराहरुलाई बेलाबेला सोधिरहन्छन्, ‘नयाँ के हुँदै छ ?’

धेरै कुरामा सफलता हात पारेका गणेशभक्तलाई गार्मेन्ट व्यवसायमा भने सोचेजस्तो भएन । गणेशभक्तले रेडिमेड गार्मेन्टको व्यवसाय पनि गरेका थिए । ‘अमेरिकाले गार्मेन्टलाई आयात कोटाबाट हटाएपछि गार्मेन्ट व्यवसाय बन्द भयो,’ उनी भन्छन्, ‘यो असफलता हो, तर हामीले मात्र गरेर हुने कुरा पनि त थिएन ।’