गौतमले यसरी बढाए पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको लागत

गौतम आफैले तीन चरणमा विभाजन गरेर जग्गाको मुअब्जा बाँडेका छन् । उनले पहिलो चरणअन्तर्गत पिच बाटोमा पर्ने प्रति रोपनी जग्गाको मूल्य ४२ लाख ६० हजार रुपैयाँका दरले मुअब्जा उपलब्ध गराइएको थियो । त्यसैगरी, कच्ची बाटोले छोएको जग्गाको मूल्य प्रतिरोपनी २९ लाख २४ हजार रुपैयाँ तोकेर मुअब्जा बाँडिएको हो । त्यसैगरी, बाटो नभएको खेतीयोग्य जमीनको प्रतिरोपनी २० लाख रुपैयाँ मुअब्जा बाँडिएको थियो ।

एकैपटकमा रोक्का गरेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको जग्गा तीनथरी मूल्य निर्धारण गरी नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले अनियमतिता गरेको खुलेको छ ।
नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक गौतमले स्थानीय जग्गा दलालसँग मिलेर एकै ठाउँको जग्गा पटक–पटक मूल्याङ्कन गरी मुआब्जा वितरण गर्दा पोखरा विमानस्थलको लागत पनि बढेको हो ।

‘कानुन अनुसार एकै पटक रोक्का गरेको जग्गाको मूल्य एउटै हुन्छ,’ प्राधिकरण राष्ट्रिय कर्मचारी सङ्गठनका एक पदाधिकारीले क्यापिटल नेपालसँग भने, ‘तर, पोखरामा तीनथरी मूल्य निर्धारण गरेर चरण चरणमा मुआब्जा बाँडिएको छ । यो सरासर अनियमितता हो ।’
स्रोतका अनुसार गौतम आफैले तीन चरणमा विभाजन गरेर जग्गाको मुआब्जा बाँडेका छन् । उनले पहिलो चरणअन्तर्गत पिचबाटोमा पर्ने प्रतिरोपनी जग्गाको मूल्य ४२ लाख ६० हजार रुपैयाँका दरले मुआब्जा उपलब्ध गराएका थिए । त्यसैगरी, कच्ची बाटोले छोएको जग्गाको मूल्य प्रतिरोपनी २९ लाख २४ हजार रुपैयाँ तोकेर मुआब्जा बाँडिएको हो । त्यसैगरी, बाटो नभएको खेतीयोग्य जमिनको प्रतिरोपनी २० लाख रुपैयाँ मुआब्जा बाँडिएको थियो ।

दोस्रो चरण अन्तर्गत कच्ची बाटोले छोएको जग्गाको मूल्य प्रतिरोपनी ६४ लाख रुपैयाँका दरले मुआब्जा दिइएको छ । जबकि, पहिलो चरणमा पिच बाटोले छाएको जग्गाको मूल्य प्रतिरोपनी ४२ लाख ६० हजार रुपैयाँका दरले मुआब्जा बाँडिएको थियो । दोस्रो चरणअन्तर्गत बाटोले नछोएको खेतीयोग्य जमिनको ४८ लाख रुपैयाँका दरले मुआब्जा दिइएको छ ।
त्यसैगरी, तेस्रो चरणअन्तर्गत कच्ची बाटोले छोएको जग्गाको मुआब्जा प्रतिरोपनी ६७ लाख रुपैयाँ दिइएको छ । त्यसैगरी, बाटोले छुँदै नछोएको जग्गाको प्रतिरोपनी ५१ लाख रुपैयाँ मूल्याङ्कन गरेर बाँडिएको छ ।
‘जबकि, एकैचोटी रोक्का गरेको जग्गाको मूल्य तीनथरी गर्नै पाइँदैन । कि फरक फरक समयमा रोक्का गरेको जग्गा हुनुपर्यो, होइन भने एउटै मूल्यमा मुआब्जा दिनुपर्ने हुन्छ,’ क्यानका एक उच्च अधिकारीले भने, ‘तर, जग्गा एकैचोटी रोकिएको हो, मुआब्जा भने आफूखुसी निर्धारण गरेर वितरण गरिएको छ ।’

एउटै जग्गाको मुआब्जा कोही जग्गा धनीलाई धेरै र कसैलाई थोरै दिइएको भन्दै पोखराका जग्गा धनीले विरोध जनाउँदै आएका छन् । साँधैको जग्गाको मूल्य कसैलाई ६७ लाख रुपैयाँ दिइएको छ भने, कसैलाई ४२ लाख रुपैयाँ मात्र दिइएको भन्दै आन्दोलनमा उत्रिने समेत तयारी थालेका छन् ।

गौतमले स्थानीय दलालसँग मिलेर मनलाग्दी रुपमा मुआब्जा वितरण गर्दा आयोजनाको लागत बढ्नु त छँदै छ, विभेदपूर्ण तरिकाबाट जग्गाको मुआब्जा बाँडेपछि आयोजना समयमै सम्पन्न नहुने सम्भावना पनि बढ्दै गएको क्यानका अधिकारीले बताए ।

कास्कीका नव निर्वाचित प्रतिनिधिसभा सदस्य रविन्द्र अधिकारीले असमान रुपमा मुआब्जा बाँडिएको भए, त्यसलाई बुझ्ने बताए । ‘एकै सीमानाको जग्गाको दुईथरी मूल्य दिन मिल्दैन,’ उनले क्यापिटल नेपालसँग भने ।