गौतमले यसरी लत्याए सरकारी निर्णय

स्थानीय जग्गा दलालसँग मिलेर सरकारी निर्णय लत्याएर गौतम अघि बढेका हुन् । उनले नयाँ विमानस्थल निर्माणका लागि जग्गा अघिग्रहण गर्नेदेखि मुआब्जा वितरण गर्दासम्म विभेद भएको र सरकारले निर्णय गरेको जग्गासमेत नलिएको पाइएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक सञ्जीव गौतमले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न सरकारले गरेको निर्णय लत्याउँदै आफूखुसी जग्गा लिएको पाइएको छ । सरकारले जुन ठाउँको जग्गा लिने भनेर निर्णय गरेको हो, त्यसलाई छाडेर अन्यत्रैको जग्गा लिएको पाइएको क्यापिटल नेपालले प्रमाण फेला पारेको छ ।

गौतम स्थानीय जग्गा दलालसँग मिलेर सरकारी निर्णय लत्याएर अघि बढेका हुन् । उनले नयाँ विमानस्थल निर्माणका लागि जग्गा अघिग्रहण गर्नेदेखि मुआब्जा वितरण गर्दासम्म विभेद भएको र सरकारले निर्णय गरेको जग्गासमेत नलिएको पाइएको छ । एकातिर गौतमले एकैचोटि रोक्का गरेको जग्गाको मुआब्जा फरकफरक मूल्य बनाएर दिएका छन् भने अर्कोतिर सरकारले लिने भनेर गरेको निर्णयलाई पन्छाउँदै मनलाग्दी रुपमा जग्गा लिएका छन् ।

सरकारले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका लागि खरिद गर्ने निर्णय गरेको जग्गाको नक्सा । 

गौतमले एकैपटक रोक्का गरेको जग्गाको सूचनासमेत तीन पटकसम्म निकालेका थिए । उनले पहिलो चरणअन्तर्गत पिच बाटोमा पर्ने प्रतिरोपनी जग्गाको मूल्य ४२ लाख ६० हजार रुपैयाँका दरले मुअब्जा उपलब्ध गराइएको थियो । त्यसैगरी, कच्ची बाटोले छोएको जग्गाको मूल्य प्रतिरोपनी २९ लाख २४ हजार रुपैयाँ तोकेर मुआब्जा बाँडिएको हो । त्यसैगरी बाटो नभएको खेतीयोग्य जमीनको प्रतिरोपनी २० लाख रुपैयाँ मुआब्जा बाँडिएको थियो ।
दोस्रो चरणअन्तर्गत कच्ची बाटोले छोएको जग्गाको मूल्य प्रतिरोपनी ६४ लाख रुपैयाँका दरले मुआब्जा दिएको छ । जब कि पहिलो चरणमा पिच बाटोले छाएको जग्गाको मूल्य प्रतिरोपनी ४२ लाख ६० हजार रुपैयाँका दरले मुआब्जा बाँडिएको थियो । दोस्रो चरणअन्तर्गत बाटोले नछोएको खेतीयोग्य जमिनको ४८ लाख रुपैयाँका दरले मुआब्जा दिएको छ ।

त्यसैगरी तेस्रो चरणअन्तर्गत कच्ची बाटोले छोएको जग्गाको मुअब्जा प्रतिरोपनी ६७ लाख रुपैयाँ दिएको छ । बाटोले छुँदै नछोएको जग्गाको प्रतिरोपनी ५१ लाख रुपैयाँ मूल्याङ्कन गरेर बाँडिएको छ । ‘जब कि, एकैचोटि रोक्का गरेको जग्गाको मूल्य तीन थरी गर्नै पाइँदैन । कि फरकफरक समयमा रोक्का गरेको जग्गा हुनुप¥यो, होइन भने एउटै मूल्यमा मुआब्जा दिनुपर्ने हुन्छ,’ क्यानका एक उच्च अधिकारीले भने, ‘तर, जग्गा एकैचोटि रोकिएको हो, तर मुआब्जा आफूखुसी निर्धारण गरेर वितरण गरिएको छ ।’

सरकारले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका लागि खरिद गर्ने निर्णय गरे पनि गौतमले नलिएको जग्गा (घेराभित्रको नीलो भाग) ।