एनएसीले सरकारसँग माग्यो साढे १९ अर्ब, प्रतिस्पर्धी बनाउने योजना

एनएसीको सञ्चालक समितिले निर्णय गरेरै संस्थाको पुँजी थोरै हुँदा प्रभावकारी रुपमा काम गर्न नसकिएको र संस्थालाई प्रतिस्पर्धी बनाउन नसकिएको स्वीकार्दै पुँजी बृद्धि गर्न सरकारसँग ठूलो रकम माग गरेको हो ।

वर्षाैंदेखि आर्थिक समस्यामा गुज्रिएको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (एनएसी)ले संस्थालाई मजबुत बनाउने भन्दै सरकारसँग साढे १९ अर्ब रुपैयाँभन्दा बढी रकम माग गरेको छ । एनएसीको सञ्चालक समितिले निर्णय गरेरै संस्थाको पुँजी थोरै हुँदा प्रभावकारी रुपमा काम गर्न नसकिएको र संस्थालाई प्रतिस्पर्धी बनाउन नसकिएको स्वीकार्दै पुँजी बृद्धि गर्न सरकारसँग ठूलो रकम माग गरेको हो ।

हाल एनएसीको पुँजी ३४ करोड रुपैयाँ मात्रै छ । पूर्ण सरकारी स्वामित्वको एनएसीले संस्थानको सेयर पुँजी २० अर्ब रुपैयाँ पु¥याउन थप १९ अर्ब ६६ करोड रुपैयाँ मागेको हो । एनएसीले सञ्चालक समितिको निर्णयअनुसार बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पुँजी बृद्धिको प्रस्ताव पेश गरेकोमा मन्त्रालयले बुधबारै सिधै सो प्रस्तावलाई अर्थ मन्त्रालयमा पठाएको छ । निगमको सम्पति अर्बौ रुपैयाँ पुगिसके पनि पुँजी कम भएको भन्दै एनएसीले पुँजी बढाउन सरकारसमक्ष प्रस्ताव राखेको हो ।

बुधबारै एनएसीको पत्र पाएपछि अर्थ मन्त्रालयका अधिकारीहरुले भने एनएसी आफैले नाफा कमाएर त्यसैबाट पुँजी बढाउँदै लैजानु पर्नेमा सरकारसँग ठूलो रकम माग्नु जायज नभएको प्रतिक्रिया दिएका छन् । यद्यपि एनएसीमा अर्थ मन्त्रालयकै प्रतिनिधि श्रीकृष्ण नेपाल सञ्चालक समितिमा छन् । भर्खरै सरकारले मदन खरेललाई कार्यकारी अध्यक्ष बनाएर पठाएको छ । खरेल अध्यक्ष बनेर गएपछि नै एनएसीले पुँजी बढाउने प्रस्ताव अर्थ मन्त्रालय पठाएको हो ।

एनएसीसँग साना र ठूला गरी एक दर्जनभन्दा बढी जहाज भए पनि निरन्तर सञ्चालन घाटामा छ । एनएसीले ‘ग्राउन्ड हेन्डलिङ’बापतको रकम लिएर संस्थालाई अघि बढाइरहेको छ ।

सँधै पैसा अभावमा अरुसँग ऋण लिएर काम गर्नुपरेको अनुभव एनएसीसँग छ । ‘आफूलाई प्रतिस्पर्धीको रुपमा उतार्न नसक्ने संस्थालाई ठूलो बनाउन सरकारसँग पैसा माग्ने काम ठिक भएन,’ अर्थ मन्त्रालयका एक उच्च अधिकारीले भने, ‘अन्य कम्पनीका २ ओटा जहाज हुँदा पनि कम्पनी नाफा जाने तर निगमसँग एक दर्जनभन्दा बढी जहाज हुँदा पनि सँधै घाटामा चल्ने हुन्छ ?’

‘कम्पनीको मूल्य (भ्यालु) बढ्दा वा नाफा कमाउँदा त्यसको हिस्सा सरकारलाई नै जाने हो,’ सञ्चालक समितिका एक सदस्यले भने, ‘निगमको पुँजी बढाउन अर्थलाई कुनै अप्ठ्यारो हुँदैन ।’ निगमसँग आन्तरिक उडानका लागि ३ ओटा ट्विनेटर, ४ ओटा वाइ १२ र २ ओटा एमए ६० विमान गरी ९ विमान छन् ।

निगमको अन्तर्राष्ट्रियतर्फ भने ५ ओटा विमान छन् । त्यसमध्ये २ ओटा नयाँ वाइड बडी र एउटा बोइङ एयरपोर्टमा घाम तापेर बसिरहेका छन् भने दुई ओटा न्यारो बडी जहाज उडिरहेका छन् । २४ अर्ब रुपैयाँ खर्चेर ल्याएको वाइड बडी जहाज सञ्चालनमा नआउँदा निगमले ठूलो रकम ब्याज तिरिरहेको छ । संस्थाको ऋण बढ्दै जाँदा त्यसको थप दायित्व बढ्ने भएकाले पनि निगमले पुँजी नै थपेर नयाँ स्वरुपमा अघि बढाउन खोजेको ती सदस्यले बताए ।

दुई ओटा विमानमार्फत् भारतको बैग्लोर, मुम्बई र दिल्ली तथा कतारको दोहा, थाइल्यान्डको बैङ्कक, दुबई र मलेसियाको क्वालालम्पुर गरी ८ ओटा गन्तव्यमा उडान भर्दै आएको छ ।