अर्घाखाँची अब देशकै ठूूलो सिमेन्ट उद्योग

उद्योगको ९० प्रतिशत काम सकिएको छ । प्राविधिक तयारीबाहेक अन्य काम सकिएको छ । जनवरीमै दैनिक तीन हजार टन उत्पादन गर्ने गरी काम सुरु गरे पनि केही काम सकिन बाँकी भएकाले थप १५ दिन ढिला गरी उत्पादन बजारमा आउन लागेको हो ।

देशकै सबैभन्दा ठूलो सिमेन्ट उद्योग बन्ने तयारीमा रहेको अर्घाखाँची सिमेन्ट उद्योगले डेढ महिनाभित्र दैनिक तीन हजार टन सिमेन्ट उत्पादन गर्ने भएको छ । नेपालमा उक्त परिमाणमा सिमेन्ट उत्पादन गर्ने यो उद्योग पहिलो हुनेछ ।

कम्पनीले हाल दैनिक एक हजार २ सय टन सिमेन्ट उत्पादन गर्दै आएको छ । ‘डेढ महिनापछि उद्योगले दैनिक थप १ हजार ८ सय टन सिमेन्ट उत्पादन गर्नेछ,’ अर्घाखाँची सिमेन्ट उद्योगका सञ्चालक पशुपति मुरारकाले क्यापिटल नेपालसँग भने, ‘दैनिक तीन हजार टन उत्पादन बजारमा ल्याएपछि अहिलेसम्मै सबैभन्दा ठूलो उद्योग अर्घाखाँची हुनेछ ।’

उद्योगको ९० प्रतिशत काम सकिएको छ । प्राविधिक तयारीबाहेक अन्य काम पूरा भइसकेको सञ्चालक मुरारकाले जानकारी दिए । ‘हामीले जनवरीमै दैनिक तीन हजार टन उत्पादन गर्ने गरी काम सुरु गरेका हौं,’ उनले भने, ‘केही काम सकिन बाँकी भएकाले थप १५ दिन ढिला गरी उत्पादन बजारमा आउन लागेको हो ।’

उद्योग स्थापना भएको दुई वर्षभित्र कम्पनीले आफ्नो क्षमतालाई बढाएर साढे दुई गुणा पु¥याउने भएको हो । कम्पनीले क्षमता विस्तार गर्न ४ अर्ब रुपैयाँ लगानी गरेको छ । यसअघि कम्पनी स्थापना गर्न तीन अर्ब रुपैयाँ लगानी भइसकेको थियो । नयाँ र क्षमता गर्न ७ अर्ब रुपैयाँ लगानी भइरहेको मुरारकाले जानकारी दिए ।

उद्योगले आफूलाई चाहिने क्लिङ्करका लागि पाल्पामै अर्को खानी लिइसकेको छ । अब अर्घाखाँचीसँग पाल्पामा दुईओटा खानी भएका छन् । एउटा खानी अहिले सञ्चालनमा छ भने अर्को एउटा सञ्चालनको तयारीमा छ । मुरारकाका अनुसार अर्घाखाँची एउटै मिलबाट सबैभन्दा बढी ओपीसी सिमेन्ट उत्पादन गर्ने कम्पनीमध्ये पर्छ । उद्योग आफैको चुनढुङ्गा खानी भएको सम्भवतः नेपालकै सबैभन्दा ठूलो ओपीसी सिमेन्ट उत्पादक भएको मुरारकाले दाबी गरे । जसले आफै क्लिङ्कर र ओपीसी सिमेन्ट उत्पादन गरिरहेको छ ।

दुई वर्षअघि स्थापना भएको कम्पनीमा सिद्धार्थ ग्रुप, मुरारका अर्गनाइजेसन, केडिया अर्गनाइजेसन र उमा सिमेन्ट इन्टरनेसनल (भारत)को लगानी छ । सिमेन्ट र क्लिङ्करमा नेपाललाई आत्मनिर्भर बनाउने उद्देश्यअनुरुप उद्योगको क्षमता विस्तार गरिएको मुरारकाले बताए । अर्घाखाँचीमा रहेको ७.४८ हेक्टर क्षेत्रफलमा फैलिएको चुनढुङ्गा खानीबाट ल्याइएको चुनढुङ्गासँगै बक्साइट, आइरन ओर र रेड क्लेलगायतका कच्चापदार्थहरु उत्पादन प्रक्रियामा लानुभन्दा पहिले कारखानामा रहेको अत्याधुनिक ल्याबमा परीक्षण गरी अत्याधुनिक जर्मन टेक्नोलोजीको मेसिनद्वारा उच्चस्तरीय क्लिङ्कर उत्पादन हुन्छ ।

यो प्रविधि अपनाउन कम्पनीले ब्याग फिल्टर भएको क्लोज सिर्किट प्रविधि प्रयोग गर्दै आएको छ । जसले सिमेन्ट उत्पादन गर्दा निस्किने सिमेन्टको धूलोलाई बाहिरी वातावरणमा जान नदिई ब्याग फिल्टरमा सङ्कलन गरी पुनः प्रयोगमा ल्याउँछ ।