सङ्घर्षमय क्षण

८७ वर्षमा पनि दिनहुँ कृष्णगल्ली ललितपुरको पञ्चकन्या भवनमा पुग्ने प्रेमबहादुर श्रेष्ठ अझै पनि शिखरतर्फ अगाडि बढिरहेका छन् । तर, फरक के भने अहिले त्यो भवनमा व्यवसायका योजना मात्र बन्दैनन्, पारिवारिक आत्मीयताको स्वाद पनि घोलिन्छ । व्यावसायिक योजना र पारिवारिक जमघटको यही ‘कक्टेल’मा अहिले पनि रमाइरहेका छन्– श्रेष्ठ ।

सफलताका प्रत्येक खुट्किला याद गरेर बस्ने व्यवसायीको कुनै कमी हुँदैन । तर, असफलतालाई नै सफलताको करिडोर बनाएर अगाडि बढ्ने कमै हुन्छन् । व्यावसायिक करिअरको सुरुवातमै असफलतामा ‘ह्याट्रिक’ गरेका प्रेमबहादुर श्रेष्ठ त्यस्तै एक उदाहरण हुन् ।

८७ वर्षमा पनि दिनहुँ कृष्णगल्ली ललितपुरको पञ्चकन्या भवनमा पुग्ने श्रेष्ठ अझै पनि शिखरतर्फ अगाडि बढिरहेका छन् । तर, फरक के भने अहिले त्यो भवनमा व्यवसायका योजना मात्र बन्दैनन्, पारिवारिक आत्मीयताको स्वाद पनि घोलिन्छ । व्यावसायिक योजना र पारिवारिक जमघटको यही ‘कक्टेल’मा अहिले पनि रमाइरहेका छन्– श्रेष्ठ ।

तर, सहज यात्रासहित श्रेष्ठ कृष्णगल्लीसम्म आइपुगेका होइनन् । इलाममा जन्मेका श्रेष्ठ व्यवसाय सुरु गर्ने परिवारका पहिलो सदस्य थिए । व्यापार गर्नुपर्छ भन्ने निर्णय गर्दा न उनीसँग व्यापारको कुनै अनुभव थियो, न कुनै ठोस आइडिया नै । तैपनि उनले व्यापारलाई नै जीवनको अभीष्ट बनाए र १६ वर्षे उमेरमै फिक्कलमा आलुको व्यापार गर्न कम्मर कसेर लागे ।

‘त्यो बेला जागिर खानेहरुको बढी सान थियो, मेरा दौंतरी सबै जागिर खान लालायित भए,’ उनी सात दशकअघि फर्किन्छन्, ‘तर मलाई जागिरले तान्दै तानेन ।’ पञ्चकन्या भवनको दोस्रो तलाको आफ्नै क्याबिनमा बसेर केही दिनअघि उनी फेरि फिक्कलतिरै हुत्तिए ।

फिक्कल त्यही ठाउँ हो, जहाँबाट श्रेष्ठ आलु उठाएर नेपाल–भारत सीमासम्म पुग्थे । त्यो यात्रा लामो थियो । तर, त्यसले उनको यात्रालाई लामो समयसम्म टिकाइराखेन । भारतको पटनासम्म पुगेर आलु व्यापार गर्दा पनि श्रेष्ठ जम्न सकेनन् ।

एकातिर व्यापारमा आशाअनुरुप सफलता मिलेको थिएन भने अर्कोतिर श्रेष्ठलाई परिवारको सम्पूर्ण जिम्मेवारी निर्वाह गर्नुपरेको थियो । उनको बुबाको निधन भइसकेको थियो, आठजना परिवार उनकै व्यापारमा निर्भर थिए । तर, आलुको व्यापारको नतिजा राम्रो भएन ।

व्यापार राम्रो नभए पनि श्रेष्ठ विचलित भएनन् । बरु उनी अरु उपाय खोजीमा लागे । त्यही खोजले उनलाई २०१० सालमा शनिश्चरे पु¥यायो । त्यहाँ पुगेपछि उनले धानचामलको व्यवसाय सुरु गरे । तर, यसमा पनि उनलाई सफलता मिलेन ।

सफल नभए पनि उनले व्यापारलाई छाडेनन् । ‘व्यापार गर्नुबाहेक मेरो कुनै विकल्प थिएन अब जागिर खान जान पनि गाह्रो भयो,’ उनी भन्छन्, ‘खेतीकिसान गर्न पनि गाह्रो भयो । फेरि नयाँ व्यापार गर्छु भनेर फिक्कल सरेँ ।’

फिक्कलमा उनले पैसा जम्मा गरेर घर किने र किराना र कपडाको पसल राखे । घाटामा उनले ह्याट्रिक गरे । तेस्रो पटक व्यापारमा घाटा भएपछि उनलाई धेरैले व्यापार नगर्न सुझाव दिए । उनका मारवाडी साथीहरुले सुन छोए फलाम हुने भन्दै व्यापारमा हात नहाल्न सुझाव दिए ।

श्रेष्ठ व्यापारमा जम्न सङ्घर्षरत थिए । कहिले फिक्कल पुगे, कहिले शनिश्चरे । घुमन्ते व्यापारी बन्दै भारतको सिमाना र पटनासम्म पुगे । तर, सङ्घर्षले उनलाई छाडेन । माइखोलामा अडिएर धेरै सोचे पनि । बगिरहेको पानी कति बग्यो भनेर हिसाब गर्न सकिँदैन, त्यसैगरी सङ्घर्षको पनि हिसाब हुँदैन ।

देशमा व्यवस्था फेरिएको थियो । फेरिएको व्यवस्थालाई संस्थागत गर्न मुलुकमा पहिलो आमनिर्वाचन हुँदै थियो । फिक्कल बजारका चोकचोक, भित्र गल्लीगल्लीमा चुनाव छिरिसकेको थियो । विभिन्न पार्टीका नेतादेखि कार्यकर्ता झन्डा र नारा लिएर यताउता गरिरहेको श्रेष्ठले पसलबाटै देख्थे ।
उनी किराना र कपडाको पसललाई व्यवस्थित गर्दै थिए । कहिले कम्युनिस्ट, कहिले काङ्ग्रेस त कहिले गोर्खा परिषद्का नेताहरु पसलमा आएर चुनावमा सहयोग गर्नुपर्यो । पार्टीमा आउनुप¥यो भन्दै दबाब दिन थाले । एउटा पार्टीमा नलागेसम्म बस्न गाह्रो हुने भयो भनेर उनी त्यो बेला काङ्ग्रेस पार्टीमा लागे ।

व्यापारमा सङ्घर्षरत श्रेष्ठको त्यसपछि राजनीतिसँग जम्काभेट भयो । पसल एकजना आफन्तलाई जिम्मा दिएर २०१५ सालको चुनावमा काङ्ग्रेसलाई जिताउन उनी लागिपरे ।

‘पार्टीमा लागेपछि बजारकै एक प्रतिस्पर्धीले त्यो एउटा मसला बेच्नेले काङ्ग्रेसलाई जिताउँछु भनेर हुन्छ भन्दै भाषण गरेछन्,’ उनले आफ्नो राजनीतिक यात्रा सम्झिए, ‘त्यसपछि झन् सक्रिय भएर लागेँ ।’

चुनाव प्रचारप्रसारका लागि बीपी कोइराला इलाम पुगेका थिए । बीपी इलाम आएको खबर श्रेष्ठले पाएपछि आइतबारेमा उनको बीपीसँग भेट भयो । केही कुरा भएपछि बीपीको प्रेरणाले उनी झन् राजनीतिमा सक्रिय भए । चुनाव भयो । चुनावमा जित पनि भयो । काठमाडाँैमा नयाँ सरकार बन्यो । बीपीसँग नजिक भएका उनी शपथग्रहण समारोह हेर्न दरबार पनि पुगे ।

त्यसपछि काङ्ग्रेसको महाधिवेशन आयो । उनलाई मुख्य प्रतिनिधि बनाएर पठाएर उनको राजनीतिमा पहुँच बढ्दै गयो । राजनीतिबाट नै एक दिन केही गर्छु भन्ने उनलाई लागिरहेको थियो । उनले व्यापारलाई आंशिक भुलिसकेका थिए ।

बीपी कोइरालाको मन्त्रीमण्डलमा प्रेमराज आङदेम्बे कृषिमन्त्री थिए । उनलाई भेट्न श्रेष्ठ सिंहदरबार पुगे । भेट्नका लागि पीएलाई चिट पठाए, एकैछिन कुर्न आदेश आयो । उनी बसिरहे । केही समयपछि उनले चिनेका एकजना मारवाडी व्यापारी पनि मन्त्रीलाई भेट्न आए । मन्त्रीले उसलाई तुरुन्त भेट्न बोलाए । आधा घण्टा बसेर ती मारवाडी फर्के । उनलाई आत्मग्लानि भयो ।

‘पसल छोडेर राजनीतिका लागि भनेर हिँडियो । तर, भेट्नका लागि पनि सोर्सफोर्स चलेको देखेपछि मलाई हिनताबोध भयो,’ उनले भने । मरेर काम गर्ने कार्यकर्तालाई भेट्न नखोज्ने नेता र मन्त्रीलाई अबदेखि कहिल्यै नभेट्ने भन्दै म पनि उसलाई नभेटी फर्कें अनि पार्टी र राजनीति नै छोडँे ।
सङ्घर्षका यात्रा चल्दै थिए । उनी फेरि पुरानै बाटोमा मोडिए । व्यवसाय हेर्ने थाले ।

मधेसमा काठको व्यापार चम्किरहेको थियो । काठको व्यापार गर्न भारतको राजस्थानबाट व्यापारी मधेस आएका थिए । उनलाई लाग्यो, भारतबाट व्यापार गर्न आइरहेका छन् म किन नगर्ने ? उनले एकजना साझेदार खोजेर काठको व्यापार सुरु गरे । यो व्यापारले उनलाई सान्त्वना दियो । यसमा उनले सफलता पाए ।

तीन भाइ छोराहरु हुर्कंदै थिए । उनीहरु राम्रोसँग पढ्दै थिए । व्यापारमा भाइहरुले साथ दिइरहेका थिए । काठको व्यापारले अर्काे व्यापार गर्नका लागि हौसला दिइरहेको थियो । घरनजिकै राजमार्ग बन्दै थियो । राजमार्गछेउमा उनले मिल राख्ने योजना बनाए ।
‘नजिक मिल नभएका कारण भद्रपुर पुग्नुपर्ने बाध्यता थियो । यसले पैसा र समय खाइरहेको थियो,’ उनले भने । नजिकै मिल भयो भने सेवा पनि हुन्छ, नाफा पनि हुन्छ भन्ने सोच आयो ।

तर, मिल राख्नका लागि इजाजत लिनुपर्ने थियो । त्यसका लागि उनले त्यो बेलका चिनेका चल्ताफिर्ता भूपालमान सिंहलाई भन्न गए । तर, उनले सहयोग पाएनन् । त्यसपछि काठमाडौं आएर उद्योग विभागमा निवेदन दिए । ‘त्यो बेला राइस मिलको लाइसेन्स पाउनु ठूलो कुरा थियो । केही मारवाडी व्यापारीले लाइसेन्स लिएर मिल नखोली बेचिरहेका थिए,’ उनले भने, ‘त्यसैले उद्योग विभागका निर्देशकले पनि मलाई लाइसेन्स लिएर बेच्नेलाई भन्दै झकारे ।’

‘मेरो जग्गाजमिन बेचेर मैले राइस मिल राख्न लागेको हो । मैले एक वर्षभित्र मिल राख्छु र उद्घाटन गर्न तपार्इंलाई नै बोलाउँछु भन्दै मैले निर्देशकलाई कन्भिन्स गरेँ,’ अहिले पनि त्यो क्षण राम्रोसँग सम्झन्छन् श्रेष्ठ ।

उनले लाइसेन्स नबेच्ने र कोही बाहिरको साझेदार नराख्ने सर्तमा लाइसेन्स दिए । श्रेष्ठले एक वर्षमा मिल पनि सञ्चालनमा ल्याए । श्रेष्ठले राइस मिलको नाम पञ्चकन्या राखे । त्यही नाम अहिले आएर ग्रुपको नाम भएको छ र दर्जनभन्दा बढी व्यापार र उद्योग त्यही गु्रपअन्तर्गत सञ्चालनमा छन् ।

काठको व्यापार राम्रो थियो । मिल पनि राम्रोसँग चल्दै गयो । श्रेष्ठलाई दुवै व्यवसाय सानो हुन थाल्यो । उनले सोचे काठमाडौं गएर घर किनेर नयाँ व्यवसाय गर्छु । तर, उनले सोचेको जस्तो भएन । घर बेच्छु भन्नेले घर बेचेन अनि उनी फेरि शनिश्चरे फर्के ।

नयाँ व्यवसाय खोजिरहेका उनी काठको विकल्प फलाम र स्टिलमा देखे अनि भैरहवामा स्टिल उद्योग लगाए । काठमाडौंमा घर किन्ने पैसा पनि स्टिल उद्योगमै लगाए । स्टिल उद्योगपछि उनको व्यापारले रफ्तार समात्यो । त्यो रफ्तार अहिले उनका छोरा र नातिहरुले समाएका छन् ।

अहिले उनको काम छोरा र नातिहरुले कसरी व्यापार गरेका छन्, त्यो हेर्ने मात्र हुन्छ । तर, आफै पनि सेयरमा कारोबार गरिरहेका छन् । भन्छन्, ‘आफ्नो काम आफै गर्नुपर्छ । अब म उपस्थित भएर गर्न सक्ने काम थोरै छ । सेयर बजारमा राम्रो अवसर भएको छ ।’ राजनीतिसँग पुरानो परिचय रहेका श्रेष्ठसँग गफिँदा मुलुकमा प्रतिनिधि र प्रदेशसभाको चुनावले सर्लक्कै छोएको छ । त्यो बेला पनि राजनीतिबाट खुसी नभएका श्रेष्ठ अहिलेको राजनीतिबाट पनि खुसी छैनन् ।

‘अहिलेसम्म राजनीति सुध्रिएको छैन,’ उनले कुराकानीको बिट मार्दा लामो सुस्केरा हाले ।