आईसीटीसी ग्रुप पूर्वाधार क्षेत्रमा आक्रामक, ५ वर्षमा १० अर्ब लगानी गर्दै

नेपालमा निर्माण सामग्री उत्पादन गर्ने उद्योग थोरै भएका र यी उद्योगले स्वदेशको माग धान्न नसक्ने देखेपछि आईसीटीसी ग्रुप १० अर्ब रुपैयाँ लगानी गरेर यो क्षेत्रमा प्रवेश गर्न लागेको हो ।

सेवा, उद्योग, ट्रेडिङ व्यवसायमा प्रख्यात ग्रुप आईसीटीसीले निर्माण क्षेत्रमा १० अर्बभन्दा बढी रुपैयाँ लगानी गर्ने भएको छ । नेपालमा निर्माण सामग्री उत्पादन गर्ने उद्योग थोरै भएका र यी उद्योगले स्वदेशको माग धान्न नसक्ने देखेपछि आईसीटीसी ग्रुप १० अर्ब रुपैयाँ लगानी गरेर यो क्षेत्रमा प्रवेश गर्न लागेको हो ।

पूर्वाधार निर्माणमा चाहिने सबैभन्दा पहिलो कच्चा पदार्थ– रड, सिमेन्ट तथा कङ्क्रिट हो । सोही उद्योगमा आईसीटीसी ग्रुपले १० अर्ब रुपैयाँ लगानी गर्न लागेको ग्रुपका सह–कार्यकारी अध्यक्ष सुरेशलाल श्रेष्ठले क्यापिटल नेपाललाई जानकारी दिए ।

‘नेपालमा पूर्वाधार विकास भएकै छैन,’ उनले भने, ‘द्रुत गतिमा पूर्वाधार विकास नगरी देश आर्थिक रुपमा सम्पन्न हुँदैन । देश विकासको प्रमुख आधार भनेको पूर्वाधार हो । त्यही भएर हामी अब पूर्वाधार निर्माणतर्फ केन्द्रित भएका छौं ।’ उनले अगाडि भने, ‘अहिले भइरहेको कामलाई दोब्बर मात्रै बनाउन सक्यौ भने, निर्माण सामग्रीको खपत चार गुणाले बढ्छ, त्यसपछि नेपालको उत्पादनले पुग्दैन, बाहिरबाट आयात गर्नुपर्छ ।’

सेवा, उद्योग तथा ट्रेडिङ व्यवसायलाई सफल रुपमा अघि बढाइरहेको आईसीटीसी ग्रुपले निकट भविष्यमा स्टील र सिमेन्ट उद्योग सञ्चालन गर्न लागेको हो । ‘अहिले जग्गा छनोटको काम भइरहेको छ,’ उनले भने, ‘कुन ठाउँमा कुन उद्योग लगाउने भन्ने बारेमा पनि छलफल चलिरहेको छ । नयाँ दुई ओटै उद्योग आगामी पाँच वर्षभित्र सञ्चालनमा आउँछन् ।’

सहकार्यकारी अध्यक्ष श्रेष्ठका अनुसार अहिले जति पूर्वाधार विकास भएको छ, त्यो अत्यन्तै कम हो । अहिलेको विकासको गतिबाट एक स्टेप माथि उक्लिने बित्तिकै सम्पूर्ण निर्माण सामग्रीको खपत दोब्बर हुन्छ ।

आर्थिक वर्ष २०७४/०७५ मा सिमेन्ट उद्योगले आफ्नो कुल क्षमताको ७१ दशमलव ८ प्रतिशत उत्पादन गरेको तथ्याङ्क छ । त्यसैगरी, रड उद्योगले आफ्नो कुल क्षमताको ४६ दशमलव ४ प्रतिशत उत्पादन गरेका छन् । यी दुई उद्योगले अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०७४/०७५ मा क्रमशः १६ दशमलव ९ र २६ दशमलव ६ प्रतिशतले उत्पादन बढी गरेका छन् । यो तथ्याङ्कले पनि नेपालमा दुई क्षेत्रका उद्योगको माग बढी भएकाले आईसीटीसी ग्रुपले लगानीको दायरालाई बढाउन लागेको हो ।

केही वर्ष अघिसम्म अत्यन्तै कम क्षमतामा चलिरहेका दुई उद्योग एकै वर्षमा बढ्नुको कारण ती वस्तुको मागमा भएको वृद्धि नै प्रमुख कारण हो । पुनर्निर्माणको कामले गति लिँदा सिमेन्ट, छड, इँटालगायत निर्माण सामग्रीको माग र आपूर्ति उच्च बन्न पुगेको छ । त्यसैगरी, छिटपुट रुपमा पूर्वाधारको काम पनि अघि बढेकाले उत्पादन बढेको श्रेष्ठको भनाइ छ ।

मुलुकमा सहरीकरण र पूर्वाधार निर्माणको क्रम बढ्दै जाँदा निर्माण सामग्रीको बजार आकार पनि सोहीअनुरुप बढ्दै गएको छ । मुलुकमा ती सामग्रीको माग बढ्दै जाँदा स्वदेशमै उत्पादनसमेत बढेको छ ।

आइसीटीसी गु्रपले हाइड्रो, होटल, मदिरा उत्पादन, सूचना प्रविधिलगायतका क्षेत्रमा लगानी गरिरहेको छ । निर्माण परामर्शदाताका रुपमा रहेर अन्तर्राष्ट्रिय संस्थासँग मिलेर पनि काम गरेको गु्रपले नेपालमा सडक तथा सिँचाइका परियोजना निर्माणमा पनि लागेको छ ।