देशभर केबलकारको लहर

२०५५ मङ्सिरदेखि मनकामना केबलकार सञ्चालनको झन्डै १५ वर्षपछि आईएमई ग्रुपको ४ अर्ब रुपैयाँ लगानीमा राजधानीमा चन्द्रागिरी केबलकार सञ्चालमा आएको छ । यस्तै निजी लगानीमै दोलखाको कालिञ्चोकमा समेत केबलकार सञ्चालनमा आइसकेको छ । निजीक्षेत्रले धार्मिक तथा पर्यटकीय हिसाबमा केबलकार बनाउन थालेका छन् ।

काठमाडौं : सरकारले लाइसेन्स खुला गरेपछि देशभर निजी लगानीमा केबलकार निर्माण सुरु भएका छन् । हालसम्म दुई दर्जनभन्दा बढी केबलकार सञ्चालनका लागि निजीक्षेत्रबाट काम सुरु भएको छ । तीमध्ये केही निर्माणाधीन अवस्थामा छन् भने कतिपय सम्भाव्यता अध्ययनका चरणमा रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मुलुकका २० स्थानमा केबलकार निर्माणका लागि आवेदन परेकोे छ ।

लगानी बोर्डले हालै मात्र ८५ किलोमिटर लामो केबलकार बनाउन मुक्तिनाथ दर्शनलाई सम्भाव्यता अध्ययन गर्न अनुमति दिएको छ । सो केबलकार योजनाका लागि ४० अर्ब रुपैयाँ लाग्ने अनुमान छ । नेपालमा केबलकार एउटा सुहाउँदो तथा भरपर्दो यातायात सञ्जालका रूपमा विकास हुँदै गएकाले निजी लगानी यसतर्फ आकर्षित भएको मन्त्रालयका प्रवक्ता राजेन्द्रराज शर्माले बताए । ‘अहिलेसम्म सञ्चालनमा आइसकेकालगायत निर्माणाधीन र सम्भाव्यताका चरणमा रहेका सबै केबलकार पर्यटकीय तथा धार्मिक हिसाबले अत्यन्तै समयसान्र्दभिक छन्,’ उनले भने ।

केबलकारको दर्ता तथा अनुमतिपत्र प्रक्रिया सहज रहेकाले निजी लगानी आउन थालेको उनको भनाइ छ । ‘कम्पनी रजिस्ट्रार कार्यालयमा कम्पनी दर्ता गराएपछि नियमअनुसार प्रक्रिया पुर्याउनुपर्छ । केबलकार अनुमतिका लागि अहिले कठिन छैन,’ उनले भने । शर्माका अनुसार उद्योग विभाग र कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता र कानुनी प्रक्रियासमेत पुर्याएपछि अनुमतिपत्रका लागि लामो समय लाग्दैन ।

२०५५ मङ्सिरदेखि मनकामना केबलकार सञ्चालनको झन्डै १५ वर्षपछि आईएमई ग्रुपको ४ अर्ब रुपैयाँ लगानीमा राजधानीमा चन्द्रागिरी केबलकार सञ्चालमा आएको छ । यस्तै निजी लगानीमै दोलखाको कालिञ्चोकमा समेत केबलकार सञ्चालनमा आइसकेको छ । निजीक्षेत्रले धार्मिक तथा पर्यटकीय हिसाबमा केबलकार बनाउन थालेका छन् ।

अहिले दोलखाको प्रमुख पर्यटकीय गन्तव्यको सूचीमा समेत परिसकेको कालिञ्चोक भगवती मन्दिरलाई जोडी कुरीदेखि मन्दिरसम्म केबलकार केही दिनअघि सञ्चालनमा आइसकेको छ । कुरीदेखि मन्दिरसम्मको करिब एक घण्टाको बाटोलाई ५ मिनेटको बाटोमा परिणत गरेको छ, यसले । यो केबलकारले पनि दोलखालाई पर्यटकीय गन्तव्यका रुपमा परिचित गराउन आतुर छ ।

चन्द्रागिरिको सफलतापछि आईएमई ग्रुपले नवलपरासी गैंडाकोटको मौलाकालिका मन्दिरमा दोस्रो केबलकार निर्माण गर्ने भएको छ । निजी लगानीमै पोखराको तालबाराहीदेखि सराङकोटसम्म केबलकार निर्माण भइरहेको छ ।

त्रिवेणी केबलकारले निजी लगानीमा भक्तपुरको सूर्यविनायकमा लिङ्कसेवा र बूढानीलकण्ठदेखि शिवपुरी डाँडासम्म केबलकार बनाउन अनुमति मागेको छ । मौलाकालिका डेभलपमेन्ट प्रालिले देवघाटदेखि मौलाकालिकासम्म केबलकार अध्ययनको अनुमति मागिसकेको छ । दिव्य दर्शन प्रालिले मुक्तिनाथ मन्दिर, स्वर्गद्वारी र पाथीभरामा पनि केबलकार सञ्चालन गर्ने भएको छ ।

सोलुखुम्बुको लुक्ला, डोटीको ठूलाकेदार, नुवाकोटको घ्याङफेदी गोसाइँकुण्ड केबलकार, सिद्धार्थ केबलकार इलाम पाथीभरा दर्शन र सर्वशिद्धिधाम पञ्चकोट बागलुङमा केबलकार सञ्चालनको तयारी छ । बन्दीपुर केबलकारले सर्वसाधारणबाट लगानी जुटाउन सुरु गरिसकेको छ । कम्पनीले सेयर बिक्रीसमेत खुला गरेको छ ।

पोखराको वीरेठाँटीदेखि कागबेनी हुँदै रानीपौवा मुक्तिनाथ मन्दिरसम्म पनि केबलकार निर्माणका लागि अध्ययन भइसकेको छ । काठमाडौं उपत्यकाको बोहोराटार–नागार्जुन डाँडा जामाचोमा पनि अध्ययन सुरु हुने भएको छ ।

प्युठानको घण्टीखोलादेखि स्वर्गद्वारी मन्दिरसम्म केबलकार निर्माणका लागि स्वर्गद्वारी दर्शन प्रालिले अनुमति मागेको छ । ललितपुरको गोदावरीदेखि फुल्चोकीसम्म केबलकार निर्माणका लागि सिद्धेश्वर पर्यटन सहकारीले तयारी गरेको मन्त्रालयले जानकारी दिएको छ ।