पोल खोल्दै पोलिग्राफ, ५ वर्षमा १ हजार ७५ झुट बोलेको नतिजा

प्रहरीले परीक्षण गरेकामध्ये १ हजार ७५ जनाले झुट बोलेको प्रहरीले जनाएको छ । १ सय ८४ जनाको पोलिग्राफबाट पनि कुनै नतिजा नआएको प्रहरीको रिपोर्टमा उल्लेख छ ।

काठमाडौं : अपराध अनुसन्धानलाई प्रभावकारी बनाउन नेपाल प्रहरीले २०७० माघ २२ गतेबाट अभियुक्तसँग (झुट बोलेको पत्ता लगाउन) पोलिग्राफ टेस्ट लिन सुरु गर्यो । त्यसयता प्रहरीले २ हजार १ सय १२ जनाको परीक्षण गरिसकेको छ ।

प्रहरीले परीक्षण गरेकामध्ये १ हजार ७५ जनाले झुट बोलेको प्रहरीले जनाएको छ । १ सय ८४ जनाको पोलिग्राफबाट पनि कुनै नतिजा नआएको प्रहरीको रिपोर्टमा उल्लेख छ । प्रविधिको विकास र अपराधका शैली फेरिँदै जाँदा पोलिग्राफ टेस्टको आवश्यकता ठान्दै प्रहरीले उक्त प्रविधि ५ वर्षअघि नेपाल भित्र्याएको थियो ।

केन्द्रीय पोलिग्राफ शाखाको तथ्याङ्कअनुसार करिब ५ वर्षको अवधिमा प्रहरीले विभिन्न अभियोगमा पक्राउ परेका २१ सय ९२ जनाको पोलिग्राफ बयान लिएको हो । पोलिग्राफको प्रयोगपछि अनुसन्धान प्रभावकारी बन्दै गएको र नतिजा पनि राम्रो आउन थालेपछि अहिले प्रहरीले प्रायः अभियुक्तहरुलाई पोलिग्राफ अनिवार्य जस्तै लिन थालेको छ ।

प्रहरी तथ्याङ्कअनुसार अार्थिक वर्ष २०७०/७१ म २ सय २५ जना, ७१/७२ मा ४ सय ६८ जना, ७२/७३ मा ३ सय ९१ जना, ७३/७४ मा ५ सय ४३ जना र ७४/७५ मा ५ सय ६५ जनालाई पोलिग्राफ परीक्षण गरिएको छ ।

पोलिग्राफ प्रविधिको प्रयोगपछि अनुसन्धान केही सहज भएको प्रहरी प्रवक्ता एसएसपी उत्तम सुवेदीले बताए । ‘अपराध गरिसकेपछि आफू बच्नकै लागि झुट बोल्नेहरुलाई सत्य बोलाउनका लागि यो प्रविधि निकै प्रभावकारी छ,’ उनले भने । अनुसन्धानकर्ताले झुट बोलेको ठान्यो तर अभियुक्तले स्वीकार गरेन भने उसैको मुख खोलाउन पोलिग्राफ गराउने गरिएको उनले बताए ।

अभियुक्तको शरीरमा सेन्सर लगाएर उसले झुट बोलेको वा साँचो बोलेको कुरा पत्ता लगाउने गरिन्छ । ‘हामीले हो–हैन, अथवा एस–नो भनेर सोध्ने हो, पूरै बयान लिने हैन । कुनै व्यक्तिले पोलिग्राफ नदिने भन्यो भने कर गरिँदैन,’ उनले भने ।

११ ठाउँबाट परीक्षण हुन्छ पोलिग्राफ

अपराध अनुसन्धानलाई प्रभावकारी बनाउन प्रहरीले ११ ओटा पोलिग्राफ प्रयोगमा ल्याएको छ ।

प्रहरी प्रवक्ता सुवेदीका अनुसार प्रहरी प्रधान कार्यालयको पोलिग्राफ शाखा, विषेश ब्युरो, केन्द्रीय अनुसन्धान ब्युरो, लागुऔषध नियन्त्रण ब्युरो, महानगरीय प्रहरीको कार्यालय रानीपोखरी, बागमती अञ्चल प्रहरी कार्यालय र ५ ओटा क्षेत्रिय प्रहरी कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पोलिग्राफ परीक्षण हुन्छ ।

६० प्रहरीकै पोलिग्राफ बयान

प्रहरीले यो प्रविधि सुरु गरेयता ६० जना प्रहरी कर्मचारीकै पोलिग्राफ बयान लिएको छ । विभागीय कारबाही, भ्रष्टाचार तथा घूस अभियोगमा पक्राउ परेका तर गल्ती स्वीकार नगर्ने प्रहरीको पोलिग्राफ बयान लिइएको हो ।

प्रहरीको पोलिग्राफ बयानमा अधिकांश प्रहरीको पोलिग्राफ बयान झुटो भएको देखाएको छ भने केहीको पोलिग्राफ बयान सही देखिएको प्रहरीको तथ्याङ्क छ । त्यस्तै सडक ड्युटीमा खटिने ७ जना ट्राफिक प्रहरीको पनि घूस खाएको अभियोगमा पोलिग्राफ बयान लिइएको थियो ।

त्यस्तै कन्चरपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्त काण्डमा अनुसन्धानका लागि तानिएका प्रहरीहरुको समेत पोलिग्राफ परीक्षण गरिएको थियो ।

सवारी चालकसँग रकम लिएको आधारमा कारबाहीमा परेका ट्राफिक प्रहरीले रकम नलिएको भन्दै झुट बोलेपछि उनीहरुको सही कुरा पत्ता लगाउन पोलिग्राफ लिइएको थियो ।

सडकमा खटिएका ट्राफिक प्रहरीले सवारी चालकसँग घूस लिने, मादक पदार्थ सेवन गरेर सडकमा खटिने, सडक अनुशासन नियम नमिची कमिसनको लोभमा आफूखुसी सवारी चालकलाई कारबाही गर्ने जस्ता गतिविधिमा उजुरी बढेपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाले सडकमा खटिने प्रहरीलाई नै पोलिग्राफ बयान लिने व्यवस्था सुरु गरेको छ ।

जघन्य अपराधदेखि सामान्य चोरीका घटनालाई लिएर दैनिक २ देखि ३ जनाको पोलिग्राफ टेष्ट हुने गरेको छ । विभिन्न अनुसन्धानमा झुटो वा साँचो भन्ने पत्ता लगाउन गरिने पोलिग्राफ टेस्ट दिन अहिलेसम्म २० जनाले अस्वीकार गरेका छन् ।

यसरी पोलिग्राफ बयान दिन नमान्नेमा नेकपा माओवादी केन्द्रका सांसद लारक्याल लामा, नेपाल प्रहरीका मध्यपश्चिमाञ्चल कार्यालयका वासुदेव गजुरेललगायत अन्य केही प्रहरी छन् ।

बैङ्कको लकरभित्र पेस्तोलको गोली राखेको अभियोगमा पक्राउ परेका लामाले उक्त कुरा स्वीकारेनन् । उनलाई पोलिग्राफ गर्न लगिए पनि उनले दिन मानेका थिएनन् ।