सर्वोच्चद्वारा डीएसपी सञ्जय राउतको बयान र घटनास्थलको मुचुल्का झिकाउन आदेश

डीएसपी राउत विमानस्थलमा रहेका बेला ३८ सय किलो तस्करीको सुन र सनम शाक्य हत्याका मुख्य अभियुक्त गोरे भन्ने चुडामणि उप्रेतीसँग कारोबार गरेको भेटिएपछि सरकारी छानबिन समितिले नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो ।

काठमाडौं : सर्वोच्च अदालतले तस्करीको ३३ किलो सुन र सनम शाक्य हत्या काण्डमा पुर्पक्षमा रहेका नेपाल प्रहरीका डीएसपी सञ्जय राउतको बयानको प्रतिलिपि र घटनास्थलको बरामदी मुचुल्का झिकाउन आदेश गरेको छ ।

शुक्रबार प्रधानन्यायाधीश ओमप्रकाश मिश्र र न्यायाधीश डम्बरबहादुर शाहीको इजलासले सो आदेश गरेको हो ।

डीएसपी राउत विमानस्थल सुरक्षामा कार्यरत हुँदा तस्करी समूहका सदस्यहरुसँग मिलेर सुन ओसारपसारमा सहयोग गरेको भन्दै मोरङ प्रहरीलाई मुद्दा चलाउन सरकारी छानबिन समितिले सिफारिस गरेको थियो ।

डीएसपी राउत विमानस्थलमा रहेका बेला ३८ सय किलो तस्करीको सुन र सनम शाक्य हत्याका मुख्य अभियुक्त गोरे भन्ने चुडामणि उप्रेतीसँग कारोबार गरेको भेटिएपछि सरकारी छानबिन समितिले नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो ।

जिल्ला अदालत मोरङले डीएसपी राउतलाई पुर्पक्षमा राख्न आदेश गरेको थियो । जिल्लाको आदेश बदर गरिपाउँ भन्दै राउत उच्चअदालत मोरङ पुगेका थिए । उच्च अदालत मोरङले जिल्लाकै आदेश सदर गरेको थियो । त्यसपछि राउत सर्वोच्च पुगेका हुन् ।

जिल्ला अदालत मोरङले सञ्जय राउतसँगै तत्कालीन महानगरीय अपराध महाशाखा प्रमुख एसएसपी दिवेश लोहनी, डीएसपी अजय केसी, सई बालकृष्ण सञ्जेल र पूर्व डीआईजी गोविन्द निरौलालाई पुर्पक्षका लागि आदेश गरेको थियो ।

जिल्लाको आदेश बदरको माग गर्दै उनीहरु उच्च अदालत मोरङ गएका थिए । त्यसमा एसएसपी लोहनी, डीएसपी केसी र पूर्व डीआईजी निरौलाका हकमा जिल्लाको फैसला उल्ट्याउँदै साधारण तारेखमा छाड्न आदेश गरेको थियो भने डीएसपी राउतका हकमा जिल्लाकै फैसला सदर गरेको थियो ।