‘स्टिङ अपरेसन’ चलाउनेमाथि नै ‘स्टिङ अपरेसन’, सहसचिवदेखि सरकारी वकिलसम्म पक्राउ

अख्तियारले गएको ५ महिनाको अवधिमा विभिन्न स्थानमा गरेको ‘स्टिङ अपरेसन’मा १ सय ६१ जना राष्ट्रसेवक कर्मचारी परे । सो अवधिमा ‘स्टिङ अप्रेशन’मा सरकारका सहसचिव, सरकारी वकिल, इन्जिनियर, लेखापाल, नेपाल प्रहरीका डीएसपी मुनीका विभिन्न दर्जाका कर्मचारी अख्तियारको फन्दामा परे ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मङ्सिर १६ गते सहसचिव डा. तारानाथ पौडेललाई घुससहित पक्राउ गर्यो । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका प्रमुख रहेका डा. पौडेलले लोक सेवा आयोगमा नाम निकालिदिने भन्दै एक जनाबाट एक लाख रुपैयाँ घुस लिँदालिँदै पक्राउ गरिएको अख्तियारले जनाएको छ । अख्तियारका प्रवक्ता रामेश्वर दङ्गालका अनुसार लोकसेवा आयोगमा जागिर दिने भन्दै उनले एक लाख रुपैयाँ घुस लिएका थिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले गएको मङ्सिर ४ गते जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीका जिल्ला न्यायाधिवक्ता कोषहरि निरौलालाई पक्राउ गर्यो । सरकारी वकिलको कार्यालयमै सेवाग्राहीसँग ८० हजार रुपैयाँ लिएर गनिरहेका बेला अख्तियारको टोलीले निरौलालाई नियन्त्रणमा लिएको थियो ।

गएको असोज २४ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उच्च सरकारी वकिल कार्यालय पोखराका सहन्यायाधिवक्ता सुरेन्द्रबहादुर थापालाई पाँच लाख रुपैयाँसहित घुस लिँदालिँदै पक्राउ गर्यो । ठगी मुद्दाका एक प्रतिबादीको मुद्दा कमजोर बनाएर मिलाइदिने भन्दै थापाले प्रतिबादीका आफन्तबाट घुस लिँदै गरेका बेला रङ्गेहात पक्राउ परेका थिए ।

गएको असोज २० गते महानगरीय प्रहरी वृत्त बौद्धका प्रमुख डीएसपी श्यामकुमार राईलाई अख्तियारको टोलीले पक्राउ गर्यो । वृत्तकै कार्यकक्षबाट उनलाई पक्राउ गरिएको थियो । राईले घुसबापत् लिँदै गरेको १ लाख ४० हजार रुपैयाँसमेत टोलीले बरामद गरेको थियो ।

अख्तियारले गएको ५ महिनाको अवधिमा विभिन्न स्थानमा गरेको ‘स्टिङ अपरेसन’मा १ सय ६१ जना राष्ट्रसेवक कर्मचारी परे । सो अवधिमा ‘स्टिङ अप्रेशन’मा सरकारका सहसचिव, सरकारी वकिल, इन्जिनियर, लेखापाल, नेपाल प्रहरीका डीएसपी मुनीका विभिन्न दर्जाका कर्मचारी अख्तियारको फन्दामा परे ।

आयोगको तथ्याङ्कअनुसार गएको साउनयता पक्राउ पर्नेमा सहसचिव १ जना, सरकारी वकिल २ जना, नेपाल प्रहरीका डीएसपी एक जना, कृषि विकास बैङ्कका उप रजिस्ट्रार २ जना, इन्जिनियर २ जना, नापी अधिकृत १ जना, लेखापाल २ जना, प्रहरी निरीक्षक २ जना, प्रहरी नायबनिरीक्षक ३ जना, प्रहरी सहायक निरीक्षक २ जना, प्रहरी हवल्दार ५ जना, प्रहरी जवान ५ जनालगायत १ सय ६१ जनालाई पक्राउ गरी मुद्दा चलाएको छ ।

आयोगका अनुसार ५ महिनाको अवधिमा ८४ ओटा मुद्दा दायर भएका छन् भने मुद्दा चलाइएकाहरुबाट ३२ करोड १३ लाख २९ हजार ४ सय २९ रुपैयाँ बिगो मागदाबी गरिएको छ ।

डीएसपीसहित १६ प्रहरी अख्तियारको फन्दामा
गएको असोज २० गते महानगरीय प्रहरी वृत्त बौद्धका प्रमुख डीएसपी श्यामकुमार राई पक्राउ परे । अख्तियारको टोलीले राईलाई कार्यकक्षबाट १ लाख ४० हजार नगद रुपैयाँसहित रङ्गेहात पक्राउ गर्यो । लामो समय अख्तियारमै बसेका डीएसपी राईले घुस खाने गरेको उजुरी परे पनि अख्तियारले पक्राउ गर्न सकेको थिएन । अख्तियारमा रहँदा उनलाई कसरी बच्ने भन्ने कुरा थाहा भएकाले पनि उनलाई रङ्गेहात पक्राउ गर्न अख्तियारको टोलीले निकै कसरत गर्नुपरेको थियो ।

त्यसैगरी गएको भदौ ३० गते अख्तियारको टोलीले काठमाडौंको तीनकुनेबाट ९ जना प्रहरीलाई पक्राउ गर्यो । मनहरा खोलाको बालुवा निकाल्न सेटिङ मिलाइदिने भन्दै ठेकेदारसँग घुस मागेको आरोपमा प्रहरी वृत्त कोटेश्वरका असई गोपाल श्रेष्ठ र महानगरीय प्रहरी वृत्त ठिमीमा कार्यरत सुवास ढुङ्गानासहित अन्य ७ प्रहरी जवानलाई अख्तियारको टोलीले पक्राउ गरेको थियो । आयोगको टोलीले असई श्रेष्ठको साथबाट ३० हजार घुस बापतको रकम बरामद गरेको थियो ।

‘स्टिङ अपरेसन’ चलाउनेमाथि नै ‘स्टिङ अपरेसन’
अख्तियारको फन्दामा परेका जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीका जिल्ला न्यायाधिवक्ता कोषहरि निरौला र नेपाल प्रहरीका डीएसपी श्याम राई यसअघि अख्तियारमै बसेर ‘स्टिङ अपरेसन’ चलाउने गरेका थिए । अख्तियारमा बस्दा दर्जनौं ‘स्टिङ अपरेसन’ चलाएर अनुभव बटुलेका वकिल निरौला र डीएसपी राई अन्ततः आफैं स्टिङ अपरेसनमा परे ।

उनीहरुले घुस रकम लिने गरेको अख्तियारमा उजुरी पहिल्यै परेको थियो । स्रोतका अनुसार उनीहरुले अख्तियारको टोलीलाई छलेरै घुस रकम लिने गरेका थिए ।

उनीहरुलाई पक्राउ गर्न भन्दै गएको टोली कैयौं पटक फर्केरै आएको स्रोतको दाबी छ ।