तीनवर्षे घट्दो साइकल सकिन लागेको छ, केही महिनापछि सेयर बजार स्वतः बढ्ने देखिन्छ,’ नेपाल पुँजी बजार सङ्घका अध्यक्ष नवराज सुवेदीसँगकाे अन्तर्वार्ता

अहिले बजार घट्नुको अर्को मुख्य कारण ब्याजदरको समस्या हो । जबजब ब्याजदर वृद्धि हुन थाल्छ, तब सेयर बजार ओरालो लाग्ने गरेको छ । त्यस्तै पुँजी बजार घट्नुको अर्को महत्त्वपूर्ण कुरा सरकारप्रति लगानीकर्ताको विश्वनीयता घट्दो रुपमा रहनु हो । प्रायजस्तो नेप्सेको इन्डेक्स बढ्न थालेपछि पहिलेको तुलनामा दोब्बर हुने सम्भावना पनि देखिएकाले बजार बढ्न सुरु गरेपछि २२ सयको हाराहारीमा नजाला पनि भन्न सकिँदैन ।

काठमाडौं : एक दशकदेखि सेयर बजारमा लगानी गर्दै आइरहेका नवराज सुवेदी हाल नेपाल पुँजी बजार सङ्घका अध्यक्ष समेत हुन् । नेपाल पुँजी बजार लगानीकर्ता सङ्घ आफ्नै सक्रियतामा स्थापना गरेका उनी हाल पुँजी बजार सङ्घको अध्यक्षता गरिरहेका छन् । सेयर बजार घटिरहेको अवस्थामा म्यानेजमेन्टका विद्यार्थी उनीसँग राजधानीका विभिन्न शैक्षिक संस्थामा अध्यापन गरेको अनुभवसमेत छ । उनै नवराज सुवेदीसँग सेयर बजारको पछिल्लो अवस्थाका बारेमा क्यापिटल नेपालका निकेश खत्रीले गरेको कुराकानीः

सेयर बजारको सुधारका लागि १४ बुँदे माग राखेर तपाईंहरु÷लगानीकर्ता अनशन बस्नुभयो । सरकारले गठन गरेको समितिले आफ्नो प्रतिवेदन पनि बुझाइसकेको छ । यहाँको माग पूरा होला ?

नेपालमा दुई तिहाइ बहुमतको शक्तिशाली सरकार गठन भयो । अर्थतन्त्रका ज्ञाता भनिएका डा. युवराज खतिवडा अर्थमन्त्री बन्नुभयो । उहाँले भनेअनुसार पुँजी बजार विकास र विस्तारका लागि सरकार कटिबद्ध छ । र, पुँजी निर्माण गर्ने राष्ट्रिय थलो भनेकै पुँजी बजार हो भन्दै आउनुभएको छ । उहाँ पुँजी बजार अनुत्पादक क्षेत्र भएकाले उत्पादनशील क्षेत्रमा लाग्नुहोस् भन्नुहुन्छ । कहिले यो अनुत्पादक क्ष्ोत्रमा लगानी नगरी उत्पादनमूलक क्षेत्रमा जानुस् भन्नुहुन्छ । यस्तै ‘मैले बैङ्कमा पैसा राखेँ फाइदा कमाएँ, मेरा साथीले सेयरमा लगानी गरेर डुबे’, भन्नुभयो । यसैको परिणामस्वरुप नेपाली पुँजी बजार धरासायी बन्दै गयो । उहाँका केही अभिव्यक्तिका कारण लगानीकर्ताको मनोबल गिरेको छ । आफैँले यस्तो भन्दै गर्दा अर्थमन्त्रीले विदेशी लगानी आएन भनिरहनु भएको छ । तर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशी लगानीकर्ता आउँदै गर्दा उनीहरुले हेर्ने पहिलो क्षेत्र भने पुँजी बजार हो । त्यसकारण राष्ट्रिय पुँजी निर्माण गर्ने र नेपाललाई समृद्ध बनाउने हो भने नेपाली पुँजी बजारलाई सुधार गर्न आवश्यक छ । त्यही आवश्यक्तालाई मध्यनजर गर्दै १५ लाख लगानीकर्ताको समर्थन रहेको अनशन सुरु भएको हो ।

पछिल्लो समय नेप्से सूचकसँगै सेयर कारोबार पनि ओरालो लागिरहेको छ । यो अवस्था कहिलेसम्म रहने देख्नुहुन्छ ?

विगतको इतिहास हेर्दा नेपाली पुँजी बजारमा ८ वर्षीय साइकल देखिन्छ । त्यसमा ५ वर्ष बढ्ने तथा ३ वर्ष घट्ने देखिएको छ । र, अहिले पनि १८८१ बिन्दुबाट बजार घट्न थालिसकेपछि करिब करिब अबको ३÷४ महिना लगत्तै ३ वर्षे घट्दो साइकल समय सकिने छ । त्यसपछि बजार स्वतः उकालो लाग्ने देखिन्छ, विगतको इतिहास हेर्दा । साथै अहिले बजार घट्नुको अर्को मुख्य कारण ब्याजदरको समस्या हो । जबजब ब्याजदर वृद्धि हुन थाल्छ, तब सेयर बजार ओरालो लाग्ने गरेको छ । त्यस्तै पुँजी बजार घट्नुको अर्को महत्त्वपूर्ण कुरा सरकारप्रति लगानीकर्ताको विश्वनीयता घट्दो रुपमा रहनु हो । प्रायजस्तो नेप्सेको इन्डेक्स बढ्न थालेपछि पहिलेको तुलनामा दोब्बर हुने सम्भावना पनि देखिएकाले बजार बढ्न सुरु गरेपछि २२ सयको हाराहारीमा नजाला पनि भन्न सकिँदैन । पहिले बजार १८८१ सम्म पुगेलगत्तै भारतमा नोट बन्दी तथा नेपाल धितोपत्र बोर्डले कालोधनको कुरा ल्याइदिनुजस्ता कारणले बजार माथि जान सकेन ।

सेयर बजार अहिले ओरालो लागेको छ । १ वर्षको अवधिमा बजारमा कति लगानी घट्यो ?

जतिबेला नेप्से १८८१ को बिन्दुमा थियो । त्यस समय नेपाली पुँजी बजार २३ खर्ब रुपैयाँको थियो । अहिले नेप्से ११०० बिन्दुको हाराहारीमा घुम्दै गर्दा १४ खर्बमा छ । यही अवधिमा झन्डै झन्डै ९ खर्ब रुपैयाँ त पुँजी बजारले गुमाइ सक्यो । पछिल्लो १ वर्षको अवधिमा हामीले ६ खर्ब रुपैयाँ गुमाइसकेका छौं । यत्रो रकम गुमाउँदै गर्दा राष्ट्रिय रुपमा आर्थिक सङ्कट पनि देखिएको छ । यही बजार घटिरहेको समयमा ब्याजदर पनि बढिरहेको छ । नबिल जस्तो बैङ्कले पनि १३ प्रतिशतको ब्याजदर घोषणा गर्न वाध्य भयो । त्यसैले नेपालमा लगानीयोग्य पुँजी सङ्कट समाधान गर्ने नै हो भने पुँजी बजार नबढी सम्भव छैन । सेयर बजारलाई लगानीमैत्री नबनाएसम्म आर्थिक विकासको परिकल्पना गर्न सकिँदैन ।

बजार घटिरहेको अवस्थामा बजारमा ठूला लगानीकर्ता आएका छैनन् । ठूला लगानीकर्ता बजारमा प्रवेश नगर्नाले पनि बजार घटिरहेको हो भनिन्छ । यो कतिको सत्य हो ?

अहिले पुँजी बजारमा लगानी गर्ने मारवाडी समुदायको सङ्ख्या १० प्रतिशत पनि छैन । १० प्रतिशत मारवाडी लगानीकर्ताको हातमा ९० प्रतिशत पुँजी नियन्त्रणमा छ । त्यसकारण मारवाडी लगानीकर्ताले एउटा रेन्जमा बजारमा लगानी गरिरहेका हुन्छन् । उनीहरु एउटा गतिमा सेयर किनिरहेका हुन्छन् । साना लगानीकर्ताको जस्थो आज किनेर भोलि ओरालो लाग्यो भने बेच्ने शैली उनीहरुमा छैन । उनीहरुमा धैर्य गर्ने क्षमता हुन्छ, आफ्नो टाइम प्लानअनुसार उनीहरुले बजारमा सेयर किनिरहेका हुन्छन् । पुँजी बजारमा चार ओटा फेज हुन्छन् । एक्युमुलेसन, मार्केट अप, डिस्ट्रिब्युसन र डाउन टे«न्ड हुन्छ ।

बढ्दो बैङ्कको ब्याजदरको असर सेयर बजारमा परेको छ । तपाईंको विचारमा यसको असर कतिसम्म होला ?

ब्याजदर वृद्धिको असर पुँजी बजारमा निश्चय नै छ । बैङ्कहरुले अपरिपक्व ढङ्गले ब्याजदर बढाउँदै गएका छन् । हाम्रा २८ ओटै बैङ्कहरुले अचानक ब्याजदर वृद्धि गरेपछि बजारमा असर पर्नु स्वाभाविक हो । नेपालको सन्दर्भमा २८ ओटा वाणिज्य बैङ्कको आवश्यक्ता छ ? भन्ने प्रश्न पनि उठेको छ । बढीमा १० ओटा वाणिज्य बैङ्क भयो भने ठिक हुन्छ । केन्द्रीय बैङ्कले यसलाई बेलैमा फोर्स मर्जतर्फ ध्यान मोड्नु पर्छ । त्यस्तो भयो भने बैङ्कहरु पनि मर्यादामा बस्नेछन् ।

ब्याजदर बढिरहेको अवस्थामा बैङ्कबाट ऋण लिएर सेयरमा लगानी गर्ने अवस्था कत्तिको छ ?

अहिले तत्कालका लागि बैङ्कहरुले आफ्खुसी ब्याजदर बढाए पनि नेपाल राष्ट्र बैङ्कले दबाब दिएर एक अङ्कमा झार्न लगाएको छ । महँगो ब्याजमा ऋण लिएर सेयरमा लगानी गर्ने अवस्था अझै पनि बनिसकेको छैन । यसका लागि केही समय अझै लाग्न सक्छ ।

तपाईंको विचारमा सरकारले के गर्यो भने सेयर बजार बढ्छ ?

सरकारले सबैभन्दा पहिले पुँजी बजारलाई लगानीमैत्री वातावरण बनाउनु पर्छ । लगानीकर्तामैत्री नीति तथा कार्यक्रम सार्वजनिक गर्नुपर्यो । दीर्घकालीन र मध्यकालीन योजना ल्याएर अगाडि बढ्न सकियो भने पुँजी बजारमा सुधार हुन्छ । पुँजी बजारलाई समयसापेक्ष बनाउनु पर्छ । हिजोका दिनमा मार्जिन ल्यान्डिङ ८० प्रतिशतसम्म थियो । कुनै दिनमा बैङ्कको सेयर १२ सयसम्म पुगेको थियो । तर, आज तिनै बैङ्कको सेयर मूल्य २ सय रुपैयाँ छ । तर, अहिले बैङ्कको मार्जिन ल्यान्ड ५० प्रतिशत छ ।

१० औं वर्षको इतिहास बोकेको बैङ्कको १ सय रुपैयाँ ऋण पनि नपत्याउने भनेको त नेपाली पुँजी बजार अत्यन्तै नाजुक अवस्थाबाट गुज्रिरहेको छ । यो कुरालाई दृष्टिगत गर्दै बैङ्कहरुले मार्जिन ल्यान्डिङ ५० बाट ७० प्रतिशतसम्म पुर्याउनु पर्यो । बैङ्कहरुको चुक्ता पुँजी पनि २ अर्बबाट ८ अर्ब रुपैयाँ पुगिसकेको छ । यस्तै पुँजी बजारलाई प्रविधिमैत्री बनाउनु पर्यो, लगानीकर्ताका लागि विश्वसनीय वातावरण बनाउनु पर्यो । अन्तर्राष्ट्रियस्तरको पुँजी बजारमा भएका अभ्यासलाई नेपालमा भित्र्याउने प्रयास गर्नुपर्यो । समग्रमा भन्नुपर्दा नेपाली पुँजी बजारलाई अन्तर्राष्ट्रिय क्षेत्रले विश्वास गर्ने वातावरण निर्माण गर्नुपर्यो ।

लामो समयको प्रतीक्षापछि नेपाली पुँजी बजारमा अनलाइन कारोबार प्रणाली आएको छ । अनलाइन कारोबार सुरु गरेको केही समयसम्म कारोबारमा नै असर पनि गर्यो । अन्ततः अनलाइन कारोबारपछि बजार कता जाने देख्नुहुन्छ ?

अब पुँजी बजार प्रवधिमैत्री हुँदै जान्छ । नेपाली सेयर बजार अनलाइन कारोबार प्रणालीमा आइसको छ । अबका दिनहरु पुँजी बजार सुधारका लागि कोशे ढुङ्गा हुँदै जान्छन् । सुरुआती दिनमा भने लगानीकर्ताले आशा गरे अनुरुपको अनलाइन सेवा लिन सकेनन् । अनलाइन कारोबारपछिका महिनौं दिनसम्म कहिले डिस्प्ले नदेखिने, कहिले कारोबार नदेखाउने जस्ता समस्या देखा पर्यो । सेयर खरिद/बिक्रीको आदेश दिन नमिल्ने, कहिले दिएको आदेश नदेखाउने समस्या देखा परेको थियो ।

यस्तै बैङ्क खाता इन्टिग्रेसनको काम नेप्सेले ल्याएको हैन, सीडीएसले ल्याएको हो । डिम्याट इन्टिग्रेटको सिस्टम पनि ल्याइएको छैन भनेपछि फुल फेजको अनलाइन सिस्टम त लगानीकर्ताले अझै पनि प्राप्त गरेका छैनन् । त्यसकारण जुन दिन नेपाली लगानीकर्ताले फुल फेजको अनलाइन प्रणाली पाउँछन् त्यो दिन पुँजी बजारका लागि कोशे ढुङ्गा साबित हुन्छ । र, पुँजी बजारले फड्को मार्छ जस्तो मलाई लाग्छ ।

नयाँ लगानीकर्ताले लगानी गर्ने उचित समय यही हो वा होइन ? नयाँलाई के सुझाव दिनुहुन्छ ?

पुँजी बजारमा कहिले पनि फेदबाट पस्छु र टुप्पोमा गएर निस्किन्छु भन्ने हुँदैन । हामीले सानो उदाहरणका रुपमा हेर्न सक्छौं । एक वर्षअघि कुनै कम्पनीको चुक्ता पुँजी कति थियो, उक्त कम्पनीको परफर्मेन्स फन्डामेन्टल कुरा कस्तो थियो । आज आएर त्यस कम्पनीको सूचक हेर्नुहोस् र अर्को वर्ष पनि हेर्नुहोस् । एक वर्षअघि चुक्ता पुँजी जति थियो अधिकांश कम्पनीको चुक्ता पुँजी अहिले पनि त्यति नै छ । तर, फाइनान्सियल परफर्मेन्स सुधारिएको छ । फेरि सोही कम्पनीको सेयर मूल्य हेर्ने हो भने १ वर्षअघिको तुलनामा ५० प्रतिशतले घटेको छ । त्यसकारण जब कुनै कम्पनीको फाइनान्सियल परफर्मेन्स जुन वर्षदेखि सुधारिँदै गएको हुन्छ, तयही वर्षदेखि सो कम्पनीको सेयरमा लगानी गर्ने उपयुक्त समय हो । आज सेयर किनेर भोलि नै फाइदा हुन्छ भन्ने समयचाहिँ अनुपयुक्त हुन्छ ।

पुँजी बजारमा लगानी गर्नेबित्तिकै फाइदा हुन्छ भन्ने सोच राख्नु भएन । सूचनाको जमाना छ । आफूले सेयर किन्न लागेको कम्पनीको फाइनान्सियल परफर्मेन्स हेर्नु पर्यो । क्यापिटल मार्केटमा प्रवेश गर्ने समय, सेयर बजारको शिक्षा, अनुभव र निस्किने समयलाई नवप्रवेशी लगानीकर्ताले ख्याल गर्नुपर्यो । यी चार कुरा क्यालकुलेसन गरेर आउनुपर्ने हुन्छ । पुँजी बजारमा लगानी गर्नु ठूलो होइन, त्यसबाट बाहिर निस्किनु ठुलो कुरा हो ।