पवन वेग : व्यापार र उद्योगबाट चम्किएका गोल्यान कृषिमा क्रान्ति गर्दै

दुबईमा रियल इस्टेटको सफल व्यवसाय गरिसकेका गोल्यान धागो निर्यातमा विश्वका विभिन्न मुलुकसँग पनि जोडिइसकेका छन् । लगानीलाई विविधीकरण गरिरहेको गोल्यान ग्रुपले ‘फ्युचर बिजनेस’मा पनि आफ्नो रोडम्याप तयार पारिसकेको छ ।

काठमाडाैं : बिजनेस गर्नेहरु जहिल्यै अवसर खोजिरहेका हुन्छन् । घुमघाममा होस् या कुनै काममै किन नहोस्, जहाँ पुग्दा पनि व्यवसायका लागि वातावरण कुरेर बसेका हुन्छन् उनीहरु । नेपाल पहिलादेखि नै व्यवसायका लागि ‘भर्जिन ल्यान्ड’ थियो । अझै पनि नेपालमा व्यवसायका लागि नयाँ अवसर सिर्जना भएकै हुन्छन् । ७० वर्षअघि नेपाल आएका सोहनलाल गोल्यानले नेपालमा देखेको अवसरलाई ‘क्यास’ गर्न व्यावसायिक योजना बुने । र नेपालमा व्यवसाय सुरु गरे । त्यही व्यवसायको बिरासत थामिरहेका गोल्यान गु्रपका अध्यक्ष पवन गोल्यानले अहिले आफ्नो व्यवसायलाई विविधीकरण गरिरहेका छन् ।

गोल्यानका बुबा सोहनलालले नेपालमा भारत–नेपाल र नेपाल–चीनबीचको व्यापारका लागि अवसर देखेका थिए । त्यही अवसर छोप्न उनले कपडा, इलेक्ट्रिक्स, स्टेसनरी, मसलालगायतको व्यापार सुरु गरेका थिए । व्यापारले चम्किरहेका सोहनलालले सन् १९७० मा उत्पादनमूलक उद्योगमा हात हाले । गोल्यान समूहको पहिलो उद्योग बन्यो— कपडा उद्योग ।

१६ वर्षको उमेरमै व्यापार र उद्योगमा आबद्ध पवन गोल्यान टिनएजमै म्याचुअर भइसकेका थिए । फ्यामिली बिजनेसलाई अगाडि बढाउँदै लगेका गोल्यान अहिले ६१ वर्षको वयमा समेत व्यापार र उद्योगमा सक्रिय छन्— तर फरक तरिकाले ।

गोल्यान गु्रपले नेपालको सबैभन्दा ठूलो धागो उद्योग रिलायन्स स्पिनिङ मिलमा एमएस समूहसँग मिलेर लगानी गरेको छ । एउटै उद्योगमा सबैभन्दा धेरै चार हजार रोजगारी यसमा सिर्जना भएको छ । गोल्यान समूहले रियलस्टेटमा वेस्टार प्रोपर्टिज, द रेसिडेन्स त्यस्तै हस्पिटालिटी क्षेत्रमा ह्यात प्लेस होटल, बैङ्किङमा एनएमबी बैङ्क, एनआईसी एसिया बैङ्क, बिमामा नेपाल लाइफ र एसियन लाइफमा लगानी गरेको छ । उत्पादनमूलक क्षेत्रमा रिलायन्स स्पिनिङ मिल, ट्रिकट इन्डस्ट्रिज, शिवम् प्लास्टिक इन्डस्ट्रिज, धनलक्ष्मी सिन्टेटिक, हिमाली पश्चिना उद्योग छ । त्यस्तै ऊर्जामा ४६ मेगावाटको अप्पर बलेफी हाइड्रो, ३६ मेगावाटको बलेफी, २५ मेगावाटको भोटेकोसी खोला, ९७ मेगावाटको केएनबीआर इस्वा हाइड्रोपावरमा गोल्यान गु्रपको लगानी छ । गु्रपले नेपालगन्जमा २० मेगावाटको सोलार पावर प्लान्टमा पनि लगानी गरिसकेको छ ।

दुबईमा रियल इस्टेटको सफल व्यवसाय गरिसकेका गोल्यान धागो निर्यातमा विश्वका विभिन्न मुलुकसँग पनि जोडिइसकेका छन् । लगानीलाई विविधीकरण गरिरहेको गोल्यान गु्रपले ‘फ्युचर बिजनेस’मा पनि आफ्नो रोडम्याप तयार पारिसकेको छ । सोलार, हाइड्रोलाई भविष्यमा तीव्र रुपमा बढाउने गरी अघि बढेको यो समूह कपडामा प्रिमियम ब्रान्ड र आधुनिक कृषिमा व्यावसायिक रुपमा अघि बढ्न तयार छ ।

धागो ब्रान्डमा नेपालमा प्रिमियम क्लोथिङ ब्रान्ड ल्याउने गरी गु्रप तयारीमा जुटेको छ । कृषिमा काम गर्न एक हजार बिघा जग्गाको योजना बनाइरहेको छ । ‘हामी व्यवसायमा विविधीकरण त गरिरहेकै छौं । भविष्यमा जाने व्यवसायका विषयमा पनि रुपरेखा तयार भइसकेको छ,’ गोल्यानले भने, ‘नेपालमा व्यावसायिक वातावरण सुधार हुँदै गएको छ, हामी वातावरणअनुसार नै लगानी विस्तार गर्दै अघि बढिरहेका छौं ।’

अहिले गु्रपको बिजनेस तेस्रो पुस्ताले सम्हालन थालिसकेको छ । सोहनलाल गोल्यानले सुरु गरेको बिजनेस अम्पायर दोस्रो पुस्ता पवन गोल्यान, वासुदेव गोल्यान, शक्ति गोल्यान, लटिका गोल्यान हुँदै तेस्रो पुस्ता अनन्त गोल्यान र अक्षय गोल्यानसम्म आइपुगेको छ ।

‘अब म कोर बिजनेसमा धेरै एक्टिभ हुँदिनँ होला,’ व्यवसायको लामो रेस दौडिसकेका गोल्यानले भने, ‘म कृषि क्षेत्र र सामाजिक उत्तरदायित्वको काममा बढी सक्रिय हुन्छु । मुख्य व्यवसाय छोराहरुले हेर्ने भएपछि मलाई फुर्सद हुन थालेको छ । यो समयमा म कृषिमा बढी जोडिन चाहन्छु । कृषिमा बढी समस्या र चुनौती छ भनेर धेरै हल्ला भयो, म यो क्षेत्रमा छिरेपछि थाहा भयो कृषिबाट धेरै गर्न सकिन्छ ।’ त्यसैले सामाजिक र व्यावसायिक रुपमा नै कृषिलाई अघि बढाउने गरी लागेको उनले बताए ।

गोल्यानले पाँच वर्षअघि लम्कीबाट कृषिमा हात हालेका थिए । स्थानीयलाई सहभागी गराएर गाई, कुखुरापालन, तरकारी खेती र टपरी उद्योग सञ्चालन गरेका गोल्यान अहिले झापा र इलामको शान्तिनगर, बुद्धनगरलगायत १५ गाउँमा स्थानीयकै सहभागितामा स्थानीयकै जग्गामा कृषि उत्पादनमा लागेका छन् ।

स्थानीयलाई कृषिको आधुनिक सीप दिएर गाईपालन, धान, मकैखेती, तरकारी उत्पादन, फलफूल उत्पादन, माछापालनमा अग्रसर भएका गोल्यानले गाउँलेसँग नै मिलेर कृषिलाई बजारमा पठाउने च्यानल पनि बनाउँदै छन् ।

‘हामी हाइड्रोमा त हात हालिसकेका छौं । अब कृषिमा पनि नयाँ तरिकाले अगाडि बढ्न काम भएको छ,’ उनले भने । सन् २०२५ मा हामीले हाइड्रोमा ५ सय मेगावाट पु¥याउँछौं ।’ त्यही समयमा कृषिमा पनि उत्पादन बढाएर आयात घटाउने योजनामा रहेको उनले बताए ।

गोल्यानले पूर्वमा स्थानीयसँग गाईपालन गर्दा सहकारी बनाएर काम थालेका छन् । किसानले एकएक लाख राख्ने र गोल्यानले २० लाख राखेर गाईपालन सुरु भएको छ । गोल्यानले दिएको २० लाखको ब्याज किसानले तिर्नुपर्दैन । गाईपालनबाट नाफा हुँदै गएपछि बिस्तारै किस्ताबन्दीमा तिर्ने गरी उनले सहयोग पु¥याइरहेका छन् । गोल्यानकै सहयोगमा गाईपालनका लागि केही किसान भारतको हरियाणामा पुगेर तालिम पनि लिए ।

उनले यही मोडल १५ गाउँमा पु¥याइरहेका छन् । प्युठानमा पनि दूध चिस्याउन स्थानीयलाई सघाएका छन् । प्युठानका तीन गाउँको बीचमा ४ हजार लिटरको मिल्क चिलिङ प्लान्ट लगाउन स्थानीयलाई सहयोग गरेका गोल्यानले उत्पादन भएर बिक्री भएपछि बिस्तारै बिनाब्याज पैसा फिर्ता गर्ने गरी लगानी गरेका हुन् ।

‘अहिले म किसानको सशक्तीकरणमा लागेको छु,’ उनले भने । किसानको स्वामित्व र सुविधा बढाउने, सीप सिकाउने, सिँचाइमा सहयोग गर्ने गरी काममा खटेको उनको भनाइ छ । अहिले १५ गाउँका स्थानीयलाई सहभागिता गराएर कृषिमा जोड दिइरहेका गोल्यानले चाँडै ५० गाउँका स्थानीयलाई पनि सँगै अघि बढाएका छन् ।

‘नेपालमा किसानमा धेरै पीडा छ,’ उनी भन्छन्, ‘वर्षभरिमा ३० प्रतिशत जोतेकै हुँदैन, ७० प्रतिशतमा एक फसल मात्र उत्पादन हुन्छ । सरकारी सहयोग पर्याप्त छैन अनि कसरी उत्पादन बढ्छ ?’

अहिले नेपालमा वार्षिक १२ अर्बभन्दा बढीको तरकारी र फलफूल आयात भइरहेको छ, जसमा विषादीको मात्र पनि अत्यधिक छ । ‘हामी पैसा तिरेर विष खान बाध्य छौं,’ उनले भने । तीनदेखि पाँच वर्षभित्र विषादीरहित तरकारी र फलफूल उत्पादन गरेर आयात निरुत्साहित गर्ने गरी व्यावसायिक रुपमा कृषिमा अगाडि बढेको उनले बताए । कृषिमा पहिलो सर्त नै विषादीरहित उत्पादन रहेको उनको भनाइ छ । ‘हामीले वर्षमा पाँच ओटा खेती गर्ने गरेर काम थालेका छौं, धानको मात्र वर्षमा दुई पटक खेती हुन्छ,’ उनले भने ।

किसानलाई आबद्ध गरेर सामाजिक उत्तरदायित्वमा कृषिमा लागेका गोल्यान व्यावसायिक रुपमा कृषिलाई अँगालिसकेका छन् । किसानसँगको सामीप्य र उनीहरुलाई सहयोग पु¥याउन थालेपछि यसलाई अझ व्यावसायिक बनाउनुपर्छ भनेर अगाडि बढेको उनले बताए ।

तत्काल व्यावसायिक कृषिका लागि उनले आफूले छुट्टै दुई सय बिघामा योजना बनाइसकेका छन् । ८० बिघा जग्गा खरिद गरेर काम थालेका गोल्यान किसानलाई बिचौलियाबाट टाढा राख्न ‘फार्म टू टेबल’ अवधारणामा जाँदै छन् । ‘भविष्यमा १ हजार बिघामा कृषिक्षेत्रमा काम गर्ने मेरो योजना छ,’ उनले भने ।

सहभागितामा आधारित स्थानीय किसानको उत्पादन या आफ्नै फार्मको उत्पादन नै किन नहोस्, उनी त्यो आफ्नै बिक्री च्यानलबाट देशभर पु¥याउन लागिपरेका छन् । ‘हामीले उत्पादन गरेको कृषि उपजलाई ब्रान्ड दिएर देशभर पु¥याउन चाहन्छौं, अहिले ठ्याक्कै यही विषयमा काम भइरहेको छ,’ उनले भने । किसानलाई बिचौलिया ठगिरहेका छन्, आफ्नो उपजको उचित मूल्य पाइरहेको अवस्था छैन, त्यो हटाउन जरुरी रहेको उनले बताए ।

गाउँलेहरुले तरकारी खेती र आफूले गर्ने फार्ममा फलफूल लगाउने गोल्यान बताउँछन् । तरकारी खेती ४० दिनदेखि ९० दिनमा हुन्छ । तर फलफूल १ वर्षदेखि २ वर्षसम्म लाग्छ । त्यसैले किसानले धेरै धैर्य गर्न नसक्ने भएकाले आफू व्यावसायिक फलफूल खेतीमा लागेको उनको भनाइ छ ।

‘कृषिमा अरु व्यवसायमा जस्तो चेक काटेर मात्र पुग्दैन, फिल्डमा नै जानुपर्छ,’ कृषिमा रस पसिसकेका गोल्यानले भने, ‘म महिनाको चारपाँच दिन कृषि फार्ममा नै गएर बस्छु ।’

कृषिमा आफू राम्रोसँग लागेपछि अरु उद्योगीलाई पनि प्रेरित गर्ने उनले बताए । यसमा देशका ठूला उद्योगी व्यापारीको सहभागिता भयो भने आयात स्वतः घट्छ, त्यसपछि हामीले निर्यातमा जोड गर्ने हो,’ उनले आफ्नो योजना सुनाए ।

क्यापिटल म्यागजिनबाट