काठमाडौंमा नक्कली सुनका गहना देखाएर ठगी गर्ने गिरोह सक्रिय, कोटेश्वर क्षेत्रका नक्कली सुन व्यापारी पक्राउ

गएको ३–४ वर्ष यता नक्कली सुनका गहनालाई सक्कली भन्दै विभिन्न व्यक्तिलाई ठगी गर्ने परियारलाई महानगरीय प्रहरी वृत्त कोटेश्वरको टोलीले काठमाडौंको जडीबुटीबाट गएको पुस १२ गते पक्राउ गरेको हो ।

नक्कली सुनका गरगहनालाई सक्कली भन्दै ठगी गर्ने ललितपुर उपमहानगरपालिका १३ का राजु परियारलाई प्रहरीले पक्राउ गरेको छ ।

गएको ३–४ वर्ष यता नक्कली सुनका गहनालाई सक्कली भन्दै विभिन्न व्यक्तिलाई ठगी गर्ने परियारलाई महानगरीय प्रहरी वृत्त कोटेश्वरको टोलीले काठमाडौंको जडीबुटीबाट गएको पुस १२ गते पक्राउ गरेको हो ।

नक्कली सुनका गहना भन्दै परियारले रवि तामाङ र रमेश मगरलाई ठगी गरेपछि प्रहरीले परियारलाई नियन्त्रणमा लिएको हो । केही समय तामाङले परियारबाट २ लाखका गहना किनेका थिए । त्यसैगरी अर्का पीडित रमेश मगरले १ लाख ९० हजारका गहना किनेका थिए ।

उनीहरु दुवैजनाले गहना धितो राखी पसलबाट ऋण लिन खोज्दा नक्कली गहना भएको खुलेपछि परियारको ठगीधन्दा बाहिर आएको हो । परियारले यसरी धेरै जनालाई ठगी गरेको हुनसक्ने प्रहरीको अनुमान छ ।

‘ललितपुरमा घर भएका परियारले पेप्सीकोलामा कोठा भाडामा लिएर बसेको देखियो, नक्कली गहनाको व्यापार गर्नकै लागि कोठा लिएका रहेछन्,’ काठमाडौं प्रहरी प्रमुख एसएसपी बसन्त लामाले भने ।

प्रहरीका अनुसार परियारले नक्कली गहनालाई सक्कली भन्दै कोटेश्वर क्षेत्रमा विभिन्न व्यक्तिलाई बिक्री गर्दै आएका थिए । परियारको नक्कली धन्दाबारे प्रहरीलाई पनि केही सूचना थियो । तर उनका बारेमा उजुरी नपरे पनि प्रहरीले उनलाई रेकी गर्दै आएको थियो ।

जब उनको नाममा ठगीको जाहेरी पर्यो प्रहरीले गएको १२ गते पेप्सीकोलाबाट पक्राउ गर्यो र उनको भाडाको कोठामा खानतलासी गर्यो । परियारको कोठाबाठ प्रहरीले विभिन्न प्रकारका नक्कली सुन तथा पत्थर भएका औंठी एवम् सिक्रीहरु बरामद गरेको छ ।

सुनजस्तै र सुन पसलमा पाउने जस्तै डिजाइनका बेरुवा औंठी, मुगाजस्तै देखिने नक्कली पत्थर राखेका औंठी र विभिन्न प्रकारका सिक्रीहरु प्रहरीले परियारको कोठाबाट बरामद गरेको छ ।

तयारी अवस्थामा रहेका नक्कली सुनका १० थान सिक्री, ३२ थान बेरुवा औंठी, १ थान बास्रलेट, कानमा लगाउने रिङ, टप लगायतका नक्कली गहना परियारको साथबाट बरामद गरिएको एसएसपी लामाले बताए ।

परियारले विभिन्न व्यक्तिलाई सस्तोमा गहना बिक्री गर्ने र उनीहरुलाई पसलमा नदेखाउन समेत आग्रह गर्ने गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार परियारले ठगी धन्दाबारे कसैले पत्तो नपाउन् भन्न नक्कली सुन किन्नेलाई ‘भन्सार छलीको सुनबाट बनाएका गहना हुन्, बिल हुँदैन, पसलतिर न देखाउनु होला, भोलि गहना जफत भए म जिम्मेवारी छैन,’ भन्दै मानिसलाई तर्साउने गरेका थिए ।

परियारले नक्कली गहना धेरैलाई बिक्री गरेको हुनसक्ने भन्दै कोही पीडित भए प्रहरीमा आउन एसएसपी लामाले आग्रह गरेका छन् । ‘परियारले धेरैलाई ठगी गरेको भन्ने हाम्रो ठहर छ, यदि कोही हुनुहुन्छ भने प्रहरीमा खबर गर्नुस्,’ एसएसपी लामाले भनेका छन् ।

पक्राउ परेका परियारलाई प्रहरीले ठगीमा मुद्दा दायर गरी अनुसन्धान थालेको छ ।

व्यक्तिबाट सुन किन्दै हुनुहुन्छ ? नक्कली पर्न सक्छ : प्रहरी
बजारमा नक्कली सुनका गहना देखाएर ठगी गर्ने गिरोह सक्रिय रहेको भन्दै प्रहरीले व्यक्तिबाट सुनका गहना किन्दा होस् पुर्याउन आग्रह गरेको छ ।
हेर्दा सुन जस्तै देखिने गहना सुनका नहुन सक्छन्, फेरि सस्तोमा पाइयो भन्दै किन्नेहरु धेरै रहेको भन्दै प्रहरीले त्यसरी सुन खरिद नगर्नसमेत सबैलाई सचेत गराएको छ ।

‘नक्कली सुनको कारोबार गर्ने गिरोह धेरै छन् भन्ने सूचना आएको छ, केहीलाई हामीले रेकी गरेका छौं, केहीलाई छिट्टै पक्राउ गर्दैछौं,’ महानगरीय प्रहरी प्रमुख एसएसपी बसन्त लामाले भने ।