खाडी जान अध्यागमनको रेट १ लाख १५ हजार !

युवतीहरुलाई भने भारतको नयाँ दिल्ली, चेन्नई, मुम्बईबाट १ लाख ५० हजार रुपैयाँभन्दा बढी रकम लिएर खाडी मुलुक यूएईलगाएत विभिन्न देश पठाउने गरेको स्रोतले क्यापिटलनेपाललाई जानकारी दियो । गत साता मात्र १ लाख १५ हजार रकम खर्चेर यूएई पुगेका एक व्यक्ति दुबईमै क्यापिटलनेपालसँग भने, ‘रकम खर्च गरेपछि केही हुँदैन । मैले १ लाख १५ हजार तिरेको थिएँ । सेटिङ पहिल्यै मिलिसकेको थियो । सरासर आएँ, मलाई कसैले रोकेनन् ।’

मानव तस्करहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अध्यागमन, प्रहरी र विभिन्न एयरलाइन्सका कर्मचारीसँग सेटिङ मिलाएर भिजिट भिसामा बेरोजगार युवालाई खाडी मुलुक पठाउने गरेका गुनासो एवम् उजुरी परेपछि सरकारले त्यसमा केही कडाइ त गर्यो । तर पनि मानव तस्कर रोकिएन।

भिजिट भिसामा बिदेसिनेहरु सम्बद्ध देशमा पुगेर बिचल्ली पर्ने गरेको गुनासोको चाङ बढ्दै गएपछि सरकारले २०७३ मा संसदीय समिति नै खाडी मुलुकमा अनुगमन गर्न पुग्यो । अनुगमनबाट फर्किएपछि समितिले भिजिट भिसा बन्द गर्न सरकारलाई सुझायो। फलस्वरूप सरकारले भिजिट भिसामा खाडी मुलुक जानेहरूबारे बढी निगरानी गर्न थाल्यो। तर त्यसपछि पनि मानव तस्करी बीसको उन्साइस भएन।

आखिर किन घटेन त तस्करी ? प्रश्न स्वाभाविक छ ।
सरकारले अध्यागमनमा कडाइ गरेपछि मानव तस्करहरूको व्यापार भने झनै फस्टायो । अनुसार बिचौलिया, अध्यागमन र एयरलाइन्सका कर्मचारीको मिलेमतोमा एक जना बराबर १ लाख १५ हजार बढी रकम लिएर विदेश पठाउने क्रम बढेको स्रोत बताउँछ । यससँगै मानव तस्कर हुने क्रममा पनि वृद्धि आयो ।

युवतीहरूलाई भने भारतको नयाँ दिल्ली, चेन्नई, मुम्बईबाट १ लाख ५० हजार रुपैयाँभन्दा बढी रकम लिएर खाडी मुलुक यूएईलगाएत विभिन्न देश पठाउने गरेको स्रोतले क्यापिटलनेपाललाई जानकारी दियो । गत साता मात्र १ लाख १५ हजार रकम खर्चेर यूएई पुगेका एक व्यक्ति दुबईमै क्यापिटलनेपालसँग भने, ‘रकम खर्च गरेपछि केही हुँदैन । मैले १ लाख १५ हजार तिरेको थिएँ । सेटिङ पहिल्यै मिलिसकेको थियो । सरासर आएँ, मलाई कसैले रोकेनन्।’

आफूलाई पहिले नै अध्यागमन काउन्टरको नम्बरै तोकेर जान भनिएको र आफूले सोहीअनुसार काम गरेपछि आउन सजिलो भएको उनको भनाइ छ । ‘मलाई यति नम्बर काउन्टरमा जानू भनिएको थियो’, उनले भने,‘‘त्यहाँ गएँ, खासै कसैले वास्ता गरेनन् ।’ तर उनीसँगै भ्रमणका लागि दुबई जान लागेका अर्का युवालाई भने रोकिएको थियो।

क्यापिटलसँग ती युवाले भने, ‘मेरोभन्दा अघिल्लो लाइनमा बसेका एक जना युवा थिए, उनका बाबु दुबईमा २० वर्षदेखि बस्दै आएका रहेछन्, बाबु भेट्न जान लागेका उनलाई भने अध्यागमनले फर्कायो। भिजिट भिसामा जान मिल्दैन भनेर जुन व्यक्तिले उनलाई फर्काएका थिए, मलाई उनले केही नबोली पठाए ।’

मानव तस्करले युवाहरूबाट मोटो रकम असुलेर खाडीमा लगेर अलपत्र छाड्ने गरेको भन्दै सरकारले भिजिट भिसामा कडाइ गरेको दाबी गरे पनि बिचौलियालाई त्यसबाट फाइदा पुगेको छ । स्रोतका अनुसार ३ महिना अघिसम्म सेटिङ मूल्य ३५ हजार मात्र थियो । सरकारले भिजिट भिसामा कडाइ नगर्दा भने त्यसको रेट ५ हजार रुपैयाँ मात्र थियो ।

तर जब सरकारले भिजिट भिसामा खाडी जानेहरूमाथि निगरानी बढायो, सेटिङको मूल्य ह्वात्तै बढ्यो र पुग्यो— १ लाख १५ हजार । नाम उल्लेख नगर्ने सर्तमा राजधानीको एक ट्राभल्समा काम गर्ने कर्मचारीले भने,‘‘अहिले सेटिङको मूल्य बढेको छ। पैसा खर्च गरेर हिजो पनि जान सकिन्थ्यो, आज पनि त्यो कायम छ ।’

उनका अनुसार दैनिक ५० भन्दा बढी युवा सेटिङमार्फत गरेर विमानस्थल पास हुन्छन् । ‘धेरै कुरा मलाई थाहा छैन, १० जनाभन्दा बढीले त्यस्तो सेटिङको काम गर्छन्, उनीहरूले काट्न लगाएका टिकट अहिलेसम्म खेर गएका पनि छैनन्,’ उनले भने, ‘हतारमा टिकट काट्दा मार्जिन पनि राम्रै बस्छ ।’

भिजिट भिसामा खाडी मुलुक जानेहरूलाई कडाइ गर्न सरकारले नै नियम बनाएको र त्यसलाई आफूहरूले कार्यान्वयन मात्र गरेको अध्यागमन विभागका प्रमुख ईश्वराराज पौडेल बताउँछन् । उनले विमानस्थलमा कुनै प्रकारको सेटिङ नभएको दाबी गरे । ‘विमानस्थलमा काम गर्ने कर्मचारीमाथि निगरानी बढाएका छौं, सेटिङ रोक्न हदै प्रयास भएको छ,’ उनले भने । (दुबईबाट फर्किएपछि)