चटपट बेच्दाबेच्दै सुन्दरी प्रतियोगितामा

‘जीवनमा उद्देश्य के लिनुभएको छ ?,’ हामीले अर्काे प्रश्न सोध्यौं । मायाले मुस्कानसहित जवाफ दिइन्, ‘जिन्दगीका हरेक आरोहअवरोहसँग जुधेर आफ्नो गोरेटो आफैं बनाउ सफल भएँ । अब बाँकी जीवनमा धेरै नपढेका, पढ्न नपाएका र आर्थिक रूपमा विपन्नहरूका लागि केही गर्ने योजना छ ।’

पोखराको गौडामुखमा चटपटमा अनेकन मसला मिलाउँदा उनले धेरै रहर पनि मिसाइन्, घोलिन् र पोको पार्दै ग्राहकलाई दिइन् । ती रहर भविष्यसँग जोडिन्थे । ती घोलिएका रहरलाई एउटै सपनामा मिश्रण गरेकी थिइन्, माया गुरुङले ।

मायाले जीवनमा धेरै अनुभव गरिन् । परिवार, वैदेशिक रोजगार, पारिवारिक विखण्डन, आत्मविश्वास र लगनशीलता । त्यसैले जीवनका सुन्दर पक्षलाई सम्झेर उनी मुस्कुराउँछिन् । ‘चटपट बेच्दाबेच्दै मनमा अनेक कुरा खेल्थे,’ मायाले मनको कुरा पोखिन्, ‘देशमा भएको परिवर्तन र महिलाहरू अगाडि बढेको देख्दा म आफैंलाई नियाल्ने गर्थें ।’ जीवनलाई कसरी अगाडि लैजान र भविष्यमा के गर्ने भन्ने दोधार थियो ममा । अब जीवनमा केही गर्छु भन्ने लागेको उनको भनाइ छ । पोखराको सुन्दरी प्रतियोगिताको टप १५ मा पुगेकी मायाले आत्मविश्वासले आफूलाई दह्रो बनाएको बताइन् ।
उनमा यो आत्मविश्वास एकैपटक पलाएको भने होइन । जीवनमा खाएको हन्डर एवम् निराशासँग जुध्दाजुध्दै उनमा आत्मविश्वास पनि विस्तारै बढ्दै गएको हो । जति दुःख पाए पनि उनले कहिल्यै हिम्मत भने हारिनन् ।

लमजुङको करापुरटारमा जन्मिएकी माया गुरुङले आठ कक्षाभन्दा बढी पढ्न भने पाइनन् । १९ वर्षको उमेरमा गाउँमा एक युवकसँग प्रेम विवाह गरिन् । विवाहको ३ वर्षपछि श्रीमान् वैदेशिक रोजगारीका लागि दुबई गए । श्रीमान्ले दुबईबाट पैसा पठाएर व्यवसाय गर्ने योजना बनाएकी मायालाई श्रीमान्ले साथ दिएनन् । श्रीमान्ले वर्ष दिनसम्म पनि पैसा पठाएनन्, उल्टै उनी बिस्तारै टाढिन थाले ।

जीवनमा जसलाई आफूभन्दा बढी माया गरेर विश्वास गरेर नाता जोडिएको थियो, उसैबाट भएको अविश्वास र घातले उनलाई पोल्न थाल्यो । अब आफैं भए पनि केही गर्छु भन्ने जोस उनमा आयो अनि मायाले ऋणधन खोजेर आफैं विदेश जाने सोच बनाइन् ।

२०६७ तिर घरेलु कामदारका रूपमा माया कुवेत पुगिन् । फरक परिवेश, भाषा, धर्मको अनभिज्ञताका हरेक चुनौतीको सामाना गर्न उनी तयार थिइन् । बिस्तारै विदेशको रहनसहन र भाषा बुझ्न थालिन् । त्यतिखेर परदेशमा गरिएको मेहनतबाट आएको १० हजार पाँच सय रुपैयाँले उनलाई निकै आनन्दित तुल्यायो । किनकि त्यो उनको मेहनतको पहिलो कमाइ थियो ।

पटक पटक नेपाल आउनेजाने गर्दै झन्डै ८ वर्ष उनले कुवेतमा बिताइन् । डेढ वर्षअघि उनी नेपाल फर्किइन् । यतिन्जेल आफ्ना सम्झिएका पराइ भइसकेका थिए । श्रीमान्ले अर्को बिहे गरेर उनको बाटोबाट अलग भइसकेका थिए ।

फेरि पनि निराशाभित्र आशाको ज्योति एवम् ओठमा मुस्कान खोज्ने प्रयासमा जुटिन् माया । कामबिना एकछिन पनि आफूलाई फुर्सदिलो बनाउन नचाहने मायाले ६ महिना ब्युटी पार्लरको काम सिकिन् । मेहेन्दीको स्पेसल कोर्स पनि गरिन् । एक वर्ष अरुको पार्लरमा भोलेन्टियर काम पनि गरिन् । तर पनि आयआर्जनको पक्ष भने सबल हुने कुनै छाँट देखिएन ।

त्यसपछि उनको बाटो मोडियो – फरक पेसातर्फ ।

त्यसपछि पोखराको गौडाको मुखमा फ्रेस कटिङ फ्रुट र जुसको व्यापार गर्न लागिन् । व्यापार राम्रो हुन थाल्यो । आउने ग्राहकले चटपटे र पानीपुरी पनि राख्न आग्रह गर्न थालेपछि अहिले उनको व्यापारमा चटपटेले नै चमक ल्याइदिएको छ । दैनिक ४ देखि ५ हजार रुपैयाँसम्म व्यापार हुने भएपछि उनलाई उत्साहित बनायो ।

एक मध्याह्न राष्ट्रिय सौन्दर्यकर्मी युनियनकी अध्यक्ष सुमन गुरुङ र महासचिव पवी गुरुङ उनले चटपट बनाइरहँदा आइपुगे । त्यसपछि उनले आफूलाई अहिले फरक भूमिकामा उभ्याइरहेकी छिन् ।

पोखरामा नाल्मा तमु समाजले मिसेज गुरुङ नेपाल २०७४ आयोजना गरेको जानकारी सुमन र पवीले दिए पनि उनलाई सुरुमा सहभागी हुन आँटै आएको थिएन । तर उनीहरूले एकपटक प्रयास गर्न भने । त्यसपछि ३४ वर्षीया मायाले मिसेस गुरुङ प्रतियोगितामा सहभागिता जनाइन् । अहिले उनी ताजका लागि १५ जनाभित्र प्रतिस्पर्धा गरिरहेकी छिन् ।

प्रतियोगितामा सहभागी भएपछि एक महिनाको विशेष तालिमले उनमा आत्मविश्वास जागेको छ । यही आत्मविश्वासको टेकोले उनलाई अहिले निर्धक्क बोल्न र मुलुकको समसामयिक विषयमा कुरा राख्न सक्ने बनाएको छ । प्रतियोगितामा उनले ट्यालेन्ट सोमा समेत चनाचटपट बनाएर आफ्नो मेहनत प्रस्तुत गरिसकेकी छन् । त्यसबाट सबैको मन पनि जित्न सफल भएकी छिन् ।

कुराकानीका क्रममा हामीले उनलाई सोध्यौं, ‘ताज जित्नेमा कत्तिको आशावादी हुनुहुन्छ ?’

‘औपचारिक रूपमा ताज मेरो शिरमा पर्ला/नपर्ला त्यो प्रतियोगिताको अन्तिम नतिजाले भन्ला,’ उनले भनिन्, ‘तर, यहाँसम्मको यो सहभागितासँगै तालिमले उत्साह, उमङ्ग र आत्मविश्वासको ताज पहिरिसकेको अनुभव भएको छ ।’

‘जीवनमा उद्देश्य के लिनुभएको छ ?,’ हामीले अर्काे प्रश्न सोध्यौं । उनले मुस्कानसहित जवाफ दिइन्, ‘जिन्दगीका हरेक आरोहअवरोहसँग जुधेर आफ्नो गोरेटो आफैं बनाउ सफल भएँ । अब बाँकी जीवनमा धेरै नपढेका, पढ्न नपाएका र आर्थिक रूपमा विपन्नहरूका लागि केही गर्ने योजना छ ।’