सिमेन्ट तथा पक्की घरभन्दा पनि चिसोलाई मध्यनजर गर्दै काठका अत्याधुनिक होटल निर्माण भइसकेका छन् भने कति बन्ने क्रममा छन् । सय जनासम्म बस्न सकिने क्षमताका ती होटलहरु सुविधासम्पन्न छन् । जापानिज स्टाइलका रङ्गी चङ्गी ती होटल कुरीको माथिल्लो र सोहि क्षेत्रमा निमार्ण भइरहका छन् ।
काठमाडौं : पछिल्लो समय दोलखा कालिञ्चोकको कुरी क्षेत्रमा ठूलो लगानीमा होटल निर्माण भइरहेका छन् । १५ दिन अघिदेखि सञ्चालनमा आएको कालिञ्चोक केबल कारका कारण पर्यटकको आगमन बढेसँगै कालिञ्चोक कुरी र त्यस क्षेत्रवरिपरी पर्यटक लोभ्याउने व्यवस्थित होटल बन्न सुरु भएका हुन् । अहिले त्यस क्षेत्रमा दुई दर्जनभन्दा बढी साना ठूला होटल सञ्चालन भइरहेका छन् ।
एक करोडदेखि पाँच करोड रुपैयाँको लगानीमा व्यवस्थित होटल बन्दै गएको कालिन्चोक केबलकारका प्रबन्ध निर्देशक अशोक शिवाकोटीको भनाइ छ । उनका अनुसार सिमेन्ट तथा पक्की घरभन्दा पनि चिसोलाई मध्यनजर गर्दै काठका अत्याधुनिक होटल निर्माण भइसकेका छन् भने कति बन्ने क्रममा छन् । सय जनासम्म बस्न सकिने क्षमताका ती होटलहरु सुविधासम्पन्न छन् । जापानिज स्टाइलका रङ्गी चङ्गी ती होटल कुरीको माथिल्लो र सोहि क्षेत्रमा निमार्ण भइरहका छन् ।
कालिन्चोक केबलकार प्रालिका सञ्चालक बालकृष्ण शिवाकोटीले मङ्सिरभन्दा पुसमा पर्यटकको अगमन ५० प्रतिशतले वृद्धि भएको बताए । केबलकार सञ्चालनको पूर्ण व्यवस्थापन नभएको भन्दै उनले एक महिनाभित्र केबलकारसम्बन्धी सम्पूर्ण काम सक्ने दाबी गरे । ‘अहिले मन्दिर वरपर पनि खानपान तथा चिया नास्ताको सुविधा छैन, सुरक्षाका हिसाबले पनि सीसी क्यामेरा जडान एक डेढ महिनामा सक्ने योजना बनाएका छौँ,’ शिवाकोटीले भने ।
तर, दैनिक तीनदेखि चार हजार पर्यटक आए पनि कुरी क्षेत्रमा अहिले भएका यहाँका होटलहरुमा एक हजार पर्यटका लागि मात्र सेवा दिने क्षमता छ । यसले गर्दा पर्याप्त बस्ने व्यवस्था नहुँदा पर्यटक अहिले चरिकोटका होटलमा जाने गरेको शिवाकोटीले बताए । कुरी क्षेत्रका होटलले पर्यटकलाई व्यवस्थापन गर्न नसक्दा गत हप्ता तीन सय पर्यटक फर्किएको शिवाकोटीको भनाइ छ ।
सदरमुकाम चरिकोटबाट १७ किलोमिटर दुरीको कालिन्चोकस्थित कुरी उपत्यका यतिखेर आन्तरिक तथा बाह्य पर्यटकले खचाखच छ भने होटल तथा स्थानीय व्यवसायी पनि त्यसबाट ठूलै लाभ लिइरहेका छन् । विशेषगरी शुक्रबार र शनिबार सदरमुकामका होटलमा पर्यटक खचाखच हुने चरिकोट इन होटलका सञ्चालक सुमन केसीले जानकारी दिए । त्यस्तै सुनपाी होटलका सञ्चालक हरि ओलीले पनि पर्यटक व्यवस्थापन गर्न भ्यानभ्याई रहेको जानकारी दिए । कालिञ्चोक मन्दिर दर्शन गर्न दैनिक सयभन्दा बढी पर्यटकले होटलबाट सेवालिने उनको भनाई छ ।
कालिञ्चोक केबलकारका प्रबन्ध निर्देशक अशोक शिवाकोटीका अनुसार शुक्रबार र शनिबार मोटरसाइकल र जीपको ताँती नै लाग्छ । मेचीदेखि महाकालस्सम्मका भक्त कालिन्चोक भगवती मन्दिर पुग्ने आशले पुग्ने गरेको उनले बताए । पछिल्लो पटक भारतीय पर्यटक पनि कान्चिोक मन्दिरप्रति आकर्षित भएको उनको दाबी छ ।
कालिन्चोक कन्ट्री भिल्लाका एमडी नोर्बु लामा चरिकोट तथा राजधानीबाट आउने पर्यटकलाई व्यवस्थापन गर्न कहिलेकाहीँ त कठिन नै हुने अनुभव सुनाउँछन् । उनका अनुसार कालिञ्चोक केबलकार सञ्चालनमा आए पनि पर्यटक मनोरञ्जनका लागि ४५ मिनेटको बाटा हिँडेरै मन्दिर पुग्ने गरेका छन् । प्रायँ मानिस बजारका होटलमा रात बिताएर भोलिपल्ट देवी कुण्डको दर्शन गर्न उकालो चढ्ने गरेको लामाले बताए ।
मन्दिर रहेको टाकुराबाट गौरीशङ्करसहितका हिमशृङ्खलाको दृश्यावलोकन गर्न सकिन्छ । आँखैअगाडि यतिका हिमाल र टाकुरा देख्दा जोकोही पनि लोभिन्छन् । टाकुराबाट चारैतिर देखिने हिमाल, डाँडाकाँडा तथा घनाजङ्गलले जो कोहीलाई मोहित पार्छ ।
कुरीपूर्वका ठूलठूला घाँसे मैदानमा गल्फ खेलको राम्रो सम्भावनासमेत रहेको स्थानीय व्यवसायीको तर्क छ । पर्यटकलाई सडकबाट आवागमन गर्न असहज भएको भन्दै कालिन्चोक केबलकारका प्रतिनिधिले नै सडकको स्तरोन्नति गरिरहेका छन् ।