सिमेन्ट उद्योगको अर्बौं लगानी जोखिममा

हाल १४ उद्योगले आफै क्लिङ्कर उत्पादन गर्छन् भने क्लिङ्कर उद्योगहरू अझै थपिँदै छन् । नेपालका ४५ ओटा सिमेन्ट उद्योगमध्ये ३१ ओटा उद्योगले भारतबाट क्लिङ्कर आयात गरी सिमेन्ट बनाएर बिक्री गर्छन् । ती ३१ ओटा उद्योगको २५ अर्ब रुपैयाँभन्दा बढी लगानी जोखिममा परेको व्यवसायीको भनाइ छ ।

सरकारले क्लिङ्कर आयातमा देखिएको समस्या समाधान गर्न नसक्दा सिमेन्ट उद्योगको अर्बौ रुपैयाँ लगानी जोखिममा पर्ने देखिएको छ । भारतबाट क्लिङ्कर आयात गर्ने र नेपालमा सिमेन्ट बनाएर बिक्री गर्दै आएका ३० भन्दा बढी उद्योगको लगानी जोखिममा पर्दै गएको व्यवसायीहरुले बताएका छन् ।

हाल १४ उद्योगले आफै क्लिङ्कर उत्पादन गर्छन् भने क्लिङ्कर उद्योगहरू अझै थपिँदै छन् । नेपालका ४५ ओटा सिमेन्ट उद्योगमध्ये ३१ ओटा उद्योगले भारतबाट क्लिङ्कर आयात गरी सिमेन्ट बनाएर बिक्री गर्छन् । ती ३१ ओटा उद्योगको २५ अर्ब रुपैयाँभन्दा बढी लगानी जोखिममा परेको व्यवसायीको भनाइ छ ।
३१ ओटा उद्योगले कुल सिमेन्ट बजारको ४० प्रतिशतभन्दा बढी बजार हिस्सा ओगटेको कसमस सिमेन्ट इन्डस्ट्रिजका प्रबन्ध निर्देशक प्रबलजङ्ग पाण्डले जानकारी दिए । उनका अनुसार अहिले खासगरी क्लिङ्कर आयात गरेर सिमेन्ट उत्पादन गर्ने कम्पनी समस्यामा परेका हुन् ।

वीरगन्जमा भएका उद्योगले वीरगन्जबाटै क्लिङ्कर ल्याउन नपाउनेबित्तिकै उनीहरुको लगानी जोखिममा पर्ने व्यवसायीहरु बताउँछन् । आफै क्लिङ्कर उत्पादन गरेर सिमेन्ट बनाउनेसँग विराटनगर तथा भैरहवाबाट क्लिङ्कर ल्याएर सिमेन्ट बनाउने उद्योगले प्रतिस्पर्धा गर्न नसक्ने हुँदा लगानी जोखिममा पर्ने पाण्डेले जानकारी दिए ।

वीरगन्जमा भएका १५ भन्दा बढी सिमेन्ट उद्योग सबैभन्दा बढी मारमा परेको सिमेन्ट उत्पादक सङ्घका अध्यक्ष ध्रुव थापाले जानकारी दिए । ‘वीरगन्जमा भएका सिमेन्ट उद्योगले भैरहवा तथा विराटनगरबाट क्लिङ्कर ल्याएर सिमेन्ट बनाउँदै आएका छन्,’ उनले भने, ‘ती उद्योगले उत्पादन गरेको सिमेन्टको मूल्य अन्य उद्योगको तुलनामा महँगो हुने नै भयो ।’

केही समयदेखि भारतीय पक्षले वीरगन्जको रक्सौलबाट नेपालतर्फ क्लिङ्कर ल्याउन नदिएकाले त्यसको प्रत्यक्ष मर्कामा वीरगन्जका सिमेन्ट उद्योग परेका छन् । ‘अन्य ठाउँका उद्योग पनि समस्यामै छन्,’ उनले भने, ‘अन्य क्षेत्रमा खोलिएका उद्योगले विराटनगर, धनगढी तथा भैरहवाबाट क्लिङ्कर आयात गरेर सिमेन्ट बनाउँदा मूल्य पनि बढेको हो ।’

नेपालको भैरहवा, नवलपरासी, दाङ, उदयपुर, जनकपुर, मोरङ, वीरगन्जमा सबैभन्दा बढी सिमेन्ट उद्योग छन् । ती ठाउँमा खोलिएका सबै सिमेन्ट उद्योगको आफ्नै क्लिङ्कर उद्योग नभएकाले ठूलो समस्या देखिएको हो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले सरकारले अर्को वैकल्पिक व्यवस्था गर्न सरकारले पहल गर्नुपर्ने बताए । अहिलेको ठाउँबाट त्यहाँका जनताले क्लिङ्कर आयात गर्न नदिएपछि सरकारले तत्काल अर्को व्यवस्था गर्नुपर्ने उनको भनाइ छ ।
व्यवसायीका अनुसार रक्सौलबाट क्लिङ्कर ल्याउन नसक्नेबित्तिकै प्रतिबोरा सिमेन्टको मूल्य १ सय ३० रुपैयाँसम्म महँगिएको छ । त्यसैगरी,

अहिले कोइलाको मूल्य पनि ८० प्रतिशतसम्म महँगिएको व्यवसायीको भनाइ छ । अध्यक्ष थापाका अनुसार सञ्चालनमा रहेका सिमेन्ट उद्योगमा ७५/८० अर्ब रुपैयाँ लगानी भइसकेको छ ।