नेपाली युवती अफ्रिका पुर्याउन दिल्लीमा दलाल सेल्टर,  दिल्ली कटाउन तस्करका अनेक दाउ

केही समय अघिसम्म भारतका विभिन्न विमानस्थलबाट नेपाल र भारतका मानव तस्करले सहजै युवतीलाई दुबई हुँदै अफ्रिकी मुलुक पुर्याउँदै आएका थिए । तर, पछिल्लो समयमा भारतीय अध्यागमनले विदेश जाने नेपालीहरुलाई ‘नो अब्जेक्सन लेटर’ माग्न थालेपछि मानव तस्करले नक्कली कागजपत्र बनाएर नेपाली युवतीलाई विमानस्थलबाट पास गराउँदै आएका छन् ।

काठमाडौं : गत पुस ३ गते भारतीय राज्य गुजरातको बल्लभभाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबई जान लागेका ५ जना युवतीलाई भारतीय प्रहरीले नियन्त्रणमा लियो । ती युवतीलाई दुबई हुँदै अफ्रिकी मुलुक मालावी लगिँदै थियो ।

यसअघि पनि सोही रुट प्रयोग गर्दै उही तस्कर समूहले १० जना युवतीलाई मालावी पुर्याएको थियो ।

केही समय अघिसम्म भारतका विभिन्न विमानस्थलबाट नेपाल र भारतका मानव तस्करले सहजै युवतीलाई दुबई हुँदै अफ्रिकी मुलुक पुर्याउँदै आएका थिए । तर, पछिल्लो समयमा भारतीय अध्यागमनले विदेश जाने नेपालीहरुलाई ‘नो अब्जेक्सन लेटर’ माग्न थालेपछि मानव तस्करले नक्कली कागजपत्र बनाएर नेपाली युवतीलाई विमानस्थलबाट पास गराउँदै आएका छन् ।

तस्करहरुले युवतीहरुलाई भारतका विभिन्न क्षेत्रमा एक महिनासम्म राखेर उडाउँदै आएका छन् । नेपालबाट भारत हुँदै अफ्रिका जान भनेर उडेकी धादिङकी सिर्जना थापा (नाम परिवर्तन) दुबईमा भेटिइन् । क्यापिटल नेपालसँग कुरा गर्दै उनले सुरुमा दलालहरुले एक सातामै सजिलै उडाउने बताउने तर भारतमा एक महिनासम्म आफ्नै सेल्टरमा राख्ने गरेको बताइन् । बाध्यताले गैरकानुनी रुपले विदेश जाने तरिका अपनाउनु परेको बताउँदै उनले त्यसबीच दलालहरुले कसैसँग सम्पर्क गर्न नदिनेसमेत बताइन् ।

पुस ३ गते नियन्त्रणमा लिइएका ५ युवतीका हातमा पनि बिचौलीयाले नक्कली नो अब्जेसन लेटर थमाएका थिए । अफ्रिका हिँडेकी युवती विमानस्थल नपुग्दै भारतीय प्रहरीलाई सो कागजपत्र नक्कली भएको सूचना थियो र प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा पत्र नक्कली नै प्रमाणित भयो ।

यसअघि पनि यस्तै नक्कली पत्र बनाएर सोही बिचौलियाले १० जना युवतीलाई भारतीय अध्यागमनबाट पास गराएको प्रहरीलाई सुइँको मिलेको थियो । सोही आधारमा प्रहरीले ती ५ युवतीलाई पक्राउ गरेको हो ।

पक्राउ परेका ५ युवतीलाई रिया मोक्तान नामकी एक युवतीले काठमाडौंबाट भारतसम्म पुर्याएकी थिइन् । नेपालबाट भारत पुगेकी युवतीलाई भारतीय एजेन्ट रामु रहिमन प्रजापति, असरार अहमद मोहम्मद मुस्तफाले भारतीय अध्यागमन कटाउने काम गर्दै आएको भारतीय प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

२०७३ चैतदेखि खाडी मुलुकको भ्रमणमा जाने नेपालीमाथि सरकारले कडाइ थाल्यो । त्यसमा पनि घरेलुु कामदारका रुपमा जाने युवतीलाई त प्रतिबन्ध नै गर्यो । त्रिभुवन विमानस्थल हुँदै भ्रमणको आवरणमा तस्करले युवती लैजान नपाएपछि उनीहरुको रोजाइमा भारतीय विमानस्थल पर्न थाल्यो ।

सुरुका दिनमा मानव तस्करले धेरै युवतीलाई दिल्लीबाट दुबई हुँदै खाडी तथा अफ्रिकी मुलुक पुर्याए । दैनिक सयौं युवती दिल्लीबाट दुबई जान थालेपछि दिल्ली अध्यागमनले पनि कडाई गर्यो । त्यसपछि तस्कर समूहले मुम्बई, लखनऊ, हैदराबाद तथा कलकत्तालगायतका विमानस्थल रोज्न थाले ।

त्यहाँ पनि बिस्तारै कडाइ हुन थालेपछि भारतीय अध्यागमन अधिकारीका आँखामा छारो हाल्न नक्कली कागजपत्र बनाएर युवती उडाउन थाले ।
यता प्रहरी भने पीडितहरुले उजुरी नगरेका कारण बिचौलियाहरु बच्ने गरेको बताउँदै आएको छ ।

‘हामीले केही बिचौलियालाई पक्राउ गरी कारबाही पनि गरेका छौं,’ नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीका प्रमुख डीआईजी नीरज शाहीले भने, ‘राज्यले नजानू भनेको बाटो हिँड्नु आफैंमा गलत हो ।’ भारतीय बाटो हुँदै बाहिर जानेहरुबारे भारतीय पक्षसँग समन्वय गर्दै आएको डीआईजी शाहीले बताए । तर, जानेहरु नै पहिला सतर्क हुनुपर्ने उनको भनाइ थियो ।

दिल्लीमा दलालका सेल्टर
नेपाली युवतीहरुलाई दिल्ली हुँदै खाडी तथा अफ्रिकी मुलुक लैजान भारतका विभिन्न विमानस्थल छेउछाउमा एक महिनासम्म राख्ने गरेको तथ्य बाहिर आउन थालेको छ ।

२८ दिन दिल्ली बसेर दुबईको एक रेस्टुरेन्टमा काम गर्न पुगेकी एक नेपाली युवतीका अनुसार दिल्लीमा एक महिना बस्नुपर्ने हुन्छ । नेपाली बिचौलियाले भारत पुर्याउँछन् । तिनीहरुको काम नै त्यही हो, भारतमा अर्का भारतीय बिचौलियालाई सुम्पेर उनीहरु नेपाल फर्कन्छन् ।

भारतीय बिचौलियाले भारतीय अध्यागमन र प्रहरी अधिकारीसँग सेटिङ मिलाउँछन् र पायक पर्ने समयमा उडाउने गर्छन् ।

ती युवतीका अनुसार दिल्लीमा बिचौलियाले कोठा भाडामा लिएर नेपालबाट दिल्ली पुगेकाहरुलाई राख्ने गर्छन् । त्यसैगरी २० दिन दिल्लीमा बसेर दुबई पुगेकी एक डान्सरले पनि भारतमै बढी सेटिङ हुने बताइन् ।

काठमाडौंको एक डान्सबारमा काम गर्दै गरेकी युवतीलाई अफ्रिका लैजाने भन्दै बिचौलियाले दिल्ली पुर्याए पनि उनी तत्काल उड्न पाइनन् । उनी दिल्लीबाट उड्न २० दिन लाग्यो ।

‘हामीलाई एक साताभित्र युगान्डा पुर्याउने भन्ने सर्त थियो, त्यहीअनुसार हामीलाई दिल्ली लगियो । हामी ६ जनामध्ये ४ जना आयौं २ जना अझै दिल्लीमै छन्,’ क्यापिटल नेपालसँगको कुराकानीमा ती श्रेष्ठ थरकी युवतीले भनिन् ।

नेपाली युवतीहरुलाई खाडी जान प्रतिबन्ध लगाइएपछि नेपाली तथा भारतीय बिचौलियाहरु लामो समयदेखि सेटिङमा काम गर्दै आएका छन् । स्रोतका अनुसार नेपालबाट रिटायर्ड भएका र जागिर छाडेरै मानव तस्करीको ग्याङमा सामेल भएका नेपाल प्रहरी र नेपाली सेनाका केही व्यक्ति पनि छन् ।

नेपाली युवतीलाई भारतीय विमानस्थल कटाएको रेट १ लाख ५० हजारभन्दा बढी रहेको युवतीहरु बताउँछन् ।