नेपाल आयल निगमका तत्कालीन प्रमुख गोपाल खड्काविरुद्ध भ्रष्टाचार मुद्दा दायर,१८ करोड ६६ लाख बिगो दाबी

नोकरीबाट अवकाश हुँदा प्राप्त गरेको आर्थिक सुविधा २९ लाख २२ हजार ६९८, पेन्सनबाट १४ लाख ७८ हजार ४८२, विप्रेषण आयबाट ८ लाख २६ हजार ९१३, सवारी बिक्रीबाट ३५ लाख, छोराबुहारीको पारिश्रमिकबाट ११ लाख ४ हजार गरी कूल ७ करोड ४४ लाख ५६ हजार २५२ रुपैयाँ मात्रै रहेको छ ।

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन नेपाल आयल निगमका प्रवन्ध निर्देशक गोपाल खड्का बिरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । अख्तियारले खड्का विरुद्ध १८ करोड ६६ लाख बिगो दाबी सहित मुद्दा दायर गरेको हो ।

नेपाल आयल नियममा रहदा खड्काले अकुत सम्पत्ति कमाएको भन्दै आयोगले छानबिन थालेको थियो । आयोगको छानबिनमा खड्काले १८ करोड ६६ लाख रुपैयाको स्रोत नदेखिएको भन्दै विषेशमा मुद्दा दायर गरेको आयोगका प्रवक्ता रामेश्वर दङ्गालले जानकारी दिए ।

उनका अनुसार २०६९ साल चैत २ गतेदेखि अनुसन्धान अवधिसम्ममा खड्काले पारिश्रमिकबाट जम्मा ४० लाख ५७ हजार १५५ रुपैयाँ आम्दानी गरेका थिए । यस्तै ४७ जग्गा बिक्रीबाट ५८ लाख ७५ हजार, ऋण सापटीबाट ५ करोड ३३ लाख ३६ हजार र घर भाडाबाट १३ लाख ५६ हजार रुपैयाँ आम्दानी भएको देखिन्छ ।

यस्तै नोकरीबाट अवकाश हुँदा प्राप्त गरेको आर्थिक सुविधा २९ लाख २२ हजार ६९८, पेन्सनबाट १४ लाख ७८ हजार ४८२, विप्रेषण आयबाट ८ लाख २६ हजार ९१३, सवारी बिक्रीबाट ३५ लाख, छोराबुहारीको पारिश्रमिकबाट ११ लाख ४ हजार गरी कूल ७ करोड ४४ लाख ५६ हजार २५२ रुपैयाँ मात्रै रहेको छ ।

खड्का सार्वजनिक सेवामा प्रवेश गरेदेखि २०६९ साल चैत २ गतेसम्ममा देखिएको विभिन्न शीर्षकको आय १ करोड २० लाख १३ हजार ४९९ समेत गरी ८ करोड ६४ लाख ६९ हजार ७५१ रुपैयाँ आयआर्जन गरेको देखिएको आयोगले जनाएको छ ।

आयोगका अनुसार अनुसन्धान अवधिसम्ममा खड्काले पुख्र्यौली घरबाहेक नै तीन वटा घर निर्माण तथा खरीद गरेको दुई वटा घर खरीदका लागि आंशिक भुक्तानीसमेत दिइसकेको पाइएको छ ।