ठग्नकै लागि जन्मिएका दोर्जे, ११ वर्ष जेल जीवनपछि पनि ठगीमै

प्रहरीका अनुसार दोर्जे जेल जीवनपछि नक्कली सुन देखाएर ठगी गरेको अभियोगमा ३ पटक पक्राउ परी जिल्ला अदालत काठमाडौंबाट धरौटीमा छुटेका व्यक्ति हुन् । लामाले धेरैलाई ठगी गरेको हुन सक्ने भन्दै कोही पीडित भए सम्पर्कमा आउन प्रहरीले आग्रह गरेपछि घटना बाहिर आएको हो ।

काठमाडौं : धेरै मानिस विगतमा गरेको गल्तीप्रति प्रायश्चित् गर्दै सुध्रिने वातावरण बनाउने स्थान हो— जेल । तर, कतिपय मानिस यस्ता भेटिन्छन्, जेलभित्रैबाट नयाँ ‘आइडिया’ सिकेर अझ गम्भीर प्रकृतिका अवाञ्च्छित गतिविधिमा संलग्न हुने । त्यस्तैमध्येका एक हुन्, सोलुखुम्बुका दोर्जे लाक्पा शेर्पा । दोर्जेले जेल जीवनलाई ठगीको नयाँ व्यवसाय सिक्ने थलोका रुपमा प्रयोग गरे ।

सानो छँदा नै दोर्जेलाई क्यासिनो जाने बानी परिसकेको थियो । क्यासिनो जाने भनेपछि सानो रकमले पुग्ने कुरै थिएन । त्यसैले उनले आफ्नो आवश्यकता पूरा गर्न विभिन्न उपाय प्रयोग गरेर ठगीधन्दा सुरु गरे । ठगी गर्दागर्दै पनि पैसाले नपुगेपछि उनले २०५५ सालमा उनले आफ्नै फुपूको हत्या गरे । फुपूको हत्या गर्नुको कारण थियो, फुपूसँग गरेको ‘सी माला’ हात पार्ने । उनले सी माला हात पनि पारे । प्रहरीले शङ्का गर्ने हो कि भनी उनी केही समय भारत छिरे र उतै बसे । नेपालमा क्यासिनो जाने बानी परेका दोर्जेलाई भारतमा लुकिछिपी बस्न कहाँ सक्थे र । घटना सेलायो होला भन्दै ५ महिनापछि नै नेपाल फर्किएनन् मात्र, नियमित क्यासिनो जान थाले ।

क्यासिनोमै गएका बेला प्रहरीले उनलाई पक्राउ गरी अदालतमा पेस गरे । अदालतले फुपूको हत्यामा जिम्मेवार ठह¥याउँदै तोकिएको सजाय काट्न ११ वर्ष जेल जीवन बिताए ।

२०६६ सालमा जेलाबाट छुट्दा दोर्जे सुध्रिएलान् भन्ने धेरैको अनुमान थियो । तर, व्यहारमा त्यस्तो देखिएन । उनले जेलबाट फकिँदा ठगीको नयाँ उपाय लिएर फर्किए । जेलबाट छुटेपछि दोर्जेले नक्कली सुन देखाएर सक्कली सुन भन्दै विभिन्न व्यक्ति र सुन व्यापारीलाई ठगी गर्न थाले ।

अनुसन्धान अधिकारीका अनुसार जेल बस्दा उनीसँगै एक नक्कली सुन कारोबारीसँग भेट भएको रहेछ । उनले त्यही नक्कली सुन कारोबारीसँग नक्कली सुन कहाँ र कसरी लिने भन्ने सूचना मात्रै लिएनन्, कसरी मानिसहरुलाई नक्कली सुनप्रति आश्वस्त पार्ने र आफूले नगद जम्मा गर्न सकिन्छ भन्नेतर्फ केन्द्रित भए ।

दोर्जेले सुन जस्तै देखिने फलामका बिस्कुट जम्मा गरे । अनि भन्सार छलीको सुन हो, सस्तोमा बेच्ने हो भन्दै कपन, बौद्ध क्षेत्रका सुन पसले र विभिन्न व्यक्तिलाई ठगी गर्न थाले । नक्कली सुनलाई सक्कली भन्दै दोर्जेले दर्जनौ व्यक्तिलाई ठगी गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

प्रहरीका अनुसार दोर्जे जेल जीवनपछि नक्कली सुन देखाएर ठगी गरेको अभियोगमा ३ पटक पक्राउ परी जिल्ला अदालत काठमाडौंबाट धरौटीमा छुटेका व्यक्ति हुन् । लामाले धेरैलाई ठगी गरेको हुन सक्ने भन्दै कोही पीडित भए सम्पर्कमा आउन प्रहरीले आग्रह गरेपछि घटना बाहिर आएको हो ।

‘लामाले धेरै सुन व्यापारीलाई ठगी गरेको देखिन्छ,’ महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी वसन्त लामाले भने, ‘आफ्नो पोल खुल्ने डरले सुन पसलेहरु सम्पर्कमा आउन चाहँदैनन्, सानातिना व्यापारी भने खुल्छन् ।’

दोर्जेको नक्कली सुन धन्दा यसरी भयो पर्दाफास

केही समयअघि हुम्लाकी एक महिलालाई दोर्जेले सक्कली भन्दै एक किलो नक्कली सुन ३५ लाखमा बिक्री गर्न खोजे । सामान्य कपडाको व्यापार गर्ने ती महिला दोर्जेसँग एक किलो सुन किन्न राजी भइनन् । त्यसका लागि ती महिलाले ३ लाख ७० हजार रुपैयाँ दिइन् ।

ती महिलाले दोर्जेलाई साथीमार्फत चिनेकी थिइन् । र दोर्जेले सुनको फोटो पनि भाइबरबाट पठाएका थिए । बैनाबापतको रकम लिएर दोर्जे सम्पर्कमा नआएपछि ती महिला प्रहरीमा पुगेकी थिइन् ।

त्यसपछि प्रहरीले दोर्जेले फेरि ठगी गरेको पत्तो पायो । नक्कली सुन देखाएर ठगी गर्ने दोर्जेलाई प्रहरीले थुनामा राखी अनुसन्धान अघि बढाएको छ ।