पूर्वगृहमन्त्री जनार्दन शर्माको सुरक्षामा ३० सुरक्षाकर्मी, गाडी पनि फिर्ता गरेनन्

शर्माले मन्त्री हुँदा प्रयोग गरेका प्रहरीका सवारी साधनदेखि सुरक्षाकर्मीहरु अझै पनि उनीसँगै छन् । गृहमन्त्रीबाट शर्मा २०७४ कार्तिकमा हटेका थिए, तर उनले मन्त्रीको हैसियतमा पाएको सुविधा अझै पनि लिइरहेका छन् ।

गृहमन्त्री रामबहादुर थापाले गृहमन्त्रालय सम्हालेको केही दिनपछि पत्रकार सम्मेलन गर्दै ८२ बुँदे गृहसुधार योजना अघि सारेका थिए ।

मन्त्री थापाको गृहसुधार योजना सार्वजनिक गर्दै भनेका थिए, ‘अनावश्यक रुपमा विभिन्न व्यक्तिका घरमा काम गर्ने र उनीहरुले प्रयोग गर्दै आएका सुरक्षाकर्मी फिर्ता बोलाइनेछ ।’

मन्त्री थापाको योजनाअनुसार सुरुका दिनमा पूर्वनेता, मन्त्री तथा उच्च प्रहरी अधिकृतहरुको सुरक्षामा रहेका केही प्रहरी फिर्ता पनि भए । फिर्ता हुनेमा अधिकांश नेपाली काङ्ग्रसेका नेता तथा पूर्वसांसदका सुरक्षामा खटिएका प्रहरीहरु थिए ।

तर, थापाकै पार्टीका नेता एवम् पूर्वगृहमन्त्री जनार्दन शर्मालाई भने ८२ बुँदेले छोएन । शर्माले मन्त्री हुँदा प्रयोग गरेका प्रहरीका सवारी साधनदेखि सुरक्षाकर्मीहरु अझै पनि उनीसँगै छन् । गृहमन्त्रीबाट शर्मा २०७४ कार्तिकमा हटेका थिए, तर उनले मन्त्रीको हैसियतमा पाएको सुविधा अझै पनि लिइरहेका छन् ।

प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार अहिले पनि शर्माले १५ जना प्रहरी र १५ जना सशस्त्र प्रहरी बलका कर्मचारी गरी ३० जना सुरक्षाकर्मी प्रयोग गर्दै आएका छन् । त्यसैगरी मन्त्री हुँदा पाएको अगुवा र पछुवा पनि फिर्ता गरेका छैनन् ।

‘नेपाल प्रहरीमा जनशक्तिको चरम अभाव छ, उनले प्रयोग गरेका सुरक्षाकर्मी फिर्ता भएर सङ्गठनको काममा लागेका भए केही राहत हुन सक्थ्यो,’ प्रहरी प्रधान कार्यालयमा कार्यरत एक प्रहरी अधिकृतले क्यापिटल नेपालसँग कुराकानी गर्दै भने ।

अति विशिष्ट तथा विशिष्ट सुरक्षा कार्यविधिअनुसार पूर्व गृहमन्त्रीले २ जना नेपाल प्रहरीका सुरक्षाकर्मी प्रयोग गर्न पाउँछन् । तर, शर्माले १५ जना नेपाल प्रहरीका कर्मचारी राखेका छन् । त्यसैगरी सोही निर्देशिकाअनुसार सशस्त्र प्रहरी बलबाट १ देखि ६ जना पछुवासहित राख्न पाउने व्यवस्था छ, त्यसमा पनि शर्माले सशस्त्रका १५ जना कर्मचारी राखेका छन् ।

गाडी पनि फिर्ता गरेनन्
मन्त्रीबाट हटेपछि प्रहरीले दिएको अगुवा फिर्ता गर्नुपर्ने हो, तर शर्माले अहिलेसम्म पनि फिर्ता गरेका छैनन् । शर्मा गृहमन्त्री हुँदा पाएको बा १ झ ५५५३ नम्बरको नेपाल प्रहरीको अगुवा अझै फिर्ता भएको छैन ।

त्यसैगरी शर्माले सशस्त्र प्रहरीको ना १ झ १५०० नम्बरको स्करपियो पिकअप पछुवाका रुपमा प्रयोग गर्दै आएका छन् । शर्मा आफैले चड्ने गाडीसमेत प्रहरीको हो ।

राजनीतिक कार्यक्रम होस् या अन्य कुनै व्यक्तिगत भेटघाट, गृहमन्त्रीकै हैसियतमा जस्तै शर्मा सुरक्षाकर्मीलाई अघि पछि लगाएर जान्छन् । अनावश्यक रुपमा विभिन्न व्यक्तिको सुरक्षामा खटिएका प्रहरीलाई बोलाइने भन्दै सार्वजनिक रुपमा भाषण गर्दै हिँड्ने गृहमन्त्री थापालाई शर्माले ३० जना सुरक्षाकर्मी राखेको पक्कै पनि जानकारी छ, तर पनि उनले यो विषयमा कुनै पनि कदम नचालेको एक प्रहरी अधिकृतले नै बताए ।

शर्माका स्वकीय सचिव श्रीकुँवर कठायतले पूर्व गृहमन्त्रीज्यूको सुरक्षामा केही प्रहरी भए पनि ठ्याक्कै कति जना छन् भन्ने थाहा नभएको बताए । ‘३० जना त होइन, तर टोली टोली भने आइराख्छन्,’ उनले भने ।

प्रहरी महानिरीक्षक सचिवालयका एसपी रामदत्त जोशीले भने शर्माको सुरक्षामा ७ जना मात्र प्रहरी खटिएको दाबी गरे । सुरक्षाका दृष्टिले उहाँको सुरक्षामा २ पीएसओ, अगुवासहित ७ प्रहरी खटिएको एसपी जोशीले भने ।

जोशीले बताएअनुसार ७ जना भए पनि अति विशिष्ट तथा विशिष्ट सुरक्षा कार्यविधिअनुसार गलत भएको प्रहरी प्रधान कार्यालय स्रोतले बतायो ।