टेलिकमको आफ्नो स्रोत थपेर देशभर फोरजी विस्तारलाई समयमै सक्छौं, नेपाल टेलिकमका नवनियुक्त प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीसँगकाे अन्तर्वार्ता

दूरसञ्चारमा विश्वबजार कसरी गइरहेको छ, ग्राहकको माग कतातिर लम्किरहेको छ, इच्छा आकाङ्क्षा कसरी अगाडि बढिरहेको छ, यी सबैलाई लक्ष्य बनाउनुपर्छ । विश्वबजार भन्नेबित्तिकै अमेरिका तथा बेलायतमा के भयो भनेर प्रतिस्पर्धा गरेर पनि हुँदैन । ग्राहकको चाहना र उनीहरुको आर्थिक हैसियतले पनि ड्राइभ गर्ने कुरा हो ।

करिब ६ महिनादेखि रिक्त रहेको नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा अहिले नयाँ नेतृत्वले स्थान पाएको छ । अहिले टेलिकममा थुप्रै चुनौती र समस्या छन् । अर्कोतर्फ सञ्चार मन्त्रीका निकट भएकाले टेलिकमको एमडीमा चुनिएको र कनिष्ठबाट वरिष्ठमा एकै चोटि प्रवेशले बाहिरी आलोचनासमेत भइरहेको छ । नवनियुक्त प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीलाई अबको टेलिकम क्षेत्रमा भएका समस्या समाधान गर्नुपर्ने, व्यावसायिक र प्रतिस्पर्धीसमेत बनाउनु पर्ने ठूलो चुनौती छ ।

सरकारबाट उचित कार्यसम्पादन नभएको भन्दै तत्कालीन एमडी कामिनी राजभण्डारी बर्खास्तमा परिन् । यसले गर्दा अहिले नयाँ नेतृत्वले कसरी टेलिकमलाई प्रतिस्पर्धी बनाउलान् भन्ने प्रश्न पनि उठ्छ । टेलिकमका ठूला आयोजना समयमै नसक्नु एउटा ठूलो चुनौती हो भने यसलाई निर्धारित समयमै सक्न नयाँ नेतृत्वबाट कस्तो भूमिका निर्वाह हुन्छ, सवत्र्र चासोको विषय पनि हो । यसै विद्यमान र आउने समस्या समाधानका विषयमा केन्द्रित रहेर नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीसँग क्यापिटल नेपालका संवाददाता युवराज बस्नेतले गरेको कुराकानीको सारः

तपाईंले सरकारस्वामित्वको नेपालको ठूलो दूरसञ्चार कम्पनीमा प्रबन्ध निर्देशकको जिम्मेवारी पाउनु भएको छ । टेलिकमलाई कसरी अगाडि बढाउनु हुन्छ ?

नयाँ नेतृत्व आउन लामो समय लागेकै हो । एउटा व्यावसायिक संस्था यति लामो समयसम्म नेतृत्वविहीन हुनु पक्कै पनि राम्रो कुरा होइन । नेतृत्वविहीन हुँदा दैनिक कामबाहेक अन्य काम द्रुत गतिमा अघि बढ्न सक्दैनन् ।

नेपाल टेलिकम नेतृत्वविहीन भए पनि काम रोकिएको थिएन् । । दैनिक काम भइरहेका थिए । तर, दीर्घकालीन असर पर्ने काम हुन सकेका थिएनन् । अब ती कामलाई प्रभावकारी रुपमा अघि बढाउने, समयमै सम्पन्न गर्नेतर्फ मेरो ध्यान केन्द्रित हुनेछ ।

नेतृत्व नहुँदैमा कामै रोकिएको भन्नेचाहिँ होइन । तर, नेतृत्व हुनु आवश्यक छ । नीतिनिर्माण तहमा काम गर्न नेतृत्वको जरुरी पर्छ । नेपालकै एउटा ठूलो संस्थामा लामो समयसम्म नेतृत्व नहुँदा समस्या त भइहाल्छ ।

तपाईँसामु चुनौतीका चाङ छन् । त्यसलाई कसरी समाधान गर्नुहुन्छ ?

मेरा चुनौती भनेका सेवाको बजारीकरण र सेवा विस्तार, गुणस्तर र सेवाको मूल्य नै हो । हुन त नेपाल टेलिकमको सेवा सस्तो र सुलभ मूल्यमा सेवाग्राहीले उपयोग गरेका छन् । तर अपेक्षा भने अझ सस्तोमा उपभोग गर्न पाउँ भन्ने सबैको हुन्छ । यिनै कुरालाई मैले चुनौतीका रुपमा लिएको छु । त्यो कुरा प्राप्त गर्नका लागि संस्थाको जुन संरचना र जनशक्ति छ सबै जीवन्त हुनुपर्छ । त्यसलाई जीवन्त बनाउन संस्थाको आधुनिक फिलोसफी र ह्युमन रिसोर्स म्यानेजमेन्टको फिलोसफीलाई कसरी लागू गर्न सकिन्छ त्यसमा ध्यान दिनु जरुरी छ । जसमा हाम्रा आन्तरिक र बाह्य डेलिभरी प्रोसेस छन् ।

सेवा दिनुअघि प्रशासकीय तथा प्राविधिक प्रक्रिया हुन्छन् । ती प्रक्रियालाई कसरी स्वचालित बनाउने र क्षमताका आधारमा अगाडि बढाउन सकिन्छ भन्ने विषय नै चुनौती हुन् । यस्ता कुरामा आधारित रहेर काम गर्न सकियो भने हाम्रो नेटवर्क विस्तार, गुणस्तरीय सेवा, बजारीकरण तथा व्यवसायलगायतका कुरामा अगाडि बढ्न सक्छौं ।

तपाईं एकै पटक कनिष्ठबाट जम्प गर्नुभयो भन्ने आरोप छ । यसमाथि तपाईंको केही टिप्पणी छ ?

कनिष्ठ भन्नाले तोकिएको योग्यता तथा प्रक्रिया मिट गरेको हुँ । टेलिकम सेक्टरको मेरो अनुभव भन्ने हो भने १६ वर्षको छ । भनेपछि अनुभवकै आधारमा पनि मेरो कम छैन ।

कुनै पनि पदमा प्रतिस्पर्धाबाटै गएको छु भने सफलता पनि प्राप्त गरेको छु । मलाई एक कक्षादेखि कुनै पनि तहमा सेकेन्ड हुनु परेको छैन । मेरो ब्याकग्राउन्ड इन्जिनियर हो । टेलिकममा पनि सोही क्षेत्रबाट सेवा प्रवेश गरेको हुँ । इलेक्ट्रोनिक्समा बीई र सूचना तथा सञ्चार प्रविधिमा  स्नातकोत्तर गरेको छु । त्यसकारण प्रतिस्पर्धामा आइसकेपछि त्यसको जुन किसिमको नियम हुन्छ, मापन हुन्छ त्यसलाई जित्ने लक्ष्य हो ।  सोहीअनुसार काम गरेर देखाउने छु ।

तपाईं सञ्चारमन्त्रीका निकट भएकाले टेलिकमको एमडी बन्नु भएको आरोप लागेको छ । के भन्नुहुन्छ ?

त्यो गलत आरोप हो । सञ्चारमन्त्री गोकुल बास्कोटाज्यूलाई मैले चिनेको उहाँ मन्त्री भएको भोलिपल्ट मात्र हो । मेरा इन्जिनियर साथीहरु पार्टीका विभिन्न सङ्गठनमा हुनुहुन्छ । उहाँहरुसँग मन्त्रीज्यूले सम्पर्क गर्नुभयो । र, साथीहरुले टेलिकममा मेरो नाम रिफर गर्नुभएको हो । यसमा कुनै दुविधा छैन । उहाँ मन्त्री हुनुभन्दा अघि मैले देखेको वा चिनेजानेको पनि थिइनँ । प्रोफेसनल तरिकाबाट मन्त्रीज्यूसँग नजिक भएको हुँ । अन्य केही कारणले होइन ।

टेलिकममै बसेर काम गरिरहनु भएको थियो । कुनै दिन नेतृत्वमा पुगेर सुधारको थालनी गर्छु भन्ने सपना देख्नुभएको थियो होला । अहिले त्यो पद पाउनु भएको छ । टेलिकमलाई अघि बढाउन कस्तो योजना बनाउनु भएको छ ?

विश्वबजारको ट्रेन्डअनुसार चल्नुपर्छ । दूरसञ्चारमा विश्वबजार कसरी गइरहेको छ, ग्राहकको माग कतातिर लम्किरहेको छ, इच्छा आकाङ्क्षा कसरी अगाडि बढिरहेको छ, यी सबैलाई लक्ष्य बनाउनुपर्छ । विश्वबजार भन्नेबित्तिकै अमेरिका तथा बेलायतमा के भयो भनेर प्रतिस्पर्धा गरेर पनि हुँदैन । ग्राहकको चाहना र उनीहरुको आर्थिक हैसियतले पनि ड्राइभ गर्ने कुरा हो ।

कस्तो इकोनोमीमा तथा कुन कल्चरमा छन् भन्ने आधारमा हेर्ने हो भने दूरसञ्चारको विकास सार्क राष्ट्रमा आधारित हुनै पर्छ । ती राष्ट्रहरुमा टेलिकम सेक्टर कसरी गएको छ ? कसरी अगाडि बढाएका छन् भन्ने कुरालाई हामीले नजिकबाट नियाल्दै आएका छौं । विश्वको ट्रेन्ड र विकसित देशहरुको अवस्था पनि उस्तै देखिन्छ । उनीहरु अलि पहिला छन् भने हामी त्यसलाई पछ्याइरहेका छौं ।

अब हामीले त्यो ट्रेन्डलाई पछ्याउँदा नयाँ प्रविधिको अवलम्बन, मोबाइल ब्रोडब्यान्डको बृहत् सञ्जाल, गुणस्तर, सेवाग्राहीसम्म सहज पहुँच तथा गुनासा व्यवस्थापन नै हाम्रा लागि महत्त्वपूर्ण हुन् । त्यसमा पनि हामी व्यावसायिक संस्था भएकाले कम्पनीको नाफा पनि बढाउनु पर्ने चुनौती छ । यी सबै चुनौतीलाई अन्तरमनबाट नियाल्दै अगाडि बढ्ने योजना छ ।

हाम्रो प्रमुख उद्देश्य भनेको कम्पनीको व्यवसाय, नाफा, राजस्व तथा नयाँ सेवा विस्तारलाई कार्यान्वयन गर्नु हो भने नीतिगतस्तरमा हामी विभिन्न फङ्सनल काम गर्दै जाने छौं । टेलिकमलाई अगाडि बढाउने योजना र अपेक्षा भनेका यिनै हुन् ।

तपाईं आफैले मूल्याङ्कन गर्दा टेलिकममा सुधार गर्नुपर्ने पक्षहरु केके देख्नुभएको छ ? यी समस्यालाई कसरी समाधान गर्न सकिन्छ त ?

हाम्रो पहिलो सबैभन्दा ठूलो कमजोरी भनेको समयमा आयोजनाको काम नसक्नु हो । अर्को ह्युमन रिसोर्सलाई व्यवस्थापन गर्न नसक्नु हो । तेस्रो राजनीतिक आस्थाका कारण एकल युनियन नहुनु । यी हाम्रा मुख्य समस्या हुन् ।

हामीले सरकारी खरिद ऐनलाई नै अवलम्बन गरेर अगाडि बढ्नु पर्ने हुन्छ । खरिद ऐनले सरकारी व्यवसाय कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा हामी सजग छौं । चुनौतीलाई समस्याका रुपमा नलिई आन्तरिक तथा कन्सल्ट्यान्ट रिसोर्सका आधारमा त्यसलाई व्यवस्थापन गर्न अग्रसर भएर लाग्ने छौं ।

टेलिकमका ठूला आयोजना समयमै नसक्नु एउटा ठूलो चुनौती हो भने यसलाई निर्धारित समयमै सक्न तपाईंबाट कस्तो भूमिका निर्वाह हुन्छ ? टेलिकमका आयोजनालाई कुन लेभलबाट अगाडि बढाउनु हुन्छ ?

आयोजना डिले हुनुमा एउटा कारण आन्तरिक हो । बाहिरी कारणमा हामी प्राकृतिक प्रकोपबाहेक हुने ढिलाइ निराकरण गर्न सरकार तथा विभिन्न निकायसँग सहकार्य गरेर अगाडि बढ्छौं । अर्को, सप्लायरबाट हुने ढिलाइलाई हामीले कडाइका साथ सम्झौताका बुँदामै तलमाथि नहुने गरी एग्रेसिभ भएर समावेश गर्नेछौं । त्यस्तै अवस्था आयो भने सम्झौता तोड्न पनि पछि हट्ने छैनौं ।

आन्तरिक कुरामा हुने ढिलाइलाई आईटी अटोमेसनमा लग्ने व्यवस्था गर्ने छौं । कुनै ठाउँको आयोजनाको काम हेर्न कर्मचारी खटाइए पनि त्यहाँ काम भए–नभएको अनलाइनबाटै ट्र्याकिङ गरेर कार्यप्रगति हेर्छौं । आईटी अटोमेसनको वर्कफ्लोको कामलाई अगाडि बढाएका छौं । यो कामलाई चाँडै सुधार गरी यस क्षेत्रको विकासमा लाग्ने योजना छ ।

 

चिनियाँ कम्पनी हुवावे टेक्नोलजी एक वर्षका लागि १९ अर्ब रुपैयाँमा देशैभर फोरजी सेवा विस्तार गर्न मन्त्रिपरिषदबाट छनौट भएको छ । तपाईंले टेलिकमलाई व्यावसायिक र प्रतिस्पर्धी बनाउँछु भनेर प्रतिबद्धता जनाउनु भएको छ । यसलाई कसरी सफल बनाउनु हुन्छ ?

जहाँसम्म फोरजीको ठेक्का कुरा छ, यो प्रोजेक्ट ३३ महिनामा सक्ने गरी अगाडि बढाइएको थियो । पछि विभिन्न कारणले ढिलाइ हुनाले सूचना तथा सञ्चार मन्त्रालयबाट समयभन्दा एक वर्षअगावै सक्नु भनी निर्देशन आएको छ ।

त्यो निर्देशनलाई आत्मसात गर्दै सप्लायरलाई पनि ऐन नियमअनुसार जिम्मा दिने प्रक्रियामा छौं । जिम्मा पाएको कम्पनीले थप स्रोत जुटाएर अथवा थपेर समयमै प्रोजेक्ट सक्न तत्पर पनि छ । नेपाल टेलिकमले आफ्नो तर्फबाट स्रोत थपेर गरेर भए पनि त्यसलाई समयमै सक्ने लक्ष्य लिएका छौँ । त्यसका लागि टाइमलाइन फलो गरेर काम गर्दैछौं ।

टेलिकमले प्रदेश १, २ र ३ का राष्ट्रिय राजमार्ग र मध्यपहाडी लोकमार्गमा झन्डै ४ अर्ब रुपैयाँ खर्चेर अप्टिकल फाइबर बिच्छाउने तथा सूचना मार्ग बनाउने काम नेपाल दूरसञ्चार प्राधिकरणबाट जिम्मा पायो । तर, यो कामले अहिलेसम्म निरन्तता पाएको छैन । किन ?

प्रदेश १,२ र ३  का राष्ट्रिय राजमार्ग र मध्यपहाडी लोकमार्गमा झन्डै ४ अर्ब खर्चेर अप्टिकल फाइबर बिच्छाउने र डीडब्ल्युडीएम र राउटरको उच्च क्षमताको ट्रान्स्पोर्ट नेटवर्क तयार पार्ने हामीले प्राधिकरणबाट ठेक्का पाएका हौं । हामीले पनि त्यो आयोजना सम्पन्न गर्न ठेक्का नै दिनुपर्ने हुन्छ ।

विगतमा स्पेसिफिकेसन बनाउने, रिभ्यु गर्ने तथा ठेक्का दिने काममा ढिलाइ भयो । अहिले टेन्डर अह्वान गरेर, मूल्याङ्कनको काम सकेर, ठेक्का पाउने कम्पनीलाई लेटर अफ इन्टेन्ट (एलओआई)समेत दिइसकेका छौं ।

जब एलओआईको काम सकेर ठेक्का दिने प्रोसेसमा जान्छौं, त्यसपछि टाइमलाइनलाई कडाइका साथ फलो गर्छौं । त्यसले गति लिइसकेको छ । अब ढिला हुँदैन ।

अहिले विभिन्न समस्या आएर सेवाग्राहीले गुनासो गर्दा टेलिकमका कर्मचारी झर्कने तथा अभद्र व्यवहार गर्ने गरेको पाइन्छ । यस्तो समस्या कसरी व्यवस्थापन गर्नुहुन्छ ?

त्यस्तो गुनासो सुनिएको छैन् । यस्ता समस्या सुधार गर्न हामी अगाडि बढ्छौं ।