तातोपानीबाट रसुवा सरे तस्कर, पाँच वर्षमा पाँच क्विन्टल सुन बरामद

एउटा, ठूलो मात्रामा सुन भित्र्याउँछ । यो समूहले सुन सीधै भारत पठाउँछ । यो समूहको सुन चीनबाट प्याक भएर आउँछ । बीचमा दायाँबायाँ हुँदैन । दोस्रो समूह छ— भाडाको सवारीसाधन प्रयोग गरेर यसले एक पटकमा बढीमा पाँच किलोसम्म सुन ओसार्छ । अर्को समूहले भने आफैं लगानी गरेर सुन काठमाडौं ल्याउँछ ।

काठमाडाैं : २०७४ भदौ १९ गते प्रहरीले काठमाडौंको क्षेत्रपाटीबाट ८८ किलो भन्सार छलीको सुन बरामद गर्यो । रसुवाको केरुङ नाकाबाट भन्सार छली गरेर यति ठूलो परिमाणमा सुन बरामद भएको त्यो पहिलो घटना पनि हो । महानगरीय अपराध महाशाखाको टोलीले बा १७ च ६४२७ नम्बरको गाडीबाट सुन बरामद गरेको थियो । दुःखको कुरा, उक्त सुन काठमाडौं ल्याउने चिनियाँ दम्पती भने अझै फरार छन् । क्षेत्रपाटीबाट प्रहरीले सुन नियन्त्रणमा लियो भन्ने थाहा पाएपछि ती दम्पतीले देश छाडेका थिए, त्यो पनि विमानस्थलकै बाटो भएर ।

२०७४ भदौ १६ गते रसुवाबाटै २२ किलो सुन आएको भनिएकोमा प्रहरीले १५ किलो काठमाडौंको टोखाबाट बरामद गर्यो छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को प्रहरी टोलीले उक्त सुन बरामद गरेको थियो । तर, १५ किलो सुन बरामद भएपनि २२ किलो सुन भित्रिएको दावी गरियो र बाँकी ७ किलो सुन कहाँ गयो अहिलेसम्म कसैले जानकारी दिएको छ ।

२०७४ मङ्सिर २ गते प्रहरीले रसुवागढी नाकाबाट भन्सार छलीको १७ किलो अवैध सुन बरामद गर्यो । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले बोलेरो जिपबाट उक्त परिमाणको सुन बरामद गरेको थियो । रसुवागढी नाकाबाट बा ११ च ७९१८ नम्बरको बोलेरो जिपबाट अवैध सुन आउँदै गरेको सूचना पाएपछि प्रहरीले सुन बरामद गरेको हो ।

सुन बरामद गर्ने र गरिने क्रम यत्ति मात्रै होइन । यी घटना न सुरुवाती हुन्, न अन्तिम नै । त्यसअघि पनि धेरै अवैध सुन प्रहरीले बरामद गरेको थियो । त्यसपछि पनि नियमित रुपमै यस्ता घटना भइरहेका छन् । २०७३ चैत ३ गते चीनको केरुङ नाका हुँदै नेपाल भित्रिएको ७ किलो भन्सार छलीको सुन बरामद भयो । स्याङ्जा वालिङ–९ का प्रकाश गैरेले गाडीको फिल्टरमा ‘फल्स बटम’ बनाएर लुकाई ल्याएकोे अवस्थामा रसुवाको टिमुरेबाट प्रहरीले सुन बरामद गरेको थियो ।

त्यसअघि २०७३ मङ्सिर १८ गते प्रहरीले बौद्धबाट १० किलो सुन बरामद गर्यो । महानगरीय प्रहरी वृत्त बौद्धले फूलबारीबाट एउटा मोटरसाइकल ल्याउँदै गरेको १० किलो सुन बरामद गरेको थियो । २०७३ पुस २१ मा यूएईबाट नेपाल भित्र्याउँदै गरेको साढे ३३ किलो सुन समातियो । सीआईबको प्रहरी टोलीले उक्त सुन विमानस्थलबाहिरबाट पक्राउ गरेको थियो । पछि अनुसन्धानमा प्रहरीले गम्भीर त्रुटि गरेको तथ्य भेटियो । वास्तविक सुन तस्करलाई जोगाएर अन्य केही व्यक्तिलाई अनुसन्धानको दायरामा ल्याइएको थियो, त्यतिखेर ।

प्रहरीले त्यति बेला बचाएका चूडामणि उप्रेती ‘गोरे’ले नै पछि पटक पटक गरी ३ हजार ८ सय किलो सुन नेपाल भित्र्याएको सरकारले गठन गरेको सुन तथा सनम हत्याकाण्ड छानबिन समितिले तथ्य सार्वजनिक गर्यो ।

यी त केही उदारण मात्र हुन्, प्रहरीले गएको पाँच वर्षमा देशभरबाट सुन बरामद गरेका । यहाँ रोचक कुरा के छ भने, प्रहरी तथ्याङ्कमा देखिएको बरामद सुन विमानस्थलबाट समातिएको ३३ किलो र छिटफुटबाहेक अन्य सबै रसुवाको केरुङ नाकाबाटै भन्सार छली गरी आएको छ । त्यसैले अहिले सुन तस्करीलाई रोक्न रसुवा र विमानस्थलमा प्रहरीले विशेष निगरानी बढाएको नेपाल प्रहरीका प्रवक्ता एसएसपी उत्तम सुवेदीको भनाइ छ । ‘हामीले भन्सार छलीको सुन बाहिर जान नदिन कडा कदम चालेका छौं,’ उनले भने, ‘प्रहरीको निगरानी बढेकै कारण पछिल्ला दिनमा भन्सार छलीको सुन बढी परिमाणमा बरामद भएको छ ।’

पछिल्लो समय सुन तस्करीबारे सञ्चारमाध्यमहरुले पनि राम्रै स्थान दिने गरेका छन् । हरेक दिनजसो कुनै न कुनै स्थानबाट तस्करलाई सुनसहित पक्राउ गरिएका खबर आइरहेकै छन् । सुन तस्करी फस्टाइरहेको छ । तर नियन्त्रणको प्रयास प्रभावकारी देखिन सकेको छैन । सञ्चारमाध्यमको विस्तार हो, प्रहरी सङ्गठनभित्रै देखिएको मनोमालिन्य वा सुन तस्करहरुबीचको विवादले हो, पछिल्ला दिनमा सुन तस्करीको ग्राफ बढ्दो छ । यसले मुलुकको अर्थतन्त्रलाई मात्रै प्रभावित पारेको छैन, सुरक्षा र अनुसन्धान निकायहरुलाई पनि गिज्याइरहेको छ ।

जिज्ञासा उठ्न सक्छ, कहिले, कहाँबाट, कति परिमाणको सुन तस्करी भयो ?
नेपाल प्रहरीको तथ्याङ्क केलाउँदा विगत साढे ४ वर्षमा प्रहरीले भन्सार छलीबाट मात्र ४ सय ७७ किलो सुन बरामद गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र चीनसँगका विभिन्न सिमानाबाट भन्सार छली गरी ल्याइएको ४ सय ७७ किलो सुन प्रहरीले बरामद गरी सरकारलाई बुझाएको छ ।

२०७१/७२ मा १ सय ११ किलो भन्सार छलीको सुन बरामद भएको छ । त्यसैगरी २०७२?७३ मा ६८ किलो, २०७३?७४ मा ९१ किलो र २०७४/७५ मा १ सय ७९ किलो भन्सार छलीको सुन प्रहरीले बरामद गरी राजस्व अनुसन्धान विभागमा बुझाएको छ । चालू आर्थिक वर्षकै साउनयता मात्रै प्रहरीले विभिन्न स्थानबाट २८ किलो सुन बरामद गरिसकेको छ । साढे ४ वर्षको अवधिमा सबैभन्दा बढी सुन गत आर्थिक वर्ष २०७४/७५ मा १ सय ७९ किलो बरामद भएको छ । सबैभन्दा कम ६८ किलो सुन आव २०७२/७३ बरामद भएको छ ।

यो आर्थिक वर्षको वैशाख १२ मा गएको विनाशकारी भूकम्पका कारण तातोपानी नाका बन्द भयो । तातोपानीका सुन तस्कर रसुवा गइनसकेकाले पनि यो आवमा अन्य आवको तुलनामा कम परिमाणमा सुन बरामद भएको सरोकारवालाको भनाइ छ । भूकम्पका कारण धेरै मानिस त्रस्त बनेका र तस्कर पनि भूकम्पीय क्षेत्रमा सक्रिय रहँदा सुन तस्करीमा कमी आएको बताइएको छ । तर पनि त्यति बेला सुरक्षा निकाय भूकम्पीय क्षेत्रमा सक्रिय रहँदा कम परिणाममा अवैध सुन बरामद भएको बुझ्न सकिन्छ ।

प्रहरी सक्रियताकै कारण पछिल्लो समयमा सुन तस्करीमा कमी आएको एसएसपी सुवेदीको दाबी छ । यद्यपि प्रहरीले भन्सार छलीको सुन रोक्न जस्तासुकै उपाय अपनाए पनि केरुङबाट हुने तस्करी रोकिएको छैन; बढ्दो छ ।

कति आउँछ दैनिक सुन ?
प्रहरी उच्च स्रोतको दाबी छ— रसुवाको केरुङ हुँदै दैनिक १ सय किलो सुन भित्रिन्छ । स्रोतका अनुसार चिनियाँ बजारबाट दैनिक १ सय किलो सुन नेपालका लागि छुट्छ । त्यो सबै सुन भन्सार छलेर नेपाल भित्र्याइन्छ । नेपाल भित्रिएको अधिकांश सुन काठमाडौं आइपुग्छ । त्यसपछि मात्रै अन्य स्थानतर्फ पठाइने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जानकारी दिएको छ ।

पछिल्लो समय काठमाडौंमा सुन बरामद हुन थालेपछि तस्करले केरुङबाट आएको सुन सीधै नुवाकोटको त्रिशूली हुँदै धादिङ निस्केर तराईका नाका हुँदै भारत पठाउने गरेको स्रोतको दाबी छ । स्रोतका अनुसार चीन हुँदै नेपाल भित्रिएको अधिकांश सुन भारतीय बजारमा खपत हुन्छ । नेपाल–भारतबीचको खुला सीमाको फाइदा उठाउँदै तस्करले सुन तस्करी गरिरहेको प्रहरी उच्च स्रोतको भनाइ छ ।

तस्करीको मुख्य केन्द्र रसुवा
सिन्धुपाल्चोकको तातोपानी नाका एक दशकसम्म सुन तस्करीको मुख्य नाका बन्यो । चीनबाट नेपाल भित्रिने कन्टेनर तथा भरियाको सहायतामा भन्सार छल्दै तस्करहरुले सुन नेपाल भित्र्याउने गरेको प्रहरीको दाबी छ । तर २०७२ को भूकम्पपछि सिन्धुपाल्चोकको तातोपानी नाका बन्द हुँदा सुनको कारोबार पनि ठप्प जस्तै भयो । प्रहरीका अनुसार तातोपानी नाका बन्द भएर रसुवा नाकाबाट कारोबार सहज नभएका कारण त्यो बेला सुन बरामदको हिस्सासमेत कम भएको हो ।

तातोपानी नाका बन्द भएपछि नेपाल–चीनको अर्काे नाका केरुङ खुल्यो । यससँगै सुन तस्करीको सङ्ख्या पनि केरुङमा दिन दुगुना, रात चौगुना बढ्दै गयो । तातोपानीबाट काठमाडौं सामान ओसार्ने सबै कन्टेनर रसुवातिर लागे, सुन तस्कर पनि लागे त्यतैतिर ।

स्रोतकाअनुसार जसरी पहिला तातोपानी क्षेत्रका बासिन्दाले पारिबाट सुन ओसार्ने गर्थे । अहिले त्यसैगरी केरुङ क्षेत्रका बासिन्दाहरु सुन ओसारपोसारमा सक्रिय छन् । सानो परिमाणको सुन भरियामार्फत आउँछ । ठूलो मात्राको सुन भने पारिबाटै कन्टेनरका विभिन्न भागमा लुकाएर ल्याउने गरिएको स्रोतको दाबी छ ।

स्रोत भन्छ— रसुवाबाट सामान बोकेर आउने अधिकांश कन्टेनरमा सुन भित्रिन्छ । त्यसैगरी पर्यटक बोक्ने बहानामा पनि हरियो नम्बर प्लेट भएका गाडीले पनि अवैध सुन ओसार्ने गरेका छन् । काठमाडौंबाट केरुङ जाँदा सबैभन्दा बढी अवैध डलर बोक्ने काम हरियो नम्बर प्लेटको हुने गरेको स्रोतको दाबी छ । ‘पर्यटक देख्दा प्रहरीले पनि त्यति वास्ता गर्दैन । त्यति मात्र होइन, भित्र डलर लिएको कसलाई के पत्तो, जसरी माथिबाट आउँदा कन्टेनरमा सुन आउछ, जाँदा पर्यटक गाडीबाट त्यसैगरी डलर जान्छ,’ स्रोतले भन्यो ।


तस्करबीच विवाद हुँदा प्रहरीलाई खबर
सुन तस्करी र तस्करीका सहयोगीबीच रकम र कमिसनको हिसाब नमिलेपछि मात्रै प्रहरीकहाँ सूचना आउने गरेको छ । त्यही सूचनाका आधारमा अहिलेसम्म पक्राउ गरिँदै आएको प्रहरी स्रोतको दाबी छ । ‘भन्सार छलेर आउने सुनको एकाध अंश मात्र पक्राउ पर्छ,’ प्रहरीका एक उच्च अधिकारीले भने, ‘बाँकी सुन कता जान्छ भन्ने पत्तो नै हुँदैन ।’ नेपाल भित्रिएको सुन ९५ प्रतिशत भारत जाने गरेको आशङ्का भए पनि प्रहरीले पुष्टि गर्न सकेको भने छैन ।
अनुसन्धान अधिकारीका अनुसार तस्कर समूहबीच मनमुटाव भएपछि प्रहरीलाई सूचना आउँछ । एकले अर्कालाई सिध्याउनुपरेमा प्रहरीलाई खबर पुग्छ । अर्को समूहलाई हटाएर आफ्नो छत्रछायामा पार्न पनि तस्कर समूहको पोल खोलाखोल हुन्छ । यसरी आउने खबरभित्र पनि कतिपय प्रहरीका उच्च अधिकारीहरुको मिलोमतोले सामान्य हिसाबले सुन पक्राउ परे पनि तस्कर भने उम्किन्छन् ।

यसको उदाहरण हेर्न टाढा जानै पर्दैन, विमानस्थलबाट ३ हजार ८ सय किलो भन्सार छलीको सुन नेपाल भित्र्याएको अभियोग लागेका गोरेलाई हेरे पुग्छ । महानगरीय अपराध महाशाखा स्रोतका अनुसार गोरेले पनि केही समयअघि त्यसैगरी भन्सार छलीबाट ल्याएको अर्को समूहको सुनको सूचना प्रहरीलाई दिएका थिए ।

गोरे र अर्को समूहबीच विवाद हँुदा एकअर्कालाई सिध्याउन गोरेले सूचना दिएको महाशाखा स्रोतले जानकारी दियो । गोरेले मात्र होइन, विगतमा पनि यस्ता धेरै घटना भए, जहाँ केहीले प्रहरीसँग सम्बन्ध जोड्न पनि अर्को समूहको सूचना दिने गरेका थिए । यससँगै विगतमा भरियाबाटै पनि ठूलो परिमाणको सुन गायब हुने गरेका घटना पनि छन् ।

सुरुमा सुनका मालिक चिनियाँ नागरिक हुन्थे । नाकाबाट चिनियाँहरुले सुन पठाउने र यता आएर भारतीयहरुले सुन किन्ने गरेका थिए । नाकाबाट काठमाडौं हिँडाएको सुन बीचमै भरियाले गायब बनाउँथे र उनीहरु पुनः त्यहाँ देखापर्दैनथे ।

२०७० सालमै यस्तो घटना भएको थियो
तातोपानीबाट २० किलो सुन काठमाडौं आउँदै गरेको सूचना प्रहरीमा आयो । उक्त सूचनालाई आधार मानेर प्रहरी काभ्रेको पाँचखालसम्म गयो ।दोलालघाटबाट प्रहरीले निगरानी गर्दै आएको गाडी बीच बाटोमै गायब भयो, त्यो बेला बीच जङ्गलमा भरियाले सुन लुकायो । तर भरियाले प्रहरीले पक्राउ गर्यो भन्दै साहूलाई रिपोर्ट गरेको तथ्य पछि सार्वजनिक भयो ।

तर २०७० सालयता चिनियाँ सीमाबाट आउने सुनमा भारतीय र नेपालीले लगानी गर्न थाले । त्यसपछि हराउने क्रम रोकियो ।

सुनको माग कति ?
नेपाल सुनचाँदी व्यवसायी महासङ्घ भन्छ— बिहेको सिजन मङ्सिरदेखि वैशाखसम्म देशभर सुनको माग दैनिक ५० किलोसम्म हुन्छ । तर, राष्ट्र बैङ्कले दैनिक २५ किलो मात्र आपूर्ति गर्छ । यसअघि यस्तो सुन २० किलो मात्र आउँथ्यो । त्यसैले पनि सुन तस्करी बढेको व्यवसायीहरुको दाबी छ । उनीहरु भन्छन्— सिजनमा दैनिक २०–२५ किलोसम्म सुन अपुग हुने गर्छ ।

महासङ्घमा आबद्ध करिब १० हजार व्यवसायी छन् । स्थायी लेखा नम्बर नलिएर चलेका पसल जोड्ने हो भने त्यो सङ्ख्या २० हजारभन्दा बढी रहेको अनुमान छ ।

व्यवसायी नै संलग्न छन् तस्करीमा
चीनबाट सामान ओसार्ने करिब ४० प्रतिशत कन्टेनर र ३० प्रतिशत व्यापारी भन्सार छलीको सुन ओसारेकै भरमा टिकेको बताइन्छ । स्रोत भन्छ— अवैध सुन कारोबार गर्ने तीन प्रकारको जालो छ । एउटा, ठूलो मात्रामा सुन भित्र्याउँछ । यो समूहले सुन सीधै भारत पठाउँछ । यो समूहको सुन चीनबाट प्याक भएर आउँछ । बीचमा दायाँबायाँ हँुदैन ।

दोस्रो समूह छ— भाडाको सवारीसाधन प्रयोग गरेर एक पटकमा बढीमा पाँच किलोसम्म सुन ओसार्छ । अर्को समूहले भने आफैं लगानी गरेर सुन काठमाडौं ल्याउँछ । स्रोतका अनुसार भन्सार छलीको सुनको मूल्य केरुङमा प्रतिकिलो ३५ देखि ३७ लाख रुपैयाँसम्म पर्छ । त्यो सुन काठमाडौंका व्यापारीलाई ४२ देखि ४४ लाख रुपैयाँसम्ममा बिक्री गरिन्छ । त्यसरी खुद्रा सुन ल्याउनेले आधा पैसा पहिला दिने र आधा पैसा बेचेर दिने गर्छन् ।

स्रोतका अनुसार केरुङ मात्र होइन, रसुवाका अन्य नाकाबाट पनि यसरी खुद्रा सुन ल्याउने गरिन्छ । खुला र चीनतर्फका प्रहरी नभएको ठाउँबाट सुन तस्करले स्यापु्रmबेसीसम्म ल्याइदिने गरेको स्रोतको दाबी छ । यदाकदा गोरखाको छेकम्पार नाकाबाट पनि सुन आउने गरेको बताइन्छ । गोर्खा, स्याङ्जालगायत जिल्लामा बरामद हुने सुन त्यतैबाट आउने गरेको अनुमान छ ।

मुख खोल्दैनन् भरिया
रोचक कुरा त समातिए पनि भरियाले कसको सुन हो भनेर मुख खोल्दैनन् । प्रहरीले बरामद गरेको सुनसँगै पक्राउ पर्ने भनेकै भरिया हुन् । उनीहरुको रेडिमेड जवाफ हुन्छ— माथिबाट पठाएको हो । एक जना थियो, बाँकी थाहा छैन ।

तीन पटक भन्सार छलीको सुन बोकेका सिन्धुपाल्चोकका एक भरिया भन्छन्, ‘पक्राउ परे पनि अरुकै सुन हुन्छ । समातियो भने कुरा मिलाउने साहु हुन्छ । बाहिर गाडी चलाएको र भारी बोकेको भन्दा तीन गुना बढी पैसा जेलमा बसेर पनि पाइन्छ, अनि किन खोल्ने मुख ?’ उनका अनुसार पक्राउ परेपछि सुन कसको हो भन्नेबारे मुख नखोल्ने हो भने मात्र पनि घरमै पैसा पुग्छ ।

‘७० सालमा दुई पटक म आफैं पक्राउ परेको हुँ । मलाई सुन कसको हो भन्ने यकिन नभए पनि तातोपानीबाट कसले पठाएको भन्ने थाहा थियो,’ उनले भने, ‘तर मैले प्रहरीसँग मुख खोलिनँ । म पक्राउ परेको भोलिपल्ट श्रीमती भेट्न आइन् । उनले भनिन्— घरमा एक जना आएर पाँच लाख रुपैयाँ दिएर गयो, श्रीमान्लाई पैसा घरमा पुग्यो भन्नू । तर प्रहरीले देख्ने गरी होइन भनेको छ ।’

उनका अनुसार त्यो पैसा मुख बन्द गर्नका लागि मात्र दिइएको हो । रसुवा धुन्चेका एक कन्टेनर व्यवसायी पनि सुन तस्करीमा कन्टेनर व्यवसायीहरुबीच पनि मिलेमतो हुने स्विकार्छन् । अधिकांश कन्टेनरका साहू मिलेका हुन्छन् । तर कहिलेकाहीँ साहूलाई थाहै नदिएर पनि चालकले सुटुक्क सुन काठमाडौं पुर्याएका पनि हुन्छन् ।

‘अधिकांशको काम उस्तै हुन्छ, थाहा पाएर पनि चालकले अरुको सूचना दिँदैनन् । बरु उनीहरुसँग सम्बन्ध बढाउँछन्,’ ती व्यवसायीले भने । उनका अनुसार तातोपानीमा कन्टेनर चलाउने चालक नै अहिले कन्टेनरका साहू बनेका छन् । उनीहरुको काम बाहिर सामग्री ओसारेको देखाएर भित्र सुन बोक्नै नै हो ।

त्यसो त ८८ किलो सुन प्रकरणमा रसुवा–केरुङ व्यापार सङ्घका अध्यक्ष मानबहादुर तामाङ नै पक्राउ परे । क्षेत्रपाटीबाट उक्त परिमाणको सुन भेटिएको थियो । उक्त प्रकरणमा अनुसन्धानबाट तामाङ सुन तस्करीको माथिल्लोे तहका मानिस भएको खुले पनि पक्राउ परेपछि उनी अदालतबाट धरौटीमा छुटे ।

खोजी ठूला माछाको
सुन तस्करी मौलाउँदै गएपछि पछिल्लो समय ठूला माछाको खोजी भइरहेको छ । तर, ती ठूला माछो को हुन्, कहाँ छन्, के गर्छन्, कसैलाई थाहा छैन ।खाली हल्ला चलाउनका लागि सरकारी अधिकारीहरु ठूला माछा पक्रिने उद्घोष गर्छन् भने प्रतिपक्ष ठूला माछा खोई भन्दै प्रश्न उठाइरहन्छ । सुन तस्करीमा ठूला माछाको न परिभाषा भएको छ, न त अहिलेसम्म कसैले ठूला माछाबारे सूचना राखेका छन् ।

दुबईबाट नेपाल सुन तस्करी गरेको आरोपमा पक्राउ परेका गोरे नै अहिलेसम्मका ठूला माछा सावित भएका छन् । यस प्रकरणमा सरकारले गठन गरेको सुन तथा सनम हत्याकाण्ड छानबिन समिति गठन भएपछि र सो समितिले अदालतमा मुद्दा दायर गरेपछि पनि धेरै आरोपी प्रहरीका उच्च अधिकृतहरु धमाधम अदालतबाट छुटेका छन् ।

यसले पनि ठूला माछाको ठूलै शक्ति छ भन्ने सन्देश मात्रै दिएको छैन, ठूला माछाको पक्षपोषणमा कतै अदालतसमेत सक्रिय त छैन भन्ने आशङ्का उब्जिएको छ ।