आगामी वर्षदेखि सञ्चित कोषमा रहेको ३ अर्ब लाभांश बाँड्ने छौं : नेपाल पुनर्बिमा कम्पनीका सीईओ चिरायु भण्डारीसँगकाे अन्तर्वार्ता

बिमा गर्ने कम्पनीको क्षमताअनुसार १ देखि २ प्रतिशतसम्म पुनर्बिमा लिएका छौं । जीआईडीसीजस्तो क्षमता भएको कम्पनीको १ प्रतिशत पुनर्बिमा लिएका छौं भने त्यसभन्दा कम क्षमता भएका कम्पनीको २ प्रतिशत लिएका छौं ।

चार दशकदेखि बिमा क्षेत्रमा कार्यरत चिरायु भण्डारीले ०७२ साउनदेखि नेपाल पुनर्बिमा कम्पनी लिमिटेडको कमान्ड सम्हाल्दै आएका छन् । सीईओ भण्डारीले संस्थालाई अघि बढाउन धेरै काम गरेका छन् । यसबीच उनले सफलता पनि प्राप्त गरेका छन् । विदेशबाट वार्षिक १ अर्ब रुपैयाँको हारहारीमा पुनर्बिमा शुल्क ल्याउन उनी सफल भएका छन् । २०३४ सालमा राष्ट्रिय बिमा संस्थानमा प्रवेश गरेका भण्डारीले त्यहाँ ९ वर्ष जागिर खाएपछि नेसनल लाइफ एन्ड जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडमा २६ वर्ष काम गरे । उनी प्रतिस्पर्धाबाट २०७२ साउनदेखि राष्ट्रिय पुनर्बिमाको सीईओ भएका हुन् । पुनर्बिमा कम्पनीले विदेशबाट पनि बिमा शुल्क ल्याउन थालेको छ । बर्सेनी कम्पनीको व्यवसायको आकार बढ्दै गएको छ । आगामी केही वर्षपछि नेपालबाट पुनर्बिमामा जानेभन्दा आउने रकम बढी हुने भण्डारीको अनुमान छ । नेपालमा बिमा बजारको विकास र कम्पनीको भावी योजनामा केन्द्रित रहेर सीईओ चिरायु भण्डारीसँग क्यापिटल नेपालका निकेश खत्रीले गरेको कुराकानी :

 

नेपाल पुनर्बिमा कम्पनीले आउँदा दिनका लागि के कस्ता योजना ल्याउँदै छ ?
नेपाल पुनर्बिमा कम्पनीले सर्वसाधारणलाई साधारण सेयर (आईपीओ) निष्कासनको तयारी गर्दै छ । अबको २ महिनाभित्र कम्पनीको आईपीओ आउने छ । कम्पनीको विशेष साधारणसभाले आईपीओ निष्कासन गर्ने प्रस्तावलाई पारित गरेको छ । विदेशबाट पुनर्बिमा व्यवसाय ल्याउन अन्तर्राष्ट्रिय रेटिङमा जाने प्रक्रियामा छौं । सर्वसाधारणका लागि सेयर निष्कासनपछि पँुजीगत आधारमा राम्रो हुने भएकाले राम्रो रेटिङ पाउने सम्भावना रहन्छ । अरु एजेन्सीले रेटिङ गर्नुअघि ‘कन्ट्री रेटिङ’ खोज्छन् । एएमबीएसले कन्ट्री रेटिङ नभए पनि रेटिङ गर्ने भएकाले उसैलाई रेटिङको काम दिएका छौं । व्यापार बढाउनकै लागि भए पनि अन्तर्राष्ट्रिय संस्थाबाट रेटिङ गर्नुपर्छ । रेटिङको स्तर राम्रो बनाउन सकिएमा विदेशबाट पुनर्बिमा शुल्क बढाउन सहयोग पुग्ने छ ।

यस्तै कम्पनीले राजधानीको मीनभवनमा आफ्नै भवन बनाउँदै छ । साधारणसभाबाट सरकारको सेयर संरचना परिवर्तन गर्ने प्रस्तावलाई पारित गरेको छ । यसरी सेयर संरचना परिवर्तन गर्दा बाँकी रहेको ०.६३ प्रतिशत सेयर भारतको ओरियन्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले लिएन । त्यो सेयर सरकारले सकारेको छ । अब नेपाल पुनर्बिमामा सरकारको सेयर ४४ प्रतिशत पुगेको छ । ओरियन्टल इन्स्योरेन्स भारतबाट शाखाका रुपमा नेपाल भित्रिएको हुनाले उसले स्वामित्व किन्न स्वीकृति पाएन । आन्तरिक रुपमा उनीहरुको कम्पनीमा के भयो पुनर्बिमा कम्पनीलाई जानकारी भएन । तर, उसले हामीलाई सेयर नलिने भनेर जानकारी गरायो । ओरियन्टलबाहेकका अन्य बिमा कम्पनीले सेयर लिएका छन् ।

गत आर्थिक वर्षमा कम्पनीले कति नाफा गर्यो ? आगामी वर्षमा कति गर्ने लक्ष्य लिएको छ ?
नेपाल पुनर्बिमा कम्पनीले गत आर्थिक वर्षमा १ अर्ब २४ करोड रुपैयाँ खुदनाफा गरेको छ । गत आर्थिक वर्ष २०७४/७५ मा करिब ४ अर्ब २७ करोड रुपैयाँ प्रिमियम सङ्कलन भएको थियो । कम्पनीले यो वर्ष प्रिमियम बढाएर ७ अर्ब रुपैयाँ पुर्याउने लक्ष्य लिएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुनर्बिमा शुल्क सङ्कलन गरेर व्यवसाय विस्तार गर्ने छौं । चालू आर्थिक वर्षमा ७ अर्ब रुपैयाँ प्रिमियम सङ्कलन गरेर २ अर्ब रुपैयाँ नाफा गर्ने अनुमान गरिएको छ । नाफा बढ्ने र घट्ने कुरा दाबी भुक्तानीमा भर पर्ने कुरा हो । धेरै दाबी भुक्तानीको आवेदन आयो भने नाफा कम हुन्छ । दाबी भुक्तानी कम गर्नु पर्यो भने नाफा बढ्छ ।

कम्पनीले ६० ओटाभन्दा बढी विदेशी कम्पनीसँग बिमा व्यवसाय गरिसकेको छ । अन्तर्राष्ट्रियस्तरको व्यवसायमा हात हालिसकेको छ । त्यसबाट पनि नाफा बढाउने एउटा आधार खडा हुन सक्छ । यस्तै सरकारले यो वर्षदेखि नेपाली बिमा कम्पनीले २० प्रतिशत बिमा शुल्क पुनर्बिमामा जम्मा गर्नुपर्ने व्यवस्था गरेको छ । यसले पनि व्यवसाय बढाएको छ । यस्तै अर्को आकस्मिक बिमा व्यवसाय पनि सञ्चालन गरेका छौं । कृषि र पशु बिमामा सरकारले अनुदान बढाउँदै पुनर्बिमा गराएकाले पनि नाफा बढाउन सहयोग पुग्ने छ ।

कम्पनीले बाहिरबाट पुनर्बिमा पाएको छ कि छैन ?
नेपाल पुनर्बिमा कम्पनीले आफ्नो आकार अुनसारको बिमा गर्छ । कम्पनीले बिमा गर्नेको साइज तथा पुनर्बिमा कम्पनीको क्षमताअनुसार बिमा गर्दै आएको छ । कुनै कम्पनी जसको व्यवसाय सानो हुन्छ, त्यस्ता कम्पनीको १५ प्रतिशतसम्म बिमा लिएका छौं । ठूलो व्यवसाय हुने कम्पनीको १ देखि २ प्रतिशतसम्म लिएका छौं । बिमा गर्ने कम्पनीको क्षमता कति छ, र, बिमा गराउने कम्पनीको क्षमता कत्रो छ ? त्यस आधारमा बिमा गर्छौ । जस्तो भूटानको पुनर्बिमा कम्पनीको १५ प्रतिशतसम्म बिमा गरेका छौं । यो वर्ष विदेशबाट २ अर्ब रुपैयाँ पुनर्बिमा शुल्क आउने सम्भावना छ । नेपाल पुनर्बिमा कम्पनीको व्यवसाय विस्तारसँगै अन्तर्राष्ट्रिय विश्वास पनि बढ्दै गएको छ ।

हामीले प्रत्येक वर्ष आफ्नो क्षमता बढाउँदै व्यवसाय पनि विस्तार गर्दै लगिरहेका छौं । एकै पटक नभई स्टेप बाई स्टेप क्षमता वृद्धि गरिरहेका छौं । गत आर्थिक वर्षभन्दा बढी व्यवसाय सञ्चालन गरेका छौं । आगामी वर्ष थप क्षमता वृद्धि गर्दै लग्ने छौं । हामीले ४ ओटा भारतीय सरकारी कम्पनीको पुनर्बिमा गरेका छौं । ओरियन्टल इन्स्योरेन्स, नेसनल इन्स्योरेन्स, न्यु इन्डिया इन्स्योरेन्स तथा जीआईडीसीको पुनर्बिमा गरेका छौं । बिमा गर्ने कम्पनीको क्षमताअनुसार १ देखि २ प्रतिशतसम्म पुनर्बिमा लिएका छौं । जीआईडीसीजस्तो क्षमता भएको कम्पनीको १ प्रतिशत पुनर्बिमा लिएका छौं भने त्यसभन्दा कम क्षमता भएका कम्पनीको २ प्रतिशत लिएका छौं । कुनैले त ५ प्रतिशतसम्म लिन भनेपनि हामी मानिरहेका छैनौं । तर, हामीले आफ्नो क्षमताअनुसार व्यवसाय विस्तार गर्दै लगेका छौं ।

सर्वसाधारणमा आईपीओ बिक्रीपछि नेपाल पुनर्बिमा कम्पनीको पुँजी कति पुग्छ ?
आईपीओ निष्कासनपछि पुनर्बिमा कम्पनीको चुक्ता पुँजी १० अर्ब रुपैयाँ पुग्छ । हालसम्म ३ अर्ब रुपैयाँ वितरणयोग्य सञ्चित नाफा छ । बिमा समितिको निर्देशनअनुसार कम्पनी सञ्चालनमा आएको ५ वर्षसम्म नाफाबाट लाभांश बाँड्न नपाइने व्यवस्था छ । आगामी आर्थिक वर्षदेखि नाफा बाँड्न पाइने छ । सञ्चित नाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने छौं ।

कम्पनीमा दाबी भुक्तानीको माग कति बढिरहेको छ ?
पछिल्लो समय विगतको भन्दा दाबी भुक्तानी अलि बढेको छ । प्रतिशतका आधारमा भन्न नसकिए पनि जोखिमसँगै दाबी भुक्तानी बढेको छ । नेपालको अवस्थामा हेर्ने हो भने बाढी, पहिरो, आगलागी जस्ता कारणले पछिल्लो समय दाबी भुक्तानीको चाप बढेको छ । जाडोको मौसम भएकाले पहाडी क्षेत्रमा डढेलोको समस्या धेरै हुन्छ । विगतको तुलनामा आगलागीको समस्या धेरै बढेको छ । कहिले पूर्व त कहिले पश्चिमतिर आगलागी भइरहेको हुन्छ । यस्तै सडक दुर्घटनाको जोखिम पनि बढिरहेको छ । सडकबाट ठुल्ठूला बस खसिरहेका छन् । बस खसेपछि मानिसको मृत्यु हुनुका साथै बसको पनि बिमा दाबी भुक्तानी गर्नुपर्छ । बिमाको व्यवसायसँगै दुर्घटना पनि बढिरहेको छ ।

सरकारले बिमा कम्पनीलाई आर्जन गरेकोमध्ये २० प्रतिशत बिमा शुल्क पुनर्बिमा कम्पनीमा राख्नु पर्ने व्यवस्था गरेको छ । यसले व्यवसाय कतिको बढाउने देख्नुहुन्छ ?
पुनर्बिमा कम्पनी नेपालको उच्च प्राथमिकतामा परेको संस्था हो । यो एउटा देशव्यापी आवश्यकता पनि हो । जबसम्म नेपालमा पुनर्बिमा कम्पनीको स्थापना भएको थिएन, त्यसबेला नेपालमा आतङ्कवादको समय थियो । र, त्यस समय नेपालको बिमा गर्न कुनै पनि अन्तर्राष्ट्रिय पुनर्बिमा कम्पनीले नमानेपछि स्थापना भएको नेपाल पुनर्बिमा कम्पनी हो । पुनर्बिमा कम्पनीको जन्म आकस्मिक बिमा कोषका रुपमा भएको थियो । नेपालमा पुनर्बिमा कम्पनी नभएको र विदेशी कम्पनीले बिमा गर्न नमानेपछि कुनै योजना त सरकारले ल्याउनै पर्यो ।

यस्तै भोलिका दिनमा नेपालमा आतङ्कवादको घटना बढ्यो भने विदेशी कम्पनीले हात झिक्छन् । उनीहरु त नाफाका लागि आउने हुन् । घाटा भयो भने फिर्ता जान्छन् । तर, नेपालकै कम्पनीको क्षमता वृद्धि भयो भने त्यो जोखिम लिन सकिन्छ । सरकारले ल्याएको २० प्रतिशतको अवधारणा नेपालमा मात्र नभई छिमेकी देश चीन, भारत, भूटान तथा पाकिस्तानमा पनि छ । भूटानमा सरकारको सहयोग बिना नै स्थापना भएको पुनर्बिमा कम्पनीमा पनि सरकारले २० प्रतिशत राखेको छ । सरकारी कम्पनी नभए पनि सरकारले सहयोग गरेको छ ।

त्यसैगरी खाडी तथा अफ्रिकी मुलुकमा पनि यस्तो व्यवस्था छ । बङ्गलादेशमा त ५० प्रतिशत बिमा शुल्क त्यहाँको पुनर्बिमालाई बुझाउनु पर्छ । भोलि अप्ठ्यारो परेको समयमा ती बिमा कम्पनीलाई पुनर्बिमा कम्पनीले सहयोग गर्न सक्छ । सरकारको प्राथमिकतामा रहेको व्यवसाय कृषि र पशु हो । तर, विदेशी कम्पनीमा पुनर्बिमा गर्दा १५ प्रतिशत नै कमिसनमा दिनुपर्ने हुन्छ । यसभन्दा पहिले २५ प्रतिशत दिएका थियौं ।

जनतामाझ बिमाको पहुँच कम देखिएको छ । बिमाको बजार विस्तार हुन नसक्नुको कारण के होला ?
नेपालको बिमा व्यवसाय विस्तारै विस्तार र वृद्धि भइरहेको छ । बिमा व्यवसाय विस्तारका लागि स्वयम् सरकार पनि लागिपरेको छ । हिजोका दिनमा नागरिक लगानी कोषमा बिमाको नाम दिइएको थियो । तर, खास बिमा थिएन । अहिले नागरिक लगानी कोषको बिमा राष्ट्रिय बिमा संस्थानका नाममा दियो । यो कदमपछि साढे ३ लाख कर्मचारी बिमाको दायरामा आए । विगतमा नागरिक लगानी कोषले दिँदै आएको बिमाको सुविधा र बिमा कम्पनीले दिने सुविधामा फरक पर्छ ।

त्यसैगरी कर्मचारी सञ्चय कोषले ६ लाख कर्मचारीको स्वास्थ्य बिमा गरिदिएको छ । ६ लाख कर्मचारी पनि बिमाको दायरामा आएका छन् । यस्तै बेरोजगारले रोजगारीका लागि लिने ऋणको पनि बिमा हुने गरेको छ । यो भनेको सरकारले पनि बिमाको दायरा बढाउँदै छ । एकै पटक ठूलो सफलता नमिले पनि विस्तारै दायरा बढ्दै छ । बिमामा तेस्रो पक्ष अनिवार्य छ । तेस्रो पक्ष अनिवार्य गरेकाले अहिले दुर्घटनापछि हुने लफडा कम भएको छ । बिमा समितिकै तथ्याङ्कअनुसार पनि बिमा गर्नेको सङ्ख्या १४ प्रतिशत पुगेको छ ।

नेपालबाट पुनर्बिमाको रुपमा पैसा विदेश जाने क्रम कहिलेदेखि रोकिने छ ?
बिमाबापत बिदेसिने रकमलाई हामी आगामी ५ वर्षभित्र नियन्त्रण गर्छौं । नेपालबाट बाहिरिनेभन्दा बढी भित्र्याउने छौं । बिमाबाट बाहिरिने रकमको व्यापार घाटा शून्य मात्र हैन नाफामा जाने योजनामा छौं । यसको मूख्य आधार हामी रेटिङमा जाँदै छौं । अन्तर्राष्ट्रिय रेटिङमा गएपछि १० अर्ब रुपैयाँ चुक्ता पुँजीबाट पुनर्बिमा कम्पनीको क्षमता अझै बढ्छ । विगतमा १ प्रतिशतमात्र बिमा लिएका कम्पनीमा आगामी दिनमा ३ प्रतिशतसम्म लिन सक्ने हुन्छौं ।

३ प्रतिशतसम्म बिमा गरेपछि प्रिमियम बढी आउँछ । हामीले हाम्रो क्षमता बढाउँदै लगेपछि त्यही अनुसारको प्रिमियम पनि आउँदै जान्छ । विदेशी बिमामा हामी नाफामा जान्छौं । अघिल्लो सालमा हामीले जम्मा ७६ करोड रुपैयाँ बाहिर पठाएर विदेशबाट १ अर्ब रुपैयाँ भित्र्याएका थियौं । यस अवधिमा नै हामीले पठाउने पैसाभन्दा बढी त एउटा कम्पनीले नेपाल ल्याइसकेको छ । आगामी दिनमा व्यापार घाटा घटाउनमा नेपाल पुनर्बिमा कम्पनीले ठूलो योगदान गर्दै छ ।