सरकार र बैङ्कको चेपुवामा व्यवसायी, सवारी साधनको भन्सार क्लियर गराउन अर्थको निर्देशन, बैङ्क भन्छ, ‘व्यवसायीलाई दिने पैसा छैन’

सरकारले पुस मसान्तसम्म १ खर्ब ९२ अर्ब भन्सार राजस्व लक्ष्य राखे पनि त्यो पूरा हुन नसकेपछि सरकारले वीरगन्ज भन्सार कार्यालयमा आएर बसेका गाडीको भन्सार दाखिला गराउन निर्देशन दिएको हो ।

काठमाडौं : पुस मसान्तसम्मको राजस्व लक्ष्य भेटाउन धौधौ परेपछि वीरगन्ज भन्सारमा रहेका सवारी साधनको भन्सार दाखिला गराउन अर्थ मन्त्रालयले व्यवसायीलाई ताकेता गरेको छ । व्यवसायीले भारतबाट नेपाल भित्र्याइसकेका तर, भन्सार दाखिला नगराएका गाडीको भन्सार तिर्न भन्सार विभागले व्यसायीलाई ताकेता गरेको हो ।

सरकारले पुस मसान्तसम्म १ खर्ब ९२ अर्ब भन्सार राजस्व लक्ष्य राखे पनि त्यो पूरा हुन नसकेपछि सरकारले वीरगन्ज भन्सार कार्यालयमा आएर बसेका गाडीको भन्सार दाखिला गराउन निर्देशन दिएको हो ।

भन्सार विभागले दुई दिनमा सम्पूर्ण गाडी विवरणसहित भन्सार दाखिला गराउन निर्देशन दिएपछि व्यवसायीहरु बैङ्कका ढोका ढक्ढक्याउन पुगेका छन् । तर, बैङ्कहरुले लगानीयोग्य रकम नभएको भन्दै व्यवसायीलाई ऋण उपलब्ध गराएका छैनन् ।

बैङ्कले ऋण उपलब्ध नगराएकै कारण भन्सारमा रोकिएका गाडीको भन्सार शुल्क तत्काल तिर्न सक्ने अवस्था नआएको एक व्यवसायीले बताए ।

भन्सार विभागका महानिर्देशक तोयम रायाका अनुसार भन्सार ऐनले नै भन्सार कार्यालयमा ६० दिनभन्दा बढी गाडी राख्न नपाइने नियम छ । तर, व्यवसायीले कानुनले तोकेभन्दा बढी समय गाडी भन्सारको गोदाममा राखेका छन् । ‘हामीले उक्त गाडीको भन्सार दाखिला गराउन निर्देशन दिएका हौं,’ उनले भने, ‘महिनौंदेखि भन्सार क्लियर नगराई गोदाममा गाडी राख्दा ठाउँ नपुगेर अन्य गाडी अटाउँदैनन् ।’

एकातिर बैङ्कले ऋण उपलब्ध नगराउने अर्कोतिर सरकारले भन्सारमा आएका गाडीको भन्सार दाखिला गराउन दिएको निर्देशनले व्यवसायी चेपुवामा परेको एक अटो व्यवसायीले बताए ।

भन्सार विभागका अनुसार अहिले वीरगन्ज भन्सार कार्यालयमा तीन हजारभन्दा बढी साना गाडी छन् । उनीहरुको भन्सार दाखिला गराउन निर्देशन दिइएको भन्सार कार्यालयले जनाएको छ ।

भन्सारमा ८०० देखि १२ सय सीसीका गाडीको थुप्रो लागेको छ । तत्काल गाडीको भन्सार तिरेर भित्र्याउन निर्देशन दिइएको रायाले जानकारी दिए ।

सरकारले निर्देशन दिएपछि बैङ्क पुगेका व्यवसायीले ऋण पाएका छैनन् । उनीहरु कहाँबाट पैसा जोहो गर्ने भन्ने तनावमा छन्् ।

खासगरी, टाटा, सुजुकी, हुन्डाई, रेनोलगायतका गाडी भन्सारमा आएर रोकिएको भन्सार कार्यालयले जानकारी दिएको छ ।