सडक लेन मिच्ने २,८५,२१४ चालक कारवाहीमा : लेन मिच्ने प्रहरीदेखि वकिलसम्म फन्दामा, १४ करोड राजस्व उठ्यो

महानगरीय ट्राफिक महाशाखाको तथ्याङ्कअनुसार २०७१ असोजदेखि हालसम्म उपत्यकामा सडकमा लेन अनुशासन पालन नगर्ने विभिन्न सवारीसाधनका २८५२१४ चालक कारवाहीमा परेका हुन् ।

काठमाडौं । ५ वर्षयता सडक लेन मिच्ने २ लाख ८५ हजार २ सय १४जना सवारी चालक ट्राफिक प्रहरीको कारवाहीमा परेका छन् । महानगरीय ट्राफिक महाशाखाको तथ्याङ्कअनुसार २०७१ असोजदेखि हालसम्म उपत्यकामा सडकमा लेन अनुशासन पालन नगर्ने विभिन्न सवारीसाधनका २८५२१४ चालक कारवाहीमा परेका हुन् ।

त्यसमा १३ हजार ४ सय २२ जना महिला चालक छन्, बाँकी पुरुष चालक । त्यसमा धेरै जसो मोटरसाइकल चालक छन्, केही ठूला तथा साना गाडीका चालक पनि परेका छन् । लेन अनुशासन पालना नगरी सवारी चलाउँदा सवारी दुर्घटना बढेको भन्दै २०७१ साल असोजदेखि ट्राफिक प्रहरीले लेन अनुशासन पालनामा कडाइ गरेको हो ।

उपत्यकाभित्र हुने सवारी दुर्घटनाको मुख्य कारण अस्वस्थ प्रतिस्पर्धा र लेन पालना नगरेको भन्दै ट्राफिक प्रहरीले सो कारवाही थालेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी वसन्त पन्तले बताए ।

‘अस्वस्थ प्रतिस्पर्धा र लेन पालना नगर्नु नै सडक दुर्घटनाको मुख्य कारण हो,’ एसएसपी पन्तले भने, ‘लेन अनुशासन पालना मात्र गर्ने हो भने सडक दुर्घटनाबाट जोगिइन्छ ।’ ट्राफिक प्रहरीका अनुसार लेन कारवाही थालेको सुरुका दिनमा दैनिक ५ सयभन्दा बढी सवारी चालक कारवाहीमा पर्दै आएका थिए । तर अहिले दैनिक १५० देखि २०० जनासम्म पर्ने गरेका छन् । पहिलाभन्दा घटेको एसएसपी पन्तले बताए ।

महाशाखाका अनुसार लेन कारवाहीमा डाक्टर, पत्रकार वकिल, शिक्षक तथा स्वयम् प्रहरीहरुनै कारवाहीमा पर्ने गरेका छन् ।

 

‘सवारी साधनको स्टेरिङ समातेर सडकमा आउने जो सुकैले ट्राफिक नियम मान्नु पर्छ,’ एसएसपी पन्त भन्छन्, ‘सुरुका दिनमा लेन कारवाहीकै विषयलाई लिएर ट्राफिक प्रहरीसँग बाझ्नेहरु धेरै थिए, अहिले बिस्तारै बुझ्न थालेका छन् र त्यस्तो हुँदैन । हिजोआज चालकले गल्ती महसुस गर्न थालेका छन् ।’

‘ट्राफिक प्रहरी देखेपछि नियम मान्ने नदेखेपछि नियम मिच्न खोज्नेहरु अहिले पनि धेरै छन्, कारवाहीमा परे चुपचाप कागजपत्र दिने गर्छन् । पहिला त झगडा नै गर्थे,’ एसएसपी पन्तले भने ।

चालकलाई अन्याय नहोस् भन्नका लागि प्रहरीले गोप्रो क्यामरा प्रयोगमा ल्याएको छ । गल्ती गरेर गल्तीनै गरेको छैन भन्दै ट्राफिक प्रहरीकै कमजोरी देखाउनेहरु बढेपछि गोप्रो क्यामरा प्रयोग गरिएको एसएसपी पन्तले बताए । त्यसैगरी सीसीटीभीबाट लेन अनुशासन कायम नगरेको भेटिएमा सवारी साधन नम्बर टिपेर घरमा चिठी पठाउने र जरिवानासमेत गर्ने गरिएको पनि एसएसपी पन्तले बताए ।

‘लेन मिचेर मान्छे गइसकेको हुन्छ, हामी सीसीटीभीका फुटेज हेर्छौं र डिटेल निकालेर घरमै पत्र पठाएर पनि कारवाही गर्ने गरेका छौं,’ उनले थपे ।

लेन कारवाहीमा परेका सवारी चालकलाई ५ सय रुपैयाँ जरिवाना र एक घण्टाको चेतना कक्षा दिने गरिएको छ । चेतना कक्षा लिएपछि चालकहरुमा केही चेतना पलाउने गरेकोसमेत ट्राफिक प्रहरीको दाबी छ ।

महाशाखाका अनुसार ५ वर्षको अवधिमा लेन पालना नगर्ने सवारी चालकबाट मात्र १४ करोड २६ लाख ७ हजार रुपैयाँ राजस्व असुली भएको छ ।