सरकारले फुकायो एसएसपी बढुवाको गाँठो

जेठदेखि हालसम्म विभिन्न मितिमा गरी १४ एसएसपी र १ डीआईजीको पद रिक्त थियो । प्रहरी नियमावलीअनुसार गर्दा फागुनसम्म कुर्नुपर्ने भएकाले सरकारले यसलाई ३ वर्षमा झारेको हो । २०४७, २०४९, २०५१ र २०५२ मा भर्ना भएर २०७१ मा एसपी बढुवा भएका ३३ जना एसएसपी बढुवा प्रतिस्पर्धी हुन् ।

काठमाडौं : जेठदेखि नेपाल प्रहरीमा रिक्त वरिष्ठ प्रहरी उपरिक्षक (एसएसपी) दरबन्दी पूर्ति गर्न सरकारले बाटो खुलाइदिएको छ । नेपाल प्रहरीमा गएको जेठदेखि हालसम्म खाली भएका १४ एसएसपी र एक जना डीआईजीको दरबन्दी पूर्ति गर्न प्रहरी नियमावली २०७१ संशोधन गरिएको हो ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी नियमावली २०७१ को नियम २८ को उपनियम १ (क)लाई संशोधन गरेपछि एसएसपी बढुवा बाटो खुलेको हो । प्रहरी नियमावली २०७१ अनुसार एसएसपीमा बढुवा हुन एसपी पदमा रही कम्तीमा ४ वर्ष सेवा गरेको हुनुपर्ने प्रावधान खारेज गरी ३ वर्षमा झारेपछि बढुवा बाटो खुलेको हो ।

जेठदेखि हालसम्म विभिन्न मितिमा गरी १४ एसएसपी र १ डीआईजीको पद रिक्त थियो । प्रहरी नियमावलीअनुसार गर्दा फागुनसम्म कुर्नुपर्ने भएकाले सरकारले यसलाई ३ वर्षमा झारेको हो । २०४७, २०४९, २०५१ र २०५२ मा भर्ना भएर २०७१ मा एसपी बढुवा भएका ३३ जना एसएसपी बढुवा प्रतिस्पर्धी हुन् ।

२०५१ र २०५२ सालमा प्रहरी निरीषकमा भर्ना भई अघिल्लो बढुवामा छुटेकाहरू तीन वर्ष अवधि फागुन ९ मा पुग्ने भएकाले प्रतिस्पर्धामा सहभागी हुन भने पाउने छैनन् ।

नियमावलीअनुसार एसएसपी बढुवाका लागि कार्यसम्पादन मूल्याङ्कन, ज्येष्ठता, भौगोलिक क्षेत्रमा काम गरेको अनुभव, शैक्षिक योग्यता, तालिम, चुनौतीपूर्ण वा विशेष जिम्मेवारी र बढुवा समितिले दिने अङ्कलाई मुख्य आधार मानिन्छ ।

२०७१ फागुन १०मा बढुवा हुनेमा गणेश रेग्मी एक नम्बरमा छन् । उनले २०४७ फागुन १ मा प्रहरी सेवा थालेका थिए । त्यसैगरी दोस्रो वरीयतामा २०५१ चैत ५ मा प्रहरी सेवा प्रवेश गरेका श्यामलाल ज्ञवाली, तेस्रोमा सन्दीप भण्डारी, चौथोमा वसन्तबहादुर कुँवर र पाँचौंमा रामदत्त जोशी छन् ।

यस पटकको एसएसपी बढुवामा ४ जना महिला एसपी पनि प्रतिस्पर्धी छन् । २०५१ कै ब्याचका किरण वज्राचार्य, मीरा चौधरी, दुर्गा सिंह र किरण राणा प्रदिस्पर्धामा छन् । यी चारै एससपीले जिल्लाको कमान्ड सम्हालेका छन् । किरण र मीराले केन्द्रीय अनुसन्धान ब्युरोमा अनुसन्धान अधिकारीका रुपमा काम गरिसकेका छन् ।

किरण अनुसन्धानमा अब्बल मानिन्छिन्, उनले अमेरिकी सरकारले प्रदान गर्ने ‘ट्राफिक इन पर्सन’ अवार्डसमेत प्राप्त गरेकी छन् ।

भरतबहादुर बोहरा, टेकप्रसाद राई, रवीन्द्र केसी, पोषराज पोखरेल, बुद्धिराज गुरुङ, उमेशराज जोशी, नरेन्द्रप्रसाद उप्रेती, कुवेर कडायत, केदार ढकाल, जनक भट्टराई, राजेन्द्र विष्ट र विष्णुकुमार केसी, राजेशनाथ बास्तोला, लालमणि आचार्य, सुदीप गिरी, टेकबहादुर तामाङ, गोविन्दकुमार शाह, उमाशङ्कर पन्जियार, भीमप्रसाद ढकाल, दीपक थापा र अर्जुन चन्द ठकुरी बढुवाका प्रतिस्पर्धी हुन् ।